कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एक महान् अभिनेताको सन्न्यास

यज्ञश
यज्ञश

काठमाडौँ — संसारकै सबभन्दा ठूलो मेथड एक्टर को हो भन्ने प्रश्नको उत्तरमा अहिलेसम्म एउटै नाम लिइने गरिएको छ— डयानियल डे लुइस । उत्कृष्ट अभिनेताको विधामा तीनवटा ओस्कर पाउने डयानियल एक मात्र अभिनेता हुन्।

एक महान् अभिनेताको सन्न्यास

कोठामा टीभी, भीसीआर वा डीभीडी प्लेयर थिएनन् । बेतको सानो बुक र्‍याकमा केही किताब थिए । तिनकै छेउमा रहेका केही थान डीभीडी धूलोले लछप्पै भिजेका थिए । कवि पदम गौतमलगायतका मित्रहरूसँग ठमेल र महाबौद्ध डुल्दा किनेका यी केही क्लासिक फिल्मका डीभीडी थिए । यी फिल्मबारे मैले पढेको थिएँ तर हेर्न पाएको थिइनँ । यी फिल्म हेर्ने इच्छा कति तीव्र थियो भने कुनै दिन त मसँग टीभी र डीभीडी प्लेयर हुनेछन्, त्यस दिन हेर्नेछु भनेर मैले यी डीभीडी किनेको थिएँ । मानौं, अहिल्यै नकिने यी डीभीडी बेच्ने पसल बाढीमा बगेको बस्तीजसरी सिनित्तै बढारिनेछन् ।


धूलोमा केही समय नुहाएपछि यी डीभीडीले एक दिन आफ्नो शरीर पुछ्न पाए । मित्र बुद्धिसागरसँग एक दिन जोसिएर महाबौद्ध पुगियो र किनियो २८ सयको डीभीडी प्लयेर । चाइनिज जिङ्बाओ ब्रान्डको एउटा टीभी कोठामा आइसकेको थियो । केही पुरानो भए पनि यो सानो टीभी रंगीन थियो । टीभी अडयाउने कुनै र्‍याक थिएन र त्यसको जरुरत पनि थिएन । दुईतिर किताबका चाङ लगाएर तिनकै टेकोमा टीभी अडयो । अनि, सुरु भयो— फिल्म हेर्ने म्यारथन । दिनको ५ वटासम्म ।


यही म्याराथनको बीचमा मैले हेरेको थिएँ, ‘इन द नेम अफ द फादर’ । आयरल्यान्डको स्वतन्त्रताको आन्दोलनको पृष्ठभूमिमा बनेको बाबु छोरा सम्बन्धको यो फिल्मले मलाई पहिलोपल्ट बाबुछोरा सम्बन्धको गहिराइमा पुर्‍याएको थियो । एउटा बमकाण्डको आरोपमा पक्राउ परेको निर्दोष युवाको यो कथामा मलाई हिरोको बाबु निकै प्रिय लागेका थिए । पिताको जेलमै मृत्यु भएपछि छोरामा आउने परिवर्तनको यो फिल्म हेरिसक्दा पनि मलाई हिरोको नाम थाहा थिएन ।


धेरै पछि मलाई उनको नाम थाहा भयो— डयानियल डे लुइस । धेरैजसो कलाकारबारे उनको मृत्युमा ‘कथा’ हरू लेख्ने गरिन्छ । तर, ६१ वर्षीय आइरिस–ब्रिटिस डयानियल जिउँदै छन् । तर, उनीभित्रको अभिनेताको भने उनले मृत्युको घोषणा गरेका छन् । सन् २०१७ मा आएको फिल्म ‘फयान्टम थ्रेड’ नै आफ्नो अन्तिम फिल्म भएको उनले घोषणा गरेका छन् ।


