३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

इनोभेसन २.०

नानोटेक्नोलोजी रिसर्चका लागि विश्वभर चिनिएका एक वैज्ञानिक आउँदा वर्षहरूमा विश्वमा के–कस्तो प्रविधि हावी हुने देख्छन् ।  
प्रदीप बस्याल

काठमाडौँ — संसारका विभिन्न कुना चहारिरहँदा प्राध्यापक श्रीराम रामाकृष्ण एउटा प्रश्न बारम्बार सामना गरिराखेका हुन्छन्, ‘विश्वमा अब कस्तो प्रविधि हावी हुनेछ ?’ ‘मटेरियल साइन्स’ मा विश्वभर सबैभन्दा बढी उद्धृत गरिनेमध्येका एक नेसनल युनिभर्सिटी अफ सिंगापुरको नानोफाइबर तथा नानोटेक्नोलोजी केन्द्रका निर्देशक उनी धेरैजसो ठट्टामै भनिदिन्छन्, ‘धेरै अघिको भन्न नसके तापनि कम्तीमा ५० वर्षपछिको कुरा भने म आरामले भन्न सक्छु । किनकि त्यसबेला सायद म मरिसकेको हुनेछु ।’

इनोभेसन २.०

उनको ठट्टै सही, धेरैले रामाकृष्णलाई हल्का रूपमा लिंदैनन् । उनले अध्ययन गरिराखेको क्षेत्र नानो टेक्नोलोजीबारेका कुरा धेरै वर्ष ठट्टाकै रूपमा थियो । अहिले चिकित्सा क्षेत्रलाई मात्रै हेर्ने हो भने पनि नगन्य रगतको नमुनाबाट सबथोक थाहा हुन्छ, त्यसमै उपचार हुन्छ । एउटा सामान्य कागजको मोटाइभन्दा हजार गुणा सानो एकाइका कुरा पनि मानिसको जीवनमरणसँगै जोडिनेजस्तो महत्त्वपूर्ण अर्थ राख्दो रहेछ भन्ने कुरा कल्पनासम्म गरिएको थिएन । अहिले नानो टेक्नोलोजी केमा मात्र

छैन π चाहे महँगा कस्मेटिक हुन् वा आरामदायी मानिने आँखाका लेन्स, पानी शुद्धीकरण प्रविधिदेखि सुरक्षाका उपकरणसम्म, खाद्य सुरक्षादेखि वातावरणमैत्री घरसम्म नानो टेक्नोलोजी जोडिएकै हुन्छ ।

कतिसम्म भएको छ जनावरप्रेमी तर मासुका पारखीका लागि रुचाइने स्वाद र प्रोटिनको मात्रा मिलाएर जनावरको हत्या नगरीकनै कृत्रिम रूपबाटै मासु तयार भइसकेको छ ।

वल्र्ड इनोभेसन फोरम २०१८ को नेपाल संस्करणका रूपमा गरिएको स्विस–नेपाल टेक्नोलोजी ट्रान्सफर वर्कसपका लागि हालै काठमाडौं आएका रामाकृष्ण भन्दै थिए, ‘तर संसार यति रफ्तारमा अगाडि बढिराखेको छ कि अहिले हामीले जसको कुरा सबैभन्दा बढी गरिराखेका छौं, आगामी दशकमा त्यो हराइसकेको हुन सक्छ र अर्को झन् विशिष्ट उपलब्धि र सपना हामीमाझ हुनेछ ।’

आफ्नो समयको विशिष्ट उपलब्धि मानिएको स्टिम इन्जिन अहिले पनि छ तर हामीमाझ त्यसको कुरा खासै हुँदैन । आउँदा वर्षमा नानो टेक्नोलोजी, कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्रविधिको भूमिका नि:सन्देह ठूलो हुनेछ । ‘धेरै कुरा चाहिनेभन्दा बढी बुझिएको पनि छ,’ उनी भन्छन्, ‘एआई भनिएका सबैथोक एआई होइनन्, थुप्रै कुराहरू अझै सामान्य प्राविधिक हिसाबकिताब हुन् ।’

