१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बा

राजाले राज्य नै सुम्पिँदा त जिम्मा नलिएर साथीलाई अघि सार्ने बाको जीवन अपूर्ण त हुनै सक्दैन ।
किशोर नेपाल

काठमाडौँ — बा अब यो घरमा हुनुहुन्न । बा बित्नुभएको पनि दुई दशक बितिसक्यो । तर, बा हिजो साँझसम्म यही चाक्सीको बोटमुनि राखिएको बेतको कुर्सीमा बसिरहनुभएको आभास हुन छाडेको छैन ।

बा

बा त बा नै हुनुहुन्थ्यो । मनभरि रिस उठ्दा पनि मुखमा हाँसो नछुट्ने । बा आफ्नो टाउकोमा सधैं घरबुनाको गम्छा बेरेर बस्नुहुन्थ्यो । गम्छा पनि बजारिया होइन । आमाले आँखा देखुन्जेल बाका लागि आफैं बुन्ने गर्नुहुन्थ्यो घरबुनाको गम्छा । ‘काँधमा गम्छा’ बाको मौलिक पहिचान थियो । यसरी काँधमा गम्छा बाँध्ने बाका समकालीन साथीहरू, जेठाबा–कान्छाबाहरू, इष्टमित्रहरू सबै काल–कवलित भैसकेका थिए । बाको साथी अष्टमान कहिलेकाहीं आउँथ्यो । त्यत्ति हो ।

हामी परिवारका मान्छे गाउँबाट शहर गएको बेलामा पनि बा त्यसरी नै चाक्सीको बोटमुनि बसी रहनुभएको होला भन्नेजस्तो लाग्थ्यो हामीलाई । बहम त यो पक्कै थिएन । यसलाई झझल्को भनौं । बाको झझल्को । अहिले पनि बा हामीसँग यो घरमा प्रत्यक्ष हुनुहुन्न भन्ने त सोच्नै मन लाग्दैन । किन किन । हामीलाई बा कि त बगैंचामा हुनुहुन्छ होला कि बैठकमा हुनुहुन्छ होला जस्तो लागिरहन्छ । अथवा, बा घरको नयाँ लंगपट्टीको ट्वाइलेटको कमोडमा आरामसँग बसेर अखबार पढ्दै पेट खलास तुल्याउँदै हुनुहुन्छ ।

बा सधैं अखबार पढ्नु हुन्नथ्यो । कहिलेकाहीं कुनै खबर पढेर एक्लै हाँस्नुहुन्थ्यो । प्राय: उहाँलाई कब्जियतले सताएको बेला टोलका राम्ररी पढ्न जान्ने केटाहरू बाथरुम बाहिर बसेर बालाई मध्दिम स्वरमा अखबार पढेर सुनाउँथे । नबुझेको ठाउँमा बाथरुमभित्रबाट बाको आवाज आउँथ्यो, के रे ? फेरि पढ त त्यसलाई । त्यो जमाना पनि समाचार शून्य थियो । बालाई बिहानै अखबार नपढी हुँदै नहुने । छिमेकीलाई ढोकामा अखबार ठोकिएको आवाज नआएसम्म निद्रै नखुल्ने । त्यस्तै थियो । अखबार पाएपछि अरू केही चाहिँदैनथ्यो बालाई । अखबारमा लेखिएका विषयमा बाको विश्वास एकदमै धेरै भएर त्यसो भएको होइन । राज्यले अखबार मार्फत झूटा कुरा फैलाउने हुनाले उहाँ नियमित निस्किने सबै अखबार पढ्ने गर्नुहुन्थ्यो । हाँस्नका लागि पनि बालाई अरू कुनै बहाना चाहिँदैनथ्यो । अतीतका कुरा सम्झेर हाँस्नु, अतीतका घटनामा रमाउनु बाको बानी थिएन । उहाँ आजको अखबारको झूटो समाचार पढेर भोलिको साँचो समाचारको राग थाहा पाउनुहुन्थ्यो । पढ्न त साह्रै धेरै पढ्नुभएको होइन, पढेर रमाउनुहुन्थ्यो । एक पटक पढेको पुस्तकका राम्रा भागहरू कण्ठस्थ हुन्थे । अहिलेका पढन्तेहरूको त औकात नै के र ?

बालाई टोलका बचपनदेखिका आफन्तले घेरेका हुन्थे । ती आफन्तहरू तमाखुको तयारी गर्ने काममा लाग्थे । पातो सफा पार्ने, मक्कलमा आगोका फिलिंगो तयार गर्ने, चिलिममा तमाखु भर्ने, गुडगुडे हुक्काको पानी फेर्ने । तमाखु कलामा सबै एकसेएक । त्यतिबेला त्यहाँ जम्मा हुने सबैलाई सम्झना छ होला, पचहत्तरौं जन्मदिन मनाउँदासम्म बाको आँखा निकै चम्किला र निकै तिखा थिए । बा चश्मा लाउनु हुन्नथ्यो । तै पनि, अलि टाढैको रंगीन साइनबोर्ड पनि सजिलै पढ्न सक्थे बाका आँखाले । बालाई देवनागरी लिपिमा अंग्रेजी भाषाको शब्द लेखेको र अंग्रेजी लिपिमा नेपाल भाषाको शब्द लेखेको पटक्कै मन पर्दैनथ्यो । भन्नुहुन्थ्यो, ‘यो के गाईजात्रा गरेको ।’

बा कहिलेकाहीं, भनौं महिनाको एकपल्ट, एउटा रेस्टुराँमा जाने गर्नुहुन्थ्यो मम खान । रेस्टुराँवाला अष्टमानलाई पहिले नै सूचना दिनुहुन्थ्यो, ‘यो महिनाको यति गते यति साथीभाइ समेतलाई मम खुवाउने ।’अष्टमान दाइले बाको खुब इज्जत गर्दथ्यो । बाले ममको अर्डर दिएको बेलाउ ममका लागि स्पेसल किमा तयार पार्न लगाउँथ्यो । कामदारहरूको छेउमा आफैं बसेर ‘ममख्व’ सफा गर्न लगाउँथ्यो । मम अलि बढी स्वादिलो बनाउन अष्टमानदाई ममको मसलामा हरियो प्याज मिसाउन लगाउँथ्यो । ऊ कामदारहरूलाई भन्थ्यो, ‘मम भनेको यस्तो होस् कि यो ठिक्क पाकोस् पनि र मीठो पनि होस् ।’

डेजर्टका रूपमा आधा किलो शुद्ध खुवाको मम बनाउँथ्यो बाका लागि । बाको पछि लागेर आउने सबैका लागि स्पेसल मम बन्दथ्यो । बा एक दर्जन मम खाएपछि छवटा सानो योमरी साइजको मम खानुहुन्थ्यो । आधा दर्जन कार्यकर्ता साथीहरू बाका अंगरक्षकका रूपमा चनाखो भएर सँगसँगै हिँड्थे । समय अलिकति उदार देखिए पनि बा र बाका अनन्य मित्रहरू सरकारी कस्टडीमा नै थिए । पाकिस्तानका लोकप्रिय नेता जुल्फिकर अलि भुट्टोलाई प्राणदण्ड दिइसकेको थियो ।

त्यसपछि सरकारले बा र उहाँका अनन्य मित्र कहाँ जानुहुन्छ, के गर्नुहुन्छ, कसकसलाई भेट्नुहुन्छ भन्ने जानकारी बटुल्न दुई जना सीआईडी उहाँहरूको पछि–पछि खटाएको थियो । बा शहर अलि बढी नै घुम्नुहुन्थ्यो । आफूसँग आएका जत्ति सबैका लागि खाजा मगाउनुहुन्थ्यो मम । सरकारको काम गर्ने गुप्तचरलाई समेत खाजा ख्वाउने भनेपछि बुझ्नुपर्छ : बाको शान नै अर्को थियो ।

एक दिन बाले मलाई अह्राउनुभयो, ‘अष्टमानलाई बोला त ।’

उसलाई बोलाएर म बाको अगाडि आइपुग्दा त अष्टमान बाको गोडाको छेउमा बसेको । म त छक्क परें । मैले मनमनै गुनें— त्यतिबेला म जस्तो लाटो मान्छे कसरी नगर सभासद भएँ हुँला ? बा भएर पो बनायो । अरूले त तारेमाम् ।

बाले अष्टमानलाई भन्नुभयो, “चालीस पचास जनालाई पुग्ने बेस खालको ‘मोमोचा’ तयार गर पर्सी शुक्रबारलाई । ठूलठूला सरकारविरोधी नेता आउँछन् । राजाको जर्नेलहरूले शान्ति सुरक्षाका नाममा पुलिस लगाउन पनि सक्छन् । आँट छ भने मात्र हुन्छ भन अष्टमान ।”

अष्टमान अलिकति रिसायो । यो मायालु रिस थियो, बालाई मायाले पखाल्ने रिस । अष्टमान सन्किएको देखेर बा मन्द हाँस्नुभयो । त्यसपछि इष्टकोटको भित्री बगलीबाट एउटा सानो बिटो नोट झिकेर अष्टमानलाई दिँदै भन्नुभयो, ‘सामानलाई चाहिएला नि ।’

अष्टमानले पैसा लिन्न भन्यो । बाले अनेकतिरबाट सम्झाउँदा पनि अष्टमान दशबाट नौ भएन । उसले बालाई खरै तालले भन्यो, ‘तपाईंको नाकमा एक थोपा फोहोर लागेछ भने त्यो फोहोर सय थोपा अत्तरले सफा गरिदिउँला ।’ उसको कुरा सुनेर बा विन्दास हुनुभयो । आज स्वस्थानी पूर्णिमाको दिन । घरमा भएका वेला बाले स्वस्थानीको व्रत सुन्न कहिल्यै छुटाउनुभएको थिएन । एक सय आठ रोटी र एक सय आठ मीठापानको आकर्षण थियो बूढोमा । रोटी त एउटै नखाने, तर मीठा पान पाँचवटा चाहिने ।

बाको आनीबानी पनि अचम्मलाग्दो थियो । बा ब्रह्ममुहूर्तमा देखिने वाग्मती छेउमा अल्झिएका छायाहरूसँग एकाकार हुन सक्ने शक्ति राख्नुहुन्थ्यो । उहाँ मौन मिर्मिरेको आनन्दमा डुब्न सक्नुहुन्थ्यो । मानिसहरूको स–सानो हूलमा पनि अलप हुन सक्नुहुन्थ्यो । कहिलेकाहीं बा मेरो बिछयौनामा पल्टिएको जस्तो लाग्थ्यो मलाई । हामी परिवारका मानिसका लागि मात्रै होइन, सबै शहरियाका लागि बा शक्तिशाली हुनुहुन्थ्यो । कीर्तिपुर, भक्तपुर, ललितपुर र कान्तिपुर । यी शहर र यिनका आसपासका किसान बस्ती र काँठमा बाले भन्यो त्यो हुन्थ्यो । यी चारै शहर र छेउछाउका गाउँमा बा चीनका माओत्सेतुंगजत्तिकै शक्तिशाली हुनुहुन्थ्यो । माओ किन शक्तिशाली थिए ? बासँग घुम्न गएको बेला मैले एक जना मेरै उमेर १७ वर्षका स्थानीय साथीलाई सोधें । उनले जवाफ दिए, ‘माओ आफ्नो बिछ्यौना कहिल्यै कसैका लागि प्रयोग गर्न दिँदैनथे । उनलाई आफ्नो बिछ्यौना छाड्नुपर्ने परिस्थितिको सामना पनि कहिल्यै गर्नुपरेको थिएन ।’

त्यतिबेलाको सन्दर्भमा बालाई नेपालको माओत्सेतुंग भने हुन्थ्यो । उहाँ माओ जत्तिकै शक्तिशाली हुनुहुन्थ्यो । किनभने उहाँले आफ्नो बिछयौना कहिल्यै, कसैका लागि छाड्नुभएन । न बाटामा भेटिएका कुनै घाइतेलाई, न प्रसूति व्यथाले छटपटिएकी नारीलाई । माओत्सेतुंग आफ्नो घर छाडेर कतै जानुपरेको अवस्थामा आफूसँगै आफ्नो खाट र बिछयौना लिएर हिँड्थे । माओको खाट र बिछयौना उठाउन पाएर गदगद भएका कार्यकर्ताहरू साह्रै चर्को आवाजमा नारा लगाउँथे– ‘माओत्सेतुंग जिन्दावाद ।’ नारा जति चर्को लाग्थ्यो त्यति नै बढी पुँजीवादको भित्तो चिराचिरा परेर चर्किन्थ्यो । तीमध्ये कुनै चिराबाट सूर्यका राता किरणहरू छिर्ने गर्थे । कुनैबाट घामका पहेलिंदै गरेका छायाहरू चम्किने गर्थे ।

त्यतिखेर बा पनि घर छाडेर बाहिर जाँदा गुन्टा कसेर लैजानुहुन्थ्यो । बाले गुन्टा कसेर हिँड्न लागेको यो अत्यधिक आनन्दको समय हुन्थ्यो मेरा लागि । बालाई जताजता गयो त्यताका मान्छे लौहपुरुषभन्दा रहेछन् । बा बेलाबेलामा आफू लौहपुरुषबाट खुइलिएर लौहभस्म पुरुष भएको कथा हाल्नुहुन्थ्यो । आफ्नो नियतिमाथि आफैं हाँस्नु हुन्थ्यो र भन्नुहुन्थ्यो, “देखो भाइ कुदरतका खेल, पढे फारसी और बेचे तेल ।” उहाँले जे भने पनि बा खुइलिनुभएको पक्कै थिएन ।

बाको मनमा असन्तोषको आगो दनदनी बलेर रातो फिलिंगोमा परिणत भैरहेको थियो । त्यत्रो इज्जतदार पुर्खाको सन्तान भएर पनि बाको मनमा ‘आफ्नै’ भन्ने कुनै महा–कीर्ति आर्जन गर्न नसकेको खीज थियो कि जस्तो लाग्छ मलाई । अन्तत: बाको मनको त्यो खीज बाले नै फेंकिदिनुभो । राजाले राज्य नै सुम्पिँदा त जिम्मा नलिएर साथीलाई अघि सार्ने बाको जीवन अपूर्ण त हुनै सक्दैन ।

राणाहरूको कुशासनविरुद्ध छाती फुकाएर उभिएकाले मात्रै बा रातारात प्रसिद्ध हुनुभएको होइन । राणाहरूको पतनपछि त शहरमा जताततै बाको शौर्यको कथाहरू सुनिन थाल्यो । उहाँको टोपी गर्वको अग्लो सगरमाथा बन्यो । कपालमा गुनकेशरीको फूल सिउरेका शहरका नानीचाहरू बाको आँखामा एक पटक, एक पटक मात्रै, चम्किनका लागि झ्यालबाट चियाउन थाले । कतिको मनमा गीत गुन्जियो होला ।

बाको चित्र इतिहासको पानामा चम्कियो ।

बा अहिले हुनुहुन्न । समय समयमा उहाँ मानिसको तर्कनामा भेटिनुहुन्छ । बेलाबेलामा उहाँका आवाजहरू गाउँ, शहर, राजधानीमा प्रतिध्वनित हुन्छन । बा शहरमा साँझ अलिकति अबेरसम्म हिँड्नुहुन्थ्यो । बाले सधैं टेक्ने गरेको कटबाँसको लौरोको ‘ट्वाक ट्वाक’ आवाज लोकतन्त्रको मूल नशा थियो । यो आवाज शहरबाट निकै पर बाहिरसम्म निकै चट्किलो र निकै टड्कारो सुनिन्थ्यो । त्यो सुनेपछि शहरियाहरू भन्दथे— हो । ऊ हाम्रो देशमा लोकतन्त्र ज्युँदो छ ।

पहिलेपहिले बाले लेख्नुहुन्थ्यो पनि । पछि सबैथोक छोड्नुभयो । लेख्नुहुन्न । मुड हुँदैन रे बूढाको । तर, पढ्नचाहिं उहाँ आफंैमा एउटा पुस्तकालय हो । त्यसबखतको हीराकाजी अलि बदमास थियो भन्छन् । जवानीको हावाले अलि बढी नै छोएको । पहिलेपहिले आधा धार्नी बँदेलको मासु खुब मीठो मानेर खानुहुन्थ्यो । त्योबाहेक दुईवटा कुखुरा र डेढ माना च्युरा त उहाँलाई खाजा नै चाहिने । पछि संघर्षमा लागेपछि उहाँका तृष्णाहरू त्यसै मेटिएर गयो रे । ठाँटिएर हिँड्ने कलामा पोख्त हुनुहुन्थ्यो बा । सात सालमा मन्त्री हुनुभयो । त्यसवेला कसैले उहाँलाई ‘कम्प्लिमेन्ट’ दिएको थियो— यू आर दि वन्ली मिनिस्टर हुम आई अल्वेज सी इन पर्फेक्ट ड्रेस ।

बालाई थाहा थियो, देशका मानिस बलेको आगो ताप्छन् ।

बालाई थाहा थियो, देशका बहुसंख्यक मानिस सत्ताकै पक्षमा लाग्छन् ।

बालाई थाहा थियो, तानाशाहले मूर्दामाथि शासन गर्छ ।

बालाई थाहा थियो, लोकतन्त्रमा जनताले आफ्नो शासन आफैं गर्छ । तर, बलेको आगो ताप्ने नेपालको राजधानीको प्रवृत्तिले डेमोक्रेसीको खिल्ली उडाउँछ ।

‘आजको दिन सजिलैसँग बित्यो’ बाले कहिल्यै पनि भन्न पाउनु भएन । प्रजातन्त्र आएपछि उहाँलाइ लाग्यो, छोरा नपाउन्जेल कसरी पाऊँ, पाएपछि कसरी हुर्काउँ ? बाले नेताको पोज त लिनुभयो । तर, त्यो पोज नै बिस्तारै उहाँका लागि बोझ हुन थाल्यो ।

बालाई थाहा थियो, लोकतन्त्रका विरोधीहरूका लागि अव्यवस्थाको सिर्जना एकदमै उपयोगी हुन्छ । यो अवस्थामा फस्टाउनेहरू कि फासिष्ट हुन्छन् कि एकाधिकारवादी । बालाई आफ्नो लट्ठी र त्यो भुइँमा ठोकिएपछि त्यसबाट आउने आवाजको महत्त्व थाहा थियो । बा त बा हुनुहुन्थ्यो । बा साँच्चैको बा हुनुहुन्थ्यो ।

प्रकाशित : माघ २७, २०७४ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?