संसारकै सबभन्दा ठूलो मेथड एक्टर को हो भन्ने प्रश्नको उत्तरमा अहिलेसम्म एउटै नाम लिइने गरिएको छ— डयानियल डे लुइस । सन् २०१२ मा विश्वप्रसिद्ध टाइम म्यागजिनले डयानियललाई संसारकै सबभन्दा महान् अभिनेता घोषणा गरेको थियो । डयानियलको शैली कुनै चरित्रको रूपमा अभिनय गर्ने होइन, आफू नै त्यो चरित्र बन्ने हो । उनी कुनै पनि पात्रका रूपमा अभिनय गर्नुअघि आफूलाई त्यो पात्रमा ढाल्नलाई ठूलो मिहिनेत गर्छन् । उनको यो तयारी पागलपनको हदमा पुग्छ । यस्तै पागलपन उनले ‘द बक्सर’ मा अभिनय गर्नुअघि गरेका थिए ।


बक्सरको भूमिकामा अभिनय गर्नका लागि तयारी स्वरूप डयानिलयले १८ महिनासम्म बक्सिङ प्रशिक्षण लिए । व्यावसायिक बक्सिङ प्रशिक्षकसँग । डेढ वर्षको कडा प्रशिक्षणपछि जब प्रशिक्षकले व्यावसायिक बक्सिङ खेल्न तयार भएको घोषणा गरेपछि मात्र उनी फिल्ममा अभिनय गर्न तयार भए । त्यसबेला डयानिलले अभिनय छोडेर साँच्चिकै बक्सिङ करिअरतिर लाग्छन् कि भन्ने आशंका पनि कतिले गरेका थिए ।


यसअघि सेरेबल प्लसी भएर ह्विलचेयरमा हिँड्ने क्रिस्टी ब्राउनको असाधारण कथामाथि बनेको फिल्म ‘माई लेफ्ट फुट’ मा डयानियलले अभिनय गरेका थिए । यो फिल्मका बेला पनि डयानिलयले सबैलाई चकित पारे । उनी फिल्मको सुटिङ अवधिभरि नै ह्विलचेयरमा बस्थे । उनलाई गाडीबाट ह्विलचेयरसहित नै तानेर निकाल्नुपथ्र्यो । उनी आफैं खाना खान्थेनन्, अरूले चम्चाले खुवाइदिनुपथ्र्यो, जसरी क्रिस्टी ब्राउनले खान्थे । उनी अरूसँग बोल्दा पनि क्रिस्टीकै आवाजमा बोल्थे । यो फिल्मका केही क्रु मेम्बरले डयानिलले अति गरेको पनि बताएका छन् । ह्विलचेयरमा बाङ्गिएर बस्दाबस्दा डयानियलका दुईवटा करङ भाँचिएका थिए भन्ने पनि खबर आएका थिए ।


सुरुआती समयमा उनले मेथड एक्टिङमा प्रयोग गरेका तीनै फिल्म ‘माई लेफट् फुट’ (१९८९), ‘इन द नेम अफ दि फादर’ (१९९३) र ‘द बक्सर’ (१९९७) का निर्देशक एकै जना थिए— आइरिस निर्देशक जिम सेरिडान ।


अमेरिकाका आदिवासीको कथामा बनेको ‘लास्ट अफ द मोहिकन्स’ (१९९२) मा डयानियल आदिवासीको भूमिकामा थिए । यो भूमिकाको तयारीका लागि डयानिल ६ महिना जंगलमा बसे । उनले सहरका मानिसले खाने कुनै पनि खानेकुरा यो अवधिमा खाएनन् । शुद्ध आदिवासीले खाने खानेकुरा र त्यस्तै जीवनशैलीमा ६ महिना बिताएपछि बल्ल उनले फिल्ममा अभिनय गरे । ‘इन द नेम अफ दी फादर’ अभिनय गर्नुअघि उनले आफूलाई साँच्चै जेलमा बन्द गरेका थिए । जेलमा उनी साथी कैदी र जेलका कर्मचारीलाई आफूलाई गाली र दुव्र्यवहार गर्न पनि लगाउँथे ।


