३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

स्तरको अनावरण

खेल
९ माघ : गोलकिपर किरण चेम्जोङ आई लिग क्लब मिनेरवा पञ्जावमा अनुबन्धित१४ माघ : स्पिनर सन्दीप लामिछाने आईपीएल अक्सनमा दिल्ली डेयरडेभिल्सले लियो१५ माघ : फरवार्ड विमल घर्तीमगर कोलकाताको मोहन बगानसँग आबद्ध
राजु घिसिङ

काठमाडौँ — यी तीन कारण नेपाली खेलकुदका लागि गएको साता विशेष रहयो । यसमा पनि सन्दीपमाथि इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा लागेको भाउ चर्चित बन्यो । विश्व क्रिकेटकै सबभन्दा आकर्षक प्रतियोगिता हो आईपीएल ।

स्तरको अनावरण

टी–२० क्रिकेटको यस प्रतियोगितालाई फोब्र्स म्यागजिनले अमेरिकाको एनबीए (बास्केटबल) र इंग्ल्यान्डको प्रिमियर लिग (फुटबल) पछिको सबभन्दा ठूलो ‘स्पोर्ट्स प्रोपर्टी’ भनेको छ । फुटबलमा इंग्लिस प्रिमियर लिगको जुन उचाइ छ, क्रिकेटमा ठीक उस्तै छ आईपीएल ।

आईपीएलको मिडिया अधिकारका लागि स्टार इन्डियाले भारु १६,३४७.५ करोड (२.५५ अर्ब डलर) तिरेको छ । यसको ब्रान्ड भ्यालु ५ अर्ब ३० करोड डलर छ । त्यसैले पनि धनाढयको खेल बनेको आईपीएल बल र ब्याटको प्रतिस्पर्धामै सीमित छैन । सर्वाधिक पाँचपल्टको वान डे विश्वकप च्याम्पियन अस्ट्रेलिया, क्रिकेटको जन्मदाता इंग्ल्यान्डदेखि अर्को शक्तिशाली दक्षिण अफ्रिकाका उत्कृष्ट खेलाडीहरू पनि आईपीएल खेल्न चाहन्छन् । त्यसको कारण लोभलाग्दो कमाइ, क्रिकेटसँग जोडिएको बलिउड ग्ल्यामर र कान्छो संस्करणले चलिएको क्रिकेट क्रेज नै हुन् ।

वेस्ट इन्डिजका विस्फोटक ब्याटसम्यान क्रिस गेलले टी–२० क्रिकेटमा थुप्रै कीर्तिमान बनाएका छन् । तर उनी आईपीएल अक्सनमा यसपालि तेस्रोपल्टमा मात्र बिक्री भए । लासिथ मालिंगा, डेल स्टेयन, इशान्त शर्मा, हसिम अमला, जो रुटलगायत स्थापित खेलाडीहरूलाई कसैले भाउ लगाएनन् । आईपीएलमा आठ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दै छन् । एक टिमले बढीमा भारु ८० करोडमा १८ देखि २५ खेलाडी (८ विदेशीसहित) राख्न पाउँछन् । यसपालि करार थपिएका र अक्सनबाट गरी आठ टिमले एक सय ६९ खेलाडी लिए । उनीहरूले नै भारतका आठ सहरमा ७ अप्रिलदेखि २७ मेसम्म चल्ने आईपीएलमा ‘होम एन्ड अवे’ को आधारमा खेल्नेछन् ।

