सन्दीपको त्यो तस्बिर

खेलाडी
विनोद पाण्डे

काठमाडौँ — ‘खोइ सन्दीप भाइ तिम्रो फोटो खिचम त’ भनेर मैले मोबाइल तेस्र्याएको मात्र थिए । एकदमै निर्दोष हिसाबमा अलिकति लजाउँदै उनले आधा जिउ झुकाएर मेरो मोबाइल क्यामारालाई पोज दिए । पुल्चोक इन्जिनियरिङ क्याम्पसको घाँसले भरिएर बल नै गुड्न गारोजस्तो मैदानमा उनको त्यो 
पोज मलाई ३–४ वटा तस्बिर खिच्न पर्याप्त भइसकेको थियो । 

सन्दीपको त्यो तस्बिर

नेपाली राष्ट्रिय टोली छनोटका लागि चार टिम बनाएर छनोट प्रतियोगिता गरिएको थियो । सन्दीपको राष्ट्रिय स्तरको क्रिकेटमा यो पहिलो दिन थियो । शरद भेषावकरको टिमबाट खेलेका सन्दीपले पहिलो खेलमै ४ विकेट लिइसकेका थिए । त्यसका लागि उनले ७ ओभर पनि बलिङ गर्नुपरेको थिएन । उनले आउट गरेका खेलाडीहरूमा शक्ति गौचन, मञ्जित श्रेष्ठलगायत थिए । सन्दीपको त्यही बलिङले शक्तिको टोली ५० ओभरको खेलमा १ सय ३७ रनमा अलआउट भएको थियो । शरदको टोली ड्रेसिङ रुम फर्किरहेको समयमा मैले सन्दीपको तस्बिर लिएको थिए । त्यसैले यसमा मेरो के दाबी रहँदै आएको छ भने सन्दीपको राष्ट्रिय स्तरमा पुगेपछिको पहिलो तस्बिर मैले लिएको हुँ । मैले त्यही दिन साँझ उक्त तस्बिर राखेर ट्विट गरेको थिए, ‘नेपाली क्रिकेटमा देखिएको एउटा आशा– सन्दीप लामिछाने । युवा लेग स्पिनर सन्दीपले सुपर लिग क्रिकेटमा आइतबार चार विकेट लिए ।’


२०१५ को अक्टोबर ११ का त्यस दिन मैदानमा पुग्नु मेरो खास उद्देश्य थियो । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधान र सदस्य सुदीप पियाको फोन आएको थियो । ‘यहाँबाट सन्दीप काठमाडौं खेल्न आएको छ । प्रशिक्षक राजुले पनि राम्रो बलर भनेका छन्, राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेले यहाँ क्याम्पा चौरमा नेट्समा राम्रो देखेर उनलाई त्यहाँ बोलाएका हुन् । कस्तो खेल्दो रहेछ एक पटक हेर्‍यौ भने खबर गर्नू नि,’ फोनमा आएको यही आवाजले मलाई पुल्चोक मैदानमा डोर्‍याएको थियो । यही प्रतियोगिताको अरू खेल त्रिवि क्रिकेट मैदानमा पनि भइरहेका थिए ।


पुल्चोक मैदान छिर्न लाग्दा नेपाल क्रिकेट संघ (क्यान) का सचिव उत्तम कर्माचार्यसँग भेट भयो । मैदान छिर्नेबित्तिकैको बाउन्ड्री लाइनमा एउटा कलिलो खेलाडी कर्माचार्यलाई नमस्ते सर भन्दै थिए । मैले ती खेलाडीलाई चिनेको थिइनँ । कर्माचार्यलाई सोधे, ‘को हुन् यति कलिला खेलाडी, पहिला देखेको पनि थिइनँ ?’ उनले प्रशिक्षक दासानायके आफैंले ल्याएका सन्दीप भनेको उनै हुन् भनेर मलाई देखाए ।