सत्य के हो भने, औसत मानिसहरूले भन्दा मेसिनहरूले थुप्रै कुरा छिटो र दुरुस्तै गर्न सक्छन् । एउटा मानिसको दिमागमा परिवार, भावना र दैनिक जीवनका अन्य थुप्रै कुराहरू खेलिराखेका हुन्छन् । मेसिनले गर्ने काम उसको पूर्ण क्षमताको काम हुन्छ भने मानिसका लागि थुप्रैमध्ये एउटा मात्र । त्यसैले कामको गुणस्तर र उत्पादकत्वका दृष्टिले मेसिनहरूले औसत मानिसको क्षमतालाई उछिनिसकेका छन् ।

विज्ञानको क्षेत्र नै अहिले पहिलेजसरी चलिराखेको छैन । ‘मैले रिसर्च सुरु गर्दा नयाँ ज्ञान पत्ता लगाउने कुरा थियो, तर अहिले धेरैजसो देशहरू प्रविधि हस्तान्तरणको युगमा छन्,’ होटल याक एन्ड यतीको बगैंचामा उनी भन्दै थिए, ‘अहिले आधारभूत अध्ययनभन्दा पनि नयाँ कम्पनी खोलेर वा चालु व्यवसायहरूका लागि लगानी बढाएर काम हुन्छ ।’

उनीजस्ता वैज्ञानिकले यद्यपि के कुरा बिर्सेका छैनन् भने आधारभूत अध्ययन र प्रविधिमा हुने लगानीजस्ता दुवै पक्षको सम्मिश्रणले नै ठूलो अन्वेषणका लागि बाटो बनाउँछ । तर त्यसका लागि पैसा जुटाउनै भए तापनि कम्पनीहरूको साथ चाहिन्छ । राज्यसँग तुलना गर्दा प्रोडक्ट डेभलपमेन्टमा दुई तिहाइभन्दा बढी लगानी त कम्पनीहरूले नै गरिराखेका हुन्छन् । उत्कृष्ट प्रोडक्ट मात्र बजारमा रहने र कमजोर हराउने बजारको नियममा राज्यहरू कम्पनी जसरी जोखिम मोल्ने आँट गर्दैनन् । अहिलेका टेक कम्पनीहरू यति द्रुत गतिमा अगाडि बढिराखेका छन्, आधा दशकमै उनीहरूले आफ्नो सम्पत्ति तीन गुणासम्म बढाइराखेका छन् ।

चालु विश्वमा कृत्रिम बौद्धिकता ‘हट केक’ को रूपमा छ । यस क्षेत्रमा उत्पादनहरू विकास गर्न जुन रफ्तारले काम भइराखेका छन्, त्यसलाई हेर्दा धेरै विश्वविद्यालयहरूसँग उच्चस्तरको आर्थिक स्रोत छैन । ठूला टेक कम्पनीहरूले अहिले ती सबै विलक्षण प्रतिभाहरूलाई आफूतर्फ तानेका छन् ।

‘के अब ठूलो युद्ध भयो भने त्यो साइबर विश्वमा हुनेछ ?’ उनी मुसुक्क हाँसे, ‘युद्ध कसरी हुन्छ भन्ने मलाई थाहा छैन । तर हो, अबको विश्वको प्रतिस्पर्धा प्रविधिकै आडमा हुनेछ ।’

पछिल्ला ५ वर्ष मात्र केलाउने हो भने विश्वका शीर्ष ठूला कम्पनीहरू सबैजसो टेक्नोलोजी वा सफ्टवयरसम्बन्धी छन् । र, थुप्रै देशहरूको कुल गार्हस्थ्यभन्दा बढी आर्थिक क्षमता भएका ती कम्पनीहरू एक अर्कासँग प्रतिस्पर्धा गरिराखेका छन् । उनी गणितीय नियमकै साहारा लिएर के बुझाउन खोज्दै थिए भने अरूको दायरामा प्रवेश नगरीकन ठूलो बन्न सकिंदैन । यसर्थ विश्व राजनीतिक विकासक्रमले समेत इनोभेसनमा धेरै जोडघटाउ गर्छ ।

सामान्य उदहारणका रूपमा डिजिटल मुद्रासमेत देशभित्र सहज भए तापनि सीमा नाघ्नेबित्तिकै अर्को देशको व्यवस्थासँग जोडिन्छ । अर्को देशको साइबर सुरक्षा, राष्ट्रिय सुरक्षा जोडिन्छ । प्राध्यापक रामाकृष्णले प्रश्न तेर्‍र्साएरै उत्तर दिन चाहे, ‘टेक कम्पनीहरूलाई हेर्नुस् त अहिले उनीहरूले आफ्ना बोर्ड सदस्य वा सल्लाहकारमा ठूला राजनीतिज्ञहरूलाई लिइराखेका छन् । किन त ?’

