कठपुतली नबन्ने कि ! 

फिल्म
मनोज पण्डित

काठमाडौँ — चलचित्रले आफ्नाविरुद्ध विद्रोह नगरोस् भनेर त्यसलाई थामथुम गरिराख्न समाजले एउटा शब्द प्रक्षेपण गर्‍यो– मनोरञ्जन । चलचित्र बन्नु छ भने पनि मनोरञ्जनका लागि बनोस् भनेर यसलाई दोस्रो दर्जाको भावनात्मक क्याम्पमा राखियो । तर मनोरञ्जन वास्तवमै के हो भनेर समाजले सधैं लुकाएर राख्यो ।

कठपुतली नबन्ने कि ! 

दु:ख सत्य हो : बुद्ध

जबजब म विश्वका उत्कृष्ट चलचित्रहरू हेर्छु वा तिनीहरूको बारेमा पढ्छु, ती सबैमा एउटै समानता पाउँछु— दु:ख, पीडा । ती सबै चलचित्रका केन्द्रमा रहन्छन्, मानिसले भोगिरहेको समस्या, त्यसका कारण सिर्जिएको असरले निम्त्याएका दु:ख र पीडा ।


हरेक मानिस समस्यामा अल्झिरहेका छन्, पीडामा छटपटिइरहेका छन् अनि त्यो पीडाबाट मुक्तिका लागि आफ्नै तरिकाले संघर्ष गरिरहेका छन् । समय र भूगोल जहाँको र जहिलेको होस्, रंग, उमेर, पेसा, सम्पन्नता आदि जस्तोसुकै होस् तमाम मानवीय सभ्यता नै दु:ख र दु:खबाट मुक्तिको खोजीमा तल्लीन भेटिन्छ । यही उद्देश्यले विकासको आधार निर्माण हुन्छ । अध्ययन अनुसन्धान, अन्वेषण, व्यवस्थापन, सञ्चार आदि तमाम संरचनाको निर्माण भएर त्यही यात्रामा मानिसले चलचित्रको खोज र विकास गर्‍यो ।


चलचित्र त्यो मानव अन्वेषण थियो जसले पूर्णत: मानवोचित चरित्र हासिल गर्‍यो । मानिसको विचार परीक्षण गर्दा त्यो दृश्यात्मक भेटियो अनि त्यो विचारले बोक्ने अर्थ कथात्मक । यस कारण चलचित्रले मानवीय मस्तिष्कको आधार चरित्रलाई प्रतिविम्बित गर्ने हुँदा यसको दृश्यमै कथात्मकता सबैभन्दा सशक्त शास्त्र बन्न पुग्यो ।


यही सशक्तता चलचित्रका लागि दुर्बलता बनिदियो समाज चलचित्रसँग डराउन थाल्यो । सुरुमा एकदम उत्साहित र रोमाञ्चित भएको समाज बिस्तारै चलचित्रको विषयमा शंकास्पद धारणा बनाउन थाल्यो । समाज तस्बिर या शब्दचरित्रको हुन्छ जो स्थिर हुन्छ । जब कि चलचित्रको चरित्र गतिशील हुन्छ । स्थिरता र गतिशीलताबीचको द्वन्द्व स्वाभाविक नै हो । तसर्थ चलचित्र र समाजबीचको द्वन्द्वलाई स्वाभाविक मान्दै यसमाथि विचार गरिनु अत्यन्त आवश्यक बनेको छ ।


समाजको संरचनामा एउटा व्यक्तिको महत्त्व गौण हुन्छ । समाज बहुमतको आवाज सुन्छ । बहुमतलाई श्रीपेच चढाउँछ र अल्पमतलाई बहिष्कार गर्छ । तर चलचित्रले त्यो अल्पमतलाई प्रतिनिधित्व गरिदिन्छ । अझ गहिरिएर हेर्दा अल्पमतमा पनि चलचित्र सीमित हुँदैन, चलचित्रका लागि हरेक जीवन र संवेदनाको महत्त्व हुन्छ ।