क्यानमा भइरहेको आपसी खिचातानी र भद्रगोलका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल आर्थिक सहयोग पठाउन छाडेको थियो । त्यसैले राष्ट्रिय प्रतियोगिता गर्न क्यान असमर्थ थियो । राष्ट्रिय टोलीबाट खेल्दै आएका बाहेक प्रमुख जिल्लाहरूबाट १ वा २ खेलाडी सीधै बोलाई राष्ट्रिय टोलीको छनोटलाई सुपर लिग प्रतियोगिता गरिएको थियो । नेपाली यू–१९ बाट सुशील कँडेल र दीपेश श्रेष्ठ खेल्दै आएकाले सन्दीपका लागि चितवन जिल्लाले पाउने ‘कोटा’ को ढोका बन्द थियो ।


दासानायकेले सन्दीपलाई क्याम्पा चौरको नेटबाट सीधै टिपेर ल्याएकाले उनले सुपर लिग खेल्न पाएका थिए ।


दासानायके चितवन पुग्नु पनि एउटा संयोग थियो । अर्का स्पिनर वसन्त रेग्मीको विवाह समारोहमा उपस्थित हुन भैरहवा जान लागेको थिए । धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले भैरहवा जाने क्रममा दासानायकेसहित खेलाडीहरू ज्ञानेन्द्र मल्ल र सुवास खकुरेललाई लिएर चितवन पुग्ने भएका थिए । त्यही क्रममा चितवन जिल्लाले आफ्नो क्रिकेट एकेडेमीमा प्रशिक्षण लिन आउने खेलाडीलाई राष्ट्रिय प्रशिक्षक आउन लागेको र इच्छुक खेलाडी उपस्थित हुन छाडेको सूचना पछयाउँदै सन्दीप क्याम्पाचौर पुगेका थिए । त्यहाँ यसअघि नै उनी राष्ट्रिय टोलीका पूर्वकप्तान राजु खड्कासँग प्रशिक्षण लिन आइरहेका थिए ।


***

इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा २० लाख भारु बोली लागेका सन्दीप लामिछानेलाई दुईवटा मिति स्पष्ट याद छ । २०१४ को नोभेम्बर १४ मा चितवन क्रिकेट एकेडेमीमा भर्ना हुन पुगेको र त्यसको ठीक चार महिनापछि अर्थात् २०१५ को मार्च ४ मा दासानायकेलाई क्याम्पाचौरमा भेटेको । उनी आफ्नो खेल जीवनको ‘टर्निङ प्वाइन्ट’ मा यिनै विषयहरूलाई जोड्छन् । चितवन क्रिकेट एकेडेमीमा भर्ना नभएको भए ? राजु खड्कासँग प्रशिक्षण गर्न नपाएको भए ? पुबुदु दासानायके क्याम्पा चौर नपुगेको भए ? सन्दीप यी क्षण सम्झि दै रोमाञ्चित हुन्छन् ।


अर्को एउटा घटना छ जसले सन्दीपको खेल जीवनलाई विदेशी लिगमा पुर्‍याएको थियो । विश्वको पुरानोमध्येको एक मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) २०१५ को नोभेम्बरमा नेपाल आएको थियो । स्कट म्याककेच्नी एमसीसीका विकेटकिपर थिए । त्यही क्रममा सन्दीपको उनीसँग चिनजान भएको थियो । एमसीसीको नेपाल भ्रमणका क्रममा सन्दीपले ३ खेलमा ७ विकेट लिएका थिए । त्यही माध्यमबाट उनी कावलुन क्रिकेटबाट हङकङ क्रिकेटको हङकङ ब्लिट्ज खेल्न पुगेका थिए । म्याककेच्नी कावलुनका कप्तान थिए ।


हङकङमा सन्दीपको भेट अस्ट्रेलियाका विश्वकप विजयी कप्तान माइकल क्लार्कसँग भयो । क्लार्क पनि कावलुनको टोलीमा थिए । कावलुनले आफ्नो पहिलो खेलमा हुङ होम जेडी जगुवारलाई पराजित गर्दा सन्दीपले २ विकेट थिए । त्यसपछि प्रतियोगिता वर्षाले पूरै प्रभावित रहँदा सन्दीपले त्यही पहिलो खेलमा गरेको ३ ओभर बलिङ क्लार्कलाई प्रभावित बनाउन पर्याप्त बनेको थियो । क्लार्कले सन्दीपलाई ‘लिटल च्याम्प’ भन्दै उनको बलिङलाई प्रशंसा गर्दै आएका थिए । क्लार्कसँगको उनको यो सम्बन्ध सन्दीपलाई अस्ट्रेलियामा बोलाएपछि अझ झाङ्गिएको थियो । सन्दीपलाई एयरपोर्टमा लिन आफैं पुगी क्लार्कले भिडियो पोस्ट गरेका थिए । अस्ट्रेलियामा सन्दीपले क्लार्कको क्रिकेट एकेडेमीमा प्रशिक्षण लिई वेस्टर्न सबर्सबाट ‘ग्रेड’ क्रिकेट खेलेका थिए ।


