फेरि आफ्नै कुरा 

अनुभुति
सम्झना वाग्ले भट्टराई

काठमाडौँ — कक्षा ११ पढ्दाको कुरा हो, दाइ र म काठमाडौं नयाँबजारमा कोठा गरेर बस्थ्यौं । दाइ र मेरो दुवैको बिहानीको कलेज । दाइ दिउँसो अफिस जान्थ्यो । भर्खरभर्खर आएको काठमाडौं बिरानो लाग्थ्यो । घुम्न जान पनि खासै ठाउँहरू चिनेको थिइन ।

कलेजकी एक साथी रश्मी (नाम परिवर्तन) सँग अलि घनिष्ठता थियो । ऊ पनि दाइसँग कोठामा बस्थी । उसको दाइ ट्रेकिङगाइडको काम गर्थे, प्राय: काठमाडौंबाहिर गइरहनुपर्ने । त्यसैले पनि ऊ मेरो कोठामा आइरहन्थी । कलेजका कुराहरू हुन्थे, पढाइका कुरा हुन्थे । भविष्यका कुरा हुन्थे । केही पढयो । केही कुराकानी गर्‍यो, खाजा बनायो खायो । दिनहरू यसरी नै बित्थे ।

Yamaha

मेरोमा कहिलेकाहीँ मेरा आफन्त दाइहरू पनि आउँथे । रमाइला कुराहरू गर्थे, । कहिले बाहिरबाट खाजा किनेर ल्याउँथे त कहिलेकाहीँ रेस्टुरेन्ट पनि लैजान्थे । दाइहरू आएको दिन रमाइलो हुन्थ्यो । दाइहरू पहिलेभन्दा झनै आत्मीय लाग्न थालेको थियो । हो उनै दाइहरूसँग त हो हामी कहिले नगरकोट त कहिले ककनीसम्म पुग्यौं । कलेज र कोठामा मात्र सीमित हाम्रा दिनहरू यसरी बाइकमा घुम्न पाउँदा कम्ता खुसी थिएनौं । उमेर पनि त त्यस्तै थियो ।

बिदा थियो सायद, रश्मी मेरोमा नआएको दुई तीन दिन भैसकेको थियो । कुनै सम्पर्क हुन सकेको थिएन । हामीसँग मोबाइल फोन पनि त थिएन । त्यसपछि जब कलेजमा ऊसँग भेट भयो, ऊ तर्किएर हिँड्न खोजी । जब पछयाउँदै गएर बोलाएँ उसको अनुहार बर्सिन लागेको आकाशजस्तो धुम्मिएको थियो । एकै छिनमा उसले भनी— अब म तिम्रोमा आउँदिन, हाम्रो ‘प्रेmन्डसिप’ पनि यहीँ ‘एन्ड’ गरिदिऊँ ।

ओई किन ? मैले सोधेँ । कताबाट आयो यो मित्रता टुंग्याउने कुरा अचानक ?

उसले कुनै जवाफ दिइनँ, तर उसको आँखाबाट आँसु बग्न सुरु भैसकेको थियो । मैले कारण बुझिनँ । मैले जानेर उसलाई केही नराम्रो त भनेकी त थिइनँ न गरेकी नै केही थिएँ । म पनि केही बोल्नै सकिनँ ।

म निराश हुन थालेकी थिएँ । मेरी मिल्ने साथी मसँग बोल्नै छाडेकी थिई । कोठामा दाइसँग पनि खासै कुरा हुन्थेन, त्यही पनि ऊ अफिसतिरै ‘बिजी’ हुन्थ्यो । धेरैजसो आइरहने आफन्त दाइहरू पनि आउन छाडेको धेरै भैसकेको थियो । म साँच्चै एक्लिन थालेकी थिएँ ।

