२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भिनस, अनारकली, मधुबाला

भेलेन्टाइन डे

काठमाडौँ — भेलेन्टाइन डे’ मा जन्मेको म एकै व्यक्तिलाई जान्दछु यस संसारमा । तर मैले जानेको यही एक हुन्, जसले ‘प्रेम–दिवस’ का दिन जन्मेर आफ्नो समयका मानिसलाई ‘चकाचौंध’ बनाइन् । उनलाई ‘भिनस’ भनिन्थ्यो । उनको नाउँ मुमताज थियो ।

भिनस, अनारकली, मधुबाला

नौ वर्ष उमेरमा फिल्म खेल्न थालेदेखि उनी बेबी मुमताजका नाउँले चिनिइन् ।

पछि एक दिन त्यस बखतका एक ठूला अभिनेता केएन सिंहले यिनलाई कुनै सेटमा भेटे । चकित भएर सोधे, ‘मुमताज ?’

तिनले भनिन्, ‘जी । अब ओ मुझे मधुबाला कहते हैं ।’

यसरी केएन सिंलाई थाहा भयो, मुमताज अब मधुबाला आइसकिछन् र, नायिका पनि भइसकिछन् । यी नायिका भोलि झन् कस्ती हुने हुन्, त्यो त अझ बाँकी नै थियो ।

मधुबालाको पहिलो फिल्म ‘वसन्त’ थियो, जसमा उनले बाल–कलाकारको भूमिका खेलेकी थिइन् । काम गर्ने हिसाबले उनी दिलीप कुमारभन्दा सिनियर हुन् । हुन त दिलीपले बाल–कलाकार भएर कहिल्यै खेलेनन् । अन्य कतिपय अभिनेतालाई छाडेर दिलीपकुमारकै नाउँ लिनुपर्ने कारण छ । यिनीहरू बलिउडका सबभन्दा चर्चित र विवादित जोडीमध्ये एक हुन् । दुवैले बम्बे टाकिज फिल्म कम्पनीबाट आफ्नो करिअरको थालनी गरे र रमाइलो के भने, मुमताजलाई मधुबाला र पुरुषलाई दिलीपकुमार नाउँ देविका रानीले नै दिएकी हुन् । बम्बे टाकिज, देविका रानीकै थियो ।

‘भिनस’ प्रेम र सौन्दर्यकी देवी मानिन्छिन् । युनानी भिनाससँग रोमन देवी अफ्रोडाइट पनि मिसिइन् । त्यसपछि भिनस प्रेम, सौन्दर्य र कामकी देवी पनि भइन् । यिनैबाट जन्मेका हुन् ‘क्युपिड’, हाम्रा कामदेवजस्तो ।

भारतीय सिनेमामा ब्युटी क्विन भए, ‘ड्रिम गर्ल’ भए, अन्य पनि भएकै छन् । भनिन्छ— मधुबाला, ब्युटी क्विन पनि हुन्, ड्रिम गर्ल पनि हुन्— अन्य सबै पनि हुन्, तर यीभन्दा अझ बढी पनि हुन् । त्यो ‘बढी’ सम्भवत: हामीले भन्दा पनि उनीलाई साँच्चिकै भेट्ने–देख्नेहरूले अनुभव गरे होलान् । त्यस बखतका प्रसिद्ध तर सबको तीक्ष्ण आलोचना गर्ने पत्रकार समेत भन्ने गर्थे—‘नन अफ हर फोटोग्राफ डिड फुल जस्टिस टु हर एक्स्ट्रा अर्डिनरी ब्युटी ।’

यसको अर्थ हो, हामी फिल्ममै वा तस्बिरमा जुन मधुबाला देख्दछौं, त्योभन्दा धेरै उच्च सौन्दर्य थियो— मधुबालाको ।

