१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘राष्ट्रभक्ति’ भर्सेस ‘अन्धराष्ट्रवाद’

विमर्श
रामचन्द्र गुहा

काठमाडौँ — संसारभर अहिले ‘राष्ट्रवाद’ को उभार चलेको छ । राष्ट्रवाद र राष्ट्रवादी हुनु नराम्रो होइन । तर राष्ट्रवादभित्रका गलत प्रवृत्तिले कसरी संसारलाई गिजोल्दै छ ? यो विषयमा भारतका चर्चित इतिहासकार रामचन्द्र गुहाले भारतको गणतन्त्र दिवसको अवसरमा प्रकाशित ‘आउटलुक’ को विशेष अंकमा लेखेका छन् ।

‘राष्ट्रभक्ति’ भर्सेस ‘अन्धराष्ट्रवाद’

उनले राष्ट्रवादभित्र ‘राष्ट्रभक्ति’ र ‘अन्धराष्ट्रवाद’ दुईखाले प्रवृत्ति हुने व्याख्या गरेका छन् । विशेषगरी भारतीय उदाहरणमै केन्द्रित रहेर उनले ‘राष्ट्रभक्ति’ र ‘अन्धराष्ट्रवाद’ का विशेषताहरूलाई मिहिन रूपमा केलाएका छन् । उक्त लेखको अनूदित तथा सम्पादित अंश :


रेलवे, विद्युत् र विकासवादी सिद्धान्तजस्तै ‘राष्ट्रवाद’ को आविष्कार पनि आधुनिक युरोपमा भएको हो । ‘युरोपेली राष्ट्रवाद’ को मोडलले एक भाषा, एउटै साझा धर्म र एक समान शत्रुको आधारमा कुनै विशेष भौगोलिक क्षेत्रवासीहरूलाई एकजुट गराउने कोसिस गर्‍यो । त्यसैले ब्रिटिस हुनका लागि अंग्रेजी बोल्नुपर्‍थ्यो । वेल्स र गेलिकजस्ता अल्संख्यकका भाषालाई दबाइन्थ्यो वा उपेक्षा गरिन्थ्यो । असली ब्रिटिस हुनका लागि प्रोटेस्टेन्ट हुनुपर्‍थ्र्यो । किनकि राजा चर्चका प्रमुख हुन्थे । क्याथोलिकहरू विशुद्ध दोस्रो दर्जाका नागरिक थिए । असली र बफादार ब्रिटिस हुनका लागि फ्रान्सलाई घृणा गर्नुपर्थ्यो  ।


१८ औं र १९ औं शताब्दीको फ्रान्सेली राज्यको इतिहासलाई फर्केर हेर्दा पनि त्यस्तै देखिन्छ ।


नागरिकहरूले एउटै ‘फ्रेन्च भाषा’ बोल्नुपथ्र्यो । एउटै धर्म क्याथोलिकप्रति निष्ठा राख्नुपथ्र्याे ।


प्रोटेस्टेन्टहरूलाई सताइन्थ्यो । यसरी ‘फ्रान्सेली राष्ट्रवाद’ ले आफ्नो शत्रु पहिचान गरेको थियो । यद्यपि यस्ता शत्रुहरू समयक्रममा अलगअलग थिए । कुनै दशकमा प्रमुख शुत्र ब्रिटेन थियो भने कुनै दशकमा जर्मनी । आफ्नो मुलुकप्रतिको बफादारिता पुष्टि गर्नका लागि अन्य देशप्रति घृणा गर्नुलाई महत्त्वपूर्ण ठानिन्थ्यो ।


एक भाषा, एक धर्म र साझा शत्रु पहिचान गर्ने यही विधिबाट युरोपेली राष्ट्रहरूको जन्म भएको थियो । यस दृष्टिकोणबाट हेर्ने हो भने इस्लाामिक गणराज्य पाकिस्तान पनि युरोपेली मुलुकहरूजस्तै हो ।

