कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कठपुतला : पाठकलाई चुनौती

समीक्षा
‘कठपुतला’ मा संग्रहित कथाका शीर्षक हेरेर विषयवस्तुबारे अन्दाज गर्न मुस्किल पर्छ । शीर्षक सुहाउँदो नभएकोले त्यस्तो भएको होइन । शीर्षक प्रतीकात्मक भएकाले त्यसो भएको हो । 
राम लोहनी

काठमाडौँ — कठपुतला’ मा संगृहीत कथाहरू मौलिक छन् । पछिल्लो समय प्रकाशित कथाहरूमा अर्चना थापाका यी रचना नेपाली कथाको इतिहासमा छुट्टै छाप छाड्न सफल छन् भन्दा अत्युक्ति हुँदैन । संगृहीत आठवटा कथामा हरेकका कथावस्तु फरकफरक छन् । कथाहरूले समाजमा विद्यमान समस्यालाई सम्बोधन गरेको छ । तर ती विषय सामान्य समस्याको रूपमा मूल प्रवाहमा आइसकेका भने लाग्दैनन् ।

कठपुतला : पाठकलाई चुनौती

समसायमिक कथा परम्परालाई मूल्यांकन गर्नुपर्दा नेपाली कथा अहिलेसम्म मूल रूपमा सामाजिक यथार्थवादी ढर्रामै रुमल्लिएको भान पर्छ । यसमा पनि खासगरी समाजमा विद्यमान विभेद, उत्पीडन, राजनीतिक विसंगति र मायाप्रेमका परम्परागत प्रसंगहरूको नै बाहुल्य देखिन्छ । प्रस्तुत संग्रहका कथाका शैली फरक छन् । त्यसको अतिरिक्त वस्तु र घटनालाई हेर्ने दृष्टिकोणको विशिष्टता कथाका विशेषता हुन् । पाठकलाई कथाको पात्रसँग तादात्म्य गराउनेभन्दा पनि पाठकलाई दर्शकको रूपमा तानेर तर्क गर्न विवश गराउने प्रकृतिका कथाहरू हुन् यी ।


कथाका विषय वस्तु

कथाका शीर्षक हेरेर विषयवस्तुबारे अन्दाज गर्न मुस्किल पर्छ । शीर्षक सुहाउँदो नभएकाले त्यस्तो भएको होइन । शीर्षक प्रतीकात्मक भएकाले त्यसो भएको हो । पहिलो कथा ‘अन्तर्दाह’ ले यौन हिंसामा परेको बालकको मनोदशालाई प्रस्तुत गरेको छ । उसलाई आफू यौनहिंसामा परेको स्पष्ट छैन । त्यसलाई ऊ व्यक्त गर्न पनि सक्दैन, तर त्यसबाट त्राण पाउन कुनै मिथकीय पात्रको आगमनको कल्पनामा व्यग्र छ । दोस्रो कथा ‘पराकम्पन’ ले आफूलाई श्रीमतीभन्दा बलियो र श्रीमतीको संरक्षक ठान्ने पुरुष अहंलाई मुख्य विषय बनाएको छ । भुइँचालोको पराकम्पन र आफू साँच्चै नै नामर्द नै पो हो कि भन्ने हीनभावको परकम्पनलाई जोडेर कथाकारले समाजमा पति पत्नीबीच देखिन थालेको मनोवैज्ञानिक भिन्नतालाई उठाएकी छन् ।

तेस्रो कथा ‘कठपुतला’ ले विज्ञानको उत्कर्षको कारण मान्छे कसरी रोबोटको नियन्त्रणमा पुग्न सक्छ भन्ने कहालीलाग्दो चित्र प्रस्तुत गरेको छ । वातावरण विनाशले मानिस प्राकृतिक जीवन बाँच्न सक्ने अवस्थामा छैन । विज्ञानले उसलाई नियन्त्रित वातावरणमा जिउन सक्ने त तुल्याएको छ, तर उसका गतिविधि रोबोटले दिने सूचनाद्वारा जकडिएको छ । मान्छे रोबोटद्वारा सञ्चालित छ, रोबोटको नियमन राज्यले गर्छ । रोबोटको आदेश, परामर्श र निर्देशनबिना मान्छे केही गर्न सक्दैन, फगत एउटा कठपुतलामा रूपान्तरित भएको छ । कठपुतला अर्थात् रोबोटको पनि रोबोट † चौथो कथा परमात्मा समाहिताको विषय हो समाजमा बढ्दै गएको एकल अभिभावकत्व । एकल आमा (वा बाबु) ले हुर्काएका सन्तानलाई आफ्नो बाबु (वा आमा) बारे जान्ने अधिकार हुन्छ कि हुँदैन भन्ने नैतिक प्रश्नमाथि कथा उभिएको छ । आमाबाबुको असन्तुलित सम्बन्धका बीच सन्तान कहाँनेर रहन्छ भन्ने समस्या अहिले ज्वलन्त बन्दै छ ।

पाँचौं कथा ‘विमर्द’ ट्रान्सजेन्डरको समस्यामाथि केन्द्रित छ । जन्मले पुरुष र मानसिकताले स्त्री भएको पात्रले परिवार र समाजमा बेहोर्ने संघर्षको एउटा चित्र हो यो कथा । कथाले लैंगिक पहिचान व्यक्तिगत र निश्चित हदसम्म प्राकृतिक कुरा हो तर सामाजिक मूल्य मान्यता भनेको कृत्रिम हो भन्ने सन्देश दिन खोजेको छ । संकुचित पात्र नीरजलाई विस्तारित व्यक्तित्वको धनी निर्जलाको रूपमा उपस्थित गराउनु कथाको सामथ्र्य हो । कथाले सामाजिक मूल्य मान्यताको नाममा व्यक्तिगत स्वतन्त्रता र प्राकृतिक पहिचानलाई अंकुश लगाउन खोज्दा व्यक्तिमा निहित क्षमता मौलाउन पाउँदैन भन्ने निष्कर्ष दिएको छ । छैटौं कथा ‘विवस्त्र रामायण’ एक प्रकारले रामायणको विनिर्माण हो । परम्परागत रामायणले रामलाई आदर्श पुरुष, सीतालाई आदर्श स्त्री, शूर्पणखालाई अनैतिक स्त्रीको रूपमा चित्रण गर्छ । कथाले उठाएको मूल प्रश्न दुईवटा छन् । राम र सीताको सम्बन्ध साँच्चै नै आदर्श थियो त ? र, महिलाले कामेच्छा व्यक्त गर्नु पाप हो ? लेखकले प्रचलित रामायणको वस्त्र फुस्काइदिएकी छन् । सीता, उर्मिला, शूर्पणखाजस्ता स्त्रीहरूको तर्फबाट कथा लेखिन्थ्यो भने रामायण अर्कै हुन्थ्यो र त्यो विवस्त्र अर्थात् नांगो हुन्थ्यो भन्ने कथाको सन्देश हो । राम, लक्ष्मण, हनुमान, सीता, शूर्पणखाजस्ता पात्रहरू शाश्वत होइनन्, यी समयले जन्माउने हुन् । जे आदर्श भनेर पढियो, त्यो आदर्श नहुन पनि सक्छ । सत्य व्यक्तिसापेक्ष हुन्छ ।

