१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

साम्यवादी नजरमा नेपालको इतिहास

समीक्षा
डा.महेशराज पन्त

काठमाडौँ — पुष्पलालले लेख्न थालेको नेपालको इतिहासमा तथ्यमा गल्ती सितिमिति भेट्टिँदैनन् । तर पछिल्ला नेपाली साम्यवादीहरूले विदेशी माक्र्सवादी ऐतिहासिकहरूको परोक्ष वा प्रत्यक्ष प्रभावमा लेखेका नेपालको इतिहासका पुस्तक विद्वज्जनग्राह्य छैनन् । 

साम्यवादी नजरमा नेपालको इतिहास

नेपालमा इतिहासको गहिरो अध्ययन–अध्यापन पहिलेदेखि नै हुँदैनथ्यो भन्ने कुरा इतिहासको रूपमा लेखिएका वंशावलीहरूमा घटनाक्रम आनकोतान परेकोबाट थाहा हुन्छ । दन्त्यकथा र वास्तव घटनाको घोलमेल गरी लेखिएको वंशावली नै इतिहासको नाउँले प्रसिद्ध थियो । इतिहासतर्फ हामी यतिसम्म नि:स्पृह छौँ कि, हामी आफ्ना बाबुबाजेको विषयमा समेत खास कुरा जान्दैनौँ । यसैले, ऐतिहासिकशिरोमणि बाबुराम आचार्य (वि.सं. १९४४–२०२९) भन्ने गर्थे, जागीर खान ३ पुस्ते नाउँ लेख्न नपर्ने भए हामीमध्ये धेरैलाई आफ्नो बाजेको नाउँसुद्धा थाहा हुँदैनथ्यो ।


इतिहासको नाउँमा अज्ञानवश कल्पित घटना प्रचारमा आउने गरेको पनि विवश भएर कहिलेकहीँ सुन्नु र हेर्नुपर्छ । केही दिनअगाडिको मात्र कुरा हो, म बेलुकीपख एउटा पत्रिकापसलमा पत्रपत्रिका किन्दै थिएँ । एक जना तरुना मान्छे नेपालको वर्तमान राजनीतिको अवस्थामा असन्तुष्टि व्यक्त गर्दै व्याख्यान गरिरहेका थिए । कैलासपर्वतमा जानको लागि कूत लिइने ठाउँ भएकोले दरबारको नाउँ कैलासकूट रहयो भनी उनले भनेको सुन्दा इतिहासको कतिसम्म गलत व्याख्या हुँदो रहेछ भन्ने मलाई लाग्यो ।


भारतमा अङ्ग्रेजी शिक्षा चलेपछि पाश्चात्त्य ढङ्गले इतिहासको पठन–पाठन शुरू भयो । विभिन्न सिद्धान्तको आधारमा इतिहासको व्याख्या गर्ने परम्पराअनुरूप पछि पछि भारतीय इतिहासको व्याख्या माक्र्सवादको दृष्टिले पनि गर्ने प्रथा बस्यो र अहिले भारतमा माक्र्सवादी दृष्टिले लेखिएका इतिहासको रासै छ । यस्ता माक्र्सवादी ऐतिहासिकहरूमा दामोदर धर्मानन्द कोसाम्बी (वि.सं. १९६४–२०२३) को नाउँ अग्रगण्य छ ।


भारतीय माक्र्सवादी ऐतिहासिकहरूको सिको गर्ने प्रवृत्ति नेपालमा पनि पछिपछि हुन थाल्यो । यसको शुरूवात नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल (वि.सं. १९८१–२०३५) बाट भयो । उनले लेख्न थालेको नेपालको इतिहाससम्बन्धी पुस्तकको लेखिसकेको जति अंश अङ्ग्रेजी नेपाली दुवै भाषामा प्रकाशित छ (‘हिस्टर्इक्ल् नोट्स्’, पुष्पलाल मेमोर्इअल फाउन्डेशन, काठमाडौँ, ई.सं. २०१० मा छापिएको ‘अ नीड् फर् द हिस्टर्इक्ल् सर्भे अफ् द नेपालीज् ससाइइटि’, १–११ पृ. र ‘नेपाली समाजको ऐतिहासिक सर्वेक्षणको आवश्यकता’, ‘नवयुग’ २० वर्ष ९ अङ्क, २०६७, १०३–१०७ पृ.) । त्यो पढ्दा उनले नेपालको इतिहासको परिशीलन राम्रोसँग गर्न थालेको देखिन्छ । यसैले, पुष्पलालले लेख्न थालेको नेपालको इतिहासमा तथ्यमा गल्ती सितिमिति भेट्टिँदैनन् । तर पछिल्ला नेपाली साम्यवादीहरूले विदेशी माक्र्सवादी ऐतिहासिकहरूको परोक्ष वा प्रत्यक्ष प्रभावमा लेखेका नेपालको इतिहासका पुस्तक, सक्कललाई नक्कलले नभेट्टाउने हुनाले ‘ब्रेक्इङ् इन्डिअ’ (राजीव मलहोत्रा र अरविन्दन् नीलकन्दन्, ४ आवृत्ति, एम्अर्इलिस, नयाँ दिल्ली, ई.सं. २०१२) को दाँजोमा ‘ब्रेक्इङ् नेपाल्’ (सौरभको ‘प्रेल्यूड्’ सहित सुजित मैनाली, हामी पब्लिकेशन्ज, काठमाडौँ, ई.सं. २०१७) को रचना ज्यादै फितलो भए जस्तै, विद्वज्जनग्राह्य छैनन् ।

पोहर फागुनदेखि यस पाला मङ्सीरभित्र निस्केका, साम्यवादीहरूले लेखेका, माक्र्सवादी दृष्टिले लेखिएका वा नेपालको इतिहास छोएर लेखिएका ४ वटा किताब मेरो यस लेखको विषयवस्तु हो । अहिले म उनीहरूले गरेको इतिहासको व्याख्यातर्फ जान्नँ । खालि, ती किताबमा अतथ्य नै तथ्यको रूपमा प्रस्तुत विषयमा मात्र लेख्छु । दैनिक पत्रिकामा छापिने मेरो यस लेखमा ४ वटै पुस्तकमा परेका सबै गल्तीको विषयमा लेख्न त सकिँदैन, स्थालीपुलाकन्यायले लेखी चित्त बुझाउनुपरेको छ ।


छापिएको कालक्रमको हिसाबले पहिलो पुस्तक लोककृष्ण भट्टराई (वि.सं. २०१२ मा जन्म) को ‘नेपाली सभ्यता : विगत र वर्तमान— लोकतान्त्रिक आन्दोलन र विकास मोडल’ (विद्यार्थी पुस्तकभण्डार, काठमाडौँ, २०७३), दोस्रो, लक्ष्मण पन्त (वि.सं. २०१६ मा जन्म) को ‘आधुनिक नेपालको इतिहास १७४३–१९५५’ (जागरण बुक हाउस, काठमाडौँ, २०७४), तेस्रो, वामदेव गौतम (वि.सं. २००५ मा जन्म)को ‘नेपाल नवनिर्माण महाअभियान’ (बुकमार्ट पोखरा प्रा.लि., पोखरा, २०७४) र चौथो, रामराज रेग्मी (वि.सं. २००४ मा जन्म) को ‘नेपालको इतिहास— एक माक्र्सवादी दृष्टिकोण’ (जागरण बुक हाउस, काठमाडौँ, २०७४) हो ।


माथि नाउँ लिइएका ४ वटा पुस्तकमध्ये ‘नेपाली सभ्यता : विगत र वर्तमान’ बाटै कुराको उठान गरूँ । १७७ मि.मि. चौडाइ र २४५ मि.मि. लम्बाइ भएका, झण्डै साढे पाँच सय पृष्ठ ओगटेको यस पुस्तकको प्रशंसामा साम्यवादीहरू र अरू पार्टीका ठूलाबडाले निकै शब्द खर्च गरेका छन् । पत्रपत्रिकामा पनि यसको वाहवाही कम आएको छैन । पत्रपत्रिकामा आएका यस्ता प्रशंसाको प्रतिनिधित्व श्यामल (वि.सं. २०१५ मा जन्म) को ‘नेपाली सभ्यताको नयाँ व्याख्याको प्रयास’ (‘कान्तिपुर’, २०७४।९।२९।७, च पृ.) ले गरेको छ । स्थिति यस्तो भए पनि, तथ्यको हिसाबले यो पुस्तक निम्न कोटिको छ भनी भन्नैपर्छ ।


लोककृष्ण भट्टराईको ‘नेपाली सभ्यता : विगत र वर्तमान’ लाई एक अर्थमा हेमराज शाक्य (वि.सं. १९८३–२०६६) को ‘श्रीस्वयम्भू महाचैत्य’ (स्वयम्भूविकासमण्डल, काठमाडाँै, ने.सं. १०९८) सँग दाँज्न सकिन्छ । खुलाएर भन्दा, ‘श्रीस्वयम्भू महाचैत्य’ मा विपश्वी बुद्धको आगमनदेखि महर्षि महेश योगी (वि.सं. १९७४–२०६४) को स्वयम्भूदर्शनसम्मको विषय समेटिएको छ त ‘नेपाली सभ्यता’ मा ‘राष्ट्रियताको जागरण र राष्ट्र सृजना गर्ने सन्दर्भमा’ देवाधिदेव शिवदेखि मोहन वैद्य (वि.सं. २००३ मा जन्म) सम्मको गाथा गाइएको छ ।

