कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किङ्ग सलाह

हिमेश

काठमाडौँ — साँच्चै मोहमद सलाह र जोसे मोउरिन्होबीचको सम्बन्ध कस्तो होला ? अथवा थियो भनौं ? कुनै समय दुवै सँगै चेल्सीमा थिए । अचेल न त सलाह ती दिन सम्झन चाहन्छन्, न त मोउरिन्हो ।

किङ्ग सलाह

त्यसमाथि अहिले यी दुई फरक क्लबसँग आबद्ध छन् र यी क्लब एकआपसमा आफूहरूलाई ठूलै शत्रु मान्छन् । त्यसो भनेको आजभोलि सलाह लिभरपुलमा छन्, माउरिन्हो म्यानचेस्टर युनाइटेडमा । यो त सबैलाई थाहा छ, अनि यी दुई क्लबीचको प्रतिद्वन्द्विताको पुरानो इतिहास पनि ।

सबैले बुझ्न चाहेको के भन्दा चेल्सी छँदा के मोउरिन्होले सलाहलाई बुझ्न सकेका थिएनन् ? अथवा भनौं, बुझ्नै चाहेनन् । कारण जस्तै भए पनि सलाहका लागि चेल्सी बसाइ खासै मीठो हुन सकेन । मोउरिन्होले उनलाई खेल्नै दिएनन् भने पनि हुन्छ । एक प्रकारले उनी चेल्सीमा आए, केही समय बिताए र फेरि अरूतिरै लागे । केही समयअगाडि मात्र सलाहले मोउरिन्होबारे मुख खोले । उनी भन्थे, ‘हामी खासै एकआपसमा बोल्दैनथियौं ।’

सम्बन्ध न त गाढा थियो, न पातलो । उनी चेल्सीबाट खेल्ने इजिप्टका पहिलो खेलाडी थिए । चेल्सी छाडेर ऋणमा उनी फियोरेन्टिना लागे । त्यति बेला उनले मनमा एउटा तथ्य गाढेका थिए, ‘फेरि इंग्ल्यान्डमा फेरि खेल्न पाइयो भने आफूलाई सिद्ध गर्नेछु ।’ उनले यस्तै गरिरहेका छन्, त्यो पनि मस्त पाराले । लिभरपुलमा अहिले टिमका सबैभन्दा ठूला स्टार हुन्, उनी । फिलिपे कोउटिन्हो बार्सिलोना लागेयता टिमको जिम्मा उनकै काँधमा छ भन्दा के फरक पर्ला र ?

लिभरपुल व्यवस्थापकमा योर्गन क्लोप आएयता उनले भित्र्याएका सबैभन्दा सफल खेलाडी भएका छन्, सलाह । लिभरपुल आउनुअगाडि सलाहले केही समय फेरि त्यस्तो बाटो तय गरे, जुन उनी खासै सम्झन चाहेनन् । फियोरेन्टिनाले उनलाई स्थायी रूपमा किन्न खोजेको थियो तर खेलाडी स्वयंले मानेनन् । उनले फियोरेन्टिना छाड्ने नै जिद्दी गरे । बरु लागे, अर्को सिरी ‘ए’ क्लब एएस रोमातिर । धेरै हदसम्म रोमा बसाइ सुखद रहयो, एक सिजन उनी रोमाकै उत्कृष्ट खेलाडी चुनिए ।

उनले त्यति बेला रोमाका लागि १५ गोल गरे भने अरू छ गोलका अवसर निकाले । यो क्लोपका नजरमा पर्नका लागि पर्याप्त प्रदर्शन थियो । सन् २०१७ को जुनमा उनले साँच्चै लिभरपुलको यात्रा निश्चित गरे । त्यति बेला क्लोपले उनलाई पाँच करोड पाउन्ड बराबरीको रकम तिरेको थियो, यो रकम आपैंmमा कीर्तिमान थियो । त्यति बेला पनि प्रश्न गरिएको थियो, कतै क्लोपले खराब ‘साइनिङ’ त गरेनन, किनभने यी त चेल्सी

‘फ्लोप’ पो हुन् ।

यसरी सलाह एकपछि अर्को धेरै प्रश्नबाट लगातार गुज्रिए तर अब उनले अब त्यसको खास उत्तर पनि तयार पारिसकेका छन् । सन् २०१७–१८ को यस सिजन उनले सबै खाले प्रतियोगितामा २८ गोल गरिसकेका छन् । लिगमै मात्र उनले गरेको गोल संख्या पनि २१ पुगिसकेको छ । रोमा छँदा उनले लिगमा पूरा सिजन जति गोल गरे, त्योभन्दा यो छ गोल बढी भइसकेको छ । त्यसमा भर्खर टोटनहमविरुद्ध २–२ को बराबरी निस्केको खेलमा उनले उत्तिकै गज्जबको गोल गरे ।

त्यो खेलपछि लिभरपुलका दुई पुराना खेलाडीले उनको प्रशंसामा शब्द खर्चिन पटक्कै कन्जुस्याइँ गरेनन् । जस्तो, ग्यारी म्याकएलिस्टरले भनिहाले, ‘मैले दुवै हात जोडेर भन्नैपर्छ, उनले मेरो अपेक्षाभन्दा धेरै राम्रो खेले । उनी जति बेला लिभरपुल आएका थिए, मैले त्यति हुन्छ भनेर सोचेको पनि थिइनँ । उनी वास्तवमै उत्कृष्ट खेलाडी निस्के ।’ म्याकएलिस्टर तिनै खेलाडी हुन्, जसले सन् २००१ मा लिभरपुललाई एकै सिजन लिगकप, एफएकप र यूईएफएकप दिलाएका थिए ।

अब जोन एलिड्रिजको पालो । सन् असी र नब्बेतिर एनफिल्डका यी पुराना खेलाडी भन्छन्, ‘विन्गरका रूपमा सलाहले यति धेरै गोल गरिसकेका छन् कि त्यसको कति मात्र प्रशंसा गर्ने ? उनी वास्तवमै सनसनीपूर्ण खेलाडी हुन्, उत्कृष्ट । वास्तवमै अब्बल दर्जाका खेलाडी ।’ सलाहको यो चर्चा अहिले किन त ? अर्को प्रश्न । इंग्लिस प्रिमियर लिगमा टिमको आधारमा अहिले चर्चा हुनुपर्ने म्यानचेस्टर सिटीको हो । सिटी आरामले शीर्ष स्थानमा छ ।

अब सिटीले प्रिमियर लिगले जित्न सक्दैन भनेर विरलै मात्र सोच्न सकिन्छ । पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीले यो सिजन मात्र होइन, आउने केही सिजन यस्तै तहल्का मच्चाउनेछ । यस्तोमा सिटीलाई टक्कर दिन सक्ने अर्को टिम कुन हो त ? केही फुटबल पण्डितहरू मान्छन्, यसको उत्तर लिभरपुल हुन सक्छ । यस सिजन पनि सिटीपछि शीर्ष चारभित्र पर्न युनाइटेड, लिभरपुल र चेल्सीबीच टक्कर छ, पछाडिबाट टोटनहमले प्रतिस्पर्धा दिइरहेको छ ।

प्रत्येक नयाँ सिजन सुरु हुनुपर्छ, लिभरपुल समर्थकका लागि यसपल्ट त केही राम्रै होलाजस्तो हुन्छ, तर त्यस्तो हुँदैन । धेरै भयो यस्तो हुन थालेको छ । तर आउने केही सिजन यो अपवाद हुन सक्छ, कम्तीमा क्लोपले यस्तै दाबी गरिरहेका छन् । उनकै भनाइमा आउने एकाध वर्षमा लिभरपुलले उपाधि जित्न बेर छैन । यहाँनिर दुई शब्दलाई बढी जोड दिनुपर्छ, ‘बेर छैन’ । दाबी जस्तै भए पनि एउटा तथ्य के निश्चित हो भने लिभरपुललाई सलाहजस्तो खेलाडी चाहिएको छ ।

त्यसैले अबको नयाँ प्रश्न सलाह कति सिजन लिभरपुलमा रहने हुन त ? कोउटिन्हो मात्र होइन, लुइस स्वारेजजस्ता खेलाडीले क्लबलाई चाहिएको बेला बार्सिलोनातिर लागेको पृष्ठभूमिमा डर छ, कतै सलाहमाथि अरू कसैको आँखा लाग्ने त होइन ? हल्ला त निस्किसकेको पनि छ, रियल म्याड्रिड उनकै पछाडि छ । त्यसैले म्याकएलिस्टर र एलिड्रिज मात्र होइन, धेरै क्लबका पुराना खेलाडी एउटै तथ्य दोहराइरहेका छन्, अब क्लोपको प्रमुख काम भनेको सलाहलाई क्लबमा लामो समय राख्ने हो, उनलाई मर्सिसाइडमै खुसी बनाइरहने हो ।

भर्खरै यी २५ वर्षीय खेलाडीले लिभरपुलका समर्थकलाई खुसी पार्ने केही शब्द भने खर्चेका छन् । जस्तो, उनले भनेका छन्, उनी सानैदेखि लिभरपुलमा समर्थक हुन् । उनी लिभरपुलका लागि अझ बढी समय खेल्न चाहन्छन्, लामै समय । उनको इच्छा नै हो, लिभरपुलका लागि खेल्ने । अनि लिभरपुल छाड्ने उनको कुनै योजना पनि छैन । ‘लिभरपुलमा म अहिले म निकै खुसी छुं,’ उनले दोहराएका छन् । त्यसैले त भन्न पनि सुरु भएको छ, उनी लिभरपुलका ‘राजा’ हुन् ।

सलाहबारे यति धेरै लिरभपुलसँग जोडिएर चर्चा गर्दा इजिप्टको फुटबलमा उनको योगदानबारे केही शब्द लेखिएन भने अन्याय नै हुन्छ । उनी इजिप्टको फुटबलमा अहिलेसम्मकै सबैभन्दा ठूला स्टार हुन् । उनकै नाममा स्कुल, सडक र सहरको नाम जुर्न थालेको छ । उनी नै हुन्, इजिप्टको फुटबलमा पुनर्जागरण ल्याउने । अनि उनी नै हुन्, इजिप्टलाई विश्वकपमा छनोट गराउने । त्यसैले त उनलाई अफ्रिकाकै वर्ष खेलाडी चयन गर्न कसैलाई गाह्रो भएन ।

इजिप्ट विश्वकपमा छनोट भएपछि पूरा देश त्यसमा खुसीले डुबेको थियो । एउटा तस्बिर छ, जुन गज्जब छ र यसैले सलाहबारे सबथोक बोल्छ । कंगोविरुद्ध छनोटको अन्तिम खेलको पनि अन्त्यतिर सलाहले पेनाल्टीबाट गोल गरे र यसैले इजिप्टलाई धेरै समयपछि विश्वकप अन्तिम चरणसम्म पुर्‍याएको थियो । खेलपछि अरू खेलाडीले उनलाई काँधमा बोके र त्यो तस्बिरमा समेटियो नै । त्यसको पृष्ठभूमिमा खुसी मनाइरहेका समर्थक छन्, दर्शकदीर्घातर्फ । तस्बिरले भन्छ, यी हुन्, किङ्ग सलाह ।

प्रकाशित : माघ २७, २०७४ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?