त्यस्तैमा एक दिन आइरहनेमध्येको एक दाइले रश्मीको बारे सोध्यो । मैले आजभोलि खासै भेटघाट नहुने कुरो बताएँ । ‘ठीकै छ खासै संगत गर्नलायक केटी होइन त्यो,’ उसले भन्यो ।

‘किन र ?’ मैले सोधेँ ।

‘त्यसै,’ उसले थप केही भनेन ।

एक छिनपछि फेरि भन्यो त्यसलाई ‘........’ ले मन पराउँछ नि ।

यो ‘........’ ऊसँगै आइरहने मेरो अर्को आफन्त दाइ थियो । आफूभन्दा ठूलासँग, मन पराउने वा प्रेमजस्ता विषयसँग कुरा गर्न खासै आँट थिएन । मैले सुनिरहेँ ।

दाइले थप्यो, ‘तर उसले मलाई मन पराउँछे ।’

अनि तपाईंले नि ? मैले नसोचेरै सोधेँ ।

त्यस्तो छाडा केटीलाई कसले ‘लव’ गर्छ । देख्दिनस् जोसँग पनि कस्तो मस्केर बोल्छे । मैले त हाँसेर बोल्नेलाई प्रशंसा गरेको सुनेको छु । यिनै दाइहरूले पनि उसको हाँसेर बोल्ने बानीको खुबै प्रशंसा गरेका थिए कुनै दिन । तर आज त्यही हाँसोलाई लिएर ‘छाडा’ भनेको छ उसले । हो रश्मी हाँसेर बोल्छे, खुला छे तर दाइले भनेजस्तो छाडा थिइन मेरी साथी । मलाई त्यो दाइ कताकता नराम्रो लाग्यो । के लागेछ कुन्नि, ‘सरी है कान्छी,’ भन्दै दाइ गयो ।

मेरी साथीलाई नराम्रो भन्ने दाइसँग रिस उठ्यो । तर उसलाई मन पराउने दाइसँग कताकता झन् माया लागेर आयो । थाहा छैन किन हो कुन्नि मैले उनीहरूबीच मध्यस्थ बन्ने मनस्थिति बनाएँ ।

मैले सुनेको कुरा थियो मेरो आफन्त दाइ रश्मीलाई मन पराउँछ । र, मैले बुझेको यत्ति थियो मन पराउनु, प्रेम गर्नु अनि बिहे गर्नु । मैले सोधेँ, ‘दाइ के तपाईं रश्मीसँग बिहे गर्ने हो ?’ उसको उत्तर थियो— धत् कहाँ बिहेको कुरा गरेकी, ‘टाइमपास’ पो भनेको । उसले याचनाको लवजमा भन्यो— रश्मीलाई फकाइदेन कान्छी ।

म छक्क परेँ । दाइहरू मैले बुझेभन्दा फरक थिएँ । मन पराउनु प्रेम गर्नु भन्ने विषय पनि मैले बुझेभन्दा फरक नै थियो । अलिअलि छक्क परेँ । मैले नदेखेको, नसोचेको र मलाई अलि फोहोरी लाग्ने समाज मेरै वरिपरि रहेछ ।