यस पुस्तकमा शास्त्रीय शब्दको वर्णविन्यास कति गलत छ भन्ने कुराको दृष्टान्तको लागि हाम्रा वज्राचार्य–शाक्यका धर्मग्रन्थ ‘अष्टसाहस्रिका प्रज्ञापारमितासूत्र’, ‘गण्डव्यूहसूत्र’, ‘दशभूमिकसूत्र’, ‘समाधिराजसूत्र’, ‘लङ्कावतारसूत्र’, ‘सद्धर्मपुण्डरीकसूत्र’, ‘तथागतगुह्यसूत्र’, ‘ललितविस्तरसूत्र’, ‘सुवर्णप्रभाससूत्र’ क्रमश: ‘आशहस्रीका प्रज्ना परमिता शूत्र’, ‘गाम्यूहा शूत्र’, ‘दश भूमिका शूत्र’, ‘समाधीराजा शूत्र’, ‘लकाभत्र शूत्र’, ‘शाद धर्म पुयरिका शूत्र’, ‘तथ गतगताह्य शूत्र’, ‘ललिता भिस्तारा शूत्र’, ‘शुभरा प्रभाशा शूत्र’ भई छापिएको देखाउनुपर्छ (३२ पृ.) । ‘महाभारत’ को मौसलपर्व यहाँ ‘माउसाला पर्व’ (७९ पृ.) भएको छ । विद्यापतिको ‘पुरुषपरीक्षा’ यसै गरी ‘पुरुसा परिकसा’ (९८ पृ.) हुन गएको छ । वाल्मीकिको प्रसिद्ध श्लोक ‘मा निषाद ...’को उद्धरणमा हेरिनसक्ना गल्ती भई ‘मनिशदा ...’ (७३ पृ.) हुन गएको छ ।


अङ्ग्रेजी भाषामा अधिकार नहुँदा ‘परम्परागत श्रुति’ बुझाउन ‘थीअलजि’ (२० पृ.) लेखिएको छ । बअत्रगबष्लतभम यहाँ बत्रगष्लतभम (३८ पृ.) भएको त्यसको अर्को उदाहरण हो ।


इतिहासको कालक्रम नबुझ्दा ‘नेपाली सभ्यता र राष्ट्रियताको विकासमा किराँत अवधि, लिच्छवी अवधि यस अघिका सिम्रौनगढ सभ्यता, अझ जुम्ला सभ्यताले महत्त्वपूर्ण भूमिका खेलेका छन्’ (२४ पृ.) जस्ता वाक्य लेखिएका छन् । भोटका राजा सोङ्चन गम्पोलाई एक ठाउँमा ‘चिनिया राजकुमार सोङचङ गम्पो’ (२२ पृ.) र अर्को ठाउँमा ‘चिनिया वा भोटका राजकुमार सोङचङ गम्पो’ (४८ पृ.) भनिएको छ । आषाढपूर्णिमामा मनाइने गुरुपूर्णिमा र श्रावणपूर्णिमामा मनाइने जनैपूर्णिमा यस ग्रन्थका कर्ताको दृष्टिमा एकै रहेछ भन्ने कुरा उनको पुस्तकको ‘गुरु (जनै) पूर्णिमा’ (४४ पृ.) प्रकरणबाट स्पष्ट हुन्छ ।


‘परापूर्व कालदेखि जब सभ्यता शुरू भयो त्यसबेलादेखि नै दशैँ मनाइँदै आएको छ । ... नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरेपछि यो चाड मनाउन १५ दिन विदा दिने प्रचलन राखेका थिए’ (४० पृ.) भनी यहाँ दसैँलाई सबभन्दा पुरानो चाडको रूपमा बयान गरिए पनि जनैपूर्णिमा, तिहार र फागुको दाँजोमा दसैँ त्यति प्राचीन चाड होइन भनी सिद्ध भइसकेको छ (महेशराज पन्त, ‘जनैपूर्णिमादेखि रानीपोखरीसम्म’, खिलशर्म–राजीवलोचनजोशीस्मारकप्रतिष्ठान, काठमाडौँ, २०७४, ६–१० पृ.) । पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)ले दसैँमा कति दिन बिदा दिन्थे, त्यो त मलाई थाहा छैन, उनले दिने गरेको दसैँ बिदा उनका नाति रणबहादुर शाह (वि.सं. १८३२–१८६३, राज्यकाल वि.सं. १८३४–१८५५) को पालामा नघटाइएको भए पर्वते कालिगडलाई दसैँमा ९ दिन र नेवार कालिगडलाई ४ दिन बिदा दिइन्थ्यो भन्ने कुरा तात्कालिक अभिलेखबाट थाहा हुन्छ (चित्तरञ्जन नेपाली, ‘श्री ५ रणबहादुर शाह’ ३ आवृत्ति, रत्नपुस्तकभण्डार, काठमाडौँ, २०५७, १०६–१०७ पृ.) ।


‘राजा जयदेव प्रथमदेखि वृषभदेवसम्म सबै जनताद्वारा निर्वाचित राजा (राष्ट्राध्यक्ष) थिए’ (९२ पृ.) भनी लेखे पनि पुराना लिच्छवि राजाहरू पनि वंशक्रमागत राजाहरू नै थिए, उनीहरू चुनिएर राजा भएकोमा कुनै प्रमाण उपलब्ध छैन । त्यसमाथि, शुद्ध नाउँ वृषदेव हो, वृषभदेव होइन भन्ने हेक्का राख्नुपथ्र्यो ।

‘रामशाहका छोरा नरभूपाल शाह पनि त्यति क्रुर थिएनन् र उनले पनि बाबुको केही अंश अनुशरण गरेका थिए । उनले गोरखामा अन्य राज्य गाभ्न खोजे पनि सकेनन् । उनको चाँडै मृत्यु भयो र उनका जेठा छोरा पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भए’ (५० पृ.) भनी यहाँ लेखिएको छ । वास्तवमा नरभूपाल शाह (वि.सं. ?–१७९९, राज्यकाल वि.सं. १७७३–१७९९) राम शाह (निश्चित राज्यकाल वि.सं. १६७१–१६९३) का छोरा नभई उनका जनाति पृथ्वीपति शाह (निश्चित राज्यकाल वि.सं. १७३४–१७७३) का नाति हुन् ।

***


डिमाई साइजका, साढे पाँच सयभन्दा बढी पृष्ठमा फैलिएको ‘आधुनिक नेपालको इतिहास १७४३–१९५५’ प्रस्तुतिको दृष्टिले ‘नेपाली सभ्यता : विगत र वर्तमान’ भन्दा निकै चुस्त छ । खास गरी ईसवी संवत्को प्रयोग गरिएको यस पुस्तकमा साल ईसवी संवत्मा र महीना हाम्रो परम्पराको दिई ‘१७४६ को भाद्र महिनामा उनले नालदुम र महादेवपोखरी आफ्नो अधीनमा ल्याउन सफल भए’ (४९ पृ.) भनी लेखिएकोले कस्तो कस्तो लाग्छ ।


यस ग्रन्थमा ‘इतिहास–लेखनका लागि विदेशी स्रोतहरूमा निर्भर रहनुपर्ने अवस्था ज्यूँका त्यूँ छ’ (क पृ.) भनी लेखिए पनि यो राग अब अलाप्नुपर्दैन । संशोधन–मण्डलको ६५ वर्षको खोजीले स्थितिमा परिवर्तन आइसकेको छ । वि.सं. २००९ देखि ‘इतिहास–संशोधन’ को अभियान शुरू हुनुभन्दा अगाडि नेपालको इतिहासको खोजीमा विदेशी विद्वान्हरूकै दबदबा थियो । विदेशी विद्वान्हरूले गरेको खोजी पछि संशोधन–मण्डलको खोजीले उछिनियो । यसको परिणाम अहिले नेपालको इतिहासका जे जति तथ्य बाहिर आएका छन्, तिनको सयकडा पचहत्तर संशोधन–मण्डलकै खोजी हो भन्दा अत्युक्ति हुँदैन । तर नेपालको आधुनिक इतिहासमा कलम चलाउनेहरूको नामसूची यस पुस्तकमा दिँदा संशोधन–मण्डलको नाउँ कतै परेको छैन, पुस्तक लेख्न उपयोग गरिएका पत्रपत्रिकाको नाउँ दिँदा पनि ‘पूर्णिमा’ को नाउँ आउँदैन, भलै पुरातत्त्वविभागको ‘प्राचीन नेपाल’ को नाउँ एउटै वाक्यमा २ चोटि आउँछ, एकपटक नेपाली नाउँ ‘प्राचीन नेपाल’ को रूपमा र अर्कोपटक त्यही पत्रिका ‘एन्सेन्ट नेपाल’ भएर (घ पृ.) । कुन्नि किन हो, सन्दर्भग्रन्थसूचीमा ‘पूर्णिमा, पूर्णाङ्क २५’ (५२६ पृ.) भने झुल्किएको छ ।


नेपालको इतिहासमा आजभोलि मेरो रुचिको विषय खास गरी अठाह्रौँ शताब्दीसम्मको अवधि भएकोले यस पुस्तकको विषयमा म त्यति गहिरिएर जान्नँ । तैपनि एकाध कुराचाहिँ यस प्रसङ्गमा भन्नैपर्छ ।

‘चौबीसे राज्यमध्येको गोरखा राज्य पृथ्वीनारायण शाहको आगमनपूर्व एउटा गुमनाम राज्य थियो’ (९ पृ.) भनी लेखिए पनि यो साँचो भने होइन । यस कुराको प्रतिवादको लागि पृथ्वीनारायण शाहको सिंहासनारोहणभन्दा १८३ वर्षअगाडिको इतिहास अघि सार्न सकिन्छ (दिनेशराज पन्त, ‘गोरखाको इतिहास’ १–४ भाग, काठमाडौँ, २०४१, २०४३, २०४५, २०५०) । गोरखाली राजा द्रव्य शाह (वि.सं. १६१६ मा राजा भएको), राम शाह, डम्बर शाह (निश्चित राज्यकाल वि.सं. १६९९–१७०८) र पृथ्वीपति शाह (निश्चित राज्यकाल वि.सं. १७३४–१७७३) पूरा नेपालको सन्दर्भमा हेर्दा प्रतापी राजामा नपर्ने होइनन् ।


नालदुमविजय वि.सं. १८०३ भदौ १९ गते (नयराज पन्त आदि, ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’, जगदम्बा–प्रकाशन, ललितपुर, २०२५, ७६९ पृ.) भए पनि यो विजय दीगो भएन । दोस्रोपटक पनि त्यस्तै भयो (उही, ७६८–७७१ पृ.) । नालदुममा अन्तिमपटकको विजयचाहिँ वि.सं. १८११ श्रावण २१ गते भएको हो (उही, ७८६ पृ.) । यो कुरा नबुझ्दा यस पुस्तकमा एक ठाउँमा ‘१७४६ को भाद्र महिनामा उनले नालदुम र महादेवपोखरी आºनो अधीनमा ल्याउन सफल भए’ (४९ पृ.) र अर्को ठाउँमा ‘वि.सं. १८११ श्रावण २७ गते नालदुम विजय’ (६४ पृ.) भनी लेखिएको छ ।

***


डिमाई साइजका, झण्डै २७० पृष्ठमा समेटिएको ‘नेपाल नवनिर्माण महाअभियान’ को पहिलो खण्ड अर्थात् ‘ऐतिहासिक सन्दर्भहरू’ को विषयमा मात्र यस लेखमा म केही लेख्छु ।


‘लिच्छवि राजा शङ्करदेवको समयदेखि वर्णाश्रम व्यवस्थालाई प्रोत्साहित गर्न थालियो । उनका नाति राजा मानदेव (प्रथम) (इ.सं. ४६५–५०५) ले नेपालको राज्य विस्तार कोशीदेखि कर्णालीसम्म गरेका थिए । यादव (गोपाली), किराती, तिब्बती, पाली र मैथिली (संस्कृत) भाषाभाषीहरूको सम्मिश्रणबाट नेवारी भाषाको विकास भयो’ (१२ पृ.) । यी तीनै वाक्यमा मेरो केही टिप्पणी छ ।


शङ्करदेवको पालादेखि वर्णाश्रमलाई प्रोत्साहित गरियो भनी यहाँ लेखिए पनि यसको तात्कालिक प्रमाण त केही पाइँदैन । पन्ध्रौँ शताब्दीमा तयार गरिएको वंशावलीमा लिच्छविवंशका सुपुष्पदेवले नेपालभूमिमा चातुर्वण्र्य चलाए भनी लेखिएको वाक्यको यस प्रसङ्गमा सम्झना हुन्छ (धनवज्र वज्राचार्य र कमलप्रकाश मल्ल, ‘द गोपालराजवंशावली’, फ्रन्त्स श्थाइनर फेर्लाग, विस्बादन, ई.सं. १९८५ मा मूलको १९ ख पत्रको ४ पङ्क्ति) । लिच्छवि राजा द्वितीय जयदेव (निश्चित राज्यकाल वि.सं ७७१–७९०) को शिलालेखअनुसार सुपुष्पपछिका चौधौँ राजा शङ्करदेव हुन् (धनवज्र वज्राचार्य, ‘लिच्छविकालका अभिलेख’, नेपाल र एशियाली अध्ययनसंस्थान, काठमाडौँ, २०३० मा १ सङ्ख्यामा मूलका ७–९

श्लोक) । यस कारण शङ्करदेवभन्दा सयौँ वर्षअगाडि नै जातिव्यवस्था भइसकेको कुरा परम्परादेखि चलिआएको स्पष्ट हुन्छ ।


मानदेवको राज्यविस्तार कोशीदेखि कर्णालीसम्म थियो भनी यहाँ लेखिए पनि तात्कालिक प्रमाणको मात्र आधार लिएर भन्ने हो भने, उनको राज्य गण्डकीसम्म मात्र थियो भन्ने कुरा उनको चाँगुको स्तम्भलेखबाट स्पष्ट बुझिन्छ (उही, १ सङ्ख्या) । ‘यादव (गोपाली)’ र ‘मैथिली (संस्कृत)’ को व्याख्या ग्रन्थकारले नगरेसम्म तेस्रो वाक्य निकै अस्पष्ट र निष्प्रमाण छ भनी भनिरहनु नपर्ला ।


‘लिच्छवि राज्यमाथि मल्लहरूले आक्रमण गरी ईशाको नवौं शताब्दीमा आºनो राज्य स्थापना गरे’ (२९ पृ.) भन्ने वाक्य प्रमाणकोटिमा चढ्दैन । लिच्छवि राजाहरूको नाउँको पछाडि जसरी ‘देव’ आउँथ्यो, लिच्छवि होइनन् भनी हालैसम्म ठहर्‍याइएका राजाहरूको नाउँको पछाडि पनि त्यसै गरी ‘देव’ आउँथ्यो भन्ने कुरा हामीले बिर्सनु हुँदैन । मल्लहरू त राजाको रूपमा तेह्रौँ शताब्दीको उत्तरार्धदेखि मात्र देखिन थालेका हुन्, त्यसपछि पनि स्थितिराज मल्ल (वि.सं. ?–१४५२, राज्यकाल १४३७–१४५२) को उदय नभएसम्म देवान्तनामधारी राजाहरू र मल्ल राजाहरूले आलोपालो गरी राज्य गर्दै थिए । देवान्तनामधारी यी पछिल्ला राजाहरू पनि लिच्छवि नै हुन् भन्ने विषयमा मैले सङ्केतात्मक रूपमा लेखिसकेको छु (‘जनैपूर्णिमादेखि रानीपोखरीसम्म’, २५०–२५१ पृ.) । संवत् १९८ पौषशुक्लदशमीमा एउटा उत्कीर्ण लेख (अप्रकाशित) जारी गर्ने राजा रुद्रदेवलाई ‘लिच्छविकमलाकरविकसनैकदक्ष:’ अर्थात् ‘लिच्छविरूपी कमलको रास फुलाउन एक मात्र दक्ष’ भनी लेखिएकोबाट पनि यी राजाहरू लिच्छवि नै थिए भन्ने प्रमाणित हुन्छ । त्यो उत्कीर्ण लेख प्रकाशित गर्दा यस विषयमा विस्तृत रूपमा लेख्नुपर्छ ।


