कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अझै टोलाइरहन्छन् जोन 

विद्यालयले फुल्चोकी घुमाउन लैजाँदा सात दिनसम्म जंगलमै छोडिएका जोन तामाङको कथा :
मकर श्रेष्ठ

काठमाडौँ — एउटै घटना काफी थियो, आमा रिमा तामाङलाई बेचैन बनाउन । माघ ११ मा स्कुलबाट फुल्चोकी डाँडामा घुम्न निस्केको छोरो जोन घर नफर्केपछि रिमाको होसहवास थिएन । कुनै अदभुत चमत्कार भएझैं हराएको सात दिनपछि जोन भेटिए, परिवारमा असीम खुसी फर्कियो । तर, पनि रिमाको मन शान्त भइसकेको छैन् । किनकि जोन अझै पहिलाकै अवस्थामा फर्किसकेका छैनन् । 

अझै टोलाइरहन्छन् जोन 

रिमा काममा नफर्केको एक महिना भइसक्यो । अस्पतालको १५ दिने लामो उपचारपछि पनि जोन अझै टोलाइरहन्छन् । एकै छिन एक्लै छाड्दा पनि ‘ममी’ भन्दै बोलाउँछन् । राति पनि निद्रामा बर्बराउँदै जुरुक्क उठ्छन् । घना जंगलमा एक्लै सात दिन भोगेको पीडा सम्झेर छोरो घरीघरी एकहोरो हुने गरेको उनी बताउँछिन् । जोनलाई साथमा कि ममी चाहिन्छ, नभए मोबाइल । ‘ऊ अझै ठीक भइसकेको छैन । बेलाबेलामा त्यो घटना सम्झन्छ, अनि टोलाउँछ,’ रिमाले भनिन्, ‘खुट्टाको घाउ अझै ठीक भइसकेको छैन ।’

काठमाडौंको न्युरोडस्थित एक गहना पसलमा ‘सेलर’ का रूपमा कार्यरत दैनिक हाजिरीका आधारमा तलब लिएर रिमाले दुई छोरा पालिरहेकी थिइन् । ललितपुर सातदोबाटो नजिकै थसिखेलमा तीन कोठाको फ्ल्याटमा उनको परिवार बसिरहेको छ । रिमाले श्रीमान्बाट छुट्टिएर अलग बाटो हिँड्ने निर्णय गरेको १२ वर्ष भइसक्यो । ‘जोन ५ वर्ष हुँदादेखि हामी छुट्टियौं,’ उनले पुरानो कुरा सम्भिँmदै भनिन्, ‘छोराहरूको पढाइ र लालनपालन मेरै कमाइले गरिरहेको छु ।’

छोरा हराएको सात दिनसम्म हारगुहार गरेर सबैलाई खोज्न लगाइन् । उनीसँग चिनजान नभएकाहरूले पनि खोजबिनमा निकै सहयोग गरे । १२ वर्षदेखि छुट्टिएर पोखरा बसेका श्रीमान् पनि हराएको छोरा खोज्न फुल्चोकी पुगे । छोरा हराउँदा उनले खाना पकाएर खाने कुरै भएन । तातो ओछयाउनमा सुत्न सकिनन्, चिसो जंगलमा हराएको छोरो सम्झिरहन्थिन् । भोक–निद्रा सबै बिर्सिसकेकी थिइन् । केही खान खोज्दा छोराले के खायो होला ? भन्दै भक्कान्थिन् । छोरा हराएको सातौं दिन उनी फुल्चोकी जंगलमा छोराको खोजी गर्न ड्रोन उडाउने अनुमति लिन प्रहरी र प्रशासनको काम सकाएर गृह मन्त्रालय जाने तयारीमा थिइन् । छोरा भेटिएको खबर उनका भिनाजु दीपकबाट आएपछि उनको खुसीको सीमा रहेन ।

दिउँसोपख छोरा भेटिएको खबर पाए पनि अस्पताल ल्याएपछि उनले साँझ आठ बजे मात्रै भेटिन् । ‘मलाई देख्नेबित्तिकै मम्मी सो कोल्ड, सो डार्क भन्दै डरायो,’ उनले रुँदै भनिन्, ‘त्यसबेलाको पीडा सम्झनै सक्दिनँ ।’ १५ दिन अस्पतालमा उपचार गरेपछि उनले छोरालाई घर लगेकी छन् ।