‘द बक्सर’ मा अभिनय गरेपछि डयानियलले पाँच वर्ष फिल्म खेलेनन् । त्यो समय उनले इटालीमा बिताए । अभिनयबाहेक उनको ठूलो सोख कार्पेन्टरी (सिकर्मी) मा थियो । इटालीमा उनले जुत्ता बनाउने फयाक्ट्री खोले र कार्पेन्टरको काम गरेर बसे । यही अवधिमा हलिउड निर्देशक मार्टिन स्कोरसेजी भने ‘ग्याग्स अफ न्युयोर्क’ बनाउने तयारीमा थिए । लियोनार्डो डिक्याप्रियो र क्यामरुन डियाज यसमा फाइनल भए पनि ‘बिल द बुचर’ को मुख्य भूमिकामा स्कोरसेजी डयानियललाई चाहन्थे । तर, डयानियल थिए— इटालीमा । स्कोरसेजीले डयानियललाई मनाए र पाँच वर्षपछि उनी पर्दामा फर्किए । बिल द बुचरको भूमिकामा अभिनय गर्नका लानि पनि डयानियलले उत्तिकै तयारी गरे । यसका लागि पूरै नयाँ ‘डिक्सन’ मा अभ्यस्त भए ।


‘माई लेफ्ट फुट’ बाट उत्कृष्ट अभिनेताको पहिलो ओस्कर पाएको २४ वर्षपछि २०१३ मा डयानियलले यही विधामा आफ्नो तेस्रो ओस्कर पाए । फिल्म थियो— ‘लिंकन’ । निर्देशक थिए स्टिवन स्पिलवर्ग । यहीं बताइहालौं, उत्कृष्ट अभिनेताको विधामा तीनवटा ओस्कर पाउने डयानियल एक मात्र अभिनेता हुन् । उनले उत्कृष्ट अभिनेताको बाफ्टा ४, स्क्रिन एक्टर्स गिल्ड अवार्ड ३ र गोल्डन ग्लोब २ पटक जितेका छन् ।

स्पिलवर्ग अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनको जीवनमाथि फिल्म बनाउन चाहन्थे । उनले फिल्म बनाउने इच्छा व्यक्त गरेदेखि नै एउटा नयाँ कुरा भयो । सधैं अरूले फिल्म खेल्न मनाउनुपर्ने डयानिलले यसपालि आफैं लिंकन बन्ने इच्छा देखाए । तर, स्पिलवर्गले डयानियललाई स्वीकार गरेनन् । कारण थियो, आवाज । स्पिलवर्गलाई लाग्थ्यो, डयानियलको आवाज लिंकनको जस्तो छैन, यसैले उनी यो भूमिकामा योग्य छैनन् ।


तर, डयानियल यत्तिकै संसारको महान् मेथड एक्टर भएका होइनन् । उनले एक रात लिंकनका केही संवाद आफ्नो आवाजमा रेकर्ड गरे र स्पिलवर्गलाई भ्वाइस म्यासेज पठाए । यो आवाज सुन्नासाथ स्पिलवर्ग लिंकन बनाउन तयार भए । डयानियलले आफ्नो आवाजमा धेरै प्रयोग गरेर अन्त्यमा लिंकनको मसिनो आवाज बनाएका थिए । उनको त्यो आवाज नै फिल्ममा सुन्न पाइन्छ । स्पिलवर्गसँग पात्रको आवाजको अर्को पनि किस्सा छ । जब स्पिलवर्ग ‘जुरासिक पार्क’ बनाउन तम्सिए, उनले सबै तयारी गरे । एनिमेसनदेखि स्पेसल इफेक्ट सबैको तयारी भयो । तर, एउटा समस्या आयो । डाइनासोरको आवाजबारे । ६ करोड वर्षअघि पृथ्वीबाट लोप भएको जीवका अवशेषका आधारमा वैज्ञानिकहरूले आकार प्रकारबारे अनुमान लगाएका थिए । तर, यसको आवाज कस्तो थियो ? यो कसैले सुनेको थिएन । निकै धेरै सोचविचार र माथापच्चीपछि स्पिलवर्गले एउटा उपाय निकाले । एक सयवटा जनावरको आवाजलाई एकै ठाउँमा मिसाइदिने । यसरी सयवटा जनावरको आवाज मिसाएर ‘जुरासिक पार्क’ मा उनले डाइनासोरलाई आवाज दिएका थिए ।