भारतका कप्तान विराट कोहली (भारु १७ करोड) आईपीएल २०१८ का सबभन्दा महँगा खेलाडी हुन् भने सबभन्दा सस्तो भाउ भारु २० लाख हो र, सन्दीप सस्तामा पर्छन् । तर उनका लागि ‘प्राइस टयाग’ भन्दा पनि अवसर नै महत्त्वपूर्ण हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का एसोसिएट सदस्यका एक्ला खेलाडी हुन् उनी । अरू सबै खेलाडी टेस्ट खेल्ने देशका हुन् । त्यसैले एउटा नेपालीका रूपमा मात्र होइन, उनले ९२ एसोसिएट्सको पनि प्रतिनिधित्व गर्दै छन् । गत वर्ष अफगान बलर रसिद खानले जस्तै उनले राम्रो गर्न सके अरू नेपाली र एसोसिएट्स सदस्यका खेलाडीका लागि पनि आईपीएलको ढोका खुल्न सक्छ । तर उनी सफल भएनन् भने कथाले अर्कै मोड पनि लिन सक्छ ।

‘आईपीएलको टिममा पर्नु नै ठूलो हो,’ १७ वर्षीय सन्दीपले भनेका छन्, ‘लिजेन्ड खेलाडीहरूसँगै अभ्यास गर्न पाउँदा खेल र बाहिरी धेरै कुरा सिक्ने अवसर पाइनेछ । मिहिनेत गर्दै आफूलाई सिद्ध गरेर अरू खेलाडीका लागि पनि अवसर सिर्जना गर्ने प्रयास गर्नेछु ।’ लिजेन्ड गौतम गाम्भीर रहेको दिल्ली टिममा उनी जेसन रोय (इंग्ल्यान्ड), क्रिस मोरिस, कागिसो रबाडा (दक्षिण अफ्रिका), ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड), ग्लेन म्याक्सवेल (अस्ट्रेलिया), भारतका अमित मिश्रा, मोहम्मद सामी, ऋषव पन्त, श्रेयस ऐयरजस्ता चर्चित खेलाडीहरूसँगै आईपीएलमा हुनेछन् । सँगै अभ्यास गर्नेछन्, खेल्नेछन् । मिश्रासहित अरू पनि टिममा लेग स्पिनर छन् । त्यसैले सन्दीपले ११ सदस्यीय टिममा स्थान बनाएर मैदानमा ओर्लन भने अभ्यासमा निकै संघर्ष गर्नुपर्ने देखिन्छ । त्यो चुनौती बेहोर्न उनी तयार पनि छन् ।

हुन त सन्दीप एक ओभरमा ६ पल्ट नै विविधतापूर्ण तवरले बल फाल्ने क्षमता राख्छन्, फालेका पनि छन् । त्यसैले उनी आफ्नै क्षमता देखाएर दिल्लीका मेन्टर रिक्की पोन्टिङको नजरमा पर्न सक्छन् । अस्ट्रेलियाको टिममा पोन्टिङ कप्तान छँदा माइकल क्लार्क उपकप्तान थिए । उनै क्लार्कले सन्दीपका खास ‘मेन्टर’ हुन् । सन्दीप र क्लार्कले हङकङ ब्लिजमा सँगै खेलेका थिए । क्लार्कले अस्ट्रेलिया बोलाएर सन्दीपलाई ट्रेनिङ पनि दिलाए, सिड्नीको वेस्टर्न सबर्सबाट पनि खेलाए ।

चितवनको क्याम्पाचौरमा पुुबुदु दासानायकेले देखेपछि ‘ब्रेक’ पाएको ३ वर्ष नपुग्दै सन्दीप नेपाली क्रिकेटको ‘ब्रान्ड’ बनेका छन् । एक समय बलिउडमा मनीषा कोइरालाजस्तै अब उनले नेपालको ब्रान्डिङ गर्न सक्छन् । यू–१९ विश्वकपबाट उनको भाग्य चम्किएको हो । त्यसयता उनी राष्ट्रिय टिमकै मुख्य सदस्य भइसकेका छन् । अहिलेका सुपरस्टार पारस खड्का नै हुन् । नेपाली टिम विश्व क्रिकेट लिग डिभिजन २ खेल्ने तयारीमा छ । योभन्दा माथिल्लो स्तरमा पुर्‍याउन नेपालालई अझै ठूला स्टार चाहिएको छ ।

