कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

नेपाल ‘कनेक्सन’

राजेन्द्र फुयाल

काठमाडौँ — नेपाल गए कपालसँगै, बर्मा गए कर्मसँगै । जहाँ गए पनि आफ्नो दु:ख आफैंसँग छ भन्ने आशयको यो परम्परागत युक्तिले ‘कालो पानी’ पारिको बर्मासँगको झन्डै दुई शताब्दी लामो नेपाली साइनो सम्झाउँछ ।

नेपाल ‘कनेक्सन’

हिजोको बर्मा आज म्यानमार भएको छ, रंगुन सहरको नाम फेरिएर यांगुन भएको मात्र छैन, त्यहाँको राजधानी सरेर पाँच सय किलोमिटर टाढा न्योपिडोमा पुगेको छ । यी सबै परिवर्तनका बाबजुद म्यानमारी नेपालीले आफ्नो भाषा, संस्कृति र रीतिरिवाजसँग जोडिएको नेपालीपन भने पटक्कै फेरेका रहेनछन् । यांगुन सहरको मुटुमै रहेको पण्डित यज्ञनाथ भट्टराई शास्त्री पुस्तकालयसहितको रामजानकी मन्दिर होस् वा नन्द न्यौपाने धर्मशाला, भूतनाथ महादेवको मठ होस् वा अलि परेको काली मन्दिर, स्थानीय बर्मेली नेपालीले आफ्नै बुतामा निर्माण गरेका धार्मिक र सांस्कृतिक धरोहरहरूले उनीहरूको आपसी सम्बन्धलाई जीवन्त बनाएका छन् । पितृभूमिबाट हजारौं माइल टाढा रहेर पनि नेपाली मन र नेपालीपनलाई एकरूपता दिन उत्तिकै सघाएका छन् । यांगुनको डाउनटाउनस्थित भगवान् गौतम बुद्धले आफ्नो केश चढाएको विश्वास गरिने सेडागोन प्यागोडा (स्वर्ण मन्दिर) ले बौद्धमार्गी बर्मेलीलाई नेपाल र नेपालीसँग जोड्ने नै भयो । हजारौं टन सुनबाट निर्मित ९९ मिटर अग्लो स्वर्ण स्तूपमा जडित हीराको गजुरको रंग प्रांगणभित्रको अलग–अलग स्टेपबाट फरक–फरक देखिन्छ । बर्माकै सबैभन्दा पुरानो र भव्य यो स्तूप विश्वभरका बौद्धमार्गीको एक पवित्र तीर्थस्थल हो ।


आफ्नो कर्म फेर्ने धोकोले ब्रिटिस भारत (हालको भारत र बंगलादेशसमेत) हुँदै ‘कालो पानी’ तरेर सबैभन्दा पहिले कुन नेपाली बर्मा पुग्यो होला ? काठमाडौं–बैंकक हुँदै म्यानमारको साविक राजधानी यांगुन अवतरण यर्दा यो पंक्तिकारको मानसपटलमा यी र यस्तै अनगिन्ती जिज्ञासा थिए । म्यानमारी नेपालीको बाक्लो बस्ती हेर्न माण्डले हुँदै मोगोक, मिचिना वा टाउँजी पुग्नुपर्ने रहेछ । तर, हाम्रो लहडी यात्रा यांगुनसम्म मात्रै थियो । ब्रिटिस उपनिवेशदेखि पछिल्लो सैनिक शासनको उत्तराद्र्धसम्म बर्मेली राजधानीको वैभव बोकेको यांगुनमा मात्रै ६ सय परिवारभन्दा बढी बर्मेली नेपालीको स्थायी बसोबास रहेछ । त्यहाँ भेटिएका नेपाली अगुवाको भनाइलाई आधार मान्दा गोर्खालीको बर्मा आगमन ब्रिटिस सेनामा लाहुरे हुने बाध्यता वा लहडमा मात्र सीमित थिएन ।