मोहम्मद अली जिन्हाले मुुसलमानहरू हिन्दुसंँग बस्न सक्दैनन् भन्दै उनीहहरूको छुट्टै देशको आवश्यकता औंल्याएका थिए । जब उनले भनेजस्तै गरी पाकिस्तानको जन्म भयो, त्यसपछि बंगालीहरू बसोबास गर्ने पूर्वी पाकिस्तानको भ्रमण गरेर बंगालीहरूलाई उर्दू सिक्नै र बोल्नैपर्ने फर्मान जारी गरे ।


तथापि भारतीय राष्ट्रवाद भने युरोपेली ढांँचाभन्दा फरक खालको छ । हाम्रो स्वतन्त्रताका लागि संघर्ष गर्ने नेता, विशेषगरी महात्मा गान्धीलगनयतको महानता के थियो भने, उनीहरूले एउटै धर्म भए मात्र ‘राष्ट्रवाद’ हुन्छ भन्ने कुरा अस्वीकार गरे । एउटै विशेष भाषा मात्रले राष्ट्रवाद हुन्छ भन्ने कुरालाई नकार्दै ब्रिटिसहरूलाई घृणा गरे ।


गान्धी, रविन्द्रनाथ टोगोर र शिवराम कारन्तले बहुलता र समानतालाई ‘राष्ट्रभक्ति’ को मुख्य साधन बनाए । गान्धी हिन्दु र मुुसलमानको सहिष्णुताका लागि नै बाँचे र मरे पनि । उनले आफ्नो पार्टी भारतीय राष्ट्रिय कांग्रेसमा हिन्दु, मुसलमान, क्रिस्चियन जो पनि प्रमुख हुन पाउने कुरालाई जोड दिए । न त उनको ‘राष्ट्रवाद’ भाषाले परिभाषित गर्‍यो न धर्मले । १९२० को सुरुआती समयमा गान्धीले भारत स्वतन्त्र भए पनि प्रत्येक मुख्य भाषिक समूहको आफ्नै राज्य हुने घोषणा गरेका थिए । सायद यो भारतीय शैलीको ‘राष्ट्रवाद’ को एउटा नमुना पहल थियो । भारतीय ‘देशभक्तहरू’ ब्रिटिस सम्राज्यवादलाई घृणा गर्थे र हटाउन चाहन्थे । ‘भारत छोडो आन्दोलन’ ले ब्रिटिसलाई हटायो पनि । उनीहरू हटे पनि हामीले स्वतन्त्र न्यायपालिका, संसदीय लोकतन्त्र, अंग्रेजी भाषा र क्रिकेट खेल जो ब्रिटिस संस्कृतिसँंग जोडिने कुरा थिए, त्यसलाई जोगाइराख्यौं ।


ब्रिटिस, फ्रेन्च र पाकिस्तानी राष्ट्रवाद उन्मादमा आधारित थियो, किनकि सबै नागरिकले एउटा भाषा बोल्नुपर्छ, समान आस्था राख्नुपर्छ र सबैले एउटैलाई शुत्र ठानी घृणा गनुपर्छ भन्ने मान्यता राख्थ्यो । अर्कोतर्फ ‘भारतीय राष्ट्रवाद’ साझा मूल्य मान्यतामा आधारित थियो । सन् १९२०–२१ को असहयोग आन्दोलनका बेला भारतभरका जनता सडकमा निस्के, जागिर छोडे, कलेज छोडे, पक्राउ परे । पहिलो पटक उनीहरूलाई विश्वास पलायो कि अब उनीहरू आफ्नै राष्ट्र बनाउन सक्छन् । १९२१ मा असहयोग आन्दोलन उचाइमा पुगेपछि गान्धीले स्वतन्त्रता संग्राम अहिंसात्मक, हिन्दु मुसलमानबीच सहिष्णुता, छुवाछूतको उन्मूलन र आत्मनिर्भर अर्थतन्त्रको मान्यतामा आधारित हुनेछ भन्ने मान्यता अघि सारेका थिए । त्यसको तीन दशकपछि जब भारत स्वतन्त्र भयो ती मान्यताहरू संविधानमा लिपिबद्ध भए । जब गणतन्त्र भारतको जन्म भयो नागरिकहरू लोकतन्त्र, भाषिक, धार्मिक बहुलवाद, जात र लैंगिक समानता तथा गरिबी र विभेदलाई हटाउनुपर्छ भन्ने साझा मान्यतामा गोलबन्द भए, न कि एउटै धर्म, मान्यता र साझा शत्रुका आधारमा ।


भारतीय राष्ट्रवादको आधारभूत विशेषता नै यही हो, जसलाई म ‘संवैधानिक देशभक्ति’ भन्छु । किनभने यही कुरा हाम्रो संविधानमा उल्लिखित छन् । ‘संवैधानिक देशभक्ति’ का आधारभूत विशेषता के हुन्छन् त ?