पछि बिस्तारै रश्मीसँग पुन: मित्रता बढाएँ । कुरा गरेँ । उसले मेरा ती दाइहरूको कर्तुत बताई । साथीको दाइ तिम्रो पनि दाइजस्तै त हो नि भन्दै उनीहरूले ‘केसम्म गरे’ भन्ने बताई । दाइहरूको नियतबारे त पछिल्लो समय उनीहरूले नै बताइसकेका थिए । म स्तब्ध भएँ । मैले त्यसै वर्ष पढ्दै गरेको बसाइँ उपन्यासको पात्र रिकुटे मेरै आफन्ती दाइको रूपमा मसँगै थिएँ । र झुमा बन्दै थिई मेरी प्यारी साथी रश्मी ।
***
दुई वर्षअघिको एउटा कन्फरेन्समा मेरो पनि ‘पेपर प्रजेन्टेसन’ थियो । सहभागीहरूमा सिनियर प्रोफेसरहरू लगायत विविध विज्ञहरू पनि हुनुभएकाले अलि नर्भस भएँ कि जस्तो लागेको थियो । प्रेजेन्टेसन सकिएपछि एक सहभागीले मेरो कामको खुब प्रशंसा गरे । खुसी लाग्यो । ‘महिला सशक्तीकरण र वित्तमा महिलाको पहुँच’ विषय थियो । ‘कति समसामयिक विषय छान्नुभएको, प्रस्तुतीकरण पनि साँच्चै बेजोड थियो’, यस्तैयस्तै भन्दै थिए । उनी काठमाडौंकै कलेजमा पढाउने रहेछन्, मभन्दा केही सिनियर । केही कुराकानी भयो । मोबाइल नम्बर आदानप्रदान । रमाइलो नै लाग्यो । साँझमा फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो उनैको । एसेप्ट गरेँ ।

त्यसको केही दिनपछि तिनैले फोन गरे र मेरो एमफिल थेसिस मागे । इमेल गरिदिएँ । कहिलेकाहीँ कुरा हुन्थ्यो । पढाइका कुरा हुन्थे, कहिलेकाहीँ सामान्यबाहिरका पनि । केही समय पहिले काम विशेषले काठमाडौंबाहिर थिएँ । उसको फोन अनि मेसेन्जरमा म्यासेज निरन्तरजस्तै आउन थाल्यो । लेखिएका म्याजेसहरू कताकता भद्दा र द्विअर्थीजस्ता थिए । मलाई उसको नियतसँग शंका लाग्न थाल्यो ।

हाम्रो विषय एउटै थियो । फरकफरक कलेजमा भए पनि हामी एउटै विषय पढाउँथ्यौं । एकेडेमिक पेपरहरू केही मैले पनि मागेर पढेको थिएँ, केही पठाएको पनि थिएँ । र यो स्वाभाविक पनि लाग्थ्यो मलाई । त्यसपछिका उसका म्यासेजहरू यौन आग्रहले भरिएका हुन्थे ।

मैले उसका आग्रहलाई स्पष्ट शब्दमा नकारेको थिएँ । तर उसले प्रयोग गर्ने शब्दहरू ढिट र घिनलाग्दा हुँदै गएका थिए । केही समय सम्झाउने प्रयास गरेँ । एक दिन उसले भन्यो, ‘त्यो पेपर प्रेजेन्टेसनको दिन तपाईं यस्तो हाँसेर र खुलेर बोल्दै हुनुहुन्थ्यो कि मलाई त त्यही दिन भनेको भए पनि स्विकार्नुहुन्छ जस्तो लागेको थियो । अहिले किन यस्तो भाउ खोजेको, बिहे नै गरौं त भनेको छैन नि !’ उसको त्यस्तो भनाइपछि, ऊसँग बोल्नका लागि मसँग शब्द बाँकी रहेन । केही सीप नलागेपछि फेसबुकमा देखी उसको मोबाइल नम्बरसम्म ब्लक गर्न बाध्य भएँ ।
***
एउटा नाम चलेको आईएनजीओमा जागिरका लागि आवेदन खुल्यो । स्नातक पास मेरी साथीले पनि दरखास्त हाली । सुखद संयोग भनौं त्यस संस्थामा उसकै एक आफन्त केही माथिको तहमा जागिरे रहेछन् । हाम्रो लागि सायद यो स्वाभाविकै होला, ‘मैले पनि दरखास्त हालेकी छु, मिल्छ भने सपोर्ट गर्नुस् है भनिछ साथीले ।’ हुन्छ नि, जागिर भयो भने मलाई पनि सपोर्ट गर्नुपर्छ है भनेका रहेछन् उनले । भैहाल्छ नि, उसले खुसी र सहजताका साथ भनिछ ।