जहानियाँ राणा शासनको उकुसमुकुस, सामन्ती व्यवस्थाले बोकाएको ऋणको भारी, गरिबी, अभाव र पछौटेपनबाट त्राण पाउने आशाले शताब्दीऔं अघिदेखि पहाडी बस्तीका दुखियाहरू ‘मुग्लान’ पस्न थालेका थिए । सामाजिक समस्या, पारिवारिक विग्रह र विरक्तिमा मात्र होइन, अवसरको खोजीमा पनि थुप्रैले पिता–पुर्खाको थातथलो छाडे होलान् । बर्मेली नेपाली सभ्यता र इतिहासका एक जानकार लक्ष्मण न्यौपानेका अनुसार सन् १८२४ मा ब्रिटिस कम्पनीको कामदारका रूपमा केही नेपाली थाइल्यान्डको सीमा नजिकको बर्मेली सहर हिन्डा पुर्‍याइएका थिए । सन् १८८५ को एङ्लो–बर्मा लडाइँकै समयसम्म बर्मामा थुप्रै गोर्खाली पुगेको ऐतिहासिक तथ्य पाइन्छ । उनका अनुसार, पिउले (मेम्यो) को धामघर मन्दिरको अभिलेखमा सन् १८८५ मा रामचन्द्र मन्दिर मोगक र कालिवाडी मन्दिर १८९५ मा क्याप्टेन केशरसिंह राणा र रणबहादुर बस्नेतले निर्माण गरेको उल्लेख छ । बर्माभित्र नेपाली समुदायले बनाएका मठ मन्दिर ३ सय १३ छन् ।


दोस्रो विश्वयुद्धको समयमा चाहिँ उल्लेख्य संख्यामा गोर्खाली बर्मा पुगे । ब्रिटिस सरकारले गोर्खा रेजिमेन्टका नाममा नेपाली युवा लक्षित भर्ती गरेका कारण बर्माको रणभूमिमा हजारौं गोर्खालीले वीरता प्रदर्शन गरे । नेपालीले परायाका लागि मुग्लानमा लडेको विश्वयुद्धमा ठयाक्कै कति सहभागी थिए, कतिले वीरगति प्राप्त गरे भन्ने तथ्याङ्क छैन । यांगुनमा रहेको युद्ध स्मारक मात्रैले पनि त्यस युद्धमा उल्लेख्य गोर्खालीले बहादुरी प्रदर्शन गरेको पुष्टि गर्छ । उक्त स्मारकमा ब्रिटिस र ब्रिटिस भारतीय सेनाका तर्फबाट वीरगति प्राप्त गर्ने थुप्रै बहादुर नेपालीका शिलालेख छन् । जसमध्ये केहीको नामसमेत नखुलेका कारण ‘गोर्खा राइफलका एक हिन्दु सिपाही’ जस्ता पदावली प्रयोग भएका छन् । साँच्चै भन्ने हो भने अर्काको सीमा रक्षा र विस्तारका लागि गुमनाम मृत्युवरण गरेका त्यस्ता कैयौं युवाको वीरताको गाथा लेखिएकै छैन । थुप्रै पटक त्यहाँ भ्रमण गरेका एक नेपाली जोसन श्रेष्ठका अनुसार ती शिलालेखमा दुई सयभन्दा बढी नेपालीको पहिचान खुल्छ ।


दोस्रो विश्वयुद्धको समाप्तिपछि भने गोर्खाली फौज विदेशी सेनामै कार्यरत रहने, स्वदेश फर्कने र बर्मामै आवादी गर्ने समूहमा विभाजित भयो । न्यौपानका अनुसार त्यतिन्जेसम्म भारतको आसाम, मेघालय हुँदै बर्माको टमुनगर पुग्ने नेपालीको संख्या ठूलो भइसकेको थियो । सिक्किमको ग्यान्टोक हुँदै महिनौं लगाएर मिचिना पुग्ने अर्को पैदलमार्ग थियो, जहाँबाट नेपालीको ठूलो संख्या बर्मा पुग्यो । त्यसै समयमा कैयौं नेपाली भारतकै कोलकाता बन्दरगाहबाट पानीजहाजमा सात दिन सात रात लगाएर रंगुन पुगेका थिए । त्यतिबेला यही जलयात्रालाई कालो पानी तरेको भनिन्थ्यो । त्यतिबेला पैदल जानेहरूको दु:खको कथा कति होला ? पानीजहाजमा रंगुन पुगेकाहरूलाई पनि त्यसको चमकझकमले तानेन सायद । रंगुन बन्दरगाहमा उत्रिएर सहर देखेका नेपाली पनि खेती–किसानी र पशुपालनका लागि उपयुक्त जग्गा र चिसो हावापानीको खोजीमा पहाडतिरै सोझिए । पहाडी खोच र लेकबेंसीका खोरिया सम्याएर सुरु भएको बर्मेली नेपाली सभ्यतालाई वैभवमा परिणत हुने अवसर भने त्यहाँ भेटिएको बहुमूल्य खनिजले दियो ।


