पुस १५
काठमाडौँ — घाँसको भारीसँगै हिमा नदी तरेर आइन्, निरमाया नेपाली । किनारमा भिरालो परेरको ढुङ्गामा भारी बिसाइन् । त्यही भारीमा ढेसिएर बगेको हिमा नियाल्दा पानीको बहाव उस्तै थियो । जस्तो बहाव उनका श्रीमान्ले सात वर्षअघि कालपार जानका लागि तर्दा थियो ।
सात वर्षअघि पनि आजको जस्तै पुस पन्ध्रको दिन । हाटसिँजाको डाँडामा परेको हिउँको चिसो तल बस्तीसम्म फैलिएको थियो । गाउँका लोग्ने मान्छेहरू रोजगारीका खोजीमा कालपार जान थालिसकेका थिए ।
‘नुजाउ भुन्या मान्नैनौ ?’ निरमायाले कालापार जान लागेका श्रीमान् लालबहादुरलाई सम्झाइन् ।
‘नु गइकन क्या गन्या हौ ? अन्नको एक गेडो नाइँ, चार जुना ट्वाटुकी छन्,’ श्रीमान्ले जवाफ फर्कायो ।
‘क्या काम गरौला ? आफैँ बेरामी छौ ।’
‘बेरामी भुनिकन भएन, १२ मुहिना काम गरीकन पनि खान पुग्दैन ।’
श्रीमान्का कुरा सुनेर निरमायाले कोल्टे फेरिन् । दुवै जना अबेरसम्म निदाउन सकेनन् । रात चकमन्न छ । रातको चमकमन्नतामा हिमाको सुसाइ अझ तिखो भएको छ । हिमावारिपारिको बस्तीमा कुकुरहरू भुकिरहेका छन् ।
बिहान भाले बासेको आवाज कानमा ठोक्किएपछि निरमाया उठिन् । आगो बालिन् । खाना पकाइन् । बिस्तारै उज्यालो हँ‘दै गएपछि लालबहादुर पनि उठ्यो । बालबच्चा पनि ओछ्यानबाट बाहिर आए । खाना तयार भएपछि श्रीमान्लाई पस्केर दिइन् । बालबच्चाले लालबहादुरले खाएको दृश्य एकनासले हेरिरहे ।
पुरानो दौरासुरुवालमाथि ज्याकेट खापेर आँगनमा निस्कियो लालबहादुर । चाउरिएको गालामाथि चैतमा सुकेको झाडीजस्तै दाह्रीलाई यथावत् छाडेको थियो । मैलो कपालमाथि खापिएको ढाका टोपीको अस्तित्व सङ्कटमा थियो । लालबहादुरले आफ्नो इज्जत ढाका टोपीसँग जोडिएको ठान्थ्यो । त्यसैले च्यातिए पनि ढाका टोपी फुकाल्न मानेको थिएन । पुरानो सुर्काने झोला भिरेर हिँड्न तयार भयो ।
‘झर्को नुमानी बस्या चैता मुहिना फर्केर आइजाँदो छु,’ श्रीमतीलाई अन्तिमपल्ट सम्झायो ।
‘होला,’ निरमायाको मुहार पूरै हाटसिँजाको मौसमजस्तो धमिलो भयो ।
केटोकटी लहरै घरअगाडि बसेका थिए । कोही उठेका थिए, कोही बसेका ।
‘तुमीहरू बढी नु मताया है,’ लालबहादुर खाकी जुत्ता चुइँकाएर हिँँड्दाहिँड्दै बोल्यो ।