राजनीतिक खिचातानी र द्वन्द्वबाट मुक्त हुने क्रममा रहेको नेपालीलाई खुसी दिएको छ भने त्यो खेलले नै हो । नेपालले छनोट चरण पार गरेर टी–२० विश्वकप (२०१४) खेल्दा होस् वा फुटबल टिमले १२ औं दक्षिण एसियाली खेलकुद (२०१६) मा स्वर्णपदक जित्दा र सोलिडारिटी कप २०१६ मा च्याम्पियन हुँदा । ती सफलताले ३ करोड नेपालीलाई एकताको सूत्रमा बाँधेको थियो, जुन साह्रै सकारात्मक थियो । यति बेला हामीलाई ठूला स्टार चाहिएको छ, जसले देशको ब्रान्डिङ गर्दै नेपालीलाई खुसी दिलाओस् । हामी अजरबैजानजस्तो देशको ब्रान्डिङ गर्न ठूलो लगानी गर्ने अवस्थामा छैनौं । इंग्ल्यान्डका डेबिड बेक्हाम, भारतका सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी, बंगलादेशका सकिब अल हसन, श्रीलंकाका कुमार संगाकारा, मुत्थैया मुरलीधरन, कोरियाका पार्क जी सुङ, चीनका याओ मिङले उत्कृष्ट खेल्दै आफ्ना देशको पनि ब्रान्डिङ गरेका थिए । आईपीएलमा स्थापित हुन सके सन्दीपले पनि त्यस्तै हैसियत राख्नेछन् ।

सन्दीपको यू–१९ विश्वकप टिममा सहायक प्रशिक्षक रहेका विनोद दास भन्छन्, ‘उनको आईपीएल यात्राले नेपाली क्रिकेटलाई धेरै ठूलो फाइदा गर्छ । खेलप्रति आशा देखाउन विश्वकप वा अरू कुनै त्यस्तै ठूला इभेन्ट चाहिन्छ । सन्दीपको छनोटले आईपीएल यस्तै इभेन्ट बनेको छ । यसले मिहिनेत गरे त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आशा र उत्साह हजारौं बच्चालाई दिनेछ ।’ घरेलु प्रतियोगिताको संरचना नहँुदा त्यो ठाउँमा पुग्नुमा सन्दीप भाग्यमानी रहेको उनी मान्छन् ।

‘उनले सही समयमा राम्रो खेल देखाए, क्लार्कको साथ पाए,’ राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका दासले भने, ‘अहिले एउटा ढोका मात्र खुलेको हो । उनले आइपीएलमा राम्रो गरे भने नेपाली खेलाडीलाई विश्वास गर्ने आधार बन्छ । हामीले बेलाबखत टेस्ट खेल्ने देशलाई उमेर समूहमा हराएर प्रदर्शन गर्दै विश्व क्रिकेटको ध्यान ताने पनि माथिल्लो स्तरमै भने प्रमाणित गर्न सकेका छैनौं । परिपक्व बन्ने प्रक्रियामा मात्र हामी पछाडि परेको हो । सन्दीपले टेस्ट खेल्ने देशकै तहको अवसर पाएका छन् ।’ आईपीएलजस्तै प्रतियोगिता अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, वेस्ट इन्डिजमा पनि हुन्छन्, इंग्ल्यान्डले पनि आयोजना गर्दै छ । त्यसैले अरू खेलाडीलाई अवसर सिर्जना गर्नका लागि पनि सन्दीपलाई आईपीएलमा राम्रो गर्ने दबाब छ ।

श्रीलंकाली मूलका प्रशिक्षक पुबुदुले सन् २०११ मा राष्ट्रिय टिम सम्हालेसँगै नेपाली क्रिकेटले छलाङ मार्न थाल्यो । नेपालीलाई विदेशमा खेल्ने र प्रशिक्षण गर्ने मौका दिने काम उनकै अग्रसरतामा सुरु भएको थियो । उनकै प्रयासमा २०१२ मा शक्ति गौचनलाई आईपीएल टिम राजस्थान रोयल्सले अभ्यास गर्ने मौका दिएको थियो । राष्ट्रिय टिमका कप्तान पारस, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, नरेश बुढाऐरलाई क्यानडाको लिग खेलाए । केहीले श्रीलंकाको यू–२३ लिग खेले । पारस र महबुब आलमले हालै सिंगापुरमा खेले । इंग्ल्यान्डमा प्रशिक्षण गर्दै खेल्नेहरू पनि छन् । महिला टिमका रुबिना क्षत्री र रोशनी बोहराले पनि श्रीलंकाको डिभिजन वानमा मौका पाएका थिए ।


किरण, विमल र रोहित

राष्ट्रिय फुटबल टिमका नम्बर १ गोलकिपर किरण चेम्जोङ गत वर्ष भारतको आई लिग क्लबको प्रस्ताव त्याग्दै माल्दिभ्सको टीसी स्पोर्ट्स पुगेका थिए । एक सिजन धिवेही प्रिमियर लिग खेलेपछि उनी अहिले आई लिगको मिनेरवा पन्जाब पुगेका छन् ।

आई लिगको शीर्षस्थानमा रहेको मिनेरवाको गोलपोस्ट सम्हाल्न थालिसकेका उनी मंगलबार इस्ट बेंगालविरुद्ध बराबरी भएका खेलमा उत्कृष्ट प्रदर्शन गरेर म्यान अफ द म्याच नै भए । उनी इन्डियन सुपरलिग (आईएसएल) खेल्न चाहन्छन् । आई लिगमा यसपालि राम्रो प्रभाव छाडे उनको चाहना अर्को सिजन पूरा हुन सक्छ । विश्व फुटबलकै ध्यान खिचेको आईएसएलका लागि उनी योग्य पनि छन् ।

नेपाली फुटबलरले सबभन्दा धेरै ‘एक्सपोजर’ पाएको छ भने उनी विमल घर्तीमगर नै हुन् । उनले यू–१४ बाटै कोरियादेखि बेल्जियमसम्म सिक्ने अवसर पाए । यी फरवार्ड/विंगरले बेल्जियमको पहिाले डिभिजनका क्लबहरू एन्डरलेच्त, गेन्क, ब्रुग, लोकरेनमा अभ्यास गरे । उनलाई युरोपमा अनुबन्धको प्रस्ताव पनि आएको थियो तर त्यसै बेला उनलाई परिवारमा वज्रपात आइपर्‍यो र उनी

यतै रहे ।

विमल ३ वर्षअघि नेदरल्यान्ड्समा भएको युरोपेली क्लबहरूको यू–१६ प्रतियोगिता ‘एगोन कप’ बाट चम्किएका हुन् । त्यसपछि उनले युरोपेली क्लबमा अवसर पाएका हुन् । उनलाई प्रथम श्रेणीको डच क्लब ट्वेन्टेमा पनि ट्रेनिङको मौका मिल्यो । एजेन्ट लुइस डे भ्राइजमार्फत स्पेनी क्लब मार्वेला युनाइटेड पनि पुगे । राष्ट्रिय टिमबाट गोलको खाता खोलेको पाँच वर्षपछि आएर उनले पहिलो व्यावसायिक सम्झौता आइतबार मोहन बगानसँग गरे । श्याम थापा, हरि खड्का, देवनारायण चौधरी खेलेको मोहन बगान भारतीय फुटबलको ठूलै शक्ति हो । सन् १८८९ मा स्थापित हुनुले पनि यसको महत्त्व देखाउँछ ।