फौजी र किसानीबाट खानीमा

जहाँ–जहाँ नेपालीले बस्ती बसाले, तिनै पहाडी खोरियामा रुवी, सफया, नीलम, हीराजस्ता बहुमूल्य धातुका खानी भेटिए । पछि विकास भएका ठूला खानीहरू बहुराष्ट्रिय कम्पनीको हातमा पुगे पनि ‘सपनामै असली धातुको ढिस्को पत्ता लगाउने र सुरुङभित्रको बहुमूल्य वस्तु पहिचानको विशेष क्षमता’ यिनै गोर्खालीले राख्दा रहेछन् । सुरुमा घरेलु प्रविधिमै उत्खनन गरिएका बहुमूल्य धातुका कारण बर्मामा कर्म फेरेका गोर्खालीको अहिले पनि मुख्य व्यवसाय तिनै बहुमूल्य खनिज उत्खनन, प्रशोधन र गहना व्यापारमा केन्द्रित छ । कृषि र पशुपालनमा आश्रित परिवारमध्ये थुप्रैले दुग्धजन्य पदार्थको व्यापारबाट जीवनस्तर सुधार्दै यांगुनमा महल खडा गरेका छन् । ब्रिटिस भर्तीकै विरासतले हुन सक्छ, म्यानमारको राष्ट्रिय सेनामा नेपाली समुदायले प्राथमिकता पाउँछन् ।


एकताका चार लाख हाराहारीमा पुगेको अनुमान गरिएको बर्मेली नेपालीको जनसंख्याको औपचारिक तथ्यांकमा हाल ९४ हजारमा सीमित छ । अघिल्लो कालखण्डमा सन् १९६२ को राजनीतिक परिवर्तनका बेला गोर्खालीको ठूलो संख्या नेपाल फर्कियो । पछिल्लो समय शिक्षा, रोजगारी र अन्य अवसरको खोजीमा छिमेकी थाइल्यान्ड, मलेसिया मात्र होइन युरोप र अमेरिका पुग्ने बर्मेली नेपालीको संख्या पनि ठूलो छ ।


प्रेम विवाहमा अभ्यस्त हुँदै गरेका आधुनिक युवायुवतीसमेत हत्तपत्त गैरनेपाली समुदायसँग वैवाहिक नाता जोड्दैनन् । ढाका टोपी, दौरा–सुरुवाल र गुन्युचोलीको संरक्षण गर्दागर्दै पनि बर्माको गर्मीले धेरै नेपालीलाई लुंगी बेर्न अभ्यस्त बनाएको छ । सहरमा मात्र होइन, ग्रामीण क्षेत्रमा बसोबास गर्ने बर्मेली नेपाली पनि नागरिकता र अन्य अधिकारबाट वञ्चित हुनु नपरेको यांगुनमा भेटिएका अगुवाहरूले बताए । तर राष्ट्रिय जनगणनाका बेला थुप्रैको रजिस्ट्रेसन छुटेकाले नेपालीको जनसंख्याको आकार घटेको उनीहरूको विश्लेषण छ । ‘हामीलाई यहाँको नागरिक भएर बाँच्न सजिलो छ । तर हामी म्यानमारी नेपाली भएर बाँच्न चाहन्छौं,’ भूतनाथ मन्दिरका पुजारी मोहन खनाल भन्छन्, ‘हामीले पितृभूमिसँग खाली दुई चीज खोजिरहेका छौं । सीधा ‘कनेक्सन’ र नेपाली भाषा पाठशालाका दीक्षितहरूलाई प्राज्ञिक मान्यता ।’


आवश्यकता ‘कनेक्टिभिटी’

एक समय नेपाल वायुसेवा निगमले यांगुन विमानस्थलसम्म सोझो उडान भथ्र्यो । सरकारी स्वामित्वको निगम हावाइजहाजविहीन हुँदै जाँदा उडान भर्न छोडेको गन्तव्यमध्ये यांगुन पनि एक हो । यांगुनस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार निगमसँग यांगुन–काठमाडौं मात्रै होइन, यांगुनबाट अर्को कुनै देशको एक गन्तव्यसम्म उडान भर्ने अनुमति यथावत् छ । तर काठमाडौंसंग सीधा हवाई सम्पर्क नहुँदा लुम्बिनी जाने अधिकांश बौद्ध भिक्षुहरू भारतीय भूमि प्रयोग गर्छन् ।


‘बोधगया मार्फत बौद्ध सर्किट जानेमध्ये कतिले त बुद्धको जन्मभूमि लुम्बिनी नेपालमा पर्छ भन्ने पनि थाहा नपाउने अवस्था छ,’ नेपाली राजदूत भीम उदास भन्छन्, ‘भगवान् गौतम बुद्धको जन्मस्थान, बुद्धत्व प्राप्त गरेको स्थान (बोधगया), पहिलो उपदेश दिएको स्थान (शारनाथ) र परिनिर्वाण प्राप्त गरेको स्थान (कुशीनगर) यात्रा सुल्टो मार्गमा मात्रै गराउन सक्दा पनि देशलाई धेरै ठूलो फाइदा पुग्न सक्छ । यहाँका नेपाली समुदायले खोजेको पनि सीधा कनेक्सन हो ।’ उनका अनुसार म्यानमारबाट नेपाल आउने पर्यटकमध्ये अधिकांश बौद्धमार्गी हुन् । यही पर्यटक भिसाका कारण यांगुनको नेपाली दूतावास आत्मनिर्भर छ ।


