हिमाली कोशको अन्तिम पाना 

सम्झना
हली नेपाललाई तिर्न नसकिने गुन लगाएर यो संसारबाट बिदा भएकी छन् ।
गणेश गुरुङ

काठमाडौँ — हिमाली राज्य भनिए पनि नेपालका हिमालबारे जति ज्ञान स्वर्गीय अमेरिकी नागरिक मिस इलिजाबेथ एन हलीसँग थियो त्यति सायदै हाम्रो राज्य संयन्त्रसँग थियो र छ । अमेरिकाको सिकागोमा सन् १९२३ नोभेम्बरमा जन्मिएर गत माघ ११ गते ९५ वर्षको उमेरमा काठमाडौंमा इहलीला समाप्त गरेकी एलिजाबेथ हली नेपालकी एक असाधारण मित्र थिइन्, जो अविच्छिन्न रूपमा नेपालको हिमाली र पर्वतारोहणका क्षेत्रमा झन्डै आधा शताब्दी योगदान गरिन् तर प्रशंसा र पुरस्कारको अपेक्षाबिनै ।

हिमाली कोशको अन्तिम पाना 

१९५९ मा अमेरिकाको मिसिगन विश्वविद्यालयबाट स्नातक गरेकी हली नेपालमा सेवा गर्न आउनु र आफूलाई यही भूगोलमा समर्पित गर्नु नेपालका लागि सुखद संयोग साबित थियो । एक अमेरिकी पत्रकारका रूपमा १९५९ मा नेपाल आएकी मिस हली अन्नत: नेपालको हिमाल आरोहणको वास्तविक अभिलेख संग्रहकर्ता वा बृहत् ज्ञानकोशका रूपमा स्थापित भएर बिदा भइन् । उनको निधनले नेपालको पर्वतारोहणको क्षेत्रमा अतुलनीय क्षति त पुगेको छ नै उनको योगदान र संस्मरणलाई जीवन्त राख्ने चुनौती पनि हामीसामु खडा छ । झन्डै पाँच दशकको नेपाल बसाइमा उनले केही ऐतिहासिक काम गरिन् जसले उनलाई भौतिक शरीर नरहँदा समेत जीवन्त राखेको छ ।


पत्रकारको रूपमा नेपाल आएकी मिस हली पहिलो पटक एक वर्षमै अमेरिका फर्किइन् तर लगत्तै पुन: नेपाल आइन् कहिल्यै नफर्किने र नेपाललाई नै आजीवन कर्मथलो बनाउने गरी । नेपालको प्रकृति र माटोको सुवासले हलीलाई यति लोभ्यायो कि उनी यहँँबाट फर्किनै सकिनन् । नेपाली मात्र होइन सारा विश्वले हलीलाई सम्झनुपर्ने मुख्य दुई कारण छन् । पहिलो र सबैभन्दा महत्त्वपुर्ण योगदान उनले नेपाली हिमालको क्षेत्रमा दिएकी छन् । हलीले नेपाली हिमालको डाटाबेस तयार गरेकी थिइन् । उनीसँग यस्तो ज्ञान र तथ्यांकको भण्डार थियो जुन तथ्यांक सरकारी वा आधिकारिक निकायसँग पनि उपलब्ध छैनन् । उनलाई चिन्नेहरूका अनुसार नेपालको पर्यटन मन्त्रालय, विभाग र नेपाल पर्यटन बोर्डसँग नभएका तथ्यांक हलीसँग उपलब्ध रहेको बताउँछन् । नेपालको कुन हिमाल कसले, कहिले, कति समयमा आरोहण गरेको हो भन्ने पूर्ण तथ्यांक हलीको संकलनमा छ । अर्थात्, उनी नेपाली हिमाल आरोहणको रेकर्डकिपरका रूपमा रहिन् । अर्को शब्दमा भन्दा उनी नेपाली हिमाल र पर्वतारोहणका क्षेत्रमा इन्साइक्लोपेडिया नै थिइन् । र प्रकारान्तरले नेपालको पर्वतारोहणबारे सूचनाको प्राधिकार थिइन् । यही सूचनाका भण्डारले नै हिमाल आरोहणका विभिन्न विषयमा विश्वभरका सञ्चार माध्यमले उनलाई आधार बनाएर निकै धेरै समाचार पस्किरहे ।

दोस्रो योगदानमा पत्रकारका रूपमा हलीले नेपाललाई विश्वभर चिनाइन् सधैं तटस्थता कायम राखेर । जीवनको उत्तराद्र्धसम्म पनि हली नेपालबाहिरका समाचार संस्थाका लागि संवाददाताको भूमिकामा थिइन् । नेपालमा बसेर आधा दशकसम्म तटस्थ कलम चलाउने विदेशी तर सधैं तटस्थ पत्रकार हली मात्र हुन् भन्दा अतिशयोक्ति हुँदैन । झन्डै ५० वर्षसम्म पत्रकारको रूपमा तटस्थता कायम राखेर दुर्लभ उदाहरण दिएकी मिस हलीले नेपालको पर्वतारोहणको क्षेत्रमा सधैं सामान्य प्रोफाइलमा बसेर असाधारण काम गरिन् र नेपाललाई ठूलो गुन लगाइन् । नेपालमा भए गरेका घटनाहरूको प्रत्क्षयदर्शीका नाताले उनले तटस्थ रूपमा, विवादरहित र अनावश्यक चर्चामा नरहीकनै समाचार सम्प्रेषण गरिन् । उनका समकक्षीको तुलनामा धेरै लेखेकी हली चर्चामा भने कहिल्यै पनि आउन चाहिनन् । दरबार हत्याकाण्ड, विनाशकारी भूकम्प वा अन्य यस्ता महत्त्वपूर्ण सामाजिक र राजनीतिक परिघटनाको साक्षी बनेकी हलीले कुनै राष्ट्रवादी नेपालीकै स्तरमा विश्वलाई सूचना प्रवाह गरिन् तर कुनै पक्षधरताको गन्ध कहिल्यै आउन दिइनन् । नेपालमा विगत आधा दशकको अवधिमा भएका उतारचढावकी एक दुर्लभ विदेशी साक्षी पनि हुन् मिस हली । ज्ञानको भण्डार भए पनि उनले यसलाई चर्चा वा विवादका लागि भने कहिल्यै प्रयोग गरिनन् ।