पहिलो : ‘संवैधानिक देशभक्ति’ भनेको हाम्रो विविधता र परम्परालाई स्विकार्नु हो । कुनै ठूलो सहर फरक वेशभूषा, किसिमकिसिमका खाना, फरकफरक भगवान्प्रतिको भक्ति, फरक भाषा र फरकफरक मानिससँगको मायामा डुबिरहेको हुन सक्छ ।


अहिले हामीलाई थाहा छ, किन कुनै पनि भारतीय ठालू र विशेष छैनन् । किनभने तिनीहरूका एउटा निश्चित धार्मिक परम्परा र भाषा छन् । १९ औं शताब्दीमा इङ्ल्यान्डमा क्याथोलिकभन्दा प्रोटेस्टेन्ट, वेल्सभन्दा अंग्रेजी भाषा बोल्ने ठालू मानिन्थे । २० औं शताब्दीको भारतमा ‘देशभक्ति’ संविधानका मूल्य मान्यताका आधारमा परिभाषित भयो, न कि जन्म, रगत, भाषा र आस्थाका आधारमा ।


दोस्रो : संवैधानिक देशभक्ति धेरै तहमा सञ्चालित हुन्छ । राष्ट्रिय झन्डाको पूजाले मात्र तपाईंलाई ‘देशभक्त’ बनाउँदैन । तपाईंले आफ्ना छिमेकीसँग कसरी व्यवहार गर्नुहुन्छ ? आफ्ना राज्यलाई कसरी जोड्नुहुन्छ ? त्यसमा आधारित हुन्छ । अमेरिका धेरै नै ‘देशभक्त’ हरू भएको संसारकै एउटा ठूलो मुलुक हो । त्यहाँ प्रत्येक राज्यका आफ्नै झन्डा छन् । भारतमा पनि केही राज्यले यस्तो अभ्यास गरेका छन् । ‘देशभक्ति धेरै असंख्य तहमा सञ्चालित भइरहेको हुन्छ । बेंग्लोर साहित्य उत्सव (जो कर्पोरेट समूहको प्रायोजनबिना सञ्चालित हुन्छ) एउटा सभ्य ‘देशभक्ति’ दर्साउने नमुना स्थल हो । कर्नाटकमा रातो र पहेंलो झन्डा फैलाउनु प्रादेशिक राष्ट्रभक्तिको नमुना हो । भारतीय क्रिकेट टिमका लागि प्रसन्नता प्रकट गर्नु राष्ट्रिय ‘देशभक्ति’ को अर्को नमुना हो । त्यसैले ‘देशभक्ति’ एकभन्दा धेरै तहमा हुन सक्छ । गान्धी र टेगोरले वकालत गरेको ‘राष्ट्रभक्ति’ केन्द्रीकृत होइन, विकेन्द्रित शैलीको हो । र, यसले भारतलाई विविधतायुक्त र एकीकृत बनाइराख्न सहयोग गरेको छ ।


हेरौं त, अहिले स्पेनमा के भइरहेको छ ? क्याटलनहरूले त्यहाँ किन व्रिदोह गरे ? किनकि उनीहरूको स्वतन्त्रता, भाषा र संस्कृतिका लागि त्यहाँ कुनै स्थान दिइएन । त्यसैले केन्द्रीकृत खालको स्पेनी राज्य क्याटलनहरूको मागअनुसार स्वतन्त्रताका लागि जनमतसंग्रह गर्नुपर्ने अवस्थामा पुथ्यो । भारतीय मान्यताअनुसार स्पेन हिँडेको भए त्यहाँ त्यस्तो हुने थिएन । पाकिस्तानले बंगालीमाथि उर्दू नलादेको भए स्वतन्त्रताको छोटो समयमै देश टुक्रिने थिएन । त्यस्तै श्रीलंकाले तमिलहरूमाथि ‘सिंहाला’ नलादेको भए ३० वर्षसम्म जातीय हिंसा हुने थिएन ।