‘सिन्जा राज्यअन्तर्गत २२ राज्य समूह, पाल्पाअन्तर्गत २४ राज्य समूह, काठमाडौँ अन्तर्गत ४ राज्य समूह, अनि काठमाडौँ पूर्व ११ किरात गणराज्यहरू थिए’ (१४ पृ.) भनी लेखिएकोमा नेपालखाल्डोमा ४ राज्य थिए भन्ने कुरामा चाहिँ अलिकति कुरा भन्नैपर्छ । कुरा के भने, यक्ष मल्ल (वि.सं. १४६५–१५३८, राज्यकाल वि.सं. १४८५–१५३८) परलोक भएपछि उनका छोराहरूले बाबुको राज्य अंशबण्डा गर्दा केही वर्ष बनेपा भिन्नै राज्य भए पनि पछि त्यो राज्य भक्तपुरअन्तर्गत भयो र पृथ्वीनारायण शाहले नजितुञ्जेलसम्म यहाँ काठमाडौँ, ललितपुर र भक्तपुर यी ३ राज्य मात्र थिए ।

***


डिमाई साइजका, साढे ५ सय पृष्ठ भएको ‘नेपालको इतिहास— एक माक्र्सवादी दृष्टिकोण’ यस लेखको विषयवस्तु बनेका ४ पुस्तकमध्ये सबभन्दा बढी सुघटित रूपले लेखिएको छ भनी भन्नैपर्छ । तर यस पुस्तकको सबभन्दा कमजोरी मलाई के लाग्छ भने, कुनै विषयको प्रमाण जुटाउनुपर्दा मूलसम्म नगई द्वैतीयीक र तार्तियीक कृति अर्थात् अरूले अन्तबाट सारेको र त्यही सारेकोबाट फेरि सारेको कृतिको मात्र होइन, अझ तल्ला तल्ला कृतिको आधारमा इतिहास लेख्ने परिपाटीको अनुसरण यहाँ पनि प्रशस्त भएको छ । यसको उदाहरणको रूपमा ‘ह्यामिल्टनले तीन राज्य कालमा सामान्य नेपाली श्रमिकको दैनिक ज्याला १ आना र सिकर्मी–डकर्मीको हकमा दुई वा तीन आनासम्म थियो भनी उल्लेख गरेका छन्’ (१३५ पृ.) भनी लेखिएको वाक्य अघि सार्न सकिन्छ । यसको प्रमाणको रूपमा त्यहाँ ‘खत्री, २०४४ : १३३’ दिइएको छ । यो भनेको प्रेमकुमार खत्री (वि.सं. २००२ मा जन्म) को ‘नेपाली समाज र संस्कृति

(प्राचीन–मध्यकाल)’ (पाठयक्रमविकासकेन्द्र, काठमाडौँ, २०४४) हो । जुन पुस्तकको आधारमा माथि उद्धरण गरिएको अंश लेखियो, त्यस पुस्तकमा यस्तो लेखिएको छ— ‘१८०१ ई. मा नेपाल आउने ह्यामिल्टनले त्यस वेला नेपाली श्रमिकको दैनिक ज्याला एक आना, सिकर्मी–डकर्मी भए साढे दुई वा तीन आनासम्म थियो भनी लेखेका छन् ।’ आºनो ‘यान् अकाउन्ट् अफ् द किङ्डम् अफ् नेपाल् यान्ड् अफ् द टेर्इटर्इज् अनेक्स्ड् टु दिस् डोमिन्यन् बाइ द हाउस् अफ् गोर्खा’ (ए.कन्स्टेब्ल, एडिन्बर्ग, ई.सं. १८१९) मा फ्रान्सिस बुक्यानन ह्यामिल्टन (वि.सं. १८१८–१८८६)ले कहाँनिर यो कुरा लेखे, त्यो ‘नेपालको इतिहास— एक माक्र्सवादी दृष्टिकोण’ को प्रमाणग्रन्थबाट खुल्दैन । ह्यामिल्टनको पुस्तक वि.सं. १८७६ मा छापिएको भए पनि त्यसको पुनरावृत्ति वारंवार भएकोले त्यो दुर्लभ छैन । यसैले, त्यस किताबको पृष्ठसङ्ख्या दिएको भए यस विषयमा बढी विचार गर्न खोज्नेलाई उपयोगी हुन्थ्यो ।