साथीको नाम निस्कियो । जागिर सुरु भयो पाँच वर्षका लागि । तलब राम्रो छ । तर काम सुरु भएको एक महिना जतिपछि नै त्यही आफन्तले यौनसम्पर्कका लागि दबाब दिँदै आएका छन् रे । पहिले हुन्छ भनेको होइन भन्ने गर्दा रहेछन् । ‘मलाई पनि सपोर्ट गर्नुपर्छ है,’ भन्नुको अन्तर्यमा यौन प्रस्ताव थियो भनेर कसरी बुझोस् उसले ? उनले पठाएका ‘टेक्स्ट’ हरू मैले पनि हेरेकी छु । एकाध पटक मोबाइलमा कुरो हुँदा ‘हयान्डस् फ्री’ गरेर कुराकानी पनि सुनेकी छु । उनी यति घिनलाग्दो र छाडा प्रस्तुत हुन्छन् कि, आवरणमा सौम्य र शान्त देखिने त्यो मान्छे कति क्रूर र घिनलाग्दो रहेछ, म अनुभव गर्न सक्छु ।

एक दिन यसो भने, ‘सबैसँग खुब मस्केर बोल्छेस् त, मसँग मात्र किन भाउ खोज्छेस् ।’ उसलाई कसले बुझाइदेओस् कि हाँसेर बोल्नु र कसैको यौन आग्रह चुपचाप स्विकार्नु एकै होइन भनेर । अहिले त उसको प्रस्ताव नस्विकार्ने भए कार्यसम्पादन सन्तोषजनक भएन भनेर जागिरबाट निकाल्छु भन्न थालेको छ रे । साथी भर्खर सुरु गरेको राम्रो तलबको जागिर न छोड्न सक्छे, न संस्थाको हाकिमको प्रस्ताव स्विकार्न नै । न वर्षौंदेखि त्यही संस्थामा कार्यरत हाकिमका विरुद्ध खुला रूपमा बोल्न सक्छे । कुनै ठोस सल्लाह दिन म पनि असमर्थ छु ।
***
यी तिनै प्रसंगमा हाँसेर (मस्केर ?) बोल्नुलाई चरित्र निर्धारणको एउटा मानक बनाएको पाएँ । म हाँसेर बोल्छु, यसको मतलब यो होइन कि, म कसैलाई यौनको निम्ति निम्त्याइरहेकी छु । कुनै पनि नारीलाई, हाँसेर बोल्ने खुला चरित्रका हुन वा नहुन, कुनै पनि प्रकारको दबाबमा यौनआग्रह राख्ने वा सोच्ने प्रवृत्ति बलात्कारी सोच हो । लेख्दै गर्दा मनमा गढेर बसेका केही पहिलेका हिन्दी/नेपाली सिनेमाहरूमा बलात्कारी पुरुषको चरित्रमा देखाइने भयंकरआवाज तथा डरलाग्दा अनुहारहरू र आफैंले भोग्नुपरेका शान्त र सौम्य देखिने केही पुरुषहरूका व्यवहारले ती नेपाली सिनेमाले मानक बनाएका चरित्रप्रति हाँसो उठ्छ ।

