‘फ्रुट पिकिङ’ पर्यटन

विदेश
नारायण खड्का

काठमाडौँ — अस्ट्रेलियामा सिजन अनुसारका फलफूल खान मन लागे बजारतिरै गइरहन आवश्यक छैन । समय र जाँगर भए आफू नजिकैका किसानका खेत र बगैंचा पुगे हुन्छ । उनीहरू आगन्तुकलाई स्वागत गर्न सधैं तयार रहन्छन् । उनीहरूको स्वागतसँगै बगैंचामा गएर फलफूल टिपेर खान पाइने मात्र हैन मन लागेजति खरिद गरेर ल्याउनसमेत पाइन्छ । 

‘फ्रुट पिकिङ’ पर्यटन

आगन्तुकलाई खेतबारीमै स्वागत गर्ने ‘फ्रुट पिकिङ’ यहाँ प्रसिद्ध बनिरहेको छ । ‘फ्रुट टुरिजम’ को अवधारणाअनुसार यहाँका कृषकहरूले सुरु गरेको यो अभियान नेपालको ‘होम स्टे’ जस्तै फैलँदै गएको छ । यसले एकआपसमा सम्बन्ध विस्तारमा सहयोग पुर्‍याइरहेको त छ नै यसले आन्तरिक पर्यटनलाई समेत राम्रै प्रवद्र्धन गरिरहेको छ ।


‘यो फलफूलको माध्यमबाट गरिएको एक किसिमको आन्तरिक पर्यटन प्रवद्र्धन नै हो ।’ विगत दुई दशकदेखि दक्षिण अस्ट्रेलियाको पहाडी क्षेत्रमा सिजनअनुसारको फलफूल लगाउँदै आएकी ग्रासिया रिचार्डले भनिन् । उनी यसले एकआपसमा सम्बन्ध विस्तार हुनुका साथै विभिन्न देश र संस्कृति भएका ग्राहकहरूसँग पहिचान गर्न र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नसमेत मद्दत पुर्‍याइरहेको सुनाउँछिन् ।


ग्रासियाजस्तै अधिकांश कृषकहरूले अस्ट्रेलियाका प्राय: सबै राज्यहरूमा हरेक सिजनमा ‘फ्रुट पिकिङ’ को व्यवस्था गरेका हुन्छन् । सुन्तला, स्याउ, चेरी, स्ट्रबेरी, नास्पतीलगायतका फलफूलहरू बोटसम्मै गएर टिप्न मात्र पाइने होइन कि आफूले सकेजति खानसमेत पाइन्छ । किसानका अनुसार यसले उनीहरूलाई समेत दोहोरो फाइदा हुन्छ । एकातिर उनीहरूले आफ्नो फलफूल बेच्न बजारसम्म जान पर्दैन भने विभिन्न देशका व्यक्तिहरूसँग चिनजानको अवसरसमेत मिल्छ ।


क्युन्सल्यान्ड, पश्चिम अीट्रेलिया, दक्षिण अस्ट्रेलियालगायतका मुख्य सहरहरूबाट यी स्थानहरूमा जान सहज हुने भए पनि सिड्नी, मेलबर्नलगायतका स्थानबाट भने केही घण्टाको दूरी पुग्नुपर्ने हुन्छ । एक महिनाअघि एडिलेडबाट लोबेथल भन्ने स्थानमा चेरी टिप्न गएका मिलन दाहाल आफूहरू प्रत्येक वर्ष यसका लागि जाने सुनाउँछन् । यसले पारिवारिक होलिडे हुने मात्र नभएर यहाँको खेतीको बारेमा जानकारी लिन पाइने अनुभव सुनाउँछन् ।


सिजनअनुसार हजारौं गाहक आधा घण्टादेखि ४ घण्टासम्म सवारी चलाएर ‘फ्रुट पिकिङ’ गर्न जाने गर्छन् । ‘फ्रुट पिकिङ’ मा जानेहरूले भने निश्चित नियमहरूको पालना भने गर्नुपर्नेछ । चेरी, स्ट्रबेरीलगायतका फलफूल टिप्न जाँदा बढीमा ५ डलरसम्म प्रवेश शुल्क दिनुपर्छ भने सुन्तला, स्याललगायतका फलफूल टिप्न नि:शुल्क प्रवेशको व्यवस्था गरिएको हुन्छ । ‘फ्रुट पिकिङ’ मा जाने जोकोहीले बारीमा गएपछि आफूले मन लागेका फलफूल सकेजति खान पाउँछन् भने मन परेका टिपेर निश्चित रकममा खरिद गर्नसमेत पाइन्छ । कृषिप्रधान देश नभए पनि अस्ट्रेलियाले खेतीलाई उच्च प्राथमिकता दिने गरेको छ । यही अवधारणाअनुसार नेपालका कृषकहरूले पनि पर्यटकहरूलाई लक्षित गरेर ‘फ्रुट पिकिङ टुरिजम’ को विकास गर्न सक्छन् ।

प्रकाशित : माघ २०, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?