छोराछोरीले जवाफमा केही बोलेनन् । एकनासले ऊ ओरालो लागेको दृश्य मात्र हेरिरहे । निरमाया भित्र गइन् र गाईलाई खोले बसाउन सुरु गरिन् । चुलोमाथि खोले राखिसकेपछि फेरि दौडँदै बाहिर आइन् । केटाकेटी अन्तै लागिसकेका थिए । उनका आँखा बाटोतिर सोझियो । लालबहादुर निकै तल पुगिसकेको थियो । उसले बाँझो खेतको बाटो हँ‘दै हिमा नदीको काठेपुल तर्यो । एकै क्षणमा ऊ पारिपट्टिको जङ्गलमा ओझेल पर्यो ।
लालबहादुर हिँडेको केही दिनमा पूरै हाटसिँजालाई हिउँले ढाक्यो । केटाकेटी र गाईबस्तु स्याहार्न उनलाई धौधौ भयो ।
बिस्तारै हिउँ पग्लिँदै गयो । स्याउको बोटमा फूल खेल्न थालेपछि निरमायाले श्रीमान् फर्किने दिन छोटिँदै गएको महसुस गरिन् ।
‘या भाउअ, भेडान आटो पकाउनु, तुमिन भात पकाया,’ निरमायाले सबेरै उठेर ११ वर्षे जेठो छोरालाई भनिन् ।
‘होला आमा,’ निद्रालु सानेले ओछ्यानमा बटारिँदै जवाफ दियो ।
‘उठउठ घाम लागिग्या,’ ढोकाबाट बाहिरिँदै बोलिन् निरमाया ।
आँगनमा आएर कुटो र कोदालो बोकिन् । चैत लागिसकेकाले धानको ब्याड राख्नु थियो । १० मिनेटपछि सिमसार खेतमा आइपुगिन् । यो बेला गाउँबाट कालापार काम गर्न जानेहरू फर्कन थालेका थिए ।
‘खड्क काउ त कालपहाडरदै आइग्या छन्,’ खाना खाँदै गर्दा सानेले छिमेकी काकाको खबर सुनायो ।
खासमा उसको नाम खड्गबहादुर सार्की हो । तर, गाउँका कसैले पनि उसको पूरा नाम र सही नामले उसलाई बोलाउँदैनन् ।
‘कैले आया छन् ?’ निरमायाले उत्सुकतापूर्वक सोधिन् ।
‘बेलिबाहा आया हुन् गरे, अघि ओटालामी बस्या थिया ।’
‘तेरा बाबा रैबार सोधनस् त ?’
‘केई,’ नसोधेको भन्दै टाउको हल्लायो ।
निरमायाले हतारमा खाइसकिन् । भाँडाकुँडा सफा नगरी छिमेकीको आँगनमा पुगिन् । ऊ त्यहाँ पुग्दा खड्गबहादुर पनि खाना खाएर हात धुनबाहिर आउँदै थियो ।
‘निरमाया भाउजू, निकी छऊ ?’ हलुङ्गेको जगमा ल्याएको पानीले हात धुँ‘दै बोल्यो ।
‘निकै छु, अनि हाम्मा भाउका बाकन भेट्नयानौ ?’ निरमायाको बोलीमा व्यग्रता थियो ।
खड्केले मुखभरि पानी हालेकाले तुरुन्त जवाफ दिन पाएन । कुल्ला गर्ने नाममा मुखभरि पानी खेलायो । आँगनको बीचमा पिचकारीले झैँ मुखको पानी फाल्यो । पानीमा आएका भातका सीता टिप्न कुखुराहरू उसले चुठेकोतिर हुर्रिए ।
‘लाले दाइ सात भेट भयोन मेरो,’ उसले निर्धक्क जवाफ फर्कायो, ‘मु त धारचुलातिर गया छिया, दाइ काँतिर गया हुन् त ?’
‘यहाँबाट कालापहाड मात्र भुन्या, देहरादूनतिर गया कि ?’