त्यसबखतको प्रसिद्ध पत्रिका ‘फिल्म इन्डिया’ र त्यसका सम्पादक बाबुराव पटेल, जसले के भन्ला भनेर ठूल्ठूला कलाकारसमेत डराईडराई पर्खन्थे, ले एक पटक भने— सहजै भन्न सकिन्छ, हाम्री ‘मोस्ट टयालेन्टेड मोस्ट भर्सटाइल एन्ड बेस्ट लुकिङ आर्टिस्ट ।’

विभिन्न देशका धेरै अन्य क्षेत्रका शासक/प्रशासक मधुबालाका फयान थिए रे । त्यसबखत एउटा चर्चा सुनिएको थियो, राजा त्रिभुवन पनि उनका प्रशंसक थिए र उनले मधुबालालाई भेटेका थिए रे । जुल्फिकर अली भुट्टो र अन्य कति जना उनलाई मन पराउँथे ।

मधुबालाको सौन्दर्यलाई भनिन्छ— समयको कसीमा घोट्न, तौलिन सकिन्न । आज पनि मधुबालाको ‘लुक’ त्यतिकै ताजा मानिन्छ । एउटी कलाकारले नै एक दिन भनिन्— उनलाई ‘फिफ्टिज’ वा ‘सिक्सटिज लुक’ भनेर वर्गीकरण गर्नै सकिन्न, उनी त्यत्तिकै आजकी पनि हुन् ।

भनिन्छ, त्यसबखतका केटीहरू अलिकति पनि मधुबालाको जस्तो हुन पायो भने आफूलाई धन्य ठान्थे । उनका केही समकालीनहरू त कहाँसम्म भन्छन् भने एकाबिहानै मधुबालाको सुन्दर अनुहार हेरेर दिन सुरु गर्न पाइयो भने भन्ठाने हुन्छ—दिन सफल बन्यो ।

हिन्दी सिनेमाकी सफल र अनुभवी अभिनेत्री निरूपा राय त भन्छिन्— ‘भारतीय सिनेमामा त्यस्तो सौन्दर्य न कहिल्यै उदय भयो, न हुनेछ । यस्तो भन्ने अरू पनि थुप्रै छन् । भविष्यको कुरो त भविष्यलाई नै छाडिदिऔं तर आजसम्म त भारतीय पर्दामा अन्य कुनै अभिनेत्रीलाई मधुबालाभन्दा राम्री त भनिएको छैन नै । हिन्दी फिल्म–नायिकामा, विगतमा हेमा मालिनी र आजकी दीपिका पादुकोण राम्री मानिन्छन् तर तिनको पनि तुलना मधुबालासँग हुन सक्दैन भनिन्छ ।

मधुबालाको सौन्दर्यको प्रसंगमा उनलाई ‘चाँदका टुकडा’ भन्नु त मामुलीजस्तो थियो । ‘स्वर्ण–पर्वतको टुक्राले बनाइएकी’, ‘इटर्नल ब्युटी’, ‘इथेरियल ब्युटी’, सेलेसियल ब्युटी’, ‘अप्सरा धर्तीमा ओर्लेकी’ आदि कति छन् कति, उनको सुन्दरतालाई व्याख्या गर्ने उपमाहरू । केही वर्षअघि भारतीय दूतावासका प्रथम सचिव वा कार्यबाहक राजदूत, संजय बर्माले मलाई एउटा पुस्तक (मधुबाला) दिएका थिए, जसले मधुबालाबारे निकै जानकारी बढाएको थियो । पुस्तकमा उनले लेखेका छन् :

‘टु गौतम साब,

मधुबाला द सेलेसियल स्टार अफ बलिउड । एन्ज्वाय !’

यस्ती दैवी सौन्दर्य भएकी मधुबालाको जीवनमा ‘ट्रेजेडी’ कति थियो कि छँदै थिएन ?

धेरै पछि बनेको दिलीपकुमारको एउटा फिल्म छ, ‘दिल दिया, दर्द लिया ।’ यो फिल्ममा, प्रेम र दर्द र बदलाको कथा छ । दिलीपकी प्रेमिका बहिदा रहमान छिन् । फिल्म हेरेपछि लाग्यो, यसकी नायिका मधुबाला हुनुपर्ने । कारण शीर्षक ‘दिल दिया, दर्द लिया’ मधुबालालाई फिट बस्छ । वास्तविक जीवनमै, उनको र दिलीपको सम्बन्ध त्यस्तो रहयो ।

सन् १९५१ मा प्रदर्शित ‘तराना’ मा मधुबाला र दिलीप पर्दामा साथै आए । त्यसै बखतदेखि मधुबाला दिलीपसँग प्रेम गर्न थालिन् । भनिन्छ— मधुबालाले नै पहल गरेर दिलीपलाई एउटा गुलाफको फूल दिँदै

आफ्नो प्रेम प्रकट गरेकी थिइन् । त्यसपछि ती दुवैमा गहिरो प्रेम बस्यो । तिनीहरू लुकीलुकी भेट्दथे ।

त्यत्रा स्टार पनि लुकेर हाते चिठी पठाउन–पढ्न थाले । लुकेरै, कुनै मित्रको घरमा भेटघाट गर्न थाले ।

जस्तो कि सितारा देवी । मधुबाला र दिलीपकुमार तिनका घरमा घण्टौं बस्थे । त्यतिन्जेल सितारा देवी र के. आसिफ घर छाडेर बाहिर गइदिन्थे ।

उनीहरूको एकान्त मिलनको कल्पना गर्दा म सधैं एउटा मात्र दृश्य सम्झन्छु । ‘मुगल–ए–आजम’ फिल्ममा दिलीपकुमार अर्धमुद्रित नयनकी मधुबालाको अनुहारमा एउटा सेतो र नरम प्वाँखले सुम्सुम्याउँछन् । यस दृश्यमा कुनै संवाद छैन । तैपनि हिन्दी सिनेमाको प्रेम–दृश्यमा यो लगभग नम्बर एक नै मानिन्छ । त म सोच्दथें— यथार्थमा पनि दिलीपकुमारले एकान्तमा मधुबालालाई भेट्दा घण्टौं एउटा प्वाँखले उनको अनुहार सुम्सुम्याउँदा होलान् ।


मधुबालाको यो प्रेममा सबभन्दा ठूलो बाधा, उनका पिता अताउल्ला खाँ नै थिए । कडा स्वभावका उनले मधुबालालाई कडा अनुशासनमा पालेका थिए । मधुबाला एक शान्त स्वभावकी, अन्तर्मुखी केटी थिइन् । बाबुकी एकदम आज्ञाकारी छोरी । वास्तवमा भन्ने हो भने उनी बाबुसित अचाक्ली डराउँथिन् ।

दिलीपकुमारले त एक पटक विवाह गराउने काजीसमेतको बन्दोबस्त गरेर एउटा फिल्म सेटबाटै सरासर गएर ‘निकाह’ गरौं भनेका थिए । मधुबालाले नै आँट गर्न सकिनन् । उनले एउटा कोठामा बसेर बारम्बार मधुबालालाई ‘हँ भन् कि न भन्’ भनेर जोड दिए । मधुबालाले भने ‘हँ’ भन्न सकिनन्, न ‘न’ भनिन् । शिर निहुराएर बसिरहिन् । त्यसै समयमा रिसाएर कोठाबाहिर निस्केका दिलीपकुमार, फेरि मधुबालाको जीवनमा कहिल्यै फर्केर आएनन् । अर्थात् मधुबालाको अन्तिम समयमा मात्र भेट भयो उनीहरूको ।

त्यसपछि मधुबाला एक्ली भइन् । एउटा कुरा अहिल्यै स्पष्ट बताऊँ । मधुबालाको जीवनमा विभिन्न झन्झावात आए । उनले किशोरकुमारसित बिहे पनि गरिन् तर दिलीपलाई कहिल्यै बिर्सिन सकिनन् । दिलीपविरुद्ध अदालतमा उभिए पनि उनलाई माया गरिरहिन् । दिलीपकुमार भने, मधुबालाले बिहे गर्न नमानेपछि अलिक कठोरै देखिए मधुबालाप्रति । ‘मुगल–ए–आजम’ को एउटा दृश्यमा दिलीपले मधुबालालाई थप्पड हान्नु थियो । प्वाँखले सुम्सुम्याइएकी मधुबालालाई उनले साँच्चिकै बेस्सरी थप्पड हानिदिए, रन्थनिने गरी । मधुबाला दृ:ख र आश्चर्यले उनलाई हेर्न थालिन् । केही बोलिनन् । त्यसबखत एक त तिनमा बोलचाल बन्द थियो, दोस्रो आफ्नो प्रेमीले हानेको थप्पडमा के बोल्ने ? दु:खी र चकित हुनुबाहेक ?

दिलीपकुमार मधुबालालाई ‘मधु’ भनेर सम्बोधन गर्दथे । ‘मुगल–ए–आजम’ को सेटमा दिलीपकुमार आफ्नो सुटिङ नभएका बेलामा पनि जान्थे । मधुबालालाई (काम गरिरहेको) हेरेर बसिरहन्थे ।

त्यसैगरी दिलीपलाई देख्नासाथ, मधुबालाको आँखा चम्किलो हुन्थ्यो । अरूको दिन मधुबालालाई देखेर बन्थ्यो, मधुबालाको भने दिलीपकुमारलाई देखेपछि, ‘द डे वाज मेड ।’ ‘मुगल–ए–आजम’ बनाउन लगभग एक दशक लाग्यो । उनीहरूको यो प्रेमिल अवस्था सुरुमा होला, सन् १९५७ पछि त, अनुबन्धित फिल्ममा काम सँगै गरे पनि एकअर्कासँग बोल्दैनथे । बोलीचाली बन्द हुँदा पनि मधुबालालाई हेर्न गएको हो भने त झन् ‘ग्रेट’ भन्छु म ।

त्यो ग्रेटनेस मधुबालामा चाहिँ देखिन्छ । एउटा मानिस बेलाबेलामा आएर दिलीपका कुरा सुनाउँदथ्यो ।

आफ्नो दुखेसो पनि पोख्थ्यो । मधुबाला त्यसलाई पैसा दिएर पठाउँथिन् । एक दिन मधुबालाकी एक साथीले भनी, ‘मधु, त्यसले तिमीलाई ठग्दै छ ।’

मधुले भनिन्, ‘मलाई थाहा छ तर त्यो युसुफ (दिलीपकुमार) को खबर लिएर आउँछ ।’ त्यो मानिस, दिलीप र मधुबालाको चिठी ओसार्ने गर्दथ्यो ।

कुनै पनि दु:खी मानिस उनकोमा जाओस् र केही नपाएर फर्कोस् यस्तो सम्भव थिएन । आफ्ना निर्माताहरूलाई समेत उनी मद्दत गर्थिन्, आर्थिक होस्, कम पैसामा फिल्म खेलिदिएर होस् वा अन्य किसिमले । उनी पत्रकारहरूको पनि सहायता गर्थिन्, यद्यपि एक पटक पत्रकारहरूले उनको र उनले पत्रकारहरूको बहिष्कार गरेकी थिइन् । पछि केही नामुद पत्रकार त उनका अत्यन्त घनिष्ठ मित्र भए ।


‘नयाँ दौर’ फिल्ममा दिलीपकुमारसँग पछि वैजयन्तीमाला खेलिन् । तर पहिले त मधुबालासँग नै करार गरिएको थियो । दस दिनको सुटिङ पनि गरेकी थिइन् । तर त्यसै बखत आउटडोर सुटिङमा मधुबाला खेल्दिन भनेर पिता अताउल्ला खाँले भनेपछि कुरा चक्र्यो र निर्माता–निर्देशक बीआर चोपडा, मधुबाला, दिलीपकुमार सबले अदालतमा पुगेर बयान दिनुपरेको थियो । अदालतमै दिलीपले सार्वजनिक रूपमा पहिलो पटक भनेका थिए, ‘म मधुबालालाई प्रेम गर्छु र ऊ नमरुन्जेल गरिरहनेछु ।’ मान्छेले म भन्नुपर्नेमा, ‘ऊ’ किन भने दिलीपले भन्ने प्रश्न उठाएका थिए ।

‘दिल’ दिएर ‘दर्द’ लिने, दिलीपभन्दा पनि मधुबाला पो भइन् । अर्को किसिमले पनि ।

बाल–कलाकार हुँदा नै एक दिन कुनै फिल्मको सेटमा मधुबाला बेहोस भइन् । डाक्टरले जाँचेर भन्यो, ‘मुटुको समस्या छ ।’ त्यसबखतसम्म मुटुको के समस्या भन्ने थाहा थिएन । पछि थाहा भयो, मुटुमा प्वाल छ र यो केटाकेटीदेखि नै छ । पछि मद्रासमा एसएस वासनको एउटा फिल्म ‘बहुत दिन हुए’ फिल्म खेल्दा उनी फेरि सेटमै लडेर बेहोस भइन् । रगतै छादिन् । त्यसपछि उनी औषधिका भरमा बाँच्ने भइन् । वास्तवमा आज मुटुमा प्वाल पर्नु भनेको केही होइन । डाक्टर भन्छन्, त्यसको अपरेसनमा पनि एक प्रतिशत रिस्क हुन्छ । तर साठीको दशकमा यो गम्भीर रोग थियो । मधुबालालाई सुनाउन त सुनाइन्थ्यो, उपचार खोजिँदै छ, छिट्टै नै ‘कारगर’ उपचार पद्धति आउँदै छ आदि । मधुबाला वास्तवमा त्यस्तो उपचार पद्धति आउँछ कि भन्ने आसमै बसिन्, किनभने उनी मर्न चाहँदिनथिइन् । मर्न त को चाहन्छ र ? तर उनी बढी आस गरेर बसिन् ।

सन् १९६९, १४ फेब्रुअरीको बिहान, केही इनेगिनेका मानिस थिए, उनको ३६ वर्ष पुगेको जन्मदिनको बधाई दिन जाने । पहिले उनको सिङ्गै कोठा फूलैफूलले भरिन्थ्यो । महत्त्वपूर्ण के भने जानेहरूमा दिलीपकुमार पनि थिए । दिलीपकुमार मधुबालाको हात सुम्सुम्याउँदै बसे त्यस दिन । मधुबाला, दिलीपकुमारको स्पर्श पाएर पुलकित भइन् । उनका आँखामा पुन: पुरानो चमक आयो । उनले दिलीपको हात समाउँदै भनिन्, ‘म ठीक भएँ भने तिमी मसँग फिल्म खेल्छौ ?’

दिलीपले आँखामा स्नेह भर्दै भने, ‘खेल्छु मधु । फिल्म खेल्छु पनि, तिमी ठीक भएर आउँछयौ पनि ।’

दुई प्रेमीको त्यही अन्तिम भेट थियो, जुन अस्पतालको बेडमा, अझ भनूँ ‘डेथ बेड’ मा सम्पन्न भएको थियो ।

मधुबालाको विषयमा भनिन्थ्यो, एउटा यस्तो क्षेत्रमा पुगिन् उनी जहाँ सबै रूपवती हुन्छन् । जहाँ सुन्दरता भनेको ‘बेसिक क्राइटेरिया’ हुन्छ । सौन्दर्यले भरिभराउ दुनियाँमा उनी ‘सेलेस्टियल’, ‘इथेरियल’, ‘अदर वल्र्डली’ ब्युटी भएर बाँचिन् । ‘महल’ जुन फिल्मले मधुबालालाई ‘सुपर स्टार’ बनायो, मा नायिका चयन गर्दा मित्रहरूले कमाल अमरोहीलाई नायिकामा त्यसबखतकी ‘सुपर स्टार’ सुरैयालाई सुझाएका थिए, तर कमाल अमरोहीले मानेनन् र मधुबालालाई नै छाने । भने रे, ‘मलाई रहस्य भरिएको इथेरियल ब्युटी चाहिन्छ ।’ त्यसैगरी ‘मुगल–ए–आजम’ मा के आसिफले मधुबालालाई नै पर्खे, पहिले नूतनको नाउँ आएको थियो । आज सबै मान्दछन्, मधुबालाको सौन्दर्य दुनियाँभन्दा माथिको थियो ।

आज सबै ‘ब्युटी कन्टेस्ट’ म स्वीकार गरिन्छ, आन्तरिक सौन्दर्यको त्यत्तिकै महत्त्व हुन्छ, जति बाहय सौन्दर्यको हुन्छ । सौन्दर्य परख गर्दा । उनीसँग दुवै किसिमको सौन्दर्य थियो, उनको सम्पूर्ण सौन्दर्य हो, भन्छन् उनका समकालीनहरू । उनको अनुहारको कुरा गर्दा, नाक अलि ठूलो हो कि भनेर कोहीकोही कुरा गर्छन् । तर फेरि भन्छन्— अनुहारलाई सुहाएपछि केको ठूलो ?

कोही ‘मिस्ट्री एन्ड मिस्चिफ’ ले भरिएको मुस्कानमा मुग्ध हुन्थे । त्यही हेर्न बारम्बार उनको फिल्म हेर्न जाने दर्शक पनि थिए । तिनलाई देख्नासाथ प्रभावित नहुने कोही थिएन । प्रेमनाथ, शम्मी कपूर, अन्य कतिपय नायक, गन्ती लामै जान्छ यसरी । नायिकाहरू ईष्र्या त गर्दा हुन्, तर सबै भन्छन्— मधुबाला यति सुन्दर र सरल थिइन् कि उनीसित ईष्र्या गर्नै मन लाग्दैनथियो, बरु मित्रता गर्न पाए हुन्थ्यो जस्तो लाग्दथ्यो ।

निम्मी मधुबालाका राम्रै साथीमध्ये पर्थिन् । यी निम्मीले पहिलो पटक भेट्दा के भयो, थाहा छ ? निम्मी रातभरि सुत्न सकिनन् रे, यस्ती राम्री मधुबालाका अगिल्तिर म कसरी टिकुँला भनेर । दुवै ‘अमर’ भन्ने फिल्ममा सँग काम गर्दै थिए, त्यसबखत दिलीपकुमारको नायकत्वमा ।

शम्मी कपूर ‘पृथ्वी थिएटर्स’ बाट आएका थिए । बाबु पृथ्वीराज कपूर ठूला हस्ती थिए । फिल्मी नायक–नायिकालाई नगन्ने खालका थिए, ‘यी के हुन् र ?’ भन्ने किसिमले । भनूँ न, एक किसिमको उपेक्षाको भाव । सेटमा पुगेपछि उनले भने, ‘डाइलग लाओ जी, क्या बोलना हे ?’

असिस्टेन्ट डाइरेक्टरले स्क्रिप्ट दिन भन्यो, ‘ये सिन करना है सर ।’ उनले एक दृष्टिमा स्क्रिप्ट पढे एकछिनमा कण्ठ गरे । स्क्रिप्टमा लामालामा बाक्य, सास नफेरी पनि बोल्नुपर्छ, यहाँ त्यस्तो थिएन । टुक्रामा बोल्नुपर्छ, त्यसमाथि उनले फिल्म खेलिसकेका थिए । ‘ये सिन तो युँ करलेंगे’ भन्ने भयो उनलाई ।

फिल्म थियो, ‘रेल का डब्बा’ । सन् १९५३ को यो फिल्ममा शम्मी कपूर पहिलो पटक मधुबालासँग खेलिरहेका थिए । मधुबालालाई उनले देखेका थिएनन् । क्यामेरा ‘अन’ भयो, मधुबाला सामुन्ने आएर उभिइन् । शम्मी कपूरको पालो आयो । तर के भयो ?

‘युँ कर लेंगे’ भन्ने शम्मी कपूरले त टेकमाथि टेक खान थाले । एक वाक्य पनि बारम्बार गल्ती गरेर बोले । बल्लतल्ल गरेर ओके भयो । पछि शम्मी कपूरले भने रे, ‘म मधुबालालाई देखेर साह्रै नर्भस भएँ, कति राम्री ?’ शम्मी कपूर यति ‘फिदा’ थिए कि उनी धर्म परिवर्तन गरेर भए पनि मधुबालालाई अपनाउन चाहन्थे । धेरै पारिवारिक दबाबपछि मात्र उनले आफ्नो मधुप्रतिको आकर्षण छाडेका हुन् ।

यस्ता कैयौं घटना छन् । सारांशमा उनलाई देख्नासाथ मुग्ध नहुने कोही थिएन । ऊ बेलाको प्रख्यात अंग्रेजी पत्रिका ‘लाइफ’ ले उनको अन्तर्वार्ता लिंदा, अप्रतिम सुन्दरी त मानेकै थियो, संसारकै ‘बेस्ट एक्ट्रेस’ पनि लेखिदियो । प्रतिभा र सौन्दर्य दुवैकी अलल्य धनी यी नायिका मिहिनेती पनि थिइन् । स्कुलको मुख नदेखेकी मधुबाला घरमा टयुसन राखेर, तीन महिनामा राम्ररी अंग्रेजी लेख्ने–पढ्ने–बोल्ने भएकी थिइन् । नृत्यमा त्यसैगरी यिनी परिश्रम गरेर पारंगत भइन्, जसको अद्भुत नमुना ‘मुगल–ए–आजम’, जसलाई भारतको ‘अल टाइम’ हिटमध्ये एक मानिन्छ, मा ‘जब प्यार किया तो डरना क्या’ जस्तो गीतमाथि कुशल कत्थक नृत्यबाट देखिन्छ । मधुबालालाई सम्झँदा यो नृत्य पनि सम्झनुपर्ने हुन्छ ।


आन्तरिक सौन्दर्यको कुरा आइसक्यो । उनी एक दयालु र भावुक नायिका त थिइन् नै, उनले आफूलाई अद्भुत किसिमले अनुशासनमा ढालेकी थिइन् । एक पटक यस्तो दिन पनि सुटिङ गर्न स्टुडियो पुगेकी थिइन्, जुन दिन मुसोले समेत हिंडडुल गर्ने आट गर्दैन थियो, स्टुडियोमा पुग्न नसोचेको मुश्किल थियो ।


सारा बम्बई जलमय थियो । रूख ढलेका थिए, स्टुडियोभित्र मेच–डेस्कहरू पानीको गहिरो पोखरीमा उत्रिरहेका थिए । त्यस्तो दिन उनी ठीक नौ बजे ‘दुलारी’ भन्ने फिल्मको सुटिङ गर्न पुगेकी थिइन् । बाहिर गेटमा उभिएको दरबान देखेर आश्चर्यले आँखा मिच्न थाल्यो । त्यसबखत उनी १५ वर्ष पनि पुगेकी थिइनन् । ‘स्टार सिस्टम’ सुरु भइसकेको त्यो जमानामा स्टारको मुडअनुसार सुटिङ हुन्थ्यो । तर मधुबालाले सधैं उदाहरणीय अनुशासन कायम राखेकी थिइन् । उनी ठीक नौ बजे गेटबाट छिर्थिन् र बेलुकी ठीक ६ बजे स्टुडियोको गेटबाहिर निस्कन्थिन् । स्टुडियोका सारा मानिस उनको ‘प्रवेश–प्रस्थान’ अनुसार घडी पनि मिलाउँथे रे । मधुबाला आइनन् भने धेरैले शायद उनी बिरामी परिन् होला भन्ठान्थे ।

यस्ती अभिनेत्री मैले सुनेको छैन । तर जब म उनको फिल्म हेर्थें, मलाई यस्तो कुनै कुराको अनुमान थिएन, एउटी ‘टप’ नायिका हुन् भन्नेबाहेक । मैले उनका धेरै फिल्म हेरेको छु । मैंले सबभन्दा बढीपटक हेरेको फिल्म हो ‘निशाना’ जुन सन् १९५० को थियो ।

वीरगन्ज–रक्सौलका दुई हलहरूमा प्रतियोगी रूपमा बेलाबेलामा ‘एक टिकटमें दो खेल’ देखाइन्थ्यो । एक समय यस्तो थियो, जब ती ‘दुई खेल’ मा एउटा त चलाइरहेकै फिल्म हुन्थ्यो र दोस्रो हुन्थ्यो, यही ‘निशाना’ । त्यसले गर्दा यो फिल्म मैले सबभन्दा बढी पटक हेरेको फिल्म हुन गयो सायद । भन्थे ‘कीर्ति सिनेमा’ ले ‘निशाना’ पचाएर राखेको छ । त्यसबखत आजजस्तो धेरै प्रिन्ट बन्दैन थियो । नभन्दै त्यो फिल्म युटयुबमा समेत भेटिएन, तस्बिर र गीत त छन्, तर फिल्म पाइनँ । सोचें— कारण त्यही त होइन ?


मधुबाला यति गोरी, यति नरम स्क्रिन भएकी थिइन् कि अरूले छोयो कि दाग लाग्लाजस्तो हुन्थ्यो रे । कसैले नारी वा पाखुरा समात्दा, त्यहाँ नीलो दाग उक्सेर आउँथ्यो । उनको घाँटी यति पारदर्शी थियो र, पान खायो भने त्यसको रातो घाँटीभित्र देखिएलाजस्तो हुन्थ्यो भनेर अभिनेत्री मिनू मुमताज भन्छिन्, जो उनकी मिल्ने साथीमध्ये थिइन् ।

मधुबाला र उनको सौन्दर्य तथा कोमलताबारे धेरै कुरा भनिएको छ । तिनैबाट प्रभावित भएर पनि होला, एक दिन मैले सोचें, उनी भिनस हुन् । भलै भनिन्थिन्, अनारकली । उनले साकार पारिन्, भिनस र अनारकलीको रूप मिसायो भने के होला ?

उहिलेका धेरै जनाले भने, ‘त्यही त हो नि मधुबाला । दूधमा गुलाफ घोलेर बनेकी मधुबाला ।’

प्रेमैप्रेमले भरिएकी, प्रेम दिवसमा जन्मेकी यस्ती मधुबाला, आफन्तको ‘उपेक्षा–दिवस’ देखेर यस संसारबाट जन्मदिनको नवौं दिनमा, फेब्रुअरी २३, १९६९ मा केवल ३६ वर्षको उमेरमा बिदा भइन् ।

त्यसबखत दिलीपकुमार मद्रासमा ‘गोपी’ को सुटिङ गरिरहेका थिए । सुन्नासाथ उडेर आए । मधुबालाको ‘मजार’ मा फूल चढाए र एक्लै उदास भएर धेरै बेर उभिइरहे । पुराना सम्झनाहरूसहित ।

मधुबालाको मृत्युमा केही ठूला अखबारले ठूला अक्षरमा लेखे, मधुबाला होइन : अनारकली डाइड ।

अन्त्यमा निष्कर्ष के हो भने ‘भेलेन्टाइन डे’ का दिन जन्मेकी यी नायिकाले सौन्दर्यको यस्तो प्रतिमान नै स्थापित गरिन् कि भारतीय सिनेमाको इतिहासमा आजसम्म मधुबालाभन्दा राम्री त छाडिदिऊँ ‘मधुबाला जत्तिकै राम्री’ नायिका पनि कसैलाई भनेको थाहा छैन, त्यति अद्भुत त्यति अप्रतिम रूप थियो मधुबालाको । भुतो न भविष्यती ।

प्रकाशित : माघ २७, २०७४ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?