अक्सनमा नाम आएपछि क्लार्कले सन्दीपलाई उत्कृष्ट प्रतिभा बताउँदै आफू कुनै टोलीमा आबद्ध भएको भए उनलाई छिट्टै लिने जनाएका थिए । सन्दीप अक्सनमा आउनुअगाडि नै दिल्ली गएर ‘ट्रायल’ दिएको डेयरडेभिल्सले जनाएको थियो । डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङ हुन् । क्लार्कले त्यही पुलमा सन्दीपलाई दिल्लीमा पुर्‍याएको अनुमान धेरैले लगाएका छन् । सन्दीप क्लार्कलाई आफ्नो मेन्टर मान्छन् । ‘उहाँले मलाई खेल मात्र होइन्, जिन्दगी के हो, राम्रो मान्छे बन्न के गर्नुपर्छलगायत विषय सिकाउनु भएको छ,’ सन्दीपले क्लार्कको बारेमा भने । नत्र नेपालजस्तो देशबाट आएका खेलाडीलाई यहाँसम्म पुग्न कठिन हुने उनले बुझेका छन् ।


***

के निश्चित हो भने सन्दीप आफैं खुबी भएका खेलाडी हुन् । उनको स्पिन बलिङमा धेरै विविधता छ । मुख्य उनी बल मजासँग घुमाउन सक्छन् । ब्याट्सम्यान हेरेर बल फाल्न सक्छन् । भारतीय क्रिकेट संस्कारमा बाल्यपन बिताएका उनको मुख्य पक्ष भनेको आफ्नो क्षमतामा विश्वास गर्थे । त्यसैले सुशील कँडेल सन्दीपको आईपीएलको यात्रामा भन्छन्, ‘गन्तव्यमा पुग्न एक पटक पागल नै बन्नुपर्छ । सन्दीपले आईपीएल, बिग बास एक दिन खेल्छु भन्दा उसलाई सबैले पागल भन्थे ।’ सुशील तिनै हुन् जो सन्दीपसँगैं चितवन क्रिकेट एकेडेमीदेखि आईसीसी यू–१९ विश्वकपसम्म यात्रा तय गरेका थिए ।


२०१६ को जनवरी–फेब्रुअरीमा बंगलादेशमा भएको यू–१९ विश्वकप सन्दीपले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । त्यही हयाट्रिक लिदैं १४ विकेटका साथ प्रतियोगिता टुंगाएपछि उनीमाथी धेरैले नजर लगाएका थिए । त्यसको तीन महिनापछि उनले नामिबियासँगको खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरिसकेका थिए । तर उमेर रहेकाले उनले तीन महिना अघिसम्म नेपालको यू–१९ बाट खेल्दै आएका थिए ।


उनकै कप्तानीमा नेपाल यस पटक यू–१९ विश्वकपमा छनोट हुन सकेन् । अफगानिस्तानका अगाडि नेपाल निकै कमजोर देखियो । त्यो मात्र थिएन, उनको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई नेपालको यू–१९ को कप्तान बनाइयो । उनको ‘एटिच्युड’ पनि विषय बनेका जस्ता प्रसङ्गहरू आएका थिए । सन्दीप यस्ता प्रसङ्गहरूमा अल्झिन् चाहँदैनन् । उनी भन्छन्, ‘सबैलाई मेरो शैली मन पर्छ भन्ने छैन, तर म त्यो तपाईले पहिलो दिन खिचेको फोटोमा जस्तै सोझो र भलाद्मी छु ।’

Twitter: dearbinod

प्रकाशित : माघ २०, २०७४ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?