जयपुरमा नेपाली कविता

अभय श्रेष्ठ

काठमाडौँ — खाकीको ह्वार्लाङ्गे पाइन्ट, कुर्ता, वेस्टकोट र सामान्य क्याप भिरेका अग्ला वृद्ध मलाई पहिल्यै परिचितझैँ लागिरहेका थिए । ‘तपाईं भन्दै हुनुहुन्छ, खराब सिनेमा र बजारिया साहित्य लेख्नेहरू भ्रष्ट हुन्, संसारलाई भ्रष्ट बनाउने पनि तिनै हुन्,’ उनी भनिरहेका थिए, ‘होइन, तिनलाई वाहवाही गर्ने, घूसखोरीप्रति आँखा चिम्लने, दु:ख पाइन्छ भनेर आफैं घूस दिने अनि गुन्डाहरूको सामूहिक प्रतिरोध नगर्ने तपाईँ–हामी पो भ्रष्ट हौँ ।’ 

जयपुरमा नेपाली कविता

‘प्रेम र हिंसाका सिनेमा’ विषयक व्याख्यानमा यस्तो सटीक भाषामा बोल्ने व्यक्ति रहेछन्, भारतीय कवि विष्णु खरे । जयपुरमा यसै वर्ष थालिएको समानान्तर साहित्य उत्सव (पीएलएफ) मा सहभागीमध्ये उमेरले सम्भवत: सबैभन्दा पाका उनै थिए । तर, विचार र जोसले उनी सबैभन्दा जवान लाग्थे । फिल्मज्ञाता र अनुवादकको समेत परिचय बनाएका ७८ वर्षे यी जवान आफ्ना हरेकजसो सेसनमा रटाइएका कुराभन्दा भिन्न र सत्यानुभूति गराउने विस्फोटक विचार दिइरहेका हुन्थे । यसरी मेलाका सबैभन्दा आकर्षक व्यक्तित्व उनै भए ।


पीएलएफ भर्सेस जेएलएफ

विगत केही वर्षदेखि संसारभरिका लेखक, कलाकर्मी, पत्रकार भेला गरेर भारतको राजस्थानमा ठूला व्यावसायिक कम्पनीहरूको प्रायोजनमा धुमधुमसाथ जयपुर लिटेरेचर फेस्टिबल (जेएलएफ) हुँदै आएको धेरैलाई थाहा छ । अंग्रेजीभाषीको बोलवाला हुने फेस्टिबलमा स्थानीय भाषाका साहित्यलाई आत्महीनझैँ व्यवहार गरिने आरोप छ । लेखकभन्दा पत्रकार, नेता, विश्लेषक, व्यापारी, तीभन्दा फिल्म निर्देशक, निर्देशकभन्दा जोकर, जोकरभन्दा मोडल र हिरो, हिरोइनलाई बढी भाउ दिइएको आरोप पनि उत्तिकै छ । तिनले साहित्यलाई मनोरञ्जन बजारको गुलाम बनाएको आरोप पुरानै हो । डिग्गी प्यालेसका भव्य हलहरूमा जीटीभीद्वारा प्रायोजित पाँचदिने जेएलएफको प्रवेश शुल्कै यसपालि भारु २५० थियो ।