प्रकाशित, प्रसारित समाचारहरू, आफ्नै अनुभव तथा साथीहरूको भोगाइबाट महसुस हुँदै छ, यौन हिंसाका लागि डरलाग्दो काया होइन सौम्य कायाभित्र छिपेको हिंस्रक मनोविज्ञान झन् डरलाग्दो हुँदोरहेछ । त्यस्तै कुनै अपरिचित मात्र होइन घरभित्रैका वा नजिकका आफन्त, कार्यालयका सहकर्मी वा साथीभाइ पनि मौकाको खोजीमा रहेका प्रशस्त भेटिन्छन् । समाजमा राम्रा र प्रेरणादायी पुरुषहरू प्रशस्त छन् । यसमा व्यक्ति विशेषभन्दा पनि प्रवृत्ति निर्धारक हुनेरहेछ । तपाईंको कम्मरमा हात राखेर तपाईंसँग घुम्दै हिँडेको तपाईंको प्रेमी वा श्रीमान् अरू कुनै महिलाका लागि कस्तो छ ? तपाईंको सम्मानका लागि कुनै कसर नराख्ने तपाईंका दाजुभाइ अर्को कुनै युवतीलाई कत्तिको सम्मान गर्छन् ? यी पनि त्यत्तिकै महत्त्वपूर्ण कुरा रहेछन् । त्यसैले त केही समय अगाडि सरिता परियारले लेखेकी थिइन्, ‘कसरी मैले आत्मीय र प्यारो देख्ने बुबालाई मेरी भाउजू बाघ देख्नुहुन्छ ।’
***
केही समयदेखि पुरुषप्रधान समाजले महिलालाई हेर्ने दृष्टिकोण तथा व्यवहार र त्यसले महिलाको जीवनमा पारेका असरहरू सम्बन्धमा विशेषगरी आफ्नै अनुभूतिहरू लेख्दै आएकी छु ।

केही समयअगाडिको लेखमा विवाहित महिलाले जागिर र घर धान्न पर्दाको अप्ठ्यारा र कसरी खाँदाखाँदैको जागिर छोड्न पर्‍यो भन्नेबारेमा लेखेकी थिएँ । त्यस लेखको प्रतिक्रियामा केही साथीहरूले र धेरै अचिनारु महिला पाठकहरूले उनीहरूको आफ्नै कथाव्यथा लेखिदिएको प्रतिक्रिया दिनुभएको थियो । त्यस्तै केही लेखहरूमा मेरा बुबा दाइहरूले किशोरावस्थामा लगाएको अंकुशले जीवनका केही सपना तथा योजनाहरू कसरी तुहिए भन्ने उल्लेख गरेकी थिएँ । अधिकांश मेरा नजिकका आफन्तले लेखप्रति असन्तुष्टि देखाए, कतिले बोलेरै त कतिले नबोलेरै ।

यी कुनै पनि लेखको उद्देश्य कसैलाई व्यक्तिगत लाञ्छना लगाउनु थिएन, छैन । मलाई त पितृसत्ताको उपजको रूपमा विद्यमान महिलालाई अगाडि बढ्न नदिने संस्कार र सोचको आलोचना गर्नु र त्यसमा समयानुकूल परिवर्तनका लागि आवाज उठाउनु थियो, छ । यी लेखहरू व्यक्तिगतभन्दा पनि त्यो प्रवृत्तिको विरुद्ध हो, त्यो मान्यताको विरुद्ध हो, त्यो सामाजिक आस्थाको विरुद्ध हो जसले महिलालाई मान्छेको रूपमा स्विकार्न अझै अस्वीकार गरेको छ ।
wagle.samjhana@gmail.com

Esewa Pasal

प्रकाशित : फाल्गुन ५, २०७४ ०९:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

एउटा सहरको कथा

पुस्तक
सम्झना वाग्ले भट्टराई

काठमाडौँ — विसं २०६५ मा नयाँ बुहारीको रूपमा बन्दीपुर गएपछि मलाई सबैभन्दा प्रभावित पारेको कुरो थियो यहाँका कलात्मक घरहरू, बजारको सफाइ र यहाँबाट देखिने सुन्दर दृश्यहरू । ढुङ्गाको छाना भएका काठ र इँटाका घरहरू, मिलाएर ढुङ्गा छापिएको सफा बाटोमा परम्परागत जात्रामा झुमिरहेको बन्दीपुर देख्दा आदिम सभ्यतासँग साक्षात्कार भएझैँ लाग्थ्यो । भदौको सुरुदेखि नै जब खेतीको कामबाट अलिकति फुर्सद मिल्न थाल्छ, दैनिकजस्तै हुने जात्राहरूमा विविध बाजाका साथमा झुल्न थाल्छन् बन्दीपुरेहरू । र बन्दीपुर यिनै कुराहरू नै आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणका केन्द्र बन्छन् ।