तेस्रो : ‘संवैधानिक देशभक्ति’ गान्धी र टेगोरजस्ता व्यक्तिहरूसँंग जोडिन पुग्छ । कुनै पनि राज्य, देश, धर्म, संस्कृति पूर्ण र दोषरहित हुँदैन । न भारत अमेरिकाभन्दा वा अमेरिका भारतभन्दा उन्नत छ । त्यस्तै न हिन्दु न क्रष्चियन न इस्लाम । धार्मिक र वैचारिक अतिवादीहरू भने कुन श्रेष्ठ हो भन्ने विचारको वकालत गर्छन् र कोही व्यक्ति नै पूर्ण सत्य हो भन्ने विश्वास गर्छन् ।


संविधानसभाको अन्तिम मन्तव्यमा भीम राव अम्बेडकरले भनेका थिए, “धर्ममा ‘भक्ति’, आत्माले मुक्ति पाउने बाटो हुन सक्छ तर राजनीतिमा ‘भक्ति’ भनेको अनुदार र अधिनायकवादतर्फ जाने बाटो हो ।” अम्बेडकरको चेतावनी भविष्य बताउने खालको थियो । नभन्दै इन्दिरा गान्धीका भक्तले उनीहरूको स्वतन्त्रता उनको खुट्टामा राखिदिए । गलत शासन अभ्यास भयो ।


र, अहिले मोदीका भक्तहरू हाम्रा वर्तमान प्रधानमन्त्रीको त्यसैगरी अन्धरूपमा ‘भक्ति’ गरिरहेका छन् । इन्दिरा गान्धीले एक पटक ठूलो गल्ती गरेकै थिइन् । अहिले मोदीले गरेको गल्ती म सम्झन चाहन्नँ ।

चौथो : ‘संवैधानिक देशभक्ति’ को अर्को शक्ति भनेको लज्जाबोध गर्ने क्षमता हो । हाम्रो राज्य र समाज असफल हुँदा त्यसलाई सुधार्ने इच्छाशक्ति हामीमा हुनैपर्छ । भारतीय संस्कृति र समाजमा महिला र दलितप्रति विभेद छ । असली राष्ट्रभक्तले यस्ता कुरामा लज्जाबोध गर्न सक्नुपर्छ । गान्धी, अम्बेडकर, नेहरू, कमलादेशी चटोपाध्यायले लज्जाबोध गरेका थिए । त्यसैका कारण हामीले हाम्रो संविधानमा जात र लैंगिक विभेदलाई उन्मूलन गराउन सक्यौं ।


पाँचांै : ‘संवैधानिक देशभक्ति’ को पाँचौं विशेषता भनेको अर्काको संस्कृति र देशबाट पाठ सिक्नु हो । भारतलाई माया गर्ने हो भने स्वीडेन र क्यानडाबाट के सिक्न सकिन्छ त्यो सोच्ने हो । सच्चा देशभक्तले स्थानीयतालाई प्राथमिकता दिँदै अन्यत्रका राम्रा कुरालाई अवलम्बन गर्ने हो ।

***


एउटा अत्यन्तै सुन्दर फिल्म ‘न्युटन’ मा एउटा पात्रले भन्छ, ‘ये देश धन्दा और झण्डा से चल्ता हे ।’ यो वाक्यले एउटा बुहलठ्ठीपूर्ण राष्ट्रवादको मर्मलाई साह्रै राम्ररी उजागर गर्न खोजेको छ । जसको अर्थ, एउटा मात्र झन्डाको पूजा गर्ने वा जसले आदेश मान्दैन त्यसलाई दु:ख दिने भन्ने हो । भारतमा यो खालको नयाँ राष्ट्रवाद देखा परेको छ । यो वास्तवमा न ‘देशभक्ति’ हो न त ‘राष्ट्रवाद’ हो । यो त ‘जिंगोइज्म’ अर्थात् ‘अन्धराष्ट्रवाद’ हो ।


