कोहलपुर कथा

मधु शाही

काठमाडौँ — हाम्रा बाउ–बाजेले भनेका थिए । यहाँ ठूलो तोरी पेल्ने कोल थियो । चारैतिरका मानिसलाई पाई पर्ने भएकाले पनि यहाँ टाढा–टाढादेखि कोलमा तोरी पेल्न आउने गर्थे । पछि यसको लोकप्रियता बढ्दै गएर ‘कोहलपुर’ नाम चलन चल्तीमा आयो ।’ 

कोहलपुर कथा

कोलहपुरका नगरप्रमुख लुटबहादुर रावतले कोहलपुरको नामकरणबारे स–साना नानीहरूलाई यसरी जानकारी दिइरहेका थिए । केही साताअघि बाँकेको कोलहपुर पुगेर अवधी लोककला कार्यशालामा सहभागी हुँदा नगरप्रमुखले सुनाएको यो कुरा मेरा लागि नौलो थियो । कोहलपुर विवाह घर भए पनि त्यहाँको माटोसँग म धेरै परिचित हुने अवसर पाएकी छैन ।

कार्यक्षेत्र काठमाडौंमा भएकाले उता नजिक हुन नभ्याउनु मेरो बाध्यता हो । यद्यपि आफ्नोपन जोडीएको ठाउँको नालीबेली बुझ्न कसलाई पो मन नलाग्दो होला ? नगरप्रमुखज्यूको कोहलपुर सुन्दर बनाउने प्रयास सुनाइरहेका थिए । कोहलपुरको सम्झना आउने ‘कोहल’ बनाएर चोकमा राख्ने । साथै पाटे बाघसमेत पाइने भएकाले त्यसको मूर्ति बनाएर सजाउने नगरप्रमुखको योजना रहेछ । नेपाल प्रज्ञा प्रतिष्ठान लोककला विभागका प्रमुख एससी सुमनले थारू समुदायको अवधि कला संरक्षण र प्रवद्र्धन गर्न कोहलपुरमा पहिलो पटक कार्यशाला लिएर गएका थिए । उनी नगरप्रमुखलाई बारम्बार थारू संस्कृतिको अवधि कला लोप हुन लागेको बताइरहन्थे । यही चिन्ताले उनलाई पिरोलेको भएर राजधानीबाट कोहलपुर कार्यशालासहित आएका हुन् । मसँगै साथी विनिता मरहट्टा र देवेन्द्र थुम्केली समेत कार्यशालामा सहभागी थियौं ।

कार्यशालाको अन्तिम दिन नगरप्रमुखले समापनमा पहिलो गुनासो पोखेका थिए । त्यो के भने यहाँका युवाहरू चुरोट, गुड्खा, खैनीजस्ता सुर्तीजन्य पदार्थ बढी खान्छन् । उनले यसको नियन्त्रणका लागि निश्चित नियम बनाएका पनि रहेछन् । यत्तिकैमा देवेन्द्र थुम्केलीले भाषणका क्रममा यही प्रश्न सोधे । ‘हामी काठमाडौं जाँदै छौं, कोहलपुरको चिनो के लिएर जाने ?’

भाषण सुनिरहेका नगरप्रमुख मौन थिए । उनको जवाफ के आउला ? भन्नेमा हामी सबै आतुर थियौं । उनले आँखाअगाडि नै थारू संस्कृति लोप हुन लागेको महसुस गरेनन् ।

उल्टै कोहलपुर मानिस कुरा बुझ्दैनन् भनेर गुनासो गर्दै थिए । उनको आँखा अगाडि ऐनाजस्तै झल्किएको सम्भावना लोक अवधि कला थियो । हराउन लागेको कला संस्कृति जोगाउनु नगरप्रमुखको जिम्मेवारी हो । संघीय संरचनाले स्थानीय सरकारलाई बलियो बनाएको छ ।

भौतिक रूपमा विकास भइसकेको कोहलपुरमा अब कला, संस्कृति र त्यहाँको आदिवासी सभ्यताको संरक्षण गर्न जुरुरी छ ।

कोहलपुरमा विभिन्नथरीका संस्कृति भित्रिएका छन् । कोहलपुरमा ३९ प्रतिशत जातजाति बसोबास गर्छन् । जसमा २४ प्रतिशत क्षत्री, १९ प्रतिशत थारू र १८ प्रतिशत ब्राह्मण समुदायको बाहुल्य छ । थारू समुदायमा अवधी लोककला बिस्तारै हराउँदै छ । घरको भित्तामा कोरिने चित्रहरू अब बिरलै देख्न पाइन्छ । आधुनिक सभ्यतासँगै घर निर्माण शैली परिवर्तन भएका छन् । तर, त्यही भित्तामा तयार पारिने लोकचित्रलाई परिवर्तन गरेर रुमाल, भाँडा, कपडाजस्ता सामग्रीमा उतार्न सकिने उपाय छन् । यसले लोककला प्रख्यात हुँदै जान्छ भने कलाकारको जन्म हुन्छ । कार्यक्रममा प्रकट यस्ता आइडियालाई कोहलपुर नगरप्रमुख सुनिरहे र गम्भीर हँदै जवाफमा मात्रै टाउको हल्लाइरहे ।


प्रकाशित : माघ २७, २०७४ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?