सातौं कथा ‘सत्य’ ले सत्यको सापेक्षिक सत्यतालाई प्रस्टयाउन खोजेको छ । जादुई यथार्थ (म्याजिकल रियालिजम) यसको विधि हो । सपनासदृश कथा मार्फत समकालीन सत्यलाई उजागर गर्ने प्रयास कथाले गरेको छ । यूएफओ (अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट) को अनुसन्धानमा लागेको एक रहस्यमय पात्र र उसले भनेका कुरा कथाको माध्यम हो । आठौं कथा ‘सेतो बास्ना’ प्रतीकात्मक त छँदै छ, यो मूल रूपमा नै महिलाहरूले बेहोर्ने सामाजिक अप्ठयारामाथि केन्द्रित छ । उसो त संग्रहका सबै कथा कुनै न कुनै रूपमा महिलाका समस्यालाई छोएर गुज्रिएका छन् । तर यो कथामा समाजमा महिलाले छोरी, बुहारी र पत्नीको रूपमा खप्नुपरेको प्रताडनाको चित्र छ । उनीहरू पीडालाई दबाउँछन् र दबाउन नसक्ने अवस्थामा बहुलाउन विवश छन् । तर पागल प्रलापमा पनि मुक्ति र स्वतन्त्रताको बास्ना जीवितै छ । यो कथा शैलीगत रूपमा पनि अन्य कथाभन्दा भिन्न छ । यो प्रयोगात्मक कथा हो । घटनालाई वर्णन गर्न शब्दहरू पर्याप्त छैनन् । चित्रात्मक प्रस्तुतिहरूको सहयोग लिइएको छ । कथाको अन्त्यमा उल्टो अक्षरमा लेखिएको विद्रोह चेत कथाको उत्कर्ष हो । अँध्यारो (कालो) कोठामा बसेर उज्यालो (सेतो) को कामना गरिएको आर्तनाद हो यो कथा । अँध्यारो भौतिक रूपमा बन्द कोठरी हो भने सांस्कृतिक रूपमा हाम्रा चिन्तन पनि नारी आवाजलाई कैद गर्ने साधन हुन् ।


विश्लेषण

कथाहरू लामा छन् । कथाको निर्माण विभिन्न सहायक कथाहरूलाई आधार लिँदै गरिएको छ । ती सहायक कथाहरू मूलकथाको अनिवार्य अंगजस्ता लाग्दैनन् । कथा अन्तर्दाहको मूल विषय बालक लभुको मनभित्र मडारिएको मनोवैज्ञानिक जलन हो । तर कथाकी पात्र जानुका एकल अभिभावक हुन् । लभुको यौन शोषण हुनुमा उसका आमाबाबुको विभाजनको के भूमिका थियो भन्ने प्रश्न कथा पढ्दै जाँदा उठ्छ । एकल आमाले हुर्काएकी छोरीको मनोदशालाई अर्को कथा परमात्मा समाहिताले पनि उठाएको छ । तर त्यसको समस्या बेग्लै छ । त्यो कथामा हुर्किँदै गरेकी छोरी आफ्नो बाबु को हुन् भन्ने चिन्न चाहन्छे । पराकम्पनको पात्र पराक्रमलाई घरमा हजुराबुबाले नामर्दको संज्ञा दिएका छन् । सेनामा जागिर खान नगएको र अजातकी केटीसँग विवाह गरेर घर छोडेको कारण घरका मान्छेले उसलाई हेय दृष्टिले हेरेका हुन् । यद्यपि उसकी पत्नी सुसंस्कारी र कर्तव्यपरायण छे । तर उसभित्र एक प्रकारको कुण्ठा छ । ऊभित्रको पुरुष अहम् बेलाबेलामा बौरिन्छ र श्रीमतीलाई गालामा पाँचै औंलाको डाम बस्ने गरी दिउँmजस्तो लाग्छ उसलाई (पृ. ५१) ।

कठपुतला कथामा वर्णित देशको नाम युटोपिया हो । युटोपियामा सरकार निरंकुश छ, व्यक्तिगत स्वतन्त्रता शून्य छ, देश गृहयुद्धले जर्जर बनेको छ । परम्परागत परिभाषामा युटोपिया भनेको आदर्श राज्यको नमुना हो । विमर्द कथामा सौतेनी आमा मायालु छिन् । पुरुष पात्र घरभित्रको केही काम जान्दैन, परिणामस्वरूप बुढेसकालमा परनिर्भर बनेको छ । यी उपकथाहरूले मूलकथालाई अप्रत्यक्ष रूपमा मात्र सहयोग गरेका छन् ।