आजीवन अविवाहित रहेकी हली दृढ र एक उच्च आत्ममनोबल भएकी महिला थिइन् । उनको परिवारका निकटवर्तीका अनुसार हली १९५७ मा विश्व भ्रमणमा निस्केकी थिइन् । उनले खाडी क्षेत्र र केही द्वन्द्वग्रस्त देशहरूको भ्रमण एक्लै गरिन् । हली आफूले चाहेको काम गर्नैपर्ने दृढ र कटिबद्ध स्वभावकी महिला थिइन् । नेपालको हिमालबारे उनले गरेको अध्ययन यसैको उदाहरण हो । नेपालमा रहँदाको पूरापूर समय हलीले काठमाडौं डिल्लीबजारस्थित एक भण्डारी परिवारका एक घरधनीकहाँ डेरा लिएर बसिन् र कहिल्यै पनि डेरा बदलिनन् । उनको दृढता निरन्तर ४८ वर्षसम्म एउटै पेसामा रहनुले पनि थप पुष्टि गर्छ । उल्लेख्य र रोचक कुरा हलीले ४८ वर्षसम्म एउटै सवारी साधनबाटै काम चलाइन् । सुरुमा नेपाल आउँदा आफैंले हाँक्ने गरेको भक्सवागन गाडी उनको आजीवन साथी रहयो र जीवनको अन्त्यका केही वर्ष मात्र उनले एक सवारी चालक राखेकी थिइन् । यतिसम्म थियो कि पर्यटन, पर्वतारोहणका क्षेत्रमा सरोकार राख्नेहरूले मिस हलीलाई उनको भक्सवागन गाडीकै कारण पनि पहिचान गर्न सक्थे । मिस हली र भक्सवागन गाडी एकआपसमा परिपूरक भएर रहे । सगरमाथा आरोही पिटर मोरका अनुसार मिस हलीले चढेको उक्त भक्सवागन गाडी इटालीको एक संग्रहालयमा राख्ने प्रयास भइरहेको छ । साथसाथै हलीले नेपाल बसाइको पूरा समयसम्म एउटै टेबल प्रयोग गरिन् । उनले प्रयोग गरेको सो टेबल अब सोलुको एक संग्रहालयमा राखिने प्रक्रियाको पनि थालनी हँुदै छ । आफूले थालेको काम दृढ र गम्भीर भएर गर्ने तर प्रशंसा र पुरस्कार भनेपछि कोसौं टाढा भाग्ने अद्भुत स्वभावकी व्यक्तित्व थिइन् हली । जुन अहिलेको वैश्य युगमा दुर्लभ कुरा हो ।


मिस हलीले दिएको योगदानको कदर गर्दै एक सरकारी सुझाव समितिले कान्जिरोवा हिमालछेउको एउटा चुचुरोलाई मिस एलिजाबेथ एन हली पिक नामकरण गर्न आङछिरिङ शेर्पा नेतृवको कार्यदलले सिफारिस गर्दा उनले प्रस्ताव अस्वीकार गर्दै, ‘दिस इज ए जोक ‘अर्थात् ‘यो त मजाक भयो’ भन्ने जवाफ दिएकी थिइन् । उनले सो समितिलाई हिमालको नाम स्थानीय भूगोल, संस्कृति र लवजका आधारमा राख्न सुझाव दिएकी थिइन् । तर, सरकारले उनको कदरस्वरूप सन् २०१३ मा उक्त ६१८२ मिटर उचाइको चुचुरोलाई पिक हली नामकरण गरेको छ । साथै, नेपाल पर्वतारोहण संघले हलीलाई उनको सम्मानस्वरूप डा. हर्क गुरुङ पर्वतारोहण अवार्ड प्रदान गरेको थियो ।


अन्त्यमा, हली नेपाललाई तिर्न नसकिने गुन लगाएर यो संसारबाट बिदा भएकी छन् । उनको निधनसँगै नेपालले हिमाल, पर्वतारोहण र हिमाली पर्यावरणका क्षेत्रमा काम गर्ने एक असल योद्धा गुमाएको छ । उनको निधनले नेपालको पर्वतारोहणका क्षेत्रमा गहिरो खाडल अनुभूति भैसकेको छ जुन अपूरणीय देखिन्छ । अवको चुनौती भनेको हलीले तयार पारेको हिमालयन डाटाबेसलाई कसरी निरन्तरता दिने भन्ने हो । नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्डजस्ता संस्थाले हिमालयन डाटाबेसलाई निरन्तरता दिने प्रयास गरे मात्र पनि मिस हलीप्रति सच्चा श्रद्धाञ्जली हुने थियो । अलविदा एलिजावेथ एन हली, तिम्रो आत्माले चिरशान्ति पाओस् ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?