घुमीफिरी बन्दीपुरलेखक : चीजकुमार श्रेष्ठ प्रकाशक : फिनिक्स बुक्समूल्य : रू. ३९५/–

विसं २०६५ मा नयाँ बुहारीको रूपमा बन्दीपुर गएपछि मलाई सबैभन्दा प्रभावित पारेको कुरो थियो यहाँका कलात्मक घरहरू, बजारको सफाइ र यहाँबाट देखिने सुन्दर दृश्यहरू । ढुङ्गाको छाना भएका काठ र इँटाका घरहरू, मिलाएर ढुङ्गा छापिएको सफा बाटोमा परम्परागत जात्रामा झुमिरहेको बन्दीपुर देख्दा आदिम सभ्यतासँग साक्षात्कार भएझैँ लाग्थ्यो । भदौको सुरुदेखि नै जब खेतीको कामबाट अलिकति फुर्सद मिल्न थाल्छ, दैनिकजस्तै हुने जात्राहरूमा विविध बाजाका साथमा झुल्न थाल्छन् बन्दीपुरेहरू । र बन्दीपुर यिनै कुराहरू नै आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणका
केन्द्र बन्छन् ।
सुन्दर वन्दीपुरको यस्तै मेला, पर्वहरू र विशेषगरी नयाँ वर्ष (वैशाख १) को समयमा प्राय: सधैँजसो एक अनुहारमा मेरो दृष्टि पथ्र्यो । मान्छेहरूको भीडमा एक सानो कद, सौम्य अनुहार, तिलचामले कपाल, हेर्दैमा उच्च व्यक्तित्वको जस्तो लाग्ने व्यक्ति हातमा क्यामेरा बोकेर यताउता गरिरहको देख्थेँ । तीन–चारपटक त्यस्तै अवसरमा त्यस्तै अवस्थामा देखेपछि उनको बारे जिज्ञासा राखेको थिएँ । ‘अकेला सर, चीजकुमार अकेला, वल्र्ड एजुकेसनका डाइरेक्टर हुन्, पहिले यहीँको हाइस्कुलको हेडसर थिए रे’ भन्ने उत्तर पाएँ । पछि कुनै बेला घरमा भएका पुराना पुस्तकहरूको चाङमा ‘बन्दीपुरे उकाली’ नामका साना पुस्तिकाको दुई अङ्क पाएको थिएँ । दुवै अङ्कमा अकेला सरको बारे ससम्मान सामग्री लेखिएको थियो । बन्दीपुरको शिक्षामा उनको योगदानबारे उल्लेख गरिएको थियो ।
इतिहासको कुनै कालखण्डमा भोटका व्यापारीहरू बन्दीपुरको बाटो हुँदै भारतसम्म व्यापारका लागि जान्थे । भोटदेखि भारतसम्मको लामो व्यापारिक यात्रामा व्यापारीहरूको बिसौनीको रूपमा रहेको बन्दीपुर आफैंमा व्यापारिक केन्द्रको रूपमा स्थापित हुँदै थियो । आजभन्दा झन्डै ५० वर्ष पहिलेसम्म त बन्दीपुरतनहुँ जिल्लाको सदरमुकाम थियो । तर पृथ्वी राजमार्गको निर्माणसँगै २०२५ सालमा तनहुँ जिल्लाको सदरमुकाम दमौली सारियो । व्यापारीहरू पनि सदरमुकामका साथै राजमार्गको छेउछाउमा केन्द्रित हुन थाले । जिल्लाको प्रशासनिक केन्द्र र व्यापारीहरूबाट परित्यक्त बन्दीपुर त्यसैत्यसै उदास र मृतप्राय: बन्दै गयो । झन्डै २० वर्षसम्म बन्दीपुर सायद ‘शीत निद्रा’ मा थियो । तर अहिले बन्दीपुर ‘फिनिक्स’ जस्तै बौरिएको छ । यसरी मृतप्राय: बन्दीपुर फेरि गुल्जार बनाउन अरू केहीसँगै चीजकुमार श्रेष्ठको भूमिका केन्द्रीय थियो भन्ने कुरा बन्दीपुरबारे जानकार कसैले नकार्न सक्दैन ।