शब्दकोशको परिभाषाअनुसार ‘जो व्यक्ति आफ्नो देशप्रति प्रेम गर्छ अर्थात्, जो देशको स्वतन्त्रता र अधिकारको पक्षमा रहन्छ र आफ्नो देशलाई निन्दा गर्ने र शत्रुहरूको विरुद्धमा रहन्छ’ त्यो ‘देशभक्त’ हो । अर्थात् पहिलो देशलाई प्रेम गर्ने, दोस्रो देशको स्वतन्त्रता र अधिकारको पक्ष लिने र तेस्रो शत्रु र निन्दा गर्नेहरूको विरुद्ध रहने, यी ‘देशभक्त’ हुन् ।


त्यस्तै ‘जो लडाइँका लागि देश तयारी अवस्थामा रहनुपर्छ या विदेशी शक्तिलाई समाप्त पार्ने नीतिको समर्थन गर्छ वा त्यसको पक्षमा वकालत गर्छ’ त्यो ‘जिंगोइस्ट अर्थात् अन्धराष्ट्रवादी हो । देशभक्तको भन्दा यसको ठीक उल्टो प्राथमिकता हुन्छ । जस्तो : पहिलो आफ्नो देशको महानताप्रति घमण्ड गर्छ, दोस्रो अरू देशप्रति हमला गर्ने कुराको वकालत गर्छ । अधिकार स्वतन्त्रता र देशप्रतिको प्रेमबारे कुरै गर्दैन ।


‘देशभक्ति’ र ‘अन्धराष्ट्रवाद’ राष्ट्रवादका दुई फरक प्रवृत्ति हुन् । राष्ट्रभक्तिले प्रेम र समझदारी दर्साउँछ । अन्तराष्ट्रभक्ति घृणा र बदलाबाट प्रभावित छ । ‘धन्दा और झन्डा’ अन्धराष्ट्रवादको एउटा प्रतिफल हो जसको भारतीय संस्करणलाई ‘हिन्दुत्व’ को नामले चिनिन्छ ।


‘राष्ट्रभक्ति’ का आधारभतू विशेषताहरू मैले माथि भनिसकें । अब ‘अन्धराष्ट्रवाद’ को आधारभूत विशेषता के हुन्छन् त ?


पहिलो, यसले एउटा धर्म, एउटा संस्कृति र राष्ट्र एवं नेताहरू पूर्ण र केही पनि गल्ती नगर्ने खालका हुन्छन् भन्ने मान्यता राख्छ । दोस्रो, आलोचकहरूलाई अराष्ट्रिय र राष्ट्रद्रोही ठान्छ । तेस्रो हिंसा गर्ने, आफ्ना आलोचकहरूलाई भिजिलान्ते सेना, अनुसन्धान एजेन्सीको प्रयोग गरेर धम्क्याउनेलगायतका काम पनि गर्छ ।


‘अन्धराष्ट्रवाद’ को प्रभाव अहिले किन बढ्दै छ त ? कट्टर हिन्दुवादीले किन धेरै समर्थक पाइरहेका छन् ? किन ‘टाइम्स नाउ’, ‘रिपब्लिक’, ‘आज तक’ र ‘जी न्युज’ का च्यानलले अन्यको भन्दा बढी दर्शक पाइरहेका छन् ? ‘अन्धराष्ट्रवाद’ फस्टाउनका चारवटा कारण छन् ।


पहिलो कारण : भारतीय वामपन्थीहरूले राष्ट्रिय परम्पराहरूमाथि वैरभाव राखे । धेरै राज्यहरूमा अहिले पनि भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादी शक्तिमा छ र यो एउटा महत्त्वपूर्ण राजनीतिक शक्ति पनि हो । तर भारतीय वामपन्थी ‘देशभक्तिविरुद्ध रहे । किनभने यिनले आफ्नो देशभन्दा अरूको देशलाई बढी प्रेम गरे । हाम्रा कम्युनिस्टहरू सोभियत संघजस्तो हुन तत्पर रहे, जबकि भारत छोडो आन्दोलनको विपक्षमा सोभियत संघ थियो । पछि भारतलाई भन्दा बढी चीनलाई प्रेम गर्न थाले । सन् १९६२ को चीनसँंगको सीमायुद्धमा आफ्नो मातृभूमिको पक्ष लिन इन्कार गरे, बरु त्यही समयमा नक्सलवादीहरू ‘चीनका अध्यक्ष हाम्रा पनि अध्यक्ष’ भन्दै विद्रोहमा लागे । जब सोभियत युनियन र चीनप्रतिको भ्रम टुटयो त्यसपछि उनीहरूको आस्था भियतनामतर्फ मोडियो । भियनामपछि क्युबा, अल्बानियातर्फ गयो ।