चलचित्र मानवताको वैयक्तिक अधिकारलाई पनि संरक्षण गर्न सक्षम हुने हुँदा यसले बहुमतसँग द्वन्द्व गर्छ । बहुमतको अवधारणलाई चुनौती दिने कुनै पनि अवधारणलाई समाज दबाउन खोज्छ । समाजको त्यो बहुमत जहिले पनि आफूले स्थापित गरेका अवधारणाहरूको पक्षपोषण चलचित्रले गरिरहोस् भन्ने चाहन्छ र चलचित्रलाई ऊ कठपुतली बनाउने प्रयत्नमा लाग्छ ।


जबसम्म कठपुतलीहरू नाचिरहन्छन्–नचाइरहन्छन्, हाँसिरहन्छन्–हँसाइरहन्छन, रोइरहन्छन्–रुवाइरहन्छन् जबसम्म ऊ चलचित्रलाई आफ्नो काखमा म्वाई खाँदै राखिरहन्छ । तर जब चलचित्रले उल्टै आफैंलाई झक्झकाउन खोज्छ, जगाउन खोज्छ तब ऊ चलचित्रलाई लात्तीले हानेर भुइँमा गाड्न तम्सिन्छ ।


समाज आफ्नो भीडलाई आँखा चिम्लेर गाँजामा मस्त झुमेको जोगीजस्तै झुमोस् भन्ने चाहन्छ । तर जब चलचित्र त्यो मस्त मोहलाई जीवनको सत्यतातर्फ आँखा खोल्न जगाउने प्रयत्नतर्फ लाग्छ तब समाज चलचित्रसँग क्रोधित हुन्छ । यसबाट केही प्रश्न खडा हुन्छन्, ‘के समाज जाग्न चाहँदैन ? के समाजको लागि चेतना अभिशाप हो ?’


सानोमा लुकीलुकी चलचित्र हेर्न जाँदै गर्दा बुबा भन्नुहुन्थ्यो— फिल्मले मान्छे बिगार्छ, समाज बिगार्छ, अब त्यो लतले त बिग्रिने भइस् । बुबाका हरेक गाली र थप्पडलाई सहर्ष स्विकार्दै चलचित्र हेर्ने क्रम बढिरहयो । तर म बिग्रिनँ बरु सिकाइ बढ्दै गयो । बुबाका लागि चलचित्र जुवा, तास र वेश्यावृत्तिकै स्तरमा थियो । तर मैले बुबासँग विद्रोह गरेँ र चलचित्रलाई जीवनको सारथि बनाए ।


मेरो बुबालाई ठूलो पीडा छ— चलचित्रले छोरो बिगार्‍यो । बुबाका लागि लाग्ने यो बिग्राइबाटै मैले मेरो समाजसँग, समाजको चिन्तन व्यवस्थासँग, समाजमा शक्तिको संरचनासँग मानिसका विचार र संवेदनासँग यति नजिक हुन पाएँ जो सायद बुबाका मार्फत प्रतिविम्बित समाजको अभिव्यक्तिलाई सहर्ष स्विकार्दै बसेको भए पाउन्नथें । मसँग मेरे बुबा हैन मेरो समाज डराएको थियो र रोक्न चाहन्थ्यो त्यो विद्रोही स्वभावलाई । मेरो विद्रोही स्वभावका लागि चलचित्र सबैभन्दा मित्र बन्यो किनकि चलचित्रले पनि विद्रोही स्वभाव बोकेको छ ।

चलचित्रले आफ्नाविरुद्ध विद्रोह नगरोस् भनेर त्यसलाई थामथुम गरिराख्न समाजले एउटा शब्द प्रक्षेपण गर्‍यो— मनोरञ्जन । चलचित्र बन्नु छ भने पनि मनोरञ्जनका लागि बनोस् भनेर यसलाई दोस्रो दर्जाको भावनात्मक क्याम्पमा राखिदियो । तर मनोरञ्जन वास्तवमै के हो भनेर समाजले सधैं लुकाएर राखिराख्यो । मनोरञ्जन बौद्धिक अभिव्यक्ति हो । जसको जस्तो बौद्धिकता उसको उस्तै चयन— समाजले यही सिद्धान्तलाई आधार मान्दै चलाखी के गरि राख्यो भने उसले निश्चित अवधारणाका मनोरञ्जन प्रणाली मात्रै निर्माण गराइराख्यो । यो यस्ता धारणा थियो जसले बौद्धिकतालाई कुण्ठित गरिराखोस्, अवहेलना गरिराखोस् र अन्त्यमा आत्मसमर्पण गरेर आत्महत्या गरोस् भन्ने चाहन्थ्यो ।