कथाहरूले परम्परागत मूल्य र परिभाषालाई भत्काउन खोजेका छन् । सत्य कथाको सत्यझैं हरेक मूल्य र परिभाषा पनि सापेक्षिक हुन्छन् । अमेरिकादेखि बाबुलाई खोज्दै र बाबुलाई एक झल्को देख्नकै लागि आएकी श्रुति जब बाबुको अगाडि पुग्छे, ऊ ‘पापा’ भन्न सक्दिन । पापा भन्न लागेको ओठबाट ‘पा...प’ मात्र फुत्किन्छ । बाबुकै लागि आमासँग झगडा गर्ने गरेकी श्रुतिलाई बाबु निष्कलंक लाग्दैन । महात्मा बनेर अरूलाई अर्ती उपदेश दिने दीपक छोरीको अगाडि ‘समाहिता’ भन्न सक्दैन, ‘समा...अहिता’ भन्न पुग्छ । उसको अन्तस्करण आफूले कुनै हित गर्न नसकेकोमा लज्जाबोध गर्छ । एकार्कालाई चिनेर पनि स्विकार्न सक्दैनन् बाबुछोरी ।

लैंगिक द्वन्द्व हेरक कथामा कुनै न कुनै रूपमा समेटिएका छन् । लैंगिक सम्बन्ध विसंगतिपूर्ण छ । स्वतन्त्रता चाहने महिलाहरू प्रताडनाको सिकार भएका छन् । स्वतन्त्रताको भोग गर्ने पुरुषहरू आफ्नै मूल्य, मान्यताका कठपुतला भएका छन् । तर पुरुषहरू त्यो यथार्थप्रति अनविज्ञ देखिन्छन् । जानकीको श्रीमान् रघु ठूला सपनाको सिकार भएर अमेरिका पुगेर गुमनाम बन्यो । नीरज र निर्जलाका बुबाले अन्तमा शुकवीरको खटनमा दयनीय जीवन जिउनुपर्‍यो । मैथिलीलाई आदर्श स्त्री बनाउन चाह गर्ने रामानन्द जालसाजी र भ्रष्टाचारको मुद्दामा फस्न पुग्यो ।

अन्तर्दाह कथामा लभुलाई देख्नासाथ उसका हजुरबा छोरालाई छोरीजस्तो बनाई भनेर जानकीसँग असन्तुष्ट हुन्छन् । ती हजुरबाका अनुसार मर्द भनेको ‘ठूलो स्वरले बोल्ने, मान्छे हप्काउने दप्काउने’ हुनुपर्छ (पृ. १३) । तर उता स्कुलका केटाहरू लभुलाई ‘गोडामा मेहन्दी लगाको केटीजस्तो’ (पृ. २३) देख्छन् । केटाहरूले लभुमा के देखे जुन उनीहरूले अरू केटाहरूमा देखेनन् ? जबकि विमर्द कथामा मर्द शरीरभित्र स्त्रैण भावना मौलाउन सक्ने कुरा स्विकारिएको छ भने मर्दलाई ठूलो स्वरले बोल्ने र मान्छे हप्काउने दप्काउने रूपमा चित्रण गरिनु जरुरी थियो ?