केही महिनाअघि मैले मजस्तै इतिहासमा चासो राख्ने भाकपा माक्र्सवादीका नेतालाई भटें । मैले उनलाई भनें, ‘किन तिमीहरू भगत सिंहको तस्बिर आफ्ना पार्टीका सम्मेलनहरूमा राख्दैनौ ?’ उनीहरूको सम्मेलनमा जहिले पनि चारवटा तस्बिर राखिएका हुन्छन् । । दुइटा जर्मन विद्वान् माक्र्स र एंगेल्स र दुई रुसी निरंकुश लेनिन र स्टालिन । ती भारतीय होइनन् र ज्युँदा पनि छैनन् । मैले ती इतिहासकारलाई भगत सिंहको तस्बिर राख्ने गर भनेर सुझाव दिएँ । ती इतिहासकारे भने, ‘म पार्टीको नेतृत्वलाई यो प्रस्ताव राखिदिउँला ।’ त्यसैले भारतीय वामपन्थीहरू नै ‘अन्धराष्ट्रवाद’ फस्टाउनुका मुख्य कारक हुन् ।


दोस्रो कारण : भारतीय कांग्रेसको भ्रष्टाचार हो । भारतीय स्वतन्त्रता आन्दोलनको नेतृत्व गरेको यो पार्टी एउटा परिवारको कब्जामा पुग्यो । जसरी वामपन्थीहरूले आफ्नो पहिचानको रूपमा केही विदेशी व्यक्तिहरूलाई लिए, त्यस्तै गल्ती कांग्रेसले पनि गर्‍यो । जब ‘यूपीए’ शक्तिमा थियो उसले जेसुकैको नामकरण नेहरू— गान्धीको नामबाट गर्दै गयो । हैदरावादको अन्तर्राष्ट्रिय विमानस्थल किन तेलगुका थ्यागराजा र आन्ध्रका टी प्रकाशम्को नाममा नामकरण नहुने ? किन राजीव गान्धीकै नाम चाहियो ? त्यस्तै मुम्बई सी लिङ्कमा त्यहाँकै कांग्रेसका ठूला व्यक्तित्व गोखले, तिलक, चावनजस्ता नभएर किन राजीव गान्धी नै चाहियो ? कांग्रेसको आन्दोलनमा अन्य धेरैको योगदान छ तर ती किन सम्झिइन्नन् ? काग्रेस नेहरू, इन्दिरा, राजीव, सोनिया र राहुलको सरोकारमा मात्र अल्झियो । दु:खका साथ भन्नुपर्छ, सोनिया र राहुलको कांग्रेसले शास्त्री, कमलादेवी चट्टोपाध्याय, जगजीवन राम, नरसिंह रावलगायत अन्य धेरैलाई आफ्नो ठानेन । कांग्रेसको भ्रष्ट र ‘चम्चागिरी’ संस्कृति लज्जास्पद छ ।


तेस्रो कारण : ‘अन्धराष्ट्रवाद’ फस्टाउनुको अर्को कारण विश्वव्यापी लहरसंँग पनि जोडिएको छ । ट्रम्प, ब्रेक्जिट, ली पेन, पुटिन आदिले जुन खालको घृणित मान्यता राख्छन् त्यो असली राष्ट्रवादभन्दा फरक छ । ‘अन्धराष्ट्रवाद’ लाई उत्साह थप्ने वातावरण बनेको छ । त्यसैले ‘हिन्दुत्व’ पनि उत्साहि भएको छ ।


