ब्राजाकीका दुई गजल
काठमाडौँ — बिर्सिएछु भन्न पनि पाइँदैन ।
यस्तो जाबो माया अब लाइँदैन ।
भोकसित साटिएको जुठोपुरा,
अबदेखि मीठो मानी खाइँदैन ।
बिदाइमा रमाउन थालेको छु,
भेट हुँदा स्वागतगान गाइँदैन ।
यौटा कुरा भनुँभन्दा जीवन बित्यो,
त्यही बित्या जीवन फेरि चाहिँदैन ।
एकचोटि जन्मेपछि पुगिहाल्यो,
बाराम्बार मर्न अब आइँदैन ।
***
स्वास्नीलाई बेश्या भन्ने लोग्ने को हो ?
जन्म दिने तिम्रो आमा भोग्ने को हो ?
लोग्नेमान्छे, स्वास्नीमान्छे दुवै मान्छे,
स्वास्नीलाई मान्छे हुन रोक्ने को हो ?
नारीको घर भनिँदैन, मानिँदैन,
वेदवाक्य ‘जायेदस्तम्’ घोक्ने को हो ?
घर भन्ने खोरभित्र हुर्काएर,
आँसु, पसिना र रगत धोक्ने को हो ?
भोग्या ठानी छोरीलाई दान गरी,
भोग्नेलाई ढुंगोसरि ढोग्ने को हो ?
(पहिलो पटक यहाँ प्रकाशित यी गजल ब्राजाकीले निधन हुनुभन्दा चार महिनाअघि लेखेका थिए ।)