अलिअघि एंग्लो–इन्डियन लेखक सल्मान रुस्दीले ‘न्युयोर्कर’ मा स्वतन्त्रतापछिको भारतीय भाषामा स्तरीय लेखन नभएको, बरु भारतीय अंग्रेजीभाषी लेखकले आशा जगाएको टिप्पणी गरेका थिए । त्यसको प्रतिक्रियामा भारतीय लेखकबीच चिसो तरंग फैलिएको थियो । जेएलएफको तरिका पनि यस्तै भएको र त्यसले सिर्जनालाई बजारको पाउमा सुम्पिदिएको भारतीय लेखकहरूको बुझाइ छ । यसकै प्रतिरोधमा प्रगतिशील लेखक संघ, राजस्थानले जनवरी २७, २८ र २९ मा समानान्तर साहित्य उत्सव सुरु गरेको हो । प्रेमचन्द, चन्द्रधर गुलेरी, मुक्तिबोध, हरिश भदानी, विजयदान देथाजस्ता भारतीय महान् लेखकको सम्झनामा लेखक तथा विभिन्न जनपक्षीय संस्थाहरूबाट रकम उठाएर उत्सव गरिएको थियो । अजन्ता देवद्वारा फैज अहमद फैजको रचना गायनबाट सुरु भएको उद्घाटनमा भारतका प्रसिद्ध कथाकार ज्ञानरञ्जनको मन्तव्य पढेर सुनाइएको थियो । ‘सबै प्रकारका सत्ताले देशभरि जनता र तिनका संस्कृतिलाई आपराधिक घेराबन्दी गरेर आधारभूत उज्ज्वलतामाथि हमला गरेका छन् । एक झुटो अभियान छिरिसकेको छ । हाम्रो सिर्जनात्मक स्वतन्त्रतामाथि अतिक्रमण भइरहँदा हामी तटस्थ बस्नु वा पलयान हुनु आत्मघाती मात्र हुनेछैन, एकतर्फी रक्तपातका लागि निमन्त्रणा दिएझैँ हुनेछ,’ ज्ञानरञ्जनको यो विचार उत्सवको प्रस्तावनाजस्तै सर्वस्वीकृत भएको थियो ।

उत्सवका मुख्य समन्वयकर्ता इशमधु तलवार समानान्तर मेलालाई भारतमा सन् १९७१ मा मृणाल सेन, श्याम बेनेगल, गौतम घोषलगायतले थालेको समानान्तर सिनेमासँग दाँजिरहेका थिए । तिनले भारतीय सिनेमा उद्योगमा सार्थक, जीवनमुखी, संघर्षशील र इमानदार सिनेमा निर्माणको लहर ल्याइदिएका थिए । विष्णु खरे भने उद्घाटन सत्रमै मैत्रेयी पुष्पा, राजेन्द्र राजन, नरेश सक्सेना, विभूतिनारायण रायको रायसँग बाझिने गरी ‘समानान्तर’ शब्दप्रति नै अस्वीकृति जनाइरहेका थिए । ‘केको समानान्तर ? समानान्तर भन्नेबित्तिकै तपाईं उसकै बगलमा उभिएको अर्थ लाग्छ’, खरो स्वरमा खरेले भने, ‘ती त साहित्य र कलाकर्मीको मखुण्डो भिरेर आएका व्यापारी हुन् । अब तिनलाई सिर्जनाकर्मी मानेर किन जोरी खोज्ने ? अंग्रेजीको विरोधले मात्र के हुन्छ ? सक्नुहुन्छ भने त्यसैलाई प्रयोग गरेर संसारभरि आफ्नो कुरा पुर्‍याउनुस् ।’


नेपाली सेसन

अन्य देशबाट निम्त्याइएका लेखकमध्ये नेपाली र श्रीलंकाली लेखकका नाम कार्यक्रम विवरण पुस्तिकामै उल्लेख भइसकेका थिए । तर, श्रीलंकाली लेखक त्यहाँ उपस्थित हुन सकेनन् । उत्सवको पहिलो दिन जनवरी २७ को साँझ एउटा सेसन थियो, ‘दक्षिण एसियाको सांस्कृतिक संकट’ । वक्ता थिए, नेपालका चर्चित युवा लेखक युग पाठक, भारतका स्तम्भकार तथा प्राध्यापक रामशरण जोशी अनि श्रीलंकाका डा. डीपी सिंह । मोडरेटरको पुरानो शैली, दक्षिण एसियामा फिट नहुने उनको वर्ग विश्लेषण, बिजुली व्यवस्थापनमा समस्या हुँदा माइकबिना वक्ताले दिनुपरेको प्रस्तुति र दर्शकको न्यून उपस्थितिका कारण यो महत्त्वपूर्ण सेसन लगभग ओझेल पर्‍यो । तथापि, नेपाली इतिहासको पुनव्र्याख्या गरिरहेका पाठक प्रतिकूल समयमा थोरै मान्छेलाई भए पनि आफ्ना जायज कुरा सुनाउन सफल भए । सरल अंग्रेजीमा उनले सटिक तरिकाले मोडरेटरको प्रस्तावनालाई खण्डन गरे । नेपालको सन्दर्भमा माक्र्सवाद र वर्णव्यवस्थालाई अलग राखेर हेर्न नसकिने उनको तर्कमाथि बहस गर्न र नेपाली राजनीतिको छ्रिद्रबारे जिज्ञासा मेट्न जोशी त्यसपछि निरन्तर हामीसँग निकट रहिरहे ।