खड्गबहादुर लालबहादुरभन्दा एक महिनाअगाडि नै गाउँबाट हिँडेकाले भेट नभएको लख काटिन् । निरमाया छिमेकीको घरबाट फर्केपछि घरधन्दामा लागिन् ।
मध्यचैतमा गाउँबाट कालापार जाने सबैजसो फर्किसकेका थिए । एक दिन कालापारबाट फर्केको पल्लो गाउँको दिलबहादुर निरमायाको घर आए । मध्यम कदको पातला दिलबहादुर वर्षैपिच्छे कालापार जान्थे । जिन्सको ज्याकेट र लामो कपालमा ठाँटिएका दिलबहादुरको अनुहारमा चमक थिएन ।
‘निरमाया भाउजू, दाइ त यहाँबाट गया एक मुहिनामै खडबाइग्या,’ दिलबहादुरले लालबहादुरको खबर सुनायो ।
दिलबहादुरको कुराले निरमायाको सम्पूर्ण शरीर चिसो भयो । एकाएक अनुहारको चमक धमिलियो । कुनै आवाज र होहल्ला सुनिनन् । तलबाट आएको हिमाको आवाज पनि ठप्प भएझैँ लाग्यो ।
‘पहिल्यै रैबार गर्न अप्ठ्यारु लाग्यो, यो लालबहादुर दाइले घर दिनु भन्या छिया,’ उनले २१ सय भारुका नोट गनेर निरमायालाई दिए ।
निरमाया केही बोल्न सकिरहेकी थिइनन् । काँप्दैकाँप्दै ती नोट समातिन् । कतिखेर दिलबहादुर फर्केर गए, त्यसको हेक्का रहेन उनलाई । साँझमा उनी छोराछोरीको माझ बसेर रोइरहेकी थिइन् । भारी मनले चुल्होमा आगो बालिन्, तर खाना पकाएर खाएनन् ।
निरमाया रातभरि निदाउन सकिनन् । श्रीमान्ले घर छाडेको रात सम्झिरहिन् । एकनास हिमा नदी सुसाएको आवाज कानमा ठोकिरह्यो ।
भोलिपल्ट उठेर दुई पटक दिलबहादुरले छाडेर गएको पैसा गनिन् । त्यही पैसाले श्रीमान्को काजकिरिया गर्ने सोच बनाइन् ।
‘मन्या मरिग्या, अब ट्वाटिकीको मुख हेर,’ खड्गबहादुरकी आमा निरमायालाई सम्झाउँथिन् ।
‘मुनले मान्दैन आमा, तर लहरी लिईकन मात्रै क्यै नहुन्या,’ निरमायाले जवाफ फर्काउँथिन् ।
वैशाखको अन्तिम दिन उनले रोपाइँ गर्ने योजना बनाइन् । लेक भएकाले वैशाख १५ देखि नै धान रोप्न सुरु गरिन् । एक्लै खेतको आली तासिन् । लालबहादुरको सम्झना आउँदा खेतको भित्तामा अडेस लाग्थिन् र रुन्थिन् ।
रोपाइँको दिन खेतालाले ख्यालठट्टा गरे । हिलो छ्यापाछ्याप गर्दै रमाइलो गरे । निरमायाले चुपचाप धानको बीउ हिलोमा गाडिरहिन् ।
त्यसका केही दिनसम्म पर्म तिर्न अरूको खेताला गइरहिन् । पर्म तिरिसकेपछि पैसामा खेताला जान थालिन् । त्यो पैसाले गाउँबाट जुम्ला बजार जानेलाई सस्तो कपडा किन्न पठाइन् । छोराछोरीलाई आफ्नै हातले एकसरो कपडा सिलाइदिइन् ।
‘आमै सबैले किन्याको टाला लाउँछन्,’ सानेले गुनासो पोख्यो, ‘हामी फाटाटाला टालिकन लाउन्या ?’
