‘टोन’ मा के छैन ? 

ठाकुरसिंह थारू

काठमाडौँ — तिमी कि टिमी ? कुन ठीक ? थारू साहित्यिक बहस यहींबाट तात्तियो । त र ट मा मत बाझियो । अनि खोजी हुन थाल्यो, थारू शब्द लिपिको । पुर्खौंदेखि गाइने गीतको संग्रह (पोठी) लाई प्रमाणका रूपमा पेस गरियो । जुन थारू भाषामै लेखिएका छन् । नयाँ पिँढीले पोठीको कतिपय अक्षर चिन्दैनन् । तर पाकाहरूले मजाले वाचन गर्दै गीत गाउन सक्छन् ।

‘टोन’ मा के छैन ? 

पढे–लेखेकाले नेपालीमा तिमी लेख्न र उच्चारण गर्न सक्छन् । तर मातृ भाषा बोल्दा ‘त लाई ट र द लाई ड’ उच्चरण गर्छन् । ‘थारू भाषामा कखरा पढ्दा (त, थ, द, ध र न ) छैन । ट, ठ, ड, ढ मात्रै छ । त्यसैले थारूको लवजमा ‘ट’ बढी प्रयोग हुन्छ,’ नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य हरि तिमिल्सेना बोले, ‘त्यसैले थारूहरूको आफ््नै विशेष खाले भाषा छ । यसैलाई मानक बनाउनुपर्छ । र संरक्षणमा सबै लाग्नुपर्छ ।’ उनी थारू भाषा मजाले बोल्न सक्छन् । तर टिमी नभनी तिमी नै उच्चरण गर्छन् ।

देशभरिबाट करिब दुई सयभन्दा बढी साहित्यकार र भाषाविद्हरूको जमघट थियो, पर्यटकीय क्षेत्र बर्दियाको बढैया सिमसारमा । उनीहरूले लवज र उच्चारण जे गरिन्छ त्यही लेखिनुपर्ने तर्क गरिरहँदा (त र ट, ड र द) को भेद नपाएकै कारण नेपाली भाषामा एसएलसी पास गर्न नसकेका सयौं थारू युवा हलो जोत्दै छन् । त्यसको जिम्मा कसले लिने ? राज्यले वा थारू भाषाको विकास र संवद्र्धनमा लागेका बुद्धिजीवीले । ज्याकरण, वर्णविन्यास र शुद्धशुद्धि नजानेका कारण कतिपय युवा फेल भए । उच्च शिक्षा पढ्नबाट वञ्चित भए । जीवन पछाडि धकलियो । शुद्ध नेपाली लवजमा कुरा गर्न नसक्दा अपमानित भए । भाषाकै कारण विद्यालय छोडेका युवा अझै साक्षी छन् ।

संस्कृत विषय पढाइ हुने समयको के कुरा गर्नु ? संस्कृत किताब देखेरै डर लाग्ने । जिब्रो फड्काउन नसक्दा शिक्षकको लठ्ठीले कैयौंपल्ट हातमा नीलडाम बने । कतिपय सहकर्मीले पढाइ छोडेर भागे । पढाइ छोड्दा विद्रोह गरेजस्तो देखिने तर भविष्य अन्धकार भएको थाहा नपाउने । मैले भने विद्यालय छोडिनँ तर संस्कृत कक्षा छोडें । ०४८ सालमा एसएलसी परीक्षा दिइयो । गणित र ऐक्षिक गणितको सय पूर्णकमा ८०/८० भन्दा माथिको नम्बर आयो । सय पूर्णकमा ३२ नम्बर ल्याए पास हुने नियम थियो । ४२० अंक ल्याउँदा फस्ट डिभिजन मानिन्थ्यो । नेपालीमा आयो जम्मा ३४ नम्बर । धन्न पास भइएछ । दुई नम्बर मात्रै कपी जाँच गर्नेले कम गरिदिएको भए म पनि अक्षरको खेती गर्ने अवसरबाट वञ्चित हुन्थे होला । गाउँमा साथीहरूसँगै हलो जोतिरहेको हुन्थें होला । एसएलसीमा ४१५ नम्बर आयो । पाँच नम्बरका कारण फस्ट डिभिजन हुनबाट वञ्चित भइयो । फस्ट डिभिजनमा आउन नसक्नुको कारण त्यही थियो— ट, त र व्याकरण । फस्ट डिभिजनबाट वञ्चित हुनुको दोषी को ? मेरो मातृ भाषा, मेरो लवज वा राज्यको शिक्षा नीति । मैले अझैसम्म खुटयाउन सकेको छैन । थारू पुर्खाले यसै उखान बनाएनन् होला—‘पाढापण्डित कौने काम, हर जोत्ले लिर धानेधान ।’ अर्थात् पढेलेखेर के काम, हलो जोते धानैधान ।