कार्यक्रमस्थल नपुगुन्जेल सेसनका अधिकांश सहभागी आफ्नो सेसन र समयबारे अनभिज्ञ थिए । नेपाली कवितामा सीमान्तकृत समुदायको सौन्दर्यचेतबारे व्याख्यान दिन सरिता तिवारीले गरेको तयारी लोभलाग्दो थियो । आहुति, निभा शाह, केशव सिलवाल, स्वप्निल स्मृति, शकुन्तला जोशी, भूपाल राई आदिका कविता उनले हिन्दीमा अनुवाद गरिसकेकी थिइन् । युथ होस्टल पुगेपछि मात्र थाहा भयो, उनको तयारीअनुसार छुट्टै सेसन रहेनछ । कार्यक्रमको दोस्रो दिन अपराह्न ‘कविता का पडोस’ अन्तर्गत नेपाली कविको कविता प्रस्तुति थियो । उनले त्यहीँ थोरै समय लिएर बोल्ने भइन् ।

नेपाली लेखक जम्मा छ जना । तीन जना मञ्चमा बसेपछि दर्शकदीर्घामा जम्मा तीन जना मात्र हुन्छन् कि भन्ने हामीलाई डर थियो । मोडरेटर डा. कविता माथुरलाई सरिताले ठट्टामा भनेकै थिइन्, ‘हामीले नेपालबाटै श्रोता बोलाउनुपर्ने हो कि ?’ तर, नेपाली कविता सेसन सोचेभन्दा र कुरजां, गोडावण अनि नुक्कडमा भएका सबैजसो सेसनभन्दा सफल भयो । भारतीय पत्रकार, लेखक र श्रोताले नेपाली कविता यस स्तरमा छ भन्ने कल्पनै नगरेको प्रतिक्रिया दिए । समय पर्याप्त नभए पनि नेपाली कविताको नयाँ स्वरबारे बोलेर सरिताले दर्शकको ध्यानाकर्षण गरिन् । उनले पालैपालो ‘के तिमीले मलाई आविष्कार गर्‍यौ ?’, ‘दुस्मनी’ र ‘आदिवासी’ शीर्षकका तीन कविताको हिन्दी अनुवाद सुनाएर श्रोतालाई अझै आकर्षित गरिन् । ‘दुस्मनी’ मा त उनले नाकाबन्दीको सन्दर्भ उक्काएर भारतीय भूमिमा भारतीय संस्थापनलाई, त्यो पनि भाजपाको हालीमुहाली चलिरहेको राज्यमै, चुनौती दिएकी थिइन् । सरिताले यहीबीच नेपाली लेखक टोलीका संयोजक उषा तितिक्षु र रोहेज खतिवडालाई पनि सप्लिमेन्ट्री कविता सुनाउन बोलाइन् । म भित्रभित्र थरथरी भइरहेको थिएँ । भीडसामु प्रस्तुत हुन अक्सर म आफूलाई अक्षम पाउँछु । तर, कन्फर्मिज्म र जडताविरोधी मेरा दुई कविता ‘हतियार’ र ‘सन्देह’ ले सर्वसाधारण, गृहिणीदेखि उच्च पठित भारतीय श्रोतामा ल्याएको तरंग मेरा लागि अभूतपूर्व थियो । त्यसमा प्रमोद धिताल र नरेश ज्ञवालीको सुन्दर अनुवादको पनि भूमिका थियो ।