शब्दको वर्णविन्यास कति गलत ढङ्गले भएको छ भन्ने कुराका उदाहरण ‘कुणिन्द’ लाई ‘कुनिन्द’ (५० पृ.), ‘धिग्दण्ड’लाई ‘दिग्दण्ड’ (७७ पृ.), ‘सहोत्तरतन्त्र’ लाई ‘सहोदरतन्त्र’ (१०६ पृ.), ‘माण्डलिक’ लाई ‘मण्डालिका’ (१२३ पृ.), ‘व्रात्य’ लाई ‘वात्र्य’ (१४६ पृ.) लेखेकोमा पाइएका छन् । ‘नेपाल नवनिर्माण महाअभियान’ मा अरबीको तद्भव ‘इलाका’ मा संस्कृतको ‘ईय’ प्रत्यय जोडी ‘इलाकीय’ (१३ पृ., २०५ पृ.) शब्दको प्रयोग भएको र त्यही अशुद्ध शब्द ‘नेपालको इतिहास— एक माक्र्सवादी दृष्टिकोण’ मा पनि प्रयोग भएको (१५६ पृ., १९३ पृ.) देख्दा कस्तो कस्तो लाग्छ ।


अभिलेखको समय दिँदा कतिसम्मको लापरवाही भएको छ भन्ने कुराको दृष्टान्त पनि यहाँ नपाइने होइन । ‘इसापूर्व ३६५ को समुद्र गुप्तको प्रयाग प्रशस्तिमा समतट, डवाक, कामरूप, नेपाल र कर्तृपुर (हालको कुमाउँ गढवाल) राज्यका राजाहरूले समुद्र गुप्तलाई मानेको प्रसङ्ग उल्लेख छ’ (४७ पृ.) लेखिएको छ त अर्को ठाउँमा ‘तर भारतका सम्राट् समुद्र गुप्तले सन् ३५० मा लेखाएको प्रयागको अभिलेखमा “कामरूप, नेपाल, कर्तृपुर आदि सिमानाका राज्यहरूले सबै किसिमको कर बुझाई हुकुममा तामेल रहेर र सलाममा हाजिर भएर समुद्र गुप्तको कडा स्थिति बन्देजको पालना गर्छन्” (७४ पृ.) भनी लेखिएको छ ।


‘इसापूर्व तेस्रो शताब्दीमा रचना भएको कौटिल्यको अर्थशास्त्रमा वाग्मती उपत्यकामा रहेको राज्यलाई ‘नेपाल’ भनी सम्बोधन गरिएको छ’ (४८ पृ.) भनी लेखिएकोमा पनि केही टिप्पणी गर्नुपरेको छ । ‘कौटलीय अर्थशास्त्र’ मा नेपालको प्रसङ्ग एक ठाउँमा मात्र आउँछ । राजकीय ढुकुटीमा दाखिल हुने असल असल वस्तुको सूचीमा आविक अर्थात् भेँडाको रौँबाट बन्ने राडीपखीको प्रसङ्गमा नेपालका घुम र कम्बलको कुरा पनि आएको छ (२।११।१००) । त्यतिको आधारमा नेपालको अवस्थिति वाग्वतीदूनमा भएको कुरा ‘कौटलीय अर्थशास्त्र’ बाट थाहा हुन्छ भनी भन्न मिल्ला र ?


‘समुद्र गुप्तकै प्रयाग प्रशस्तिमा नेपाललाई ‘प्रत्यन्त राज्य’ (सिमानाको राज्य) भनिएको छ । समुद्र गुप्तपछिका कुनै पनि भारतीय राजाहरूले नेपाललाई करद राज्यको व्यवहार गरेको पाइन्न । जहाँसम्म नेपाली शासकले गुप्त सम्राट्लाई सौगात पठाउने सवाल हो, त्यो केवल औपचारिकतामा सीमित थियो’ (७४–७५ पृ.) भनी लेखिएकोमा केही टिप्पणी गर्नुपरेको छ । समुद्र गुप्तको प्रयागप्रशस्तिमा ‘समतट, डवाक, कामरूप, नेपाल, कर्तृपुर आदि सीमानाका राजाहरूले र मालव, आर्जुनायन, यौधेय, माद्रक, आभीर, प्रार्जून, सनकानीक, काक, खरपरिक इत्यादि (गण) हरूले पनि सबै किसिमको कर तिरेर, हुकूममा तामेल रहेर, सलामीमा हाजिर भएर जसको (समुद्रगुप्तको) कडा स्थिति–बन्देजको पालना गर्दछन्’ (धनवज्र वज्राचार्य, प्रधान सम्पादक, ‘इतिहास–संशोधनको प्रमाण–प्रमेय’, जगदम्बा–प्रकाशन, ललितपुर, २०१९, २२ पृ.मा मूल अभिलेखबाट उल्था) भनी लेखिएकोले यहाँ सौगातको कुरा आउँदैन, कर नै तिरेको कुरा आउँछ । त्यसमाथि, समुद्र गुप्तको हुकूम मान्ने, उनले बनाएको स्थितिबन्देजको पालन गर्ने इत्यादि कुराबाट पनि अधिराज र अधीन शासकको जस्तो सम्बन्ध हुन्छ, त्यस्तो सम्बन्ध समुद्र गुप्तको यस अभिलेखबाट आउँछ भनी भन्नैपर्छ ।