प्रश्न उठ्छ । भाषाविद्हरूले भनेजस्तै थारू विद्यार्थीले मातृ भाषाको प्रयोग कहाँ गर्ने ? घरमा बोल्दा वा विद्यालयमा । विद्यालयमा थारू भाषाको पढाइ ठप्प छ । नेपाली भाषामा त्यसको प्रयोग गर्दा उल्टो असर पर्ने । आफ्नो भाषा वा लिपिको संरक्षण गर्ने कि नेपाली र अंग्रेजी भाषा पढेर भविष्य बनाउने ? यस्ता अहम् सवालका बाजजुद पनि भाषाविद् र साहित्यकारहरू थारू भाषाको संरक्षणमै जोड दिन्छन् । संस्कृति पहिचानसँग जोडिएको छ । संस्कृति र पहिचानले कुनै पनि जाति वा समुदायको अस्तित्व खतरामा पर्न सक्छ । ‘कुनै जातिलाई सक्नु छ भने शासकहरू सुरुमा संस्कृति र पहिचानमा आक्रमण गर्छन् । तर नेपालका शासकले थारू समुदायलाई पछाडि पारे पनि संस्कृतिमा धावा बोल्न सकेनन्,’ संयुक्त राष्ट्र संघीय आदिवासी जनजाति स्थायी समिति सदस्य फूलराम चौधरी भन्छन्, ‘हाल थारू समुदायको उच्चरणकै बारेमा धेरै पुस्तक प्रकाशन भइसके । त्यसैले पहिचान गुम्ने खतरा देखिँदैन । तर थारू भाषाको संरक्षणमा सबै लाग्नुपर्छ ।’ प्यालेस्टिनीहरूको पहिचान इजरायलका शासकले नष्ट गरेको भन्दै उनीहरू पहिचानकै खोजीमा हिंसात्मक आन्दोलनमा छन् । उनीहरूको भाषा, संस्कृति र पहिचान सबै खोसिएको उदाहरण उनले पेस गरे ।

सरकारले स्थानीय भाषा विकासका लागि प्राथमिक विद्यालयमा ऐच्छिक रूपमा स्थानीय भाषाभाषीमा पढाइ हुने व्यवस्था गर्‍यो । पश्चिम तराईका थारू बहुल जिल्लाका विद्यालयमा पढाइ सुरु गरिएका थिए । तर विभिन्न कारणले बन्द भए । यसले थारू भाषाविद्हरूलाई चिन्तित बनाएको छ । त्यसो त जिल्लापिच्छे थारू भाषाको लवज फरक भएकाले पनि समस्या छ । पूर्व र पश्चिमका थारू भाषा मिल्दैन । चितवनका थारूहरूको आफ्नै मौलिक भाषा छ । नवलपरासी, रूपन्देही, दाङ, बाँके, बर्दिया र कञ्चनपुरका थारू भाषा करिबकरिब एउटै छ । टोन फरक भए पनि बुझ्न र बुझाउन सकिने खालको भाषा छ । त्यसैले पनि थारू समुदायको मानक भाषाको खोजीको बहस उहिलेदेखि चल्दै आएको छ । ‘हामीले जे बोल्छौं, जे उच्चारण गर्छौं, त्यही लेखौं । यसैलाई मानक मानेर जाने हो भने समस्या समाधान हुन्छ,’ लेखक तथा अधिवक्ता सन्तराम धरकट्वा भन्छन्, ‘मानक भाषाका बारेमा धेरै टाउको दुखाइ सक्यौं । अब निष्कर्षमा पुगौँ ।’

भाषासम्बन्धी अर्को पनि रोचक र सत्य घटना छ । प्राथमिक विद्यालयमा ‘टलाटुुली बटुली, कति राम्रो पुतली, नाकमा बुलाकी’ कविता पढ्न पथ्र्याे । बद्री नाम गरेको मेरो थारू बालशाखालाई कविता कण्ठै थियो । शिक्षकले सोधे— बद्री पुतलीको नाकमा के छ ? साथीले उत्तर दियो— सर पुतलीको नाकमा (सेंफ) सिंगान छ । साथीले बुलाकीलाई सिंगान सम्झेछ र त्यो पनि फोटो हेरेर । बुलाकी भनेको नाकमा लगाउने गहना हो भन्ने भेउ नै पाएन । बुलाकीलाई थारू भाषामा नथिया भन्छन् । त्यो कवितामा बुलाकीसँगसँगै नथिया पनि लेखेको भए साथीले सिंगान छ भन्ने उत्तर दिने थिएन । यस्ता अनगिन्ती उदाहरण छन् ।