कार्यक्रममा केरलाकी कवि रति सक्सेनाले जिज्ञासा राखिन्, ‘एक दशकअघि नेपाली कविता सुन्दा मलाई खास उल्लेख्य लागेको थिएन । तपाईंहरूका कविता सुन्दा नेपाली कविताको कायाकल्प भइसकेको महसुस भयो । खासमा, नेपाली कविताको समग्र स्थिति के हो ?’ हामीले रिमाल, देवकोटा, भूपी हुँदै विमल निभा, श्यामल, जसराज किराती, शैलेन्द्र साकार, कृष्णभूषण बलदेखि नयाँ पुस्ताका कविसम्मले संघर्षशील परम्परा र नयाँ स्वरलाई निरन्तरता दिएको उल्लेख गर्‍यौँ । सेसन सफलताको सबैभन्दा ठूलो प्रमाण के थियो भने भारतीय श्रोताहरू आपसमा भनिरहेका थिए, ‘नेपाली कविताका सेसन बहुत अच्छा हुआ ।’ सेसनको अन्त्यपछि केही सम्पादक, प्रकाशकले नेपाली कविता विशेषांक निकाल्ने इच्छासमेत व्यक्त गरे ।


मिडियाको झूटो सत्य

कुनै पनि सेसनको सफलता मोडरेटरको गतिशीलतामा निर्भर हुन्छ । पीएलएफका अधिकांश मोडरेटर कामचलाउ उद्घोषकजस्ता मात्र भइदिँदा सेसनहरू पर्याप्त अन्तक्र्रियात्मक हुन सकेनन्, न पर्याप्त डिस्कोर्स हुन पायो । रामशरण जोशी, अरुण माहेश्वरी, देवीप्रसाद मिश्रजस्ता बौद्धिकबाट आवश्यक बहस गराउन पनि मोडरेटरहरू चुके । कतिपय सेसनमा वक्ताहरू पालैपालो नीरस भाषण दिइरहेका देखिन्थे । ‘स्त्री लेखन : आयतन र व्याप्ती’ तथा ‘भारतीय लोकतन्त्रको उत्तर सत्य’ मा पर्याप्त बहस हुन सक्थ्यो । मोडरेटरहरूले त्यसलाई सदुपयोग गर्न सकेनन् । तथापि, कात्यायिनी, नुर जाहिर, रति सक्सेना, विपिन चौधरीले महिलाका विविध समस्या सम्बोधनका लागि राजनीतिमा सहभागिता र हिस्सेदारीमा दिएको जोड उचित थियो । ‘मिडियाका झुठा सच’ मा भने एउटा रोचक र महत्त्वपूर्ण प्रसंग उठ्यो । भारतबाट निस्कने राष्ट्रिय दैनिकहरूको खास मूल्य औसतमा भारु २८ पर्छ । ती अहिले पनि पाठकले दुई वा तीन रुपैयाँमा पढ्न पाउँछन् । बाँकी २५ रुपैयाँ र त्यसपछिको नाफा बजारबाट उठ्छ । वक्ताहरूको प्रश्न थियो, ‘बजारको यस्तो दबाब भएका मिडियाबाट जनमुखी सामग्रीको अपेक्षा कसरी गर्न सकिन्छ ?’ ‘सम्पादकको सुधार’ शीर्षक सेसनमा मोडरेटर अनिल यादवले ‘हंश’ का सम्पादक राजेन्द्र यादवले १५ वर्षअघि एक सम्पादकीयमा हनुमानलाई आतंककारी लेखेको प्रसंग उल्लेख गर्दा सेसन नै बिथोलियो । नाडीमा पहेँलो जनै बाँधेका युवाहरूले ‘हनुमान आतंककारी भएको प्रमाण पेस गर’ भन्दै बितन्डा गर्दा यादवले समय बाँकी छँदै सेसन सकाउनुपरेको थियो । यो, कट्टरपन्थी र अतिवादीहरू कसरी तिललाई पहाड बनाएर जनपक्षीय विचारलाई मिच्न खोज्छन् भन्ने उदाहरण थियो । ‘अनारकली अफ आरा’ जस्तो वैकल्पिक फिल्मका निर्देशक अविनाश दास, प्रसिद्ध पन्जाबी कवि सुरजित पातर आदि जेएलएफबाट पीएलएफ र पीएलएफबाट जेएलएफ आउजाउ गरिरहँदा तिनको पक्षधरतामाथि प्रश्न उठिरहेको थियो । कार्यक्रम समापनपछि रेस्टुराँ बसको सायमकालीन यात्रामा दासले हामीसँग भने, ‘म जेएलएफ गए पनि मन त मेरो तपाईंहरूसँगै छ । त्यसैले त म यहाँ छु ।’


प्रतिरोधी साहित्य

लखनउका चर्चित कवि नरेश सक्सेना प्रतिरोधी साहित्यलाई राजनीतिक घेरामा सीमित गर्न नहुने पक्षमा थिए । ‘कुनै पनि कुरूपताविरुद्ध सौन्दर्यको वकालत प्रतिरोध हो,’ उनले भने । त्यहीँनिर फेरि ठोक्किन आइपुगे विष्णु खरे । प्रतिरोधी चिन्तनकै कारण उनी सन् १९८३ मा केन्द्रीय साहित्य एकेडेमीबाट र बाबरी मस्जिद भत्काइएपछि १९९३ मा ‘नवभारत टाइम्स’ बाट निकालिएका थिए । त्यसयता उनी सडकमै छन् । प्रतिरोधी चिन्तन, स्वतन्त्र लेखन र विदेशी साहित्य अनुवादसँगै जिन्दगीको गाडी गुडिरहेको छ । जेएलएफको प्रतिरोधमा उसकै जस्तो एकैपल्ट पाँच स्थानमा सेसन चलाउनु सायद गल्ती थियो । यसले गर्दा पीएलएफका कुनै पनि सेसनमा श्रोताको उपस्थिति पर्याप्त देखिन्नथ्यो । मुक्तिबोध मञ्च र ‘बिज्जी की बैठक’ अनि कुरजां, गोडावण र नुक्कडका सेसनहरूमा अधिकांश कुर्सी खाली देखिन्थे ।


अन्त्यमा

उत्सवमा प्रदर्शित विभिन्न प्रकाशनका पुस्तक स्किमबाट हाम्रा प्रकाशकले पनि प्रेरणा लिने कुरा धेरै छन् । त्यहाँ कुनै लेखकका प्रिय कथा, प्रतिनिधि कविता, विषयप्रधान रचना संग्रहहरू प्रशस्त छापिएका देखिन्छन् । बोधी प्रकाशनले त पुस्तक पर्वअन्तर्गत कात्यायिनी, विपिन चौधरी, रमणिका गुप्तालगायत १० कविका १०० पृष्ठका कविता मूल्य भारु १० राखी छापेर भारतीय युवाकविका कविताको झलक दिने प्रशंसनीय प्रयास गरेको छ । यता, उपन्यासको पछाडि ज्यान फालेर लागेका हाम्रा प्रकाशन संस्थाहरू मलाई मम पसलजस्ता लाग्छन् । आफूलाई मम पसलभन्दा फरक देखाउन तिनले पनि नेपाली कथा, कविता, निबन्ध वा अन्य विधामा युवा तथा प्रतिनिधि लेखनको झलक दिने प्रयास गर्नु अनिवार्य छ ।

प्रकाशित : माघ २७, २०७४ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?