हो, उनै चीजकुमार श्रेष्ठको पुस्तक ‘घुमीफिरी बन्दीपुर’ बजारमा आएको छ । पुस्तकमा केदारभक्त माथेमाले चीज सरको ‘आत्मकथा’ का बारे भूमिका लेखेका छन् । २८ वटा उपशीर्षकहरूमा लेखिएको पुस्तकमा लेखकका विभिन्न कार्यअनुभव, पारिवारिक वर्णन र अधिकांश त मृतसहर भैसकेको बन्दीपुर पुन: कसरी बौरियो भन्नेबारे उल्लेख छ ।
चीजकुमार श्रेष्ठको बारेमा बन्दीपुरेलाई सोध्दा अधिकांशले बन्दीपुरको हाइस्कुल भानु माविको पहिलेका हेडसरको रूपमा लिँदा रहेछन् । यस तथ्यलाई उनले पनि पुस्तकमा प्रशस्त उल्लेख गरेका छन् । पाँच दशकभन्दा लामो जागिरे जीवनमा सबैभन्दा सन्तुष्ट शिक्षक रहेको कालखण्डमा नै रहेको उल्लेख गरेका छन् । जीवनको ठूलो कालखण्ड शिक्षा क्षेत्रमा बिताएका श्रेष्ठले आफ्नो पुस्तकका केही पेजहरू नेपाली शिक्षा प्रणालीको आलोचना र सुझावका लागि खर्चिएका छन् । तारतम्य नमिलेको शिक्षा, शिक्षा किन रोजगारमूलक हुन सकेन, शिक्षाको दुइटा स्तर, पाठ्यक्रम र नीति कार्यान्वयनमा कमजोरी, मध्यमकोटीको शिक्षाको परिणाम र विद्यार्थी किन फेल हुन्छन्जस्ता उपशीर्षकहरूमा नेपाली शिक्षा प्रणालीको कमजोरी औंल्याउनुको साथै सुधारका लागि सुझाव पनि प्रस्तुत गरिएको छ । गरिबीको दुष्चक्रबाट माथि आउन व्यावहारिक र जीवनोपयोगी शिक्षाको आवश्यकताबारे लेखकले पुस्तकामा चर्चा गरेका छन् ।
पुस्तकमा आक्रोश पनि छ । आम मानिसले जस्तै नेपालको राजनीति, नेताहरू अनि नेपालको सार्वजनिक प्रशासन र उनीहरूको भ्रष्टाचारी प्रवृत्तिप्रति उनले आक्रोश पोखेका छन् । विश्वका विविध देशहरू घुमेको अनुभव बाँडेका श्रेष्ठको इन्डिया अनुभव भने राम्रो रहेनछ । देशविदेशको अनुभव सँगालिसकेका लेखकको इन्डिया अनुभवले हाम्रो दक्षिणी छिमेकीको हामीप्रतिको व्यवहारले मन कुँड्याउँछ ।
पुस्तकमा कमजोरी नभएको होइन । लेखकले सुरुआतमै स्विकारेझैं कतिपय घटना सन्दर्भहरू समयरेखामा नमिलेझैं लाग्छ । कुनै विषय झ्वाट्ट र अप्रासङ्गिकझैं आएर त्यसै हराएर गएका छन् । केही व्याकरणिक गल्ती तथा केही प्रसङ्ग दोहोरिएका पनि छन् । यस्ता कमजोरीलाई अर्को संस्करणमा सच्याउन सकिन्छ । र अर्को कुरा पुस्तकमा बन्दीपुरलाई झन्डै बजार सेरोफेरोमा मात्र सीमित पारिएको छ । समग्र बन्दीपुरवरिपरिका गाउँहरूलाई समेटिएको भए अझ उत्तम हुन्थ्यो । किनकि बन्दीपुरको समृद्धि वरिपरिका गाउँहरूसँगै जोडिएर मात्र दिगो हुन्छ । पुस्तकमा नसमेटिए पनि समृद्ध बन्दीपुरका लागि बन्ने कुनै पनि योजनामा पेरिफेरीका गाउँहरू छुट्नु हुँदैन ।