अहिले भचुर्अल विश्वमा टेक कम्पनीहरूले ठूलो भूभाग नै कब्जा गरिसकेका छन् । एउटा क्लासिकल उदहारणको रूपमा अमेरिका र युरोपका हरेक संयन्त्रमा रहेको टेलिकम्युनिकेसन कम्पनी एटीएनटीको प्रभावलाई हेरे पुग्छ । सबैतिर उसको एकाधिकार उच्च भएपछि अमेरिकाले एटीएनटी र अन्य केही ठूला कम्पनीहरूलाई पुनर्संरचना गर्ने नीति ल्याएको थियो । नत्र त साना कम्पनी वा सिर्जना कहिल्यै आफ्नै तरिकाबाट विस्तारित हुनै नपाउने भए । पछिल्लो आधा शताब्दीमा यो क्रमले निकै व्यापकता पायो ।

अर्को अवसर र चुनौती अब डेटासँग जोडिएको छ । सबै कुरा डेटामा छ । अब गोपनीयता व्यवस्थापन र डेटा सुरक्षाको सवाल सबैभन्दा बढी महत्त्वपूर्ण हुनेछ । अहिले जसरी डेटाहरू आइरहेका छन् त्यो निकै धेरै छ । र, त्योभन्दा कैयौं गुणा डिजिटल डेटाहरू हरेक दिन थुप्रिरहेका छन् ।

रामाकृष्ण त ठान्छन्, अबको २० वर्षमा सायद हामीले दिमागसँग जोडिने प्रविधिको कुरा बढी गरिराखेको हुनेछौं । किनकि त्यतिखेर त्यै सबैलाई चाहिनेछ । आजभोलि थुप्रै एयरपोर्टमा बोर्डिङ कार्ड हुँदैन किनकि बारकोर्डले सबै हिसाब गरिराखेको हुन्छ । एउटा मेसिनले राम्रोसँग काम गरिराखेको छ तर हाम्रो दिमागले गरिराखेको हुँदैन जसलाई सघाउन अर्को मेसिन साथी चाहिनेछ । अहिले विश्वभर उपलब्ध गुणस्तरीय सेवा–सुविधाका कारण मानिसहरू धेरै वर्ष बाँचिराखेका छन् । अर्थात् अहिलेको र आउनेवाला विश्वमा वृद्धहरू बढी छन्, हुनेछन् । स्मरण शक्तिमा ह्रास आउनेजस्ता मानसिक समस्याहरू त्यसैगरी बढेका छन् । डाक्टरले औषधि नै थुप्रै दिनेछन् तर परिवारका सदस्यहरू आफ्नै काममा व्यस्त हुनेछन् । डाक्टर सधैं सँगै हुनेछैनन् । ‘कुन पुस्ताले कस्तो खपत लयलाई समात्छ, इनोभेसनहरू त्यसकै आधारमा हुनेछन्,’ उनी भन्छन्, ‘दिमागलाई मार्गनिर्देश गर्ने प्रविधि आउनेछ ।’