नेपालसँगको सीधा ‘कनेक्सन’ ले नेपालीभाषी म्यानमारीको पहिलो पर्यटकीय गन्तव्य आफ्नै पितृभूमि बनाउन सक्छ । गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले यो सम्बन्धलाई थप गाढा बनाउन सक्छ । म्यानमारमा सरकारले लिजमा उपलब्ध गराएको पुरानो भवनमा बसेको दूतावासले आफ्नै जग्गा खरिद गरेमा सुविधासम्पन्न भवन बनाइदिन स्थानीय नेपाली समुदाय तत्पर छ । नेपालीभाषीको यही तत्परताले उनीहरूको जीवनस्तर र वैभवको संकेत गर्छ । उनीहरूलाई एक पटक पर्यटकका रूपमा पितृभूमि आउन किन प्रेरित नगर्ने ?


प्राज्ञिक मान्यताको खोजीमा नेपाली पाठशाला

म्यानमारभरिका नेपालीभाषी बाहुल्य ग्रामीण क्षेत्रमा २ सय ४८ नेपाली पाठशालामा झन्डै १९ हजार विद्यार्थी पठन–पाठन गर्छन् । सहरमा सरकारी विद्यालयमा गर्मी बिदाको तीन महिना अस्थायी भाषा पाठशाला सञ्चालन हुन्छ । संघ–संगठन प्रतिबन्धित रहेको सैनिक शासनका बेला धर्मिक समूहका नाममा मान्यता पाएको ‘अखिल म्यानमार देशीय गोर्खा हिन्दु धार्मिक संघ’ मा आबद्ध दर्जनभन्दा बढी संघ–संस्थाहरूको पहलमा ती शिक्षालय सञ्चालित छन् । अधिकांश स्वयंसेवी शिक्षकद्वारा अध्यापन हुने पाठशाला सञ्चालनको सम्पूर्ण खर्च नेपाली समुदायको स्वैच्छिक चन्दा र अक्षयकोषबाट धानिएको छ ।

राधाकृष्ण विद्यापीठ, मखन्ती, रामेश्वर विद्यापीठ लोखु नाउँछो र सरस्वती विद्यापीठ, लक्सक टाउँजी नेपाली समुदायकै अग्रसरतामा सञ्चालित संस्कृत विद्यालय हुन् । संस्कृत विद्यापीठको उत्पादनले बर्मेली नेपाली समाजको परम्परागत संस्कार र धार्मिक अनुष्ठानहरूलाई सहज बनाएको छ । नेपाली भाषा पाठशालाहरू स्वयंले नेपालसँग मिल्दोजुल्दो पाठयक्रम निर्माण गरी अध्ययन–अध्यापन गराइरहेका छन् । यसले नेपाली भाषा, संस्कृति र सभ्यताको संरक्षणमा ठूलो योगदान गरेको छ । तर ती पाठशालाले जारी गरेका शैक्षिक प्रमाणपत्रले भने प्राज्ञिक मान्यता प्राप्त गर्दैनन् । प्राज्ञिक मान्यता नभएका कारण नि:शुल्क भए पनि नेपाली पाठशालामा जति माथिल्लो कक्षा भयो, उति नै विद्यार्थीको संख्यामा कमी आइरहेको छ ।


स्थानीय बर्मेली नेपाली समुदायले स्थानीय नेपाली पाठशालालाई नेपालबाट मान्यता दिलाउन गरेको प्रयास सफल भएको छैन । ‘उहाँहरूले नेपालको सरकारी विश्वविद्यालयबाट सम्बन्धन दिलाउने वा सरकारी मान्यता प्राप्त परीक्षा बोर्डले यहाँ प्रतिनिधि खटाएर परीक्षा लिने व्यवस्थाका लागि बारम्बार अनुरोध गर्नुभएको छ,’ राजदूत उदास भन्छन्, ‘देशबाहिर रहेका नेपाली समुदायको यस्तो आकांक्षा सम्बोधनका लागि कुनै न कुनै उपाय खोज्न नेपाल सरकार पक्कै सकारात्मक हुन्छ ।’

प्रकाशित : माघ २७, २०७४ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?