अनियन्त्रित बसाइसराइँ नेपालको समस्या बन्दै गएको छ । यस्तो प्रवृत्तिले तराई र केही सहरी क्षेत्रमा जनघनत्व थेगिनसक्नु भएको छ भने अधिकांश पुराना पहाडी बस्तीहरू सुनसान र मृतप्राय: भएका छन् । यसको समाधानका लागि बन्दीपुर पुनरुत्थान अभियान एउटा मोडल हुन सक्छ । यसैबाट प्रेरित भई नेपाल उद्योग वाणिज्य महासंघका पहिलेका अध्यक्ष कुशकुमार जोशीलगायतले लेखकसँग अनुभव सेयर गरेका कुरा पुस्तकमा उल्लेख छ । पुस्तकमा बन्दीपुर र शिक्षा मात्र होइन राजनीति, समाज र यसभित्रका विविध पाटोलाई पनि समेटिएको छ ।
लेखकले जीवन संयोगहरूको संग्रह हो भनेका छन् । उनले उल्लेख गरेका जीवनका संयोगहरूलाई सामान्य मान्छेको आँखाबाट हेर्दा लेखकको जीवनमा सुखद संयोगको बाहुल्य बढी भेटिन्छ । झन्डै ३०० पृष्ठको पुस्तक एकै बसाइमा पढिसकेपछि निर्धक्क
लेख्न सकिन्छ, लेखन सलल्ल बगेको छ, विषयहरू रोचक र शिक्षाप्रद छन् । त्यसैले पनि बन्दीपुरवासी र बन्दीपुरसँग प्रत्यक्ष सरोकार राख्नेलाई त पुस्तक चासोको विषय भयो नै, खण्डहर बन्दै गएका पहाडी गाउँहरूको पुनर्निर्माणमा रुचि राख्ने जो कोहीलाई ‘घुमीफिरी बन्दीपुर’ रोचक, शिक्षाप्रद र उपयोगी लाग्नेछ ।
त्यसो त पछिल्ला केही वर्ष नेपाली बजारमा आत्मकथाका रूपमा स्वमाहात्म्यहरूको बाढी नै आएको छ । यस्ता आत्मकथाहरूमा यो देश मात्र होइन सारा प्राकृतिक चक्र नै उनीहरूको इसारामा चलेको जस्ता कथाहरू पढ्न पाइन्छ । तर चीज सरको ‘घुमीफिरी बन्दीपुर’ पढ्दा कत्ति पनि त्यस्तो लाग्दैन । पुस्तकमा लेखकले विनम्रतापूर्वक आफ्नो माहात्म्य गाएका छैनन् । यस अर्थमा पनि बजारमा आएका आत्मकथाहरूको भीडमा ‘घुमीफिरी बन्दीपुर’ पृथक् छ ।
र अन्त्यमा, आम बन्दीपुरेका साथै विशेषगरी पिछडिएका समुदाय र बालवालिकाको शिक्षामा निरन्तर योगदान दिने तथा आदिम सभ्यताको झझल्को दिने समृद्ध संस्कृतिलाई जोगाइराख्न चीज सरले पुर्‍याएको योगदानप्रति नमन् ।
wagle.samjhana@gmail.com

प्रकाशित : पुस ८, २०७४ १०:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT