१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सौन्दर्यको मृगतृष्णा

फिल्म
फिल्मको नाममा र कथाको केन्द्रमा रानी पद्मावती भए पनि कथाको मुख्य पात्र अलाउद्दिन खिलजी हुन्। खिलजीलाई कसैले यो फिल्ममा ठूलो प्रेमी पनि देख्न सक्छ, वा कामवासनाले अभिभूत भएको एउटा घिनलाग्दो मानिस पनि।
यज्ञश

काठमाडौँ — निकै ठूलो लफडा र हल्लाखल्लापछि सञ्जयलीला भन्सालीको फिल्म ‘पद्मावत’ प्रदर्शनमा आएको छ।

सौन्दर्यको मृगतृष्णा

‘पद्मावत’ चौधौं शताब्दीको कथा हो। दिल्ली र मेवाड दुई राज्यका राजा र तिनका बीच पर्ने रानीको सुन्दरता र साहसको कथा हो। एक वाक्यमा भन्ने हो भने यो दिल्लीको सुल्तान अलाउद्दिन खिलजीको कथा हो, जो सुन्दरताको बयान सुनेकै भरमा आफूले कहिल्यै नदेखेकी रानीका लागि अर्को राज्यमाथि आक्रमण गर्न निस्किन्छ। आफूलाई प्राप्त गर्ने मनसुवाका साथ आएको बलशाली सुल्तानलाई रानी पद्मावतीले आफ्नो बुद्धिको प्रयोग गरेर कसरी सामना गर्छिन् भन्ने कथा ‘पद्मावत’ हो।

चौधौं शताब्दीको मेवाड राज्यका राजपूत राजा रावल रतनसेनकी रानी पद्मावतीको लिखित इतिहासमा कुनै उल्लेख छैन। सोह्रौं शताब्दीका सुफी कवि मोहम्मद जयासीको काव्यमा मात्र उनको उल्लेख पाइन्छ। तर, मौखिक इतिहास वा मिथमा उनलाई ‘महारानी पद्मावती’ वा ‘रानीमा’ को उपाधि दिने गरिएको छ। खासगरी हिन्दु राजपूतहरूले उनलाई आफ्नो जाति र पुर्खाको गौरवका रूपमा लिने गरेका छन्। भन्सालीले पद्मावतीको कथामा फिल्म बनाउने समाचार आउनासाथ उनीहरूले आफ्नो गौरवमाथि छेडछाड गर्न लागिएको भनेर विरोध गरेका थिए। जब पछि, फिल्ममा खिलजी र पद्मावतीको प्रेमको ‘ड्रिम सिक्वेन्स’ भएको हल्ला चल्यो, त्यसपछि त सडकमा आगो बल्यो। कलाकार र निर्देशकको टाउकाको मोल तोकियो।

सत्तारूढ भारतीय जनता पार्टीको सरकार रहेका ६ वटा प्रदेश सरकारले यो फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाए। फिल्मको प्रदर्शन अनिश्चित भयो। गुजरात र हिमाञ्चल प्रदेशमा त्यस बेला चलिरहेको चुनावमा आफ्नो पक्षमा मत तान्न फिल्मविरोधी प्रदर्शन गरिएको अनुमान लगाइयो। जब यी दुवै राज्यमा भारतीय जनता पार्टीले जित्यो, सेन्सरले ५ वटा परिवर्तनसहित फिल्म पास गर्‍यो। ती परिवतर्नमा फिल्मको नाम ‘पद्मावती’ बाट ‘पद्मावत’ बनाउने पनि थियो। भारतको सर्वोच्च अदालतले राज्य सरकारहरूले लगाएको प्रतिबन्धलाई गैरसंवैधानिक भनेर खारेज गर्‍यो। यसपछि जब फिल्म रिलिज भयो, अनि थाहा भयो— यसमा त राजपूतविरोधी वा राजपूतको शानमा आँच आउने कुनै पनि कुरा रहेनछ। बरु, यसको पटकथा त कुनै राजपूत संगठनले आफ्ना पुर्खाको वीरता र त्यागको प्रचार गर्न बनाएको सामग्रीजस्तो पो रहेछ।