‘हामी ती दाम नाइँ, कमाउन्या बाबा पुनि नाइँ,’ निरमायाले सम्झाइन् । निरमायाले यत्ति भनिसक्दा छाती भारी भएको थियो ।
निरमायाका कुराले साने मात्र होइन, ऊभन्दा साना भाइबहिनीले एक टकले निरमायाको आँखामा हेरिरहे ।
‘अबदेहि यइथा कुडा गन्या हैन, ज्या छ त्यई लाउन्या,’ निरमाया उठ्दै बोलिन्, ‘मु खेत बाइग्या, तोईले गाई र भेडान घाँस काटिकन हाल्नु ।’
सानेले शिर मात्र हल्लायो । निरमाया मैलो मजेत्रो टाउकोमा बटार्दै बेसीतिर लागिन् ।
खाली खुट्टा ठमठम ओरालो झरिन् । सबै खेताला अघि नै आइसकेका थिए । खेतालाको बगालमा आइमाई मात्र थिए । सबै भएर स्थानीय भाकाको गीत गाइरहेका थिए । निरमाया पुगेपछि गीत गाउने काम रोकियो ।
‘कति बार गरिस् निरमाया तोइले ?’ उनीजस्तै खेताला आएकी एउटीले बोली ।
‘घरा काम सबै गरीकन आउनुपड्छ, बार त हुने भइगो, तिम्मा त जोईपोइ भयौर पठारु हुन्छ,’ निरमाया धानबारीभित्र बस्दै बोलिन् ।
‘यई गाउँमा पोई भया पनि नुभया पनि, सिन्को भाच्ने हैनुन्,’ उनैले जवाफ फर्काइन् ।
कसैले केही बोलेनन् । धान गोड्न थाले सबैले । पर्म तिर्न केही दिन निरन्तर निरमाया खेताला गइरहिन् । पछि खेताला लगाएर आफ्नो धान गोडिन् ।
बिस्तारै झरी कम भएर आकाश खुल्न थालेको थियो । खुला मौसममा फाँटैफाँट हिमा नदी बग्दै गएको देखिन्थ्यो । धान पसाउन थालेपछि सबै जना दसँैको जोहो गर्न थाले । हाटसिँजाबाट जङ्गलको बाटो हँ‘दै जुम्ला बजार जानेको लर्काे बाक्लिएको थियो । फर्कंदा लत्ताकपडा, मरमसला र चामल बोकेर आउँथे । कम खर्च हुनेहरू सस्तोका लागि सुर्खेत झर्थे ।
‘मेरा भाउका बा भया भए, ज्या भया पनि गरिल्ला छिया,’ निरमायाले मनैमनै सोचिन् ।
निरमायाले एक दिन रामप्रसाद उपाध्यायले खसी खोजिरहेको थाहा पाइन् । खबर ल्याउने उनै आँगन जोडिएका छिमेकी खड्गबहादुर थिए । निरमाया र रामप्रसादको गाउँ एकै पाटामा परे पनि बीचमा ढिस्कोले छेकेको थियो । ढिस्कोभरि खेत भएकाले धान झुलिरहेको थियो । गाउँको महाजनका रूपमा उसको निकै धाक, रवाफ थियो । अधिकांश कालपार जानेको पैसा कुनै न कुनै बाटो भएर उसको घरमा पुग्थ्यो । विशेष गरी आपत् पर्दा लिएको ऋणको चर्काे ब्याज भएर । तर, ऊ आफू गाउँमा दानी भएजस्तो पनि गथ्र्यो । हर दसँैमा गाउँलेलाई खसी काटेर भोज खुवाउँथ्यो ।
‘निरमाया, ए निरमाया,’ भोलिपल्ट बिहान आँगनबाट आवाज आइरहेको थियो ।
निरमायाले आवाज सुन्नेबित्तिकै रामप्रसाद आएको थाहा पाइन् । बाहिर आउँदा रामप्रसाद सफाचट दौरासुरुवालमाथि इस्टकोट खापेर उभिएको थियो । शिरको ढाका टोपी पनि कतै खुम्चिएको थिएन । छेउछेउमा दुई जना केटाहरू रक्षकजस्तो भएर उभिएका थिए ।
‘बडाज्यू आत्तु,’ रामप्रसादको छेउमा आउँदै बोलिन् निरमाया ।
‘भाग्यामानी भयास भेडा बेच्न्या भुन्नी भुन्निछस् गरे ?’
‘हो बडाज्यू ।’
‘दुई छुन् भुन्ने सुन्या छिया, दुवै बेच्न्यास् कि एक मात्रै ?’
‘दुवै ।’
‘धै काँ छुन् त ?’
‘गोठ छुन् ।’
निरमाया अघिअघि, अरू अघिपछि हिँडे । गोठ घरमुनि थियो । आफ्नो कपडामा गाईबस्तुको मलमूत्र लाग्ला भन्ने होसियारी रामप्रसादमा थियो । उसले खसीलाई राम्ररी नियाल्यो । दुवै खसीलाई टाउको र पुच्छरमा पक्डेर पालैपालै उचाल्यो ।
‘म्या ऽऽऽ,’ खसी करायो ।
‘तेरो राम्न्या दिन धेरै नाइँ,’ रामप्रसादले आफ्नै ढङ्गले खसीको चिच्याहटमा प्रतिक्रिया जनायो ।
‘हाहा ऽऽ हाऽहा ऽ,’ रामप्रसादको कुरा सुनेर ऊसँगै आएका दुई जना केटा दिल खोलेर हाँसे ।
‘खसी त राम्डै रयाछन्,’ रामप्रसादले ठालु शैलीमा बोल्यो, ‘कति हो त दाम ?’