नानो टेक्नोलोजीका क्षेत्रमा भइराखेका लोभलाग्दा इनोभेसन देख्दा रामाकृष्ण आफैं दंग पर्छन् । सायद कहिलेकाहीं उनलाई कल्पनिक कथाको संसारमा शयर भएझैं पनि लाग्दो हो । पंक्तिकारले त्यसो भनिरहंदा यी भलाद्मी प्राध्यापक मुस्काए र अहिले निकै लगानीसाथ अध्ययन भइराखेको क्षेत्र ‘इलेक्ट्रोसिटिकल्स’ बारे सुनाउन थाले । यो त्यस्तो क्षेत्र हो जसमा अपेक्षित सफलता हासिल भयो भने अहिलेको ‘फार्मासेटिकल्स’ संयन्त्रमा जस्तो बिरामी हुँदा रसायनयुक्त औषधि किनेर खानुपर्ने छैन । त्यस्ता इलेक्टिक झट्काहरू विकसित गरिनेछ जसले शरीरभित्रै हुने अर्बौं न्युरोन्सलाई औषधि बनाउनेछ । धेरै अगाडि नगईकन अबको दुई दशकभित्रै विश्वका थुप्रै मानिसका शरीरमा कम्तीमा एक चौथाइ कृत्रिम अंग प्रत्यारोपण हुनेछन् । बदलिँदो कुलीन जीवनशैलीबीच यो एकतर्फ समस्याको रूपमा आएको त छ नै तर नानोटेक्नोलोजीमा भएको विकासले सामान्य प्रक्रियाझैं लाग्नेछ ।

...

नेपालको छिमेकमै अहिले ठूल्ठूला खोज र अन्वेषण भइराखेका छन् । पूर्वाधारको तहमा आरामदायी स्थान बनाइसकेपछि चीनले आफूलाई ‘न्यून नर्मल’ युगमा प्रवेश गराउँदै उत्पादनबाट इनोभेसनतर्फ लागेको छ । त्यहाँ अहिले दसौं लाखले विश्वविद्यालय तहको शिक्षा लिइराखेका छन् । त्यो भनेकै अबको अर्को तह निर्विकल्प रूपमा इनोभेसनमा जानु हो । चीनको डायस्पोरा पनि निकै शक्तिशाली छ । पश्चिमा विश्वमा हुर्केबढेका तीक्ष्ण बुद्धिहरू स्वदेश फर्किरहेका छन् । चीनले अरूलाई पछ्याइराखेको छैन । बेइजिङमा अहिले दुई अर्ब डलरको लगानीमा वैज्ञानिक पार्क निर्माणाधीन छ जुन पूर्णत: कृत्रिम बौद्धिकताको अध्ययनमा केन्द्रित हुनेछ ।

एक्काईसौं शताब्दीको एउटा प्रमुख चुनौती मानिएको जलवायु परिवर्तनसँग जुध्न इलेक्ट्रिक पारवहनमा जाने योजना त थुप्रै देशहरूमा छ । वातावरणीय सुधारको लागि उक्त विकल्पमा जानुको विकल्प पनि छैन । तर त्यसो भन्दैमा तत्काल पूरै विस्थापित गर्न पनि सकिंदैन । इन्जिन, ब्याट्रीजस्ता पक्षलाई वषौं, थुप्रै परिवेश र शैलीमा जाँच गरेपछि आउने डेटाले मात्र त्यो परिवेशका लागि मार्गनिर्देश गर्न सक्छ । रिर्चाजेवल ब्याट्रीमा हुने इनोभेसन झनै महत्त्वपूर्ण छ । किनकि नवीकरणीय ऊर्जा सधैं एकनासको हुँदैन । जसका लागि दसौं लाख गाडीहरूले दिने डेटालाई मूल्यांकन गर्नुपर्छ । उक्त डेटा संकलनको पूर्वाधार बनिसकेको छ । उनी ठान्छन्, ‘नत्र महत्त्वाकांक्षी मानिने अर्को तहको इनोभेसनमा फड्को मार्न कठिन छ ।’ कार्बन उत्सर्जन घटाउन रणनीतिमा अहिले विकसित राष्ट्रको एउटा प्रमुख रणनीति नानो टक्नोलोजीकै इनोभेसनमा केन्द्रित गरेका छन् ।

‘विश्वको यो रफ्तारमा नेपाल कहाँ छ ?’