नेपाली र अंग्रजीमा नभएको शब्द

पोईढलाई नेपालीमा के भन्ने ? सिस्याईढलाई के नाम दिने ? अटवा, मोका, कन्धवालगायतका शब्दको अर्थ नेपालीमा के हुने ? यस्ता धेरै शब्द छन् जसको न नेपालीमा न अंग्रेजी शब्दकोशमा भेटिन्छन् । माछाको गन्धलाई बिसाईन्ढ भन्छन्, थारू भाषामा । यसलाई नेपाली वा अंग्रेजीमा कसरी सम्बोधन गर्ने ? धान राख्न बनाउने देहरीमा समान राख्न र्‍याक बनाइन्छ । त्यसलाई कन्ढवा भनेर सम्बोधन गरिन्छ । अंग्रेजीमा के नाम दिने ? बेना, सुप्पा, फुन्न, चोलियालगायतका यावत् शब्दको नेपालीमा उच्चारण कहाँबाट खोज्ने ?

दहीजरा, गईबैही, गैबहा, कोन्टी, बरही, छाकीलगायतका सयौं शब्द कसरी नेपाली र अंग्रेजी शब्दकोशमा समावेश गर्ने ? यावत् प्रश्न भाषा छलफलमा उठयो । त्यसैले थारू समुदायका कतिपय शब्द नेपाली, अंग्रेजी शब्दकोशमा नभएको महसुस भाषाविद्हरूको छ । त्यस्ता शब्दहरू नेपाली शब्दकोशले पनि स्वीकार गर्नुपर्ने सुझाव उनीहरूको छ । यसो गरिँदा नेपाली भाषाको शब्दकोशमा नयाँ शब्द थपिने र थारू भाषाको पनि सम्मान हुनेछ । त्यसो त नेपाली शब्दकोशले फारसी, हिन्दी, उर्दु र अंग्रजीका कतिपय शब्दहरू आगन्तुक गरिसकेको छ । ‘हिन्दी, उर्दुका शब्द स्विकार्ने अनि आफ्नै नेपाली थारू भाषाको शब्द नस्विकार्ने हुँदैन । त्यसैले नेपाली शब्दकोशमा नभएका थारू शब्द आगन्तुकका रूपमा लिनुपर्छ,’ थारू भाषाविद् सन्तराम धरकट्वा भन्छन्, ‘आगन्तुक शब्द लेनदेन गर्ने हो भने नेपाली र थारू दुवै भाषालाई फाइदा पुर्‍याउँछ ।’

मानक भाषा र संरक्षणको बहस चलिरहँदा अन्य संस्कृतिसँग जोडिएका पक्षहरूमा पनि छलफल भए । किनभने ती विषयमा बहस नहुँदासम्म भाषाको मुद्दा अपुरो हुनसक्थ्यो । भाषाको बहसलाई थप बल दिन थारू लोककथा र साहित्य, थारू महिला लेखकको अवस्था, रेडियोमा थारू भाषा र पत्रकारिता, रंगमञ्च र थारू समुदायमा रहेको बडघर प्रथा र विकासका विषयमा प्यानल बहस भए । नेपाली भाषाका कतिपय शब्दहरू थारू समुदायले पनि स्वीकार गरिसकेका छन् । ती शब्दलाई थारू शब्दकोशमा राख्न आवश्यक छ ।

थारू लोककथा

थारू लोककथा के हो ? ‘भाषा संरक्षण र संस्कृतिको ढुकढुकी हो । यो जीवन पनि हो,’ थारू लोककथा लेखिका तथा पेसाले शिक्षिका किरण आचार्यले थारू भाषामै उत्तर दिइन्, ‘यसलाई मानिसको प्राण पनि भन्न सकिन्छ ।’ दु:ख, पीडा, खुसी, परम्परा, संस्कार, समुदाय सबैलाई जोड्छ लोककथाले । किरणको माइतीघर कैलाली हो । बुबा जमिनदार थिए रे । थारूहरू कमैया बस्थे । सानो छँदा कमैयाहरूले काम गर्दा कथा सुनाउँथे । उनले कथाको विषयवस्तुले छुन्थ्यो रे । आफ्नो घरमा कमैया बसेका थारूको दु:ख देखेर पीडा हुन्थ्यो । कमैयाहरूकै संगतले उनी थारू भाषा सिकिन् । उनका थुप्रै लोककथा प्रकाशित भइसकेका छन् । ‘थारूको लोककथा जीवन्त छन् । वास्तविक जीवनसँग मेल खान्छन् । त्यसैले मलाई निकै मन पर्छन्,’ उनले थपिन्, ‘अहिले थारू लोककथा लोप हुने अवस्थामा पुगिसके । यसको संरक्षणमा लाग्न जरुरी छ ।’ उनी थारू लोककथा संकलन गर्न गाउँगाउँ पुग्ने गरेकी छन् । सुरुमा एक/दुई रुपैयाँ दिएर कथा भन्न लगाउने आफूले त्यसलाई थारू भाषामा लेखेर प्रकाशित गरेको खुलासा गरिन् ।

कतिपय थारू लोककथालाई नेपाल सरकारले स्वीकार्य गर्ने खालको रहेको अगुवाहरूको दाबी छ । ‘हाम्रो कथाभित्र लोकतन्त्रका कहानी पनि छन् । संघर्ष छन् । समुदायलाई एकापसमा बाँधेर राख्ने कथा पनि नभएका होइनन्,’ थारू बुद्धिजीवी सुरेन्द्र चौधरीले भन्छन्, ‘कानुनका रूपमा स्वीकार्य हुने खालका लोककथा छन् । तर राज्यसम्म पुर्‍याउन आवश्यक छ ।’ कथाकार सन्तराम धरकट्वाले भने कानुनकै रूपमा स्वीकार्य हुने अवस्थामा थारू लोककथाको विकास हुन नसकेको तर्क पेस गर्छन् । ‘हामी अझै प्रारम्भिक चरणमै छौँ । तर बिस्तारै त्यो सम्भव छ,’ उनी भन्छन् ।


थारू महिला लेखिका

लेखिका शिवानीसिंह थारूलाई कार्यक्रममा निम्तो दिएँ । तर आफ्नै पुस्तक प्रकाशनको तयारी रहेकी उनले समय दिन भ्याइनन् । त्यसै त औँलामा गन्न सकिने गरी व्यावसायिक थारू लेखक छन् । थारू महिला लेखिका खोज्नैपर्ने अवस्था छ । बहसमा जुटे नवलेखिकाहरू बालिका, इन्दु, कृष्णकुस्मा र सरिता चौधरीलगायत । ‘के लेखिका भन्नु अझै सिकारु छौँ,’ इन्दुले भनिन्, ‘प्यानलमै बसेर बहस गर्न सक्ने क्षमता बनाइसकेको छैन । तर बिस्तारै लेख्ने प्रयासमै छौँ ।’ उनका लेखहरू अनलाइनमा प्रकाशित हुँदै आएका छन् । बालिकाका केही पुस्तक थारू भाषामा प्रकाशित छन् । ‘नेपाली महिला लेखनमा पछाडि छन् । हामी थारू महिलाहरू झन् पछि छौँ,’ बालिका भन्छिन् ।


रंगमञ्च

‘थारू समुदायले नाचगान गर्दा बीचबीचमा मनोरञ्जनका दिन स्वग (लघु नाटक) देखाउँछन् । त्यसमा सामाजिक विकृतिहरूको विरोध गरिएको छ,’ थारू भाषाको विकासमा लागिपरेका लेखक सुशील चौधरी सुरु गरे, ‘रंगमञ्च जीवन हो । यसले समुदायलाई सकारात्मक सन्देश दिन्छ ।’ प्रवण आकाश, रंगकर्मी प्रदीप चौधरी, चौधरी र नारायण योगी छलफलमा सहभागी थिए । रंगमञ्च आफैंमा अप्ठयारो विषय हो । थारू कलाकारहरू रंगमञ्चमा एक/दुई जनाबाहेक छैनन् । त्यसो त रंगमञ्चको बाटो सहज छैन । ‘एक/दुई जना कलाकार छौँ जो रंगमञ्चका लागि संघर्षरत छौँ । परिवारले रंगमञ्च छोडेर जागिर खान दबाब दिइरहेका छन्,’ रंगकर्मी योगी भन्छन्, ‘जागिरले मैले राम्रो गरी परिवार पाल्न सकुँला । तर सिङ्गो समाजका लागि योगदान दिन सकिँदैन । त्यसैले कला जीवन मात्रै होइन समाज सुधारको ऐना पनि हो ।’


रेडियोमा थारू भाषा

नेपालमा सयौं रेडियो छन् । तर थारू बहुल क्षेत्रमा रहेका रेडियोले थारू भाषाको समाचार र थारू भाषाभाषीको कार्यक्रमलाई महत्त्व दिएको पाइँदैन । ‘थारू भाषाका कार्यक्रमहरू रेडियोको प्राथमिकतामा कमै परेका छन् । जनशक्तिका अभावले पनि हुन सक्छ,’ थारू पत्रकार संघ बाँकेका अध्यक्ष तथा नेपालगन्जकी पत्रकार विमला चौधरी भन्छिन्, ‘थारू भाषालाई रेडियोको प्राथमिकतामा पार्न जनशक्ति पनि जोड दिने कि ? ’

प्रकाशित : माघ २७, २०७४ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?