आई लिग सकिन ३ महिना बाँकी छ । किरण र विमलको करार यसै अवधिका लागि हो । हाइटीका फरवार्ड सोनी नोर्डे घाइते भएपछि मोहन बगानले विमललाई बोलाएको हो । नोर्डे आई लिगका सुपर स्टार हुन् । त्यसैले पनि विमलप्रति क्लब महत्त्वाकांक्षी देखिएको छ । विमलको लक्ष्य युरोपमा खेल्ने नै हो । त्यसका लागि पहिला त उनले आई लिगमै प्रभाव देखाउनुपर्छ । अनि अरू स्तीय लिगको बाटो रोज्ने अवसर मिल्नेछ । वास्तवमा प्रतिभाको आधारमा झन्डै दर्जन नेपाली खेलाडी आई लिग खेल्न योग्य छन् । उनीहरूका लागि विमल र किरणले बाटो बनाइदिन सक्छन् ।

रोहित चन्द आई लिग हुँदै इन्डोनेसिया (बीचमा मलेसिया) पुगेको ७ वर्ष भयो । पर्सिजा जकार्तामा रहेका उनी खेलेरै सबभन्दा धेरै कमाउने नेपाली उनी हुन् । उनी इन्डोनेसियन लिगमा स्टार खेलाडीको रूपमा स्थापित भइसकेका छन् । विवेकप्रताप पन्त, जगजित श्रेष्ठ, सुलभ मास्के अस्ट्रेलियाको लिग खेलिरहेका छन् तर त्यो व्यावसायिक लिग होइन ।

‘नेपालमा लिग नहुँदा करिब ३ सय खेलाडी बेरोजगार छन्,’ राष्ट्रिय टिमका पूर्वकप्तान उपेन्द्रमान सिंहले भने, ‘बाहिरको लिगमा गयो भने व्यक्तिगत आम्दानीदेखि राष्ट्रिय टिमसम्मलाई धेरै फाइदा पुग्छ । बेरोजगार हुनु पर्दैन । कौशल देखाउन पाइन्छ । कमाइ पनि राम्रो हुन्छ । सधैं फुटबलमै व्यस्त हुँदा कला निखारिन्छ । स्तर बढ्छ । यस्ता खेलाडी धेरै हुँदा राष्ट्रिय टिम अझ बलियो हुन्छ । त्यसैले २–३ जना मात्र होइन, धेरै खेलाडीलाई बाहिरका स्तरीय लिग खेल्ने व्यवस्था एन्फाले गर्नुपर्छ ।’ दक्षिण एसियामा भारतको आईएसएल र आई लिग नै नेपालीको लागि उत्तम रोजाइ हुने उनले बताए ।

गोलपिकर उपेन्द्र आफैंले थाइल्यान्ड, भारत र बंगलादेशमा गरी ८ वर्ष व्यावसायिक लिग खेलेका थिए । सन् १९८२ मा नयाँ दिल्लीमा भएको एसियाली खेलकुद र १९८० मा ढाकामा सम्पन्न एसियन यू–२१ च्याम्पियनसिपमा नेपालले राम्रो प्रदर्शन गरेको थियो । त्यसैले नेपाली खेलाडीको लागि विदेशी बजार खोलेको हो । १९९३ मा नरेन्द्रमानसिंहले भारत, कृष्ण थापा र गणेश थापाले बंगलादेशको लिग खेलेका थिए र त्यो नै नेपाली फुटबलरको व्यावसायिक लिगमा औपचारिक सुरुआत थियो । राजुकाजी शाक्यलाई अहिले पनि बंगलादेशमा सम्झन्छन् । भारत र बंगलादेशमा खेल्ने नेपालीको सूची लामै छ । देवनारायण र सूर्यमान श्रेष्ठले मलेसियाको दोस्रो डिभिजन लिग खेलेका थिए । सन् २००० पछि नेपाली फुटबलरको बजार खुम्चियो । रोहितअघि अनिल गुरुङ आई लिग क्लब सिलोङ लाजोङ पुगेका थिए तर उनी खासै जमेनन् । किरण र विमलको यात्रासँगै फेरि नेपाली खेलाडीको बजार खुल्ने आशा गरिएको छ ।

प्रकाशित : माघ २०, २०७४ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?