समाजले त्यसलाई व्यापारको पगरी पहिराइदिई व्यवस्थित रूपमै आफ्नो योजना लागू गर्दै गयो कि आँखा चिम्लने भीडले चलचित्र भनेकै यही स्थापित भीडको अवधारणा मात्रै हो भनेर स्विकार्न बाध्य भयो । यो प्रमाणीकरणले समाजलाई के बेफाइदा पुग्यो भने मनोरञ्जन समानहरूबीचको अन्तक्रिया बन्न सकेन । मनोरञ्जन बौद्धिक अभिव्यक्ति हुन सम्प्रेषकझैं प्रेषित पनि उत्तिकै क्रियाशील हुन आवश्यक रहन्छ । जसले गर्दा मनोरञ्जन नै आवश्यकता बन्छ र क्रियाशीलता नै मनोरञ्जन बन्छ । तर समाज त्यही क्रियाशीलतासँग चिन्तित छ । किनकि समाज जडता हो ।

समाज आफ्नो जड चिन्तन चलचित्रका माध्यमबाट प्रतिनिधित्व भइरहोस् भन्ने प्रपञ्चमा सधैं रहन्छ । जसका लागि उसले समय समयमा यस्ता मिथकहरूलाई प्रश्रय दिन्छ जसले उसको आवश्यकतालाई नमन गर्छ । समाज आफूलाई जोगाउन बलिया सहाराको खोजीमा आफ्नो चिन्तनमाथि सोच्नै नखोज्ने र नसक्ने ‘पपेट’ हरू निर्माण गर्न थाल्छ । अनि ती पपेटहरू समाजका चेतना र चिन्तनलाई छुँदै नछोई र समाजले स्थापित गरेका मान्यताहरूमा आधारित रहेर चलचित्रहरू बनाउँछन् ।


जसले समाजका तमाम भीडलाई बारम्बार ‘हिप्नोटाइज’ गरिरहन्छ । जसका लागि उनीहरू रिपिटेसन र सतही अवधारणालाई अधिकांश समय प्रयोगमा ल्याइरहन्छन् । समाजले आफ्नो बहुमत मार्फत यी पपेटहरूलाई नायकको पगरी पहिराइरहन्छ र आफ्नाविरुद्ध प्रश्न उठाउनेहरूलाई अराजक र उच्छृंखलको टयाग भिराएर अभावको भुंग्रोमा लडाइदिन्छन् । तीमध्ये धेरै खरानी हुन्छन् ।


एकदमै बिरलै मात्र फेरि उठेर विद्रोह गर्न सक्षम हुन्छन् । कहिलेकाहीं ती विद्रोही समाजको कुस्ती मैदानमा सफल हुन्छन् तर सफलतापछि त्यो विद्रोह फेरि बहुमतको प्रतिनिधित्व गर्न थाल्छ अनि आफ्ना विद्रोही चरित्र सबै बिर्सेर समाजलाई बहुमतीय लुगा पहिराउँछ । समयसमयमा लुगा परिवर्तन हुन्छ समाजको चिन्तन र शरीर उही रहन्छ । यसरी विद्रोहमा उभिने चलचित्र जब बहुमतको आलिंगनमा रमाउन थाल्छ तब ऊ फेरि बहुमतीय चरित्र बोकेर अल्पमतीय पीडा र वैयक्तिक अधिकार आदि माथि आफैं धावा बोल्न थाल्छ । हालसम्म समाज यो प्रक्रियामा सफल छ । समाजको यो चिन्तन प्रणाली चलचित्रलाई दबाउन मात्र होइन राजनीतिलाई जित्न पनि सफल देखिन्छ ।