अब उनलाई अर्को चिन्ता थपिएको छ । उपचार गरेको पैसा विद्यालयले तिरिदेला । छोराको खोजी र उपचारबाहेक अन्य खर्च गर्न लिएको साढे दुई लाख रुपैयाँ ऋण कसरी तिर्ने ? सुनपसलमा काम गरेर उनी जति कमाउँथिन्, महिनाभरिको खर्च पुर्‍याउँथिन् । अब उनको आम्दानी र खर्चको सन्तुलन बिग्रिएको छ । साथी र आफन्तबाट २० देखि ५० हजारसम्म ऋण लिइसकेकी छन् । उनी काम गर्ने सुनपसलबाट पनि अग्रिम ३० हजार रुपैयाँ लिइसकेकी छन् । ‘छोरा अझै ठीक भइसकेको छैन । काममा जान सक्ने अवस्था अझै छैन,’ उनी भन्छिन्, ‘अब भाडा कसरी तिर्नु ? त्यत्रो ऋण छ कोसँग मागेर दिनु ?’ उनलाई छोराको उपचारसँगै घरखर्चको चिन्ता थपिएको हो । दुई छोरा पढाउनु त छँदैछ । छोरा हराएको घटनापछि लागेको ऋण र श्रीमान्को साथबिनाको एक्लो संघर्ष सम्झेर उनी हरेस खान थालेकी छन् ।


‘बाघको बच्चा देखेपछि ज्याकेटले मुख छोपें’: जोन तामाङ

फुल्चोकीमा हिउँ खेलेर साथीहरूसँगै म पनि तल झर्दै थिएँ । प्रिन्सिपल सर ‘फलो मी’ भनेर अगाडि बढ्नुभयो । छोटो बाटो भएर तल झर्ने क्रममा म बीचमा एक्लो भएँ । जंगलको साँघुरो बाटो थियो । म हराएँ । हिउँ भरिएका रूखका पातमा चिप्लेर लडें । साथी निसाको झोला मैले बोकेको थिएँ । झोला फुस्क्यो । लड्दा कहिले टाउको तल हुन्थ्यो कहिले खुट्टा । रूखको चेपमा गएर देब्रे खुट्टा अड्कियो । त्यहाँबाट निस्कनै सकिनँ । बचाउ–बचाउ भनेर कराएँ । कसैले सुनेन ।

जंगल डरलाग्दो थियो । ममीलाई सम्झिएँ, बोलाएँ । राति भूत आउला भनेर डर लाग्यो । भगवान्लाई पुकारें । प्रार्थना गरें । दोस्रो दिन चिसोले खुट्टा सुन्नियो । हात्तीको जस्तो मोटो भयो । उचाल्न पनि सकिनँ । ममीलाई सम्झिएँ । रोएँ, कराएँ । कसैको पनि आवाज सुनिएन । जीउभरि कीरा आयो । डरलाग्दा माकुरा आउँथे । आफैंले पन्छाएँ । चिसो निकै थियो । दिउँसो पनि रातिजस्तै हुन्थ्यो । दिउँसोभन्दा पनि राति बढी डर लाग्थ्यो ।

दिउँसो जंगलमा बाख्राजस्तो देखिन्थ्यो । खानेकुरा केही थिएन । पानी पनि खान पाइनँ । धेरै भोक लाग्यो । तीन पटक बाघ कराएको सुनें । बाघको बच्चा मेरै छेउमा आयो । डर लागेर ज्याकेटले मुख छोपेर बसें । चराचुरुंगी कराउँदा पनि डर लाग्थ्यो । सात दिनमा चाहिँ दाइहरूले भेटाउनुभयो । पानी र बिस्कुट खुवाउनुभयो । सबैले मेरो फोटो खिच्नुभयो । एम्बुलेन्समा राखेर अस्पतालमा ल्याए । १५ दिन अस्पताल बसें । खुट्टा निको भएपछि स्कुल जान्छु । विद्यालयका साथीहरूको धेरै याद आइरहेको छ । मैले धेरै पढ्नुपर्छ । वैज्ञानिक बन्ने लक्ष्य छ । त्यसका लागि मलाई सबैले सहयोग गरिदिनुहुन अनुरोध छ ।

(प्रशान्त मालीसँगको कुराकानीमा आधारित)

प्रकाशित : फाल्गुन ५, २०७४ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?