‘राजतन्त्रात्मक लिच्छविकालमा ... त्यतिखेर सिक्काको प्रचलन नहुनाका कारण दरबार र विभिन्न अड्डाहरूमा काम गर्ने कर्मचारीलाई आजभोलि जस्तो महिनामहिनामा तलबबापत नगद दिने व्यवस्था थिएन’ (८३ पृ.) भन्ने कुरामा मेरो विप्रतिपत्ति छ । एक त, मानदेव (निश्चित राज्यकाल वि.सं. ५२२–५६३) को पालादेखिकै सिक्का देखिएकाले सिक्काको चलन थिएन भनी भन्न मिल्दैन । त्यसमाथि, अंशुवर्माका, (मानदेव)संवत् ३० तदनुसार वि.सं. ६६४ ज्येष्ठशुक्लषष्ठीको (‘लिच्छविकालका अभिलेख’, ७२ सङ्ख्या) र (मानदेव)


संवत् ३२ तदनुसार वि.सं. ६६६ आषाढशुक्लत्रयोदशीको (उही, ७७ सङ्ख्या) शिलापत्रमा पुराण र पण सिक्कामा खानगी छुट्टयाइएकोले माथिको लेखाइमा पुनर्विचार गर्नुपर्छ ।


‘अष्टादशप्रकृति’ को अपव्याख्याबाट उब्जेको यस्तो ‘त्यतिखेरको नेपाली समाज चार वर्ण र अठार वटा जातीय समूहमा विभाजित भयो’ (८७ पृ.), ‘समाज ४ वर्ण र १८ जातमा विभाजित भयो’ (१०३ पृ.) कुराको खण्डन मैले वारंवार गरिसकेकोले त्यही कुरा फेरि यहाँ पनि लेख्नुको कुनै तुक छैन (‘हीरहडगल्लिको ताम्रपत्रको अट्ठारसजाति के अठाह्र जात हो ?’, ‘पूर्णिमा’ ५९ पूर्णाङ्क, २०४१, १५–२० पृ.; ‘प्राचीन कालमा नेपालको विस्तारको विषयमा एउटा नयाँ लेख हेर्दा’, ‘पूर्णिमा’ ११२ पूर्णाङ्क, २०६०, ५–८ पृ.; ‘ऐतिहासिकपाश डिल्लीरमण रेग्मीबारे फेरि एकपल्ट’, ‘पूर्णिमा’ १३१ पूर्णाङ्क, २०६६, २७१–२७३ पृ.; ‘सामन्तवादको सन्दर्भ’, ‘राजधानी’, २०६९।६।१।२, ७ पृ.; ‘लोकसेवा आयोगको पुरातत्त्व समूहका प्रश्नपत्र हेर्दा’, ‘राजधानी’, २०७२।३।१।३, ७ पृ.; ‘प्रयागराज शर्माको ‘कुल, भूमि र राज्य’ फेरि पढ्दा’, ‘राजधानी’, २०७२।६।१।६, ७ पृ.) ।


लिच्छवि र खस अलग अलग जाति भएकाले (‘मनुस्मृति’, १०।२२) ‘शासक वर्गमा रहेका लिच्छविहरू बुद्धधर्मबाट प्रभावित खस भएकाले वर्णाश्रम व्यवस्थामा ती कट्टर थिएनन्’ (८९ पृ.) भनी लिच्छविहरूलाई खस भनेको मिल्दैन भनी भनिरहनु नपर्ला ।


वि.सं. १८३९ मा लम्जुङसँग गोरखाको लडाइँ हुँदा लम्जुङको हार भयो र घाइते भएका लम्जुङे सेनापति भक्ति थापा (वि.सं. ?–१८७२) युद्धबन्दी भए । यही घटनाले उनलाई गोरखाली बनायो (महेशराज पन्त, ‘वीर भक्ति थापा’, ‘पूर्णिमा’ १० पूर्णाङ्क, २०२३, ३६–३९ पृ.) । यस कारण ‘भक्ति थापा जस्ता ख्याति प्राप्त राष्ट्रिय विभूति जो पहिला लमजुङे राजालाई त्यागी गोरखाली सेनामा प्रवेश गरेका थिए’ (२०३ पृ.) भनी भक्ति थापालाई लम्जुङ छोडी गोरखासँग मिल्न आएको भनी भन्न मिल्दैन ।


नेपालको इतिहासको विषयमा वषौँअघि प्रामाणिक ढङ्गले लेखिइसकेका कुरा पनि राम्ररी नपढी कलम चलाउँदा यस्ता अशुद्धिबहुल कृतिको जन्म हुन्छ भन्ने नै यतिसम्मका कुराबाट स्पष्ट हुनुपर्छ ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?