समाज कस्तो चलचित्र बनाउँदै छ भन्ने आधारमै कस्तो राजनीति स्थापित गर्दै छ भन्ने पनि बुझ्न सकिन्छ । समाजले आफ्नो चिन्तन सुरक्षाका लागि जसरी चलचित्रमा पपेटहरू निर्माण गर्छ त्यस्तै राजनीतिमा पनि ऊ पपेटहरूकै माध्यमबाट आफ्नो स्वार्थ पूरा गरिरहेछ । हरेक साता प्रदर्शनमा आइरहेको नेपाली चलचित्रलाई नियाल्ने हो भने अधिकांशमा लुच्चा लफंगाहरूको मात्र प्रतिनिधित्व भइरहेको छ । जसमा पात्रहरू कसरी केटी पटयाउने ? जवानीको भोग गर्ने ? बैंक वा अरू सम्पत्ति लुट्ने ? कसरी फटाइँ गर्ने ? कसरी एकअर्कालाई छिर्के हानेर लडाउने ? आदि उद्देश्यमा मात्र सीमित छन् । यसले के प्रतिनिधित्व गर्छ भने समाज लफंगाहरूको भीड बनिरहेको छ ।


ट्वाक्कटुक्क र पञ्च लाइनमा सीमित र पुनरावृत्ति भइरहेको नेपाली अधिकांश चलचित्रले समाजको त्यही मनोविज्ञानको प्रतिनिधित्व गर्छ जसले ट्वाक्कटुक्क र राजनीतिक भाषण र नाराबाजीमा ताली बजाउँदै दलाल, फटाह, जोकर, बेइमानहरू आदिलाई राजनीतिको सत्तामा स्थापित गराइरहेको छ । समाज राजनीतिमा मात्र हैन, आफ्नो कुण्ठा र रूढिग्रस्त अमानवीय चरित्रलाई शिक्षा स्वास्थ्य सुरक्षालगायतका मानवीय जीवनसँग अत्यन्त जिम्मेवार रूपमा गाँसिएका हरेक पक्षमा स्थापित गर्न सफल भइसक्यो । यही कारण हाम्रो मानवीय भूगोलमा यति धेरै समस्या, पीडा र त्यसका असरहरू छन् जसको कुनै महत्त्व नै छैन । बुद्ध जन्मिएको यो देशमै बुद्धको सत्य महत्त्वहीन बन्न पुगेको छ ।


यो सबपछाडि हाम्रो समाजको चिन्तन प्रणाली जिम्मेवार छ । जहाँ सम्पूर्ण प्रहार केन्द्रित गर्नुपर्ने समय आइसकेको छ । हामीले भोगिरहेका तमाम समस्याहरू र त्यसका कारण हामीभित्र खुम्चिएका पीडाहरूको प्रमुख स्रोत नै समाजले स्थापित गरेका न्यारेटिभ हुन्, जसलाई अब बदल्नुपर्छ । समाजको त्यो न्यारेटिभबाट यो बदल्ने प्रक्रिया सुरु गर्नुपर्छ— समाज बहुमतको अभिव्यक्ति हो ।


समाज बहुमतको सिंहासन होइन । समाज हरेक मानिसको अभिभावक हो । र त्यो अभिभावकत्वले हरेकका चिन्तन र भावहरूलाई आत्मसात् गर्छ । समाज बन्धन होइन, मुक्तिको मार्ग हो । जहाँ तमाम दु:ख पीडाको कारण बन्ने समस्याहरूलाई जगबाटै उठाएर फाल्ने काम हुन्छ । ती तमाम न्यारेटिभ बदल्ने अबको आवश्यकताका लागि चलचित्र अत्यन्त प्रभावकारी सारथि बन्न सक्छ । किनकि चलचित्र आफैंमा न्यारेटिभ उत्पादन गर्ने कारखाना हो ।


समाजमाथि औंला उठाइरहँदा समाजले पनि प्रतिप्रश्न गर्नेछ— के तिमी यही समाजबाट आएका होइनौ, समाजभन्दा के तिमी भिन्न छौ र ? यस्ता थुप्रै प्रश्नहरू तेर्साउँदै समाज आफूले बोकेर हिँड्ने न्यारेटिभ जोगाउन हरसम्भव प्रयत्न गर्नेछ । त्यसैले अहिलेको सवाल भने अबको यही चिन्तन प्रणाली बुझेका र सोच्न सक्नेहरूले समाजलाई जगाउन कसरी अग्रणी भूमिका निर्वाह गर्नेछन् र यो प्रक्रियामा ती विद्रोही चलचित्रलाई समाजविरुद्धको युद्धभूमिमा हतियार बनाएर कसरी लड्नेछन् भन्ने नै हो ।

प्रकाशित : माघ २०, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?