विशेषगरेर कठपुतला कथा र अन्यत्र पनि वैज्ञानिक विकासको उत्कर्षको चर्चा गरिएको छ । तर जुन परिस्थितिको चित्रण गरिएको छ, केही ठाउँमा यथोचित वैज्ञानिक व्याख्या कमजोर बनेको भान हुन्छ । जस्तो, मलकलाई सम्झाउँदै रोबोक्रोम पैरिजोमा उत्सव हुने रंगशालाको गेटमा मानव सेन्सर लाग्ने र गेटबाट भित्रिने प्रत्येक व्यक्तिको विवरण केन्द्रीय कन्ट्रोल विभागमा पुग्ने चेतावनी दिन्छ । जबकि मलकको सबै गतिविधि रोबोक्रोमकै नियन्त्रणमा छ, खानेकुराको ठाउँमा क्याप्सुल खाए पुग्ने प्रविधि विकास भएको छ र कृत्रिम संबुद्धिको चरम उपयोग हुँदै छ । यो अवस्थामा मलकलाई ‘विज्ञानले धेरै प्रगति गरिसकेको छ’ (पृ. ६३) भनेर सम्झाउनुको के अर्थ ? विज्ञान त उसको जीवनको अंग भैसक्यो । विज्ञानले प्रगति गरेको र नगरेको भन्ने भेद मलकका लागि निरर्थक हुनुपर्ने हो । त्यस्तै, रामायणलाई विनिर्माण गर्ने, तर असुर, राक्षसजस्ता शब्दको परम्परागत परिभाषालाई स्विकार्नु पनि सही जँच्तैन ।

कथाको सम्पादनमा केही समस्या देखिन्छन् । केही वर्षअघिको भुइँचालोलाई २०७१ सालको (पृ. ४२) नभनेर २०७२ सालको भन्दा सहज हुन्थ्यो । ‘उच्च रक्तचापले हाइपरटेन्सन’ निम्त्याउने (पृ. ७२) नभएर हाइपरटेन्सनले चाहिँ उच्च रक्तचाप निम्त्याउने हो कि ! अमेरिकामा डोनाल्ट ट्रम्प राजनीतिमा आउनुअघिका घटनामा ट्रम्पको नाम आएका छन् । जस्तो कि सन् २०१३ को घटनाको संस्मरणमा ट्रम्पासुर (पृ. २०३) शब्दको प्रयोग नभएको भए राम्रो हुन्थ्यो ।

कथाहरूमा आवश्यकताअनुसार नयाँ शब्द निर्माण पनि गरिएका छन् । केही प्राविधिक शब्दहरूको अनुवाद राखिएका छन् । जस्तो कि इन्स्ट्रक्सनलाई आज्ञप्ति, प्रोपोजिसनलाई प्रतिज्ञप्ति आदि । कतिपय शब्दको पादटिप्पणी दिइएको सन्दर्भमा यस्ता पारिभाषिक शब्दको पनि प्रचलित अंग्रेजी शब्द पादटिप्पणीको रूपमा दिएको भए उपयुक्त हुन्थ्यो । लेखकमा तत्सम शब्दप्रतिको अतिरिक्त मोह अनुभव हुन्छ । ललाट, पीतदन्त, आम्रफल आदि शब्दको विकल्प नेपालीमा नभएको होइन र ती स्थानमा निधार, पहेंलो दाँत र आँप उल्लेख हुँदा पनि पठन प्रवाहमा कुनै अप्ठेरो हुने थिएन । फेरि कतिपय अंग्रेजी शब्दहरूलाई यथावत् देवनागरी लिपिमा लेखिएका पनि छन् । यी कुराहरू सुधार हुन सक्थ्यो, कम्तीमा एकरूपताका लागि पनि ।


निष्कर्ष

कथाहरू नितान्त नवीन शैली र विषयका छन् । परम्परागत ढर्राअनुसार कथाहरूलाई निष्कर्षमा पुर्‍याइएका छैनन् । यसले पाठकलाई सोच विचार गर्ने स्पेस दिएको छ । आधुनिक विज्ञान र विकासका अवधारणालाई कथामा समेट्न खोजिएको छ । उदाहरणका लागि बटरफ्लाई इफेक्ट (पृ. २०९) को मेटाफोरलाई सुन्दर ढंगबाट प्रस्तुत गरिएको छ । संक्षेपमा भन्नुपर्दा स्वाभाविकजस्ता लाग्ने विषयहरूलाई बौद्धिक कलेबरमा आख्यानमार्फत बहसमा उतार्न सफल प्रस्तुत कथासंग्रह नेपाली साहित्यको एउटा महत्त्वपूर्ण उपलब्धि हो ।

प्रकाशित : माघ २०, २०७४ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?