चौथो कारण : ‘अन्धराष्ट्रवाद’ फस्टाउनुको अर्को कारण इस्लामिक अतिवादीहरूलाई हामीले मारिरहेको धाप पनि हो । पाकिस्तानी समाज धेरै अतिवादी बन्दै गएको छ । बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि हिंसा भइरहेको छ । बीजेपी र आरएसएस आफूलाई मात्र असली भारतीय र अरूलाई विदेशी ठान्छन् । इतिहासकारको हिसाबले म त हिन्दुवादीहरूलाई चाहिं असली विदेशी ठान्छु, किनभने उनीहरूको राष्ट्रवादभित्र एक धर्म, एक भाषा, एउटै दुस्मन भन्ने हुन्छ, जो १९ शताब्दीको युरोपबाट प्रभावित छ न कि गान्धीवादी मोडलबाट ।


हिन्दुत्वको मोडल योगी आदित्यनाथको उत्तरप्रदेशमा लागू भइरहेको छ । भारतमा मुसलमान र क्रिस्चियनहरूले अहिले मध्ययुगमा मध्यपूर्वको जस्तो अवस्था भोगिरहेका छन् । त्यहाँ नारा लगाउन थालिएको छ ‘यूपी मे रहेना हे तो योगी–योगी कहना पडेगा । यूपीमा रहेना हो त राम मन्दिर बनाना पडेगा । यूपीमा रहेना है तो गौ पूजा करना पडेगा ।’


यदि यूपीमा मुसलमानले हिन्दुहरूको धार्मिक, राजनीतिक र सामाजिक वर्चस्वलाई स्विकारे भने उनीहरूलाई झुन्डयाइने वा मारिने छैन । यदि उनीहरूले समान अधिकार मागे भने ?


हो अहिले भारतको ‘राष्ट्रवाद’ यो खालको छ, जो १९ औं शताब्दीको युरोप, पन्ध्रौं शताब्दीको टर्की, इरान र इराकसँग मिल्छ । त्यसैले वामपन्थीको गैरदेशभक्ति, कांग्रेसको परिवारवाद, विश्वव्यापी रूपमा बढेको अतिवादी धारले भारतमा अन्धराष्ट्रभक्तिलाई बढावा दिएको छ ।


तर यसको अर्थ हामी सबैले यसलाई पछयाउनुपर्छ भन्ने होइन । जो ‘संवैधानिक देशभक्ति’ मा विश्वास गर्छ, त्यसले एउटा मूल्य मान्यतामा बस्नैपर्छ । यदि हिदुत्ववादीहरूलाई बिनारोकतोक र कुनै चुनौती नदिईकन यत्तिकै छोडदियौं भने यिनीहरूले भारतलाई सांस्कृतिक र आर्थिक दुवै ढंगले ध्वस्त पार्नेछन् ।

त्यसैले अहिले भारतमा राजनीतिक र सैद्धान्तिक युद्ध ‘देशभक्ति’ र ‘अन्धराष्ट्रवाद’ बीच हुन पुगेको छ । तर यो युद्ध छोटो अवधिको हो । अहिले अन्धराष्ट्रवादहरू शक्तिमा छन् र उनीहरू आफ्नो विचार अरूमा लाद्न कोसिस गरिरहेका छन् । गान्धी, टेगोर, अम्बेडकरको जस्तो संवैधानिक देशभक्ति अवलम्बन गर्नेे पार्टी छैन अहिले । कम्युनिस्टहरू गान्धी, टेगोर छोडेर लेनिन र स्टालिनकै पछि दौडिइरहेकै छन् ।


कांग्रेसले आफ्नै पूर्वजलाई बिर्सेको छ । तर यो अभावमा पनि ‘देशभक्त’ हरूले असल मूल्य मान्यताका लागि संघर्ष गर्नुपर्छ । नागरिक हुनुको अर्थ प्रत्येक पाँंच वर्षमा भोट खसाल्नु मात्र होइन, बुहलवाद, लोकतन्त्र, भद्रता, अहिंसा हाम्रो हरेक दिनको दिनचर्या बन्नुपर्छ । इमान शक्तिका साथ हामी लाग्यौं भने ‘अन्धराष्ट्रवादी’ ले जित्ने छैनन् र गणतन्त्र बाँचिरहन सक्छ ।

अनुवाद: दुर्गा खनाल

प्रकाशित : फाल्गुन ५, २०७४ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?