१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जिउँदा ययातिहरू 

रंगमञ्ज
फूलमान वल

काठमाडौँ — होलीको अघिल्लो साँझ । शिल्पीको गोठाले नाटकघरबाट ‘ययाति’ हेरेर निस्किँदै गर्दा ढोकैमा भेटिइन्— देउराली चाम्लिङ । उनीसँगै रोशा बस्नेत, रोजिता बुद्धचार्य, प्रियालक्ष्मी कार्की, कल्पना महर्जनलगायतको टोली थियो । केही महिनाअघिदेखि यी तन्नेरी महिला सञ्चारकर्मीहरू सगरमाथा चुम्ने ध्याउन्नमा लागिपरेका छन् ।

जिउँदा ययातिहरू 

एकै छिनअघि थिएटरको अँध्यारोभित्र मिथकीय राजा ययाति आफ्नो यौवन फर्काउन तड्पिरहेको बेला दर्शकदीर्घाबाट युवतीहरूको गज्जबको हाँसो छुटेको थियो । बाहिर निस्किँदै गर्दा ढोकैमा कुम ठोक्किएका यिनै सञ्चारकर्मीहरू नै सायद अँध्यारोमा हाँसेका थिए । हाँसेर तिनले ठीकै गरे । त्यो ‘ययाति मनोग्रन्थि’ बोकेर हिँड्ने पुरुष अहम्विरुद्धको हाँसो थियो । शक्ति, सत्ता र यौनलिप्सामा सधैं माथि परिरहन चाहने पुरुषहरूविरुद्धको व्यंग्य थियो ।


नाटक बाहिर भेटिएका यी नारीहरू आफूलाई भिन्न पहिचानमा उभ्याउन चाहन्छन् । उनीहरू आफ्नो इतिहास आफैं कोर्न चाहन्छन् । नाटकभित्रका नारी चरित्रहरू र बाहिर भेटिएका ती अनुहारबीच ठूलो विरोधाभास हुनु स्वाभाविक थियो । किनकि हामी दुईवटा समयको दोसाँधमा थियौं । भित्र महाभारतकालीन पुरानो समयका दमित चरित्रहरू सल्बलाइरहेका थिए । तिनले खुलेर हाँस्न पनि अरूको आदेश पर्खिनुपथ्र्यो । तिनका कद अग्लो भए पनि मनोविज्ञान होचो थियो । शरीर सुन्दर भए पनि अनुहार उदास देखिन्थ्यो । बाहिर भने अहिलेको समयका स्वतन्त्र र अग्रगामी चेतसहितका सग्लो अनुहार । समयले असंख्य जंघार तरेपछि, मिथकहरूले लामो यात्रा गरेपछि समयले यस्तो ‘क्रान्तिकारी छलाङ’ मार्छ सायद ।


तर, नाटक ‘ययाति’ हेरेर निस्किँदै गर्दा सोच्न बाध्य हुन्छ— हामी कुन समयमा बाँचिरहेका छौं ? इतिहासमा कि वर्तमानमा ? महाभारतको कथाभित्र कि संघीय गणतान्त्रिक नेपालमा ?

झन्डै एक वर्षअघि नै हुनुपर्छ, नाटक ‘माधवी’ मा राजा ययातिको दानी चरित्र देखेको थिएँ । यतिबेला उनको जीवनको अर्को पाटो उदांगो पारेका छन् रंगकर्मी टंक चौलागाइँले । भारतीय साहित्यकार गिरीश कर्नाडको नाटकलाई नेपाली अनुवाद गरी उनी फेरि महाभारतभित्र पसेका छन् । दर्शकलाई चाहिँ इतिहास र वर्तमानको दोसाँधमै छाडेका छन् उनले । यो दोसाँधमा उभिएर हेर्दा ‘ययाति’ दुईवटा समयको समानान्तर कथाझैं लाग्छ । नाटकभित्रको काल्पनिकी अनि नाटक बाहिरको यथार्थता । के ‘ययाति’ हाम्रै समाज, चिन्तन, जीवन र समयको नाटकीकरण हो ?


एक पटक मिथकभित्र पसौं— महाभारत काल । चन्द्रवंशी राजा नहुषका छोरा ययाति घुम्न निस्केका छन् । घुम्दै जाँदा एउटा तलाउमा शुक्राचार्यकी छोरी देवयानी बाहिर निस्किने प्रयास गर्दै हार गुहार गरिरहेकी छन् । देवयानीलाई उनकै साथी शर्मिष्ठाले आफ्नो लुगा लगाएको भन्दै नांगै पारेर तलाउमा घचेटिदिएकी थिइन् । राजाले यो दुर्दुशा देखेर देवयानीलाई सघाउन चाहे । उनले आफ्नो वस्त्र दिएर देवयानीलाई दाहिने हात समाउँदै तलाउबाट बाहिर ताने । यसपछि देवयानीले भनिन्, ‘तपाईंले मेरो दाहिने समाउनुभयो र म कुमारी छु ।’


अन्तत: ययातिले देवयानीसित बिहे गर्नुपर्‍यो । तलाउमा घचेटिदिएको सजायस्वरूप शर्मिष्ठा देवयानीको दासी बन्नुपर्‍यो । नाटक ‘ययाति’ को पृष्ठभूमि यही हो । यसपछि दरबारभित्र हुने भोगविलासको शृंखलाबद्ध कथा, यौनकुण्ठा र त्यसले निम्त्याउने विनाशचाहिँ खास नाटक हो । एउटा शासक आफ्नो स्वार्थपूर्तिका लागि कुन हदसम्म गिर्न सक्छ ? मोजमस्ती, भोगविलास र शक्तिको मोहका लागि कतिसम्म कलंकित बन्न तयार हुन्छ मान्छे ? प्रवृत्तिगत हिसाबले यो प्रश्न नाटकका ययातिलाई हैन । हाम्रै जीवन, समाज र चिन्तनमा जिउँदै रहेको ययातिहरूका लागि हो ।