सञ्जयलीला भन्साली ‘लार्जर देन लाइफ’ साइजका कथामा रुचि राख्ने निर्देशक हुन्। पछिल्लो समयमा उनी ‘पिरियड ड्रामा’ तिर ढल्किइरहेका छन्। उनका यसअघिका ‘देवदास’, ‘बाजिराव मस्तानी’ लगायतका फिल्म त्यसका उदाहरण हुन्। पुरानो समयका कथालाई पर्दामा पुनर्निर्माण गर्नु भन्सालीको सोख हो। उनी त्यसलाई आफ्नो हिसाबले निर्माण गर्छन्। फिल्ममेकरसँग आफ्नो नयाँ दुनिया सिर्जना गर्न सक्ने खुबी हुन्छ। यस्तोमा केही निर्देशकहरू पहिले नै भएको कुरालाई सच्याएर वा मिलाएर पुनस् प्रस्तुत गर्न उद्दत हुन्छन्। इतिहास, पुराण वा मिथकका कथाहरूलाई पुनस् भन्नु भनेको त्यसलाई नयाँ समयमा नयाँ आलोकमा हेर्ने प्रयास हुनु हो। पहिले नै घटित भइसकेको घटनालाई अहिले परिवर्तन गर्न सकिँदैन तर त्यसको वैकल्पिक प्रस्तुति दिन वा त्यसलाई परिस्थितिअनुसार पुनव्र्याख्या गर्न वा ‘मूल्यांकन’ गर्न सकिन्छ। यसकारण जब कुनै पुरानो विषयमा फिल्म बनाइन्छ, त्यो अहिलेकै समयका लागि बनाइन्छ। फिल्ममेकरले त्यही युगका पात्रसँग होइन, फिल्ममार्फत् अहिलेका दर्शकसँग संवाद गर्छन्।

यस हिसाबले हेर्दा ‘पद्मावत’ बनाउनुका पछाडि सञ्जय भन्सालीका दुई उद्देश्य देखिन्छन्। एक, ६ सय वर्षअघिको भारत वर्षका राजा–रजौटाहरूको सम्बन्ध, युद्ध र प्रेमको कथा अहिलेका दर्शकमाझ पस्कने। र, दोस्रो– राजपूत शौर्यको बखान गर्दै, तत्कालीन दिल्लीको अफगान–मुस्लिम साम्राज्यको घोर निन्दा गर्ने। अफगानिस्तानबाट फिल्मको कथा जुन ‘टोन’ बाट सुरु हुन्छ त्यसले नै अलाउद्दिन खिलजीलाई एक दुस्साहसी पराक्रमीका रूपमा पेस गर्छ। हिन्दी फिल्ममा चल्दै आएको कथा संरचनाअनुसार यस्ता दुस्साहसी प्रायस् भिलेन हुने गर्छन्। खिलजी पनि त्यही कोटीमा पर्छ। अर्काकी छोरीरबुहारीरश्रीमतीको रूप लावण्यको कथा सुनेर आक्रमणमा उत्रिनेलाई जनाउन हिन्दी फिल्ममा एउटा उपाधि छ, ‘हवसके पुजारी’। तर, खिलजीको व्यक्तित्व यतिमा मात्र अटाउँदैन। उसको यौनिकता र गोप्य जीवनका अरू धेरै रहस्य फिल्ममा रहस्यकै रूपमा छन्।

दिल्लीलाई सात पटक उजाडिएर पुनस् आवाद भएको सहर मानिन्छ। वर्तमान भारतको राजधानी हुनुअघि पनि दिल्ली बाहिरी आक्रमणकारीहरूका लागि सधैं धनधान्यले भरिपूर्ण राज्य थियो। यसैले संसारका धेरै कुनाका सम्राट्ले दिल्लीमाथि हमला गरेका छन्, अंग्रेज त्यसको अन्तिम कडी थिए। अफगान–तुर्कहरूको त दिल्लीसँग निकै पुरानो सम्बन्ध छ। यस्तै, राजपूतको शौर्यको पनि आफ्नै गाथा छ। यो फिल्मलाई दुई सभ्यताको लडाइँका रूपमा पनि प्रचार गरिएको थियो। रहनसहन र जीवनशैलीमा यी दुईको भेद फिल्ममा देखिन्छ पनि। तर, यो सभ्यताको होइन, प्रेम र वासनाको लडाइँको नै कथा हो।

फिल्मको नाममा र कथाको केन्द्रमा रानी पद्मावती भए पनि कथाको मुख्य पात्र अलाउद्दिन खिलजी हुन्। खिलजीलाई कसैले यो फिल्ममा ठूलो प्रेमी पनि देख्न सक्छ, वा कामवासनाले अभिभूत भएको एउटा घिनलाग्दो मानिस पनि। तर, पद्मावती र रावल रतनसेनको सम्बन्धमा यस्तो कुनै दोहोरोपना छैन। यो शुद्ध प्रेमको सम्बन्ध हो। यस्तो प्रेम जसले सबैलाई जितेर शून्यमा पुर्‍याउँछ।

पौने ३ घण्टाको फिल्मको गति सुस्त छ। बलिउडमा चलिआएका केही फिल्मी डाइलगसमेत यसमा पाइन्छन्। उत्तम सिनेम्याटोग्राफी र प्रोडक्सन डिजाइन यसमा देख्न सकिन्छ। फिल्मको संगीतसमेत आफैंले दिएका भन्साली यसका हरेक दृश्यको सुन्दरतामा चनाखो छन्। उनका कलाकार र तिनले लगाएका लुगा मात्रै सुन्दर छैनन्, सेट पनि भव्य छ। अहिलेका हीराका गहना लगाएका जस्ता देखिए पनि उनले कलाकारको मनोवृत्तिअनुसारको वेशभूषा गरेका छन्। खिलजी र उनका सहयोगीहरूले प्रायस् कालो लुगा लगाएका छन् भने राजपूतले रातो र सेतो। फिल्ममा राजपूतका पर्वहरू दीपावली, होलीको उल्लास देखिन्छ तर खिलजीको दरबारमा षड्यन्त्रका पर्व मात्र देखिन्छन्। खिलजीको खलकमा एक प्रमुख पात्रको रंगीन पोसाक छ, रानीको। यी रानी भने खलनायक होइनन्।

फिल्मको पटकथा चलिआएको कथाबाट खासै टाढा छैन। केही युद्ध दृश्य र प्रेम दृश्यहरू खिच्दा मात्र निर्देशकले आफ्नो कल्पनाशीलता घुसाएका छन्। फिल्ममा निर्देशकले पद्मावती बनेकी दीपिका पादुकोणको सुन्दरता निखार्न निकै मिहिनेत गरेका छन्। उनका लागि लुगादेखि गहनासम्मको छनोटमा उनको ध्यान पुगेको देखिन्छ। राजा रतन सेनको भूमिकामा देखिएका शाहिद कपुरलाई उनले राजपूतको ‘आन बान र शान’ को बखान गर्ने जिम्मा दिएका छन् भने अभिनय गर्ने जिम्मा दिएका छन् अलाउद्दिन खिलजी अर्थात् रणवीर सिंहलाई। खिलजीको भूमिकामा रणवीरले आफ्ना यसअघिका सबै फिल्मलाई उछिन्छन्। भन्सालीकै ‘रामलीला’ र ‘बाजिराव मस्तानी’ बाट गम्भीर अभिनेताको छवि बनाएका रणवीर यसमा एक कदम अघि बढेका छन्। प्रसिद्ध निर्देशक श्याम बेनेगलले केही वर्षअघि बनाएको टेलिफिल्म ‘भारत एक खोज’ को एक अंक पद्मावतीमाथि बनाएका थिए। त्यसमा श्रेष्ठ अभिनेता ओम पुरीले खिलजीको भूमिका निर्वाह गरेका थिए। भन्सालीको खिलजी ओम पुरीको खिलजीभन्दा बढी हिंसक, आक्रमक र ठूलो लाग्छ।

फिल्ममा एक अर्का अभिनेता छन् जसको उल्लेख गर्नु आवश्यक छ। ती हुन्— जिम सार्ब। ‘निरजा’, ‘डेथ इन अ गन्ज’ र ‘राबता’ जस्ता फिल्ममा आफ्नो क्षमता देखाएका जिम यसमा खिलजीको ‘आधा गुलाम आधा बेगम’ को अनौठो भूमिकामा छन्। जति अनौठो उनको भूमिका छ त्यति नै सहज उनको अभिनय।

सञ्जय भन्सालीका फिल्म हेर्दा यस्तो लाग्छ, उनी भव्य सेट र दिव्य पात्रहरूको कथामा कतै हराउँदै गइरहेका त छैनन्रु उनको यो भव्यताको मोहले उनका हरेक फ्रेमलाई पेन्टिङजस्तो त बनाइदिन्छ तर फिल्म समीक्षक अनुपमा चोपडाले भन्सालीबारे भनेजस्तो— फिल्म भनेको पेन्टिङ होइन। एउटा फ्रेम, एउटा तस्बिर र वा एउटा पात्र र प्रसंगलाई मात्र हेरेर फिल्मको मूल्यांकन हुन सक्दैन। यसलाई समग्रमा हेर्नुपर्छ। भावनाको हिसाबले ‘पद्मावत’ का पात्र सपाट छन्। यस्तो लाग्छ, हरेक पात्रलाई एक–एक भावना बाँडिएको छ। कसैको भागमा प्रेम, कसैकोमा करुणा र साहस त कसैलाई घृणा र वासना। जबकि, मानिस यी सबैको सम्मिश्रण हो भनेर भनिरहनु पर्दैन। भन्सालीलाई इतिहास ९वा मिथक० लाई तोडमोड गरेको भनेर लगाइएको आरोप मिथ्या हो भन्न संकोच मान्नु पर्दैन। बरु, संकोच मान्नुपर्ने कुरा छ— जौहरको महिमा मण्डन। इतिहासतिर फर्किनुको अर्थ अतीतका सबै कुरालाई महान् मान्नु होइन।

फिल्म : पद्मावत

पटकथा स् सञ्जयलीला भन्साली र प्रकाश कपाडिया

निर्देशन स् सञ्जयलीला भन्साली

कलाकारहरु स् दीपिका पादुकोण, शाहिद कपुर, रणवीर सिंह आदि

प्रकाशित : माघ १३, २०७४ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?