‘माई लेफ्ट फुट’ र ‘लिंकन’ को बीचमा डयानियलले ‘देयर विल बी ब्लड’ (२००७) का लागि आफ्नो दोस्रो ओस्कर पाएका थिए । यो फिल्मको निर्देशन गरेका पल थोमस एन्डरसनले नै डयानियलको अन्तिम फिल्म ‘फ्यान्टम थ्रेड’ को निर्देशन गरेका हुन् । लन्डनको एउटा फेसन डिजाइनरको भूमिकामा डयानियल यसमा छन् । फेबु्रअरीको अन्त्यमा घोषणा हुने यस वर्षको ओस्करमा पनि डयानियल यो भूमिकाका लागि मनोनीत छन् ।


डयानियलले अभिनयबाट सन्न्यास लिएको घोषणा गरे, धेरैले अचम्म माने । आखिर एउटा अभिनेताले सन्न्यास किन घोषणा गर्नुपर्‍यो ? तर, डयानिलको सन्दर्भमा भने यो नौलो कुरा थिएन । किनभने, अभिनयको जुन गहिराइमा डयानियल पुग्थे यो गहिराइमा कोही पनि धेरै समय बस्न सक्दैन । हरेक भूमिकाका लागि गरिने तयारीले एउटा व्यक्तिका रूपमा डयानियलको जीवन र परिवारलाई पनि असर पाथ्र्यो । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘चरित्रको तयारी गरिन्जेल त केही फरक पर्थेन तर जब त्यो फिल्म सकिन्थ्यो, मलाई त्यसबाट बाहिर निस्किन निकै गाह्रो हुन्थ्यो । मैले आफूलाई नै त्यो पात्रमा ढालिसकेको हुन्थें । म त्यही मानिस बनिसकेको हुन्थें । फिल्म सकिनासाथ अर्को मान्छे बन्न म सक्दिनथें । यसले म ठूलो डिप्रेसनमा पुग्थें । बल्लबल्ल त्यसबाट निस्कियो फेरि अर्को पात्रको तयारी सुरु हुन्थ्यो । यो प्रक्रिया चलिरहँदा मैले धेरै जीवन बाँचें, धेरै भाषा बोलें ।’


धेरैको अनुमान छ, यसरी चरित्रको तयारी गर्दा डयानियलको आफ्नो जीवनचाहिँ छायामा पर्न थाल्यो । त्यसकै प्रेसर थेग्न नसकेर डयानियल रिटायर्ड भएका हुन् । कतिलाई लाग्छ, डयानियलले यति ठूलो मानक स्थापना गरे कि अब त्यसलाई नाघ्नु उनी आफ्नै लागि पनि असम्भव थियो । ६१ वर्षको उमेरमा उनले अब पहिलेजस्तो चरित्रका लागि सबै कुरा त्याग्न सक्थेनन्, उनको शरीरले पनि अब पहिलेजस्तो प्रेसर धान्न सक्दैनथ्यो । अर्काथरी भन्छन्— उनले अभिनेताका रूपमा पाउनुपर्ने सबै कुरा पाइसकेका थिए । तीनवटा ओस्कर, अनगिन्ती अन्य अवार्ड र संसारको सबभन्दा उत्कृष्ट अभिनेताको पगरी । यहाँभन्दा बढी के खोज्ने ? अब केका लागि अभिनय गर्ने ?


