३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘साहु साम्यवादी’ का भीडमा

सोनाम साथी भन्छन्, ‘छोटो जिन्दगीमा किन दु:खी हुनु साथी ! किनकि यो ज्यान २ देखि ८ प्रतिशत मात्र आफ्नो हो । बाँकी सबै प्रकृतिको नियन्त्रणमा छ ।’
गंगा बीसी

काठमाडौँ — गोंगबु बसपार्क नजिक व्यस्त मित्रनगरस्थित एक घरको तेस्रो तलामा एक ‘साधु’ कम्युनिस्ट नेताको बास छ । बास यसकारण कि उनलाई आफन्तले आश्रय दिएका छन् । सके भाडा तिरे हुन्छ, नसके माफ ! उमेरले ६५ पुगेका उनी बिन्दास तन्नेरीझैं कपाल पालेका छन् ।

‘साहु साम्यवादी’ का भीडमा

हँसिलो हुनु उनको सिद्धान्तै हो । उनको निवासमा जाने जो कोही पनि निराश भएर फर्कनु पर्दैन । किनकि उनी केही न केही जीवनसम्बन्धी खुराक दिएर फर्काउँछन् । भन्छन्, ‘छोटो जिन्दगीमा किन दु:खी हुनु साथी π किनकि यो ज्यान २ देखि ८ प्रतिशत मात्र आफ्नो हो । बाँकी सबै प्रकृतिको नियन्त्रणमा छ ।’

सोनाम साथी अहिले राजनीतिमा सक्रिय छैनन् । माओवादीको हेटौंडा महाधिवेशनपछि उनी पार्टी बैठकमा गएका छैनन् । पहिलो स्वास्थ्य, दोस्रो अर्कै केही वैचारिक कारण छ । खुलाउन चाहँदैनन् । त्यो जो जससँग सम्बन्धित छ । उनले पार्टी शुद्धीकरण गर्न दिएको सुझाव पेरिसडाँडाको पार्टी कार्यालयमा अलपत्र परेछ ।

हाल उनी विचार मन्थनमा भने सक्रिय छन् । कुनै बेला कट्टर कम्युनिस्ट नेता अहिले विचारमा ‘लिबरल’ छन् । उनलाई व्यक्तिगत मोह केही छैन । उनको पार्टी माओवादी सरकारमा पटक–पटक गयो, स्वास्थ्य उपचारबाहेक कुनै लाभको पद लिएनन् । ज्यानको सवाल थियो, उनीसँग पैसा थिएन । दुवै मृगौला फेर्न उनले दुई पटक सरकारी सहयोग पाएका छन् । जिन्दगी सद्दे भएकोमा उनले सबैलाई धन्यवाद दिन चुक्दैनन् । बाँचेकाले नै कम्युनिस्ट पार्टीका गतिवधि मञ्चन भइरहेको देख्न पाएको ठान्छन् उनी ।

जीवनका सयौं उकाली–ओरालीमा दु:ख आउनु स्वाभाविक ठान्छन् उनी । अरूको खासै आलोचना गर्दैनन्, सुझाव मात्र दिन्छन् । उनको पुरानै बानी हो यो । भन्छन्, ‘मोह र मेरो भन्ने कुराले हामीलाई मारेको छ । मोह र मेरो त्याग्न सक्ने मान्छे थोरै हुन्छन् ।’

कुनै बेला हुने–खानेका छोरा सोनाम यतिबेला भने सर्वहारा छन् । उनी आफूलाई सर्वहारा नेता मान्दैनन् । सर्वहाराका नेतालाई आफ्नो सम्पत्ति लुकाउन हम्मे भएको देखेर उनी चकित छन् । ‘१० वर्षअघि सम्पत्ति देखाउने, अहिले लुकाउने किन हो साथी ?’ उनले व्यंग्यात्मक शैलीमा माओवादी नेतालाई भने । धेरै चर्को आलोचना गरे कमरेडहरू रिसाउलान् भन्ने डर पनि छ उनलाई । त्यसैले नरम भाषामा सुझाव दिन्छन् । सुझावको नाममा नेताको दैलोमा चाकरी गर्ने प्रवृत्ति हावी भएको बेला उनी भने कोही सम्झेर भेट्न आएको मौकामा आफ्ना कुरा राख्छन् ।

म्याग्दीको अर्मनमा २००७ सालको क्रान्तिकै बेला जन्मेका सोनाम हुने–खाने परिवारका थिए । त्यसैले उनलाई वसन्त गौचन (९० वर्ष ) ले पढाउन भनेर दार्जिलिङ लान खोजेका थिए । उनी भने सात वर्षको उमेरमा काठमाडौं आए, बीएस्सीसम्मको अध्ययन गरे, राजनीति भने उनले २०२२ सालदेखि सुरु गरे । त्यसपछि स्वअध्ययनमा लागे सोनाम । उनले माक्र्सवादको मात्र अध्ययन गरेनन्, धेरै वादको अध्ययन गरे जुन उनीसँग एक घण्टा मात्र बसेर भलाकुसारी गर्दा थाहा भइहाल्छ ।

हरेक सन्दर्भमा व्यावहारिक दर्शन हालेर कुरा गर्ने उनको नागरिकताको नाम नै सोनाम साथी हो । खासमा बोलाउने नामचाहिँ शशि शेरचन हो । यो नामलाई उनले औपचारिक बनाएनन् ।

***


कपुरी ‘क’ को अर्थ कतिलाई थाहा छ ? सानोमा बाह्रखरी पढ्दा धेरैले पढेको हुनुपर्छ । यसको अर्थ जान्न सोनामलाई ४० वर्ष लागेछ । ढिलै भए पनि कपुरी कको अर्थ जान्न पाएकोमा उनी औधि खुसी भएछन् । थाहा आन्दोलनका संस्थापक रूपचन्द्र बिष्टले उनलाई कपुरी कको अर्थ सुनाएछन् एक साँझ । ‘एक दिन रूपचन्द्रले सोधे कपुरी कको अर्थ थाहा छ ? मलाई थाहा थिएन । के होलाजस्तो भयो ।’ केही समयपछि रूपचन्द्रले आफैं भनेछन्, ‘खासमा कपुरी क होइन कपुर गेडी क हो । कको पछाडि कपुर गेडाजस्तो भएकाले ।’ भन्दै जाँदा कपुर गेडीलाई कपुरी भन्ने चलन बस्दै गयो । केही न केही रूपमा समाज सुधारका लागि रूपचन्द्रको आन्दोलनलाई उनले समर्थन गरेको सुनाए ।

‘नयाँ जनवादी क्रान्ति नभई हुँदैन’ भनेर भूमिगत राजनीतिमा लागेका उनले १८ वर्षको उमेरमा राजनीतिको सुइँको पाए, त्यो पनि माक्र्सवादको । त्रिचन्द्र पढ्न थालेका उनले विद्यार्थी आन्दोलनबाट प्रभावित भई आन्दोलनमा सरिक भएको जनाए । ‘मान्छेमा १८ वर्षपछि मात्र वाद आउँछ, अरूलाई अरू वाद आयो, मलाईचाहिँ माक्र्सवाद आयो,’ उनले भने । आठ वर्षको उमेरसम्म ८० प्रतिशत कुरा अरूले दिमागमा भरिदिन्छन् । त्यही कुरा लिएर मान्छे हिँडेको हुन्छ । १८ वर्ष पुगेपछि मान्छेले आफ्नो् बाटो समात्ने गरेको उनको बुझाइ छ ।

‘अहिलेको आन्दोलन समाजवादी हो, कम्युनिस्ट होइन,’ उनले थपे, ‘ठूला नेताले चित्त बुझाए अरूको के लाग्छ ?’ जनता पर्खेर हेर्ने मात्र हो, उनीहरूले प्रतिक्रिया दिन समय लाग्छ । त्यसकारण उनी ठूला नेतासामु आफ्ना माग राखेर ‘दु:ख’ दिन चाहन्नन् ।

***


सात वर्षको उमेरमा घरबाट निस्केका उनी फेरि फर्केनन् । स्कुल, क्याम्पसको जीवनपछि उनी भूमिगत राजनीतिमा लागे । अहिले त म्याग्दीको घरको सम्पत्ति सकिइसक्यो पनि । घरबाहिरै उनको जीवन यहाँ आइपुग्यो । स्वास्थ्यले साथ नदिएका कारण उनी त्यति हिँड्दैनन् । उनका लागि जहाँ बस्यो, त्यहीं घर । सोनामले घर छाडेपछि बिचल्लीमा परेका उनको परिवार धेरैतिर छरिए । उनकी बहिनीले जापान गएर कमाएर ल्याएको पैसाले गोंगबुमा घर बनाइन् । हाल त्यही घरको तेस्रो तलामा सोनाम बस्छन् ।

राजनीतिका लागि २०२८/०२९ सालतिर काठमाडौंको सुन्धाराका भरियासँग सुतेको अनुभव उनीसँग छ । ‘हामी मजदुरलाई चेतना जगाउन आफू पनि त्यस्तै हुनुपर्छ भनेर भरियासँग सुत्ने गथ्र्यौं,’ उनले सम्झिए, ‘त्यसको तुलनामा अहिलेको बसाइ राम्रो हुने नै भयो ।’ उनले आफ्नो बसाइ ‘सबैको सहयोग’ ले सुविधासम्पन्न ठान्छन् ।

उनी बसेको घरको पहिलो तलामा दोहोरी साँझ छ, जूनकीरी दाहोरी । त्यहाँ बढीजसो प्रगतिशील गीत गाइने उनले सुनाए । सोनाम भने त्यो झिलिमिली संसारमा अध्ययन र चिन्तनमा व्यस्त छन् । केही व्यक्तिसँग मिलेर माक्र्सीय गुरुकुल चलाउने तयारीमा उनी छन् । त्यसका लागि सरकारले बुढानीलकण्ठमा जग्गा उपलब्ध गराएको उनले सुनाए । त्यो गुरुकुलमा माक्र्सवादबारे पढाइ हुनेछ ।

***


सन् २००२ मा माओवादी युद्ध उत्कर्षमा पुगेको थियो । उनीलगायत केही नेताहरू शान्ति अभियानमा लागे । त्यही क्रममा उनको भेट दाङकी किरण गौतमसँग भयो । दुवैबीच प्रेम बस्यो । सन् २००३ देखि दुवै सँगै बस्न थाले, पश्चिमा देशतिर जस्तै लिभिङ टुगेदर । समाजले मात्र होइन, पार्टीकै नेताहरूले पनि सोनामलाई बिहे नगरी युवतीसँग सँगै बसेकोमा ‘बदमास’ भन्न थाले । प्रेमपूर्वक सँगै बस्ने चलनलाई उनी साम्यवादको एक नमुना ठान्छन् । उनीभन्दा आधा उमेर कान्छी किरण पेसाले इन्जिनियर हुन् । त्यसको केही वर्षपछि दुवैले प्रगतिशील विवाह गरे । ‘सबैको दबाबले विवाह गर्‍यौं, विवाह नै गर्नुपर्छ भन्ने थिएन,’ उनले सुनाए । विवाहको चाँजोपाँजो नेता अमिक शेरचनले मिलाएका थिए ।

विवाहभन्दा प्रेम प्रमुख विषय ठान्छन् उनी । ‘प्रेम हुँदासम्म सँगै बस्नुपर्छ, प्रेम नभए सँगै बस्नु हुँदैन,’ उनले खुलाए । दुवैले हालसम्म सन्तानको रहर गरेका छैनन् । सन्तानबारे सोधिएको प्रश्न उनले धेरै पटक टारे । ‘जीवन आफ्नो नियन्त्रणमा छैन । सकेसम्म खुसीसाथ बाँच्ने हो,’ उनले केही दार्शनिक कुरा मिसाए । उनकी ‘प्रेमिका’ सरकारी जागिरे भएका कारण जीवन चलाउन सहज भएको उनले सुनाए ।

सोनामको डेरामा जाने धेरै केही न केही सहयोग लिएर जान्छन् । चामल, दाल, तरकारी कहिलेकाहीं उनको ससुराली दाङबाट आउँछ । उनका साथीभाइले बेलाबेला आवश्यक सामल जुटाइदिन्छन् । ‘म आफूचाहिँ कसैसँग केही माग्दिनँ,’ उनले भने, ‘साथीभाइ, इष्टमित्रको सहयोगले यो जीवन चलेको छ ।’ दु:ख भए पनि सुखै भन्ठान्छन् उनी । समाज पैसामुखी भएकोमा केही चिन्तित छन् उनी ।

***


आधा बाटो हिँडेपछि दोबाटोमा जोकोही अल्मलिन्छ । नेपालका कम्युनिस्ट नेताहरू प्रचण्डलगायत दोबाटोमा छन् । अब उनीहरू ‘परोपकारी अधिनायकतन्त्र’ को बाटोमा अघि बढेको सोनामको बुझाइ छ । त्यसको व्याख्या समय आफैंले निक्र्योल गर्ने उनले सुनाए । ‘सहभागितामूलक लोकतन्त्र (गणतन्त्र) नीति अपनाए राम्रो हुने थियो,’ उनले भने, ‘हैन, भने जसरी पनि सत्ता, पद चाहिने भएपछि, जनशक्तिभन्दा धनशक्ति चाहिने भएपछि हाम्रो के लाग्छ ?’

पार्टी र नेताहरूको चरित्रले साम्यवादलाई दुई भागमा विभाजन गरेको ठान्छन् सोनाम । ‘साहु साम्यवादी र सर्वहारा साम्यवादी छन्, यहाँ,’ उनले थपे, ‘बोलवाला साहु साम्यवादीकै छ ।’ माओवादीका नेताको नवधनाढ्य शैलीलाई उनले व्यंग्य गरेको हुनुपर्छ । भन्छन्, ‘म कसैको आलोचना गर्दिनँ किनकि सत्ताको सहयोग मैले पनि लिएको छु । सरकारकै सहयोगले मृगौला फेरेर बाँचेको छु र यो दुनिया देखेको छु । सबैलाई धन्यवाद ।’

***


कुनै बेला कम्युनिस्ट नेताहरू योग साधनालाई नकार्थे । सोनाम भने २० वर्षदेखि योग गरेका मात्र छैनन्, अनुसन्धान पनि गरेका छन् । ‘ध्यान योग भनेको दिमागलाई कुलिङ गर्ने विधि हो, जसले दिमागलाई सही दिशामा अघि बढाउँछ,’ उनले थपे, ‘ध्यानमा मस्त भएको बेला साम्यवाद आएसरह हो । त्यहाँ कुनै वर्ग हुँदैन ।’ यसको अर्थ उनी अध्यात्मतिर लागेका भने होइनन् ।

***


करिब तीन घण्टा कुराकानी गरेपछि सहकर्मी कृष्ण आचार्य र कबिन अधिकारीतिर हेर्दै सोनामले भने, ‘साथी, जिन्दगी रमाइलोसँग बिताउनुपर्छ । धेरै हाँस्नुपर्छ, थोरै रुनुपर्छ । अरूलाई हानि गर्नुहुँदैन ।’ यति भनिसकेपछि उनले किचनतिर हामीलाई तानेर लगे । ‘आफैं पकाएर चिया खाने हो । फेरि जिन्दगी सुन्दर बनाउने गफ गर्ने हो ।’ चिया खाइसकेपछि उनी आफैं गेटसम्म बिदा गर्न आए । ‘साथी, रमाइलो गरौं, असमानता मेटाउने प्रयास गरौं ।’

twitter @gangabc

प्रकाशित : माघ ६, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?