‘दुईको पाँच हजार भुन्या हो,’ निरमाया नम्र स्वरमा बोलिन् ।
‘क्याको पाँच हजार, ल पैँतालीस सय भयो,’ महाजनको व्यक्तित्वले प्रभुत्व देखाउन खोज्यो ।
दायाँ हातले दायाँ छेउको इस्टकोटको फेरो हल्का बाहिर तान्यो । भित्रपट्टिको गोजीमा दायाँ हात घुसार्यो । एकै क्षणमा उनका औँलाले नयाँ नोट कटकट गरेर गनिरहेका थिए ।
‘ल सुमात,’ निरमायालाई पैसा टक्य्रायो ।
निरमायाले हल्का शिर उठाएर रामप्रसादको अनुहार नियालिन् । उनलाई पाँच हजार नै माग्ने भित्री इच्छा थियो । तर, महाजन खुसी भए आपद्विपद्मा सहयोग मिल्छ भन्ने सम्झिन् । र, चुपचाप पैसा समातिन् । दाम्लोसँगै खसी फुकाइदिइन् ।
‘तुमीहरू यौटायौटा डोराव त,’ रामप्रसादले आफूसँगै आएको दुई जना केटालाई अह्रायो ।
दुइटा केटाले खसीलाई घिच्याउँदै निकाले । खसी कराएको सुनेर गोठको बाख्रो पनि करायो । क्षणभरमै वर्षभरि स्याहारेको खसी निरमायाको आँखाबाट ओझेल पर्यो । उनको मन खिन्न भयो । छोराछोरीलाई नियालिन् अनि हातका पैसा हेरिन् ।
तेस्रो दिन गाउँलेसँगै रित्तो डोको बोकेर सुर्खेत हिँडिन् । घरको जिम्मेवारी सानेको हातमा थियो । तीन दिनपछि सुर्खेत पुगिन् । यहाँका जस्ता ठूलाठूला घर र धेरै मान्छे कहिल्यै देखेकी थिइनन् । सधँै लालबहादुर मात्र आउँथे यहाँ । पाँच जनाको उनीहरूको टोली एउटा ठूलो किराना पसलअगाडि रोकियो । पसलमा घ्याम्पे पेट भएको मान्छे बसेको थियो । पुक्कपुक्क गाला माहुरीले चिलेजस्तै लाग्थे । पसलेका कामदार भने सुकेको निगालोजस्तो पातला थिए । उसैको पसलमा किनमेल सुरु भयो ।
‘भाउ पनि सिँजादै आयौ ?’ उही घ्याम्पे पेट भएको साहुले निरमायालाई सोध्यो ।
‘हो,’ निरमाया बोलिन् ।
‘सबै लोग्ने मान्ठ मात्रै आउँछन्, तुमी किन आयौ ?’ साहुले फेरि प्रश्न गर्यो ।
‘मेरो घराँ (भाउका बा) मरिग्या ।’
त्यसपछि साहुले केही बोलेन । सायद निरमायाको उत्तरले स्तब्ध भयो । उसले चुपचाप निरमायाले मागेका समान मात्र दिन थाल्यो । उनले ३० किलो चामल किनिन् । मरमसला किनिन् । चार जना बालबच्चाका लागि कपडा किनिन् । बचेको पैसाले आफूलाई कमसल गुन्यु र एक जोर खाकीको जुत्ता किनिन् ।
भारी बोकेर सिँजा फर्किंदाको यात्रा निरमायालाई निकै कष्टकर भयो । आठौँ दिनमा घर आइपुग्दा फूलपाती लागिसकेको थियो ।
गाउँका क्षत्रीबाहुन मिलेर खसी काटे । दलित बस्तीमा ठूलो राँगा ढालियो । सबैले धार्नीका धार्नी मासु बोकिरहेका थिए ।
‘मुन एक धार्नी हैक्या,’ निरमायाले मासु जोखिरहेको ठाउँमा बोलिन् ।
‘एक धार्नी मात्रै ?’ तराजु समाइरहेकाले बोल्यो, ‘आऊ ।’