यति धेरै उपलब्धि पाएर पनि डयानियल शान्त थिएनन् भन्ने एकथरीको भनाइ छ । उनको मन अभिनयभन्दा धेरै जुत्ता बनाउने कला र सिकर्मीको काममा थियो भन्नेहरू पनि छन् । अर्काथरी उनको मनको अशान्तिमा अरू नै कारण पनि खोज्छन् । केही वर्षपहिले ‘हयाम्लेट’ नाटकमा अभिनय गर्दागर्दै डयानियलले बीचमै नाटक छोडेका थिए । उनले हयाम्लेटका पिताको भूतमा आफ्नै पिताको भूत देखेको भन्दै नाटक छोडेका थिए । त्यसपछि डयानियलले कहिल्यै नाटकमा अभिनय गरेनन् ।


सायद डयानियलको अभिनयभन्दा बढी उनको अभिनयको ख्याति निकै ठूलो भइसकेको थियो । उनका बारे यति धेरै कथा बनेका थिए कि ती मिथहरू उनीभन्दा धेरै ठूला थिए । डोबर्ट डी निरोले ‘रेजिङ बुल’ का लागि २५ किलो वजन बढाएको कथा र ‘सिटी अफ जोय’ मा कोलकातामा रिक्सा तान्ने मानिसको भूमिकामा अभिनय गर्नुअघि ओम पुरीले साँच्चिकै रिक्सा तानेका किस्साभन्दा डयानियलका किस्सा निकै चर्चित थिए । डयानियलको सन्न्यासले ती मिथ अब इतिहास बनेका छन् ।


डयानियलले धेरै फिल्ममा अभिनय गरेनन् । जतिमा गरे, ज्यान दिएर अभिनय गरे । ४६ वर्षे अभिनय करिअरमा उनले जम्मा २१ फिल्ममा अभिनय गरे भने १९९७ देखि २०१७ सम्मको २० वर्षको अवधिमा जम्मा ७ वटा फिल्ममा । डस्टिन हफम्यान र रोबिन विलियम्सदेखि टम हयांक्सदेखि डेन्जल वासिङ्टन र लियोनार्डो डिक्याप्रियोजस्ता हलिउडका उम्दा अभिनेताहरूको समयमा डयानियलले अभिनय गरे । उनले सबैका लागि अभिनयको पर्वतको उचाइ बढाइदिए । अभिनय भनेको खालि कसैको क्यारिकेचर गर्नु वा नकल गर्नु होइन भन्ने कुरा दुनियालाई बुझाउन डयानियलले निकै मिहिनेत गरे । वर्षका पाँच दसवटा फिल्म खेल्ने र सबैमा उस्तै देखिने सलमान खान शैलीका अभिनेताको बजारमा बिगबिगी भएका बेला डयानियलले सन्न्यास लिएका छन् । उनको सन्न्यासलाई कसैले त्यो शैलीकै सन्न्यासका रूपमा पनि बुझ्न सक्छन् ।


अभिनेतामा डयानियलजस्तै तन्मय र व्यग्रताका साथ फिल्म बनाउने एक जना मेक्सिकन फिल्ममेकर छन्— अलेहान्द्रो गोन्जालेज इनारितु । ‘एमेरोस पेरोस’, ‘बाबेल’, ‘२१ ग्राम’, ‘बिउटिफुल’, ‘बर्डम्यान’ र ‘दी रेभेनान्ट’ जस्ता फिल्म बनाएका इनारितु फिल्ममा नयाँ प्रयोग गर्ने कलाकार मानिन्छन् । उनले आफ्नै शैली र शिल्पले हलिउडलाई आफ्नो कब्जामा लिइरहेका छन् । सन पेन, माइकल केटन, बेनसियो डेल टोरो, खाभियर ब्राडम, टम हार्डी र लियोनार्डो डिक्याप्रिओजस्ता अभिनेतालाई लिएर उनले फिल्म बनाए । यी इनारितुको कुनै फिल्ममा डयानियल डे लुइसलाई हेर्ने मेरो रहर थियो । मार्टिन स्कोरसेजी र स्पिलवर्गपछि इनारितु वा क्रिस्टोफर नोलानको कुनै फिल्ममा अभिनय गरेको भए सायद डयानियलको अभिनय चक्र पूरा हुन्थ्यो होला । उनले त्यसलाई अधुरै छोडेर सन्यास लिए ।


‘दी बक्सर’ को सन्न्यासपछि फेरि पर्दामा फर्किएजस्तै डयानियललाई फेरि कुनै भूमिकाले पर्दामा ल्याउला कि ?

प्रकाशित : फाल्गुन ५, २०७४ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?