‘निकै पर,’ उनले धेरै नसोचीकनै जवाफ दिए ।

नेपालमा केही दिन बस्दा तन्नेरी पुस्ताहरूका केही आइडियाहरूलाई उनले नजिकबाट हेर्ने अवसर पाए । नेपाली युवाहरूले चुनौती झेल्न खोजिराखेको स्पष्टसँग देखे पनि । तर उनका अनुसार सिंगापुरसँग तुलना गर्दा यद्यपि यहाँ उनीहरूले आफूलाई चाहिनेजस्तो गुरु (मेन्टर) भेटिराखेका छैनन् । भन्छन्, ‘विश्वविद्यालयहरूसँग पूर्वाधारकै टाउको दु:खाइ यति धेरै छ कि योजनाहरू भईकन पनि अध्ययन–अन्वेषणका लागि लगानी गर्ने चरणमै पुगेका छैनन् । सैद्धान्तिक तहमा मात्र काम भइराखेको छ । तर थोरैथोरै नै गरेर भए तापनि रिसर्च एन्ड डेभलपमेन्टमा लगानी बढाउनैपर्छ ।’ उनका अनुसार नेपाली मात्र होइन एसियाली विद्यार्थी वा युवा वैज्ञानिकहरूमा उनले देखेको साझा समस्या आत्मविश्वासको हो । कम्पास, कागज, गनपाउडर, प्रिन्टिङजस्ता सुरुवाती अन्वेषणहरू एसियाबाटै भएका थिए । जुन पछि युरोप, अमेरिकातर्फ फैलिए । अहिले पुन: एसियाली मुलुकहरूमा बढेको बजार, आर्थिक हैसियत, वैज्ञानिकहरूको उपलब्धता र सस्तोमै गर्न सकिने रिसर्चको कारण पुन: एसियाली युग सुरु भएको छ ।

उनले आफ्नो पुस्तक ‘चेन्जिङ फेसेज अफ इनोभेसन : इज इट सिफ्टिङ टु एसिया ?’ लेख्नुपछाडिको कारण पनि एसियाली विद्यार्थीहरूमा यही ऐतिहासिक तथ्यकै भरमा आत्मबल भर्नु थियो ।

अहिले एसियाली मुलुकहरूमै डिजिटल प्रविधिहरूलाई हेर्ने हो भने साझेदारी अर्थतन्त्र, बिनाकागजको वित्त व्यवस्था, भर्चुअल मुद्राले एकखाले क्रान्ति ल्याइसकेको छ । चीनले अमेरिकाकै तहमा रिसर्च एन्ड डेभलपमेन्ट (आरएन्डडी) मा गरेको लगानीले नै यसको माहोल बनाएको हो । उनी धेरै सन्देह नराखीकनै भन्छन्, ‘यही गतिमा गए छिट्टै अमेरिकालाई उछिन्नेछ चीनले ।’ यसअघि जापान, दक्षिण कोरिया, सिंगापुरजस्ता देशहरूले समेत यही गरेका थिए । भारतको योगदान आफ्नै तरिकाबाट महत्त्वपूर्ण छ । विश्वसँग यहाँको संयन्त्र एकीकृत हुन नसक्नु भनेको नेपाल होस् या अन्य कुनै देशका लागि अब भद्रगोलजस्तो हुनेछ । जस्तो, डिजिटल अर्थतन्त्र सबैको रुचिको विषय नभए तापनि अब जानैपर्छ । ‘मलाई अचम्म लाग्यो काठमाडौंमा रुट मिल्ने अरूसँग मिलेर ट्याक्सी चढ्न सकिंदो रहेनछ जुन कुनै रकेट साइन्स पनि होइन,’ उनी भन्दै थिए, ‘देशले सबै कुरा अरूको पछयाउनुपर्छ भन्ने छैन तर सबै कुरा अब हिजोजस्तो कसैगरी हुँदैन ।’

सन् २०१५ यताको समयबाट भने उनी केही सशंकित छन् । पछिल्लो तीन दशकलाई हेर्ने हो भने प्रविधिमा थुप्रै ठूला कामहरू मिलेर भएका छन् । तर पुन: पर्खालहरू सिर्जना भएका छन् । ब्रेक्जिट, ट्रम्पको उदय सबै त्यसको उदाहरण हुन् । अब देशहरू इनोभेसन मिलेर नभई सीर्फ एक्लै गर्न सकिन्छ भन्नेहरू शक्तिमा आएका छन् । उनी ठान्छन्, ‘यी नयाँ पर्खालहरूबिच हाम्रो इनोभेसन अहिलेजस्तो सीमाहिन भने पक्कै हुनेछैन ।’

twitter: @pdpbasyal

प्रकाशित : माघ ६, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?