‘पाँच पाँच जना छौ घरामा, जाबो एक धार्नी खान्छौ कि हेर्छाै ?’ बेचेको मासु टिपोट गर्नेले प्वाक्क बोलिहाल्यो ।
‘सित्तैँमा पाए त सिङ्गै राँगा खानु हुन्थ्यो,’ निरमायाले तिखो जवाफ फर्काइन् ।
बोही दर्नेको बोली निरमायालाई चस्स बिझेको थियो । खल्लो मन पारेर पोहोर दसैँमा लोग्नेले तीन धार्नी मासु ल्याएको सम्झिन् । मासु लिएपछि निरमाया सरासर घर आइन् । दिउँसै घरधन्दा र गाईबस्तुको थन्कोमन्को गरिन् । सबैलाई मज्जाले पुग्ने गरी भात पकाइन् । मासुमा जिरा र जाइफलको बास्ना मगमग आउन थाल्यो । छोराछोरी चुलोको वरिपरि बसेर नियालिरहेका थिए । पाकेपछि वरिपरि राखेर छोराछोरीलाई दिइन् र आफू पनि खान थालिन् । त्यो साँझ उनले टुकीको मधुरो प्रकाशमा छोराछोरीको अनुहार चम्किलो देखिन् ।
दसैँपछि तिहार आयो । तिहारसँगै सुर्खेतबाट ल्याएको चामल पनि सकियो । हाटसिँजाको पूरै फाँट पाकेको धानले पहेँलपुर थियो । निरमायाले धान काट्नका लागि खड्गबहादुरकी आमालाई खेताला भनिन् ।
‘हैन क्या भो बुहारी ?’ खड्गबहादुरकी आमाले धान काट्दाकाट्दै सोधिन् ।
घाम मध्य आकाशमा पुगेका बेला निरमाया धान काट्न छाडेर टोलाइरहेकी थिइन् । उनका आँखा वेग घट्दै गएको हिमा नदीमा सोझिएको थियो ।
‘हैन क्या भयो तोन ?’ कुनै जवाफ नआएपछि खड्गबहादुरकी आमाले फेरि सोधिन् । यो बेला उनी पनि धान काट्न छाडेर निरमायाको छेउमा आएकी थिइन् ।
‘भाउका बाको सौरेई लाग्यो,’ निरमायाको आँखा धमिलिएका थिए, ‘पोहोर काल्ट बाउरे नुलाईकन धान काट्या हुँ ।’
‘ज्या भयो भैगो,’ खड्गबहादुरकी आमाले लामो श्वास तान्दै सम्झाइन् ‘सौरेई नुमान ब्वारी, चियान घाट गया मडो फर्क‘ंदैन ।’
दुवै केही क्षण हिमा नदी हेरेर टोलाए । बिस्तारै आँखा आफूतिर ताने । हिमा नदीको फाँटमा खेतका फराकिला गह्रा थिए । जति पहाडको फेदतिर उक्लियो, उति खेतको आयतन खुम्चिँदै गएको थियो । फेरि धान काट्न थाले उनीहरू । साँझसम्म धान काटेर सके । उनीहरू घर फर्किंदा मान्छे ठम्याउन नसकिने भएको थियो ।
त्यसपछिका वर्ष पनि उसैगरी बिते निरमायाका । बर्खा हिमा नदीमा भेल उराल्दै आयो । हरेक हिउँदले उस्तै गरी पुस १५ लिएर आयो, गयो । सिँजा फाँटभरि हिउँले सेताम्मे बिस्कुन लगाउँदै । सात वर्षपछि यो हिउँदमा जेठो छोरो साने पनि उही कालापार जाने तरखरमा छ ।
हिमाको बग्दो पानी नियाल्दै अतीत सम्झेपछि निरमायाले माथितिर नियालिन् । घर निकै माथि थियो । घाँसको भारीले किचिएको गह्रौँ पाइला टेक्दै उकालो चढ्न थालिन् । तलतिर एकनासले हिमा नदी सुसाइरहेको थियो ।
(आइतबार विमोचन हुने कथासंग्रह ‘रुमानी साँझ’ बाट)