राजामहाराजाहरूको समय सकिए पनि समाजमा थुप्रै ययातिहरू छन् । शक्तिको दुरुपयोग गरी अकुत सम्पत्ति थुपार्ने चूडामणि शर्मा र गोपाल खड्काहरू अहिलेका समयका ययातिहरू हुन् । तिनीहरू अदालतबाट निर्धक्क दरौटी (श्रापमोचन) मा छुटिरहेका छन् र कुनै अँध्यारो पर्दाभित्र भोगविलास र चैनको दुनियाँ निमग्न रचिरहेका छन् ।


नाटकमा दासी शर्मिष्ठासँग भोगविलास र रानी देवयानीसितको दुव्यर्वहारका कारण ययातिले शुक्राचार्यबाट एक दिनमै बूढो हुने श्राप पाउँछ । यो श्रापमोचनको एउटै उपाय हुन्छ— कुनै युवकले राजाको बुढयौली लिइदिनुपर्ने । तर, राजा ययातिको बुढयौली लिइदिन कुनै पनि रैती तयार हुँदैनन् । अन्तत: भर्खरै बिहे भएर सुहागरातका लागि दरबार भित्रिएका कान्छो छोरा पुरुराज बुबाको दयनीय अवस्थाबाट पग्लिन्छ र श्राप लिइदिन तयार हुन्छन् । अरूको बैंस, यौवन र तागत सापटी लिएर भए पनि शक्तिशाली भइरहनुपर्ने ययातिहरूको अनुहार के हाम्रै नेताहरूसित मेल खाँदैन ? नाटकले प्रश्न गर्छ ।


जवाफमा थुप्रै नेताहरूको अनुहार नाच्न आइपुग्छन् । आफूतिर ठडिएका युवाहरूको औंलाहरूलाई बेवास्ता गर्दै उमेर घर्के पनि दलको नेतृत्वमा रहिरहन मरिहत्ते गर्ने बूढो अनुहारहरू । आलोपालो यौवन (सत्ता) सापटी लिन जस्तोसुकै सम्झौता गर्न तयार अनुहारहरू— जस्तो कि नाटकमा राजा ययाति घिडघिडाउँदै छोरा पुरुलाई भन्छन्, ‘पाँच/छ वर्ष मात्रै मलाई तिम्रो यौवन देऊ छोरा, त्यसपछि तिमी नै फिर्ता लैजाऊ । अनि तिमी नै राजा बन ।’


नाटकमा देखिने पुरुषोत्तमको अनुहार आजका युवाका मधौरु अनुहारहरूसित मेल खान्छ । ती युवाहरू मुलुकलाई यौवन सापटी दिन खाडी मुलुकको तातो भुमरीमा पीडाका बुढयौली गुजारिरहेका छन् । तिनीहरू शासकसित कुनै प्रश्न गर्न जान्दैनन् र फगत इमानदार र आज्ञाकारी बनेर लुरुलुरु पलायन भइरहेका छन् एयरपोर्टको बैरागी पथ हुँदै । जब ती घर फर्किन्छन्, र सापटी दिएर गएको यौवन फिर्ता लिन खोज्छन्, तिनका सारा खुसीले आत्महत्या गरिसकेको हुन्छ— जस्तो कि नाटकमा आफ्नो बुबाबाट पुरुले यौवन फिर्ता पाइसक्दा उनकी पत्नी चित्रलेखाले आत्महत्या गरिसकेको हुन्छ ।

ययातिको नाटय चरित्र गरिरहँदा घिमिरे युवराजलाई धेरैले प्रश्न गरे— ययाति यति चञ्चल किन ? उनी त राजषी हैकम र ठाँटमा देखिनुपर्ने । तर, निर्देशक टंक चौलागाइँले ययातिलाई समाज र रैतिमाझ देखिने राजाको पाटोमा हैन, दरबारको भित्री खोपीमा रानीहरूसित भोगविलासमा मग्न राजाको पाटोमा मात्रै प्रस्तुत गरेका छन् । हरेक मानिसको भित्री र बाहिरी दुइटा चरित्र हुन्छ । घिमिरे युवराज राजा ययातिको बाहिरी हैन, भित्री चरित्रमा छन् । बाहिर जस्तोसुकै हैकम र ठाँटमा प्रस्तुत भए पनि प्रेममा मान्छे बाहिरी आवरण फुकालेर कति चञ्चल र केटाकेटी हुन्छ भन्ने उनको अभिनयले बताउँछ ।


निर्देशक चौलागाईंलाई पनि धेरैले भने— प्राय: कथाहरूलाई संवाद र नेपथ्यबाट भनियो । तर, निर्देशकीय हिसाबले उनले आफ्नो शैली दिएका छन् यो नाटकमा । दरबारको एउटा कक्षको सेटबाटै उनले समग्र नाटक प्रस्तुत गरेका छन् । किताबी नाटकलाई जस्ताको जस्तै देखाएर उनले आफूभित्रको निर्देशकलाई मारेका छैनन् । बरु, स्वर्णलताजस्ता दासीलाई बढी स्पेस उपलब्ध गराएर उनले इतिहास र मिथकहरूमा वर्णित शक्तिविहीनताको विनिर्माण गर्ने कोसिस गरेका छन् । यद्यपि यी पात्र मूक छन्, कमजोर छन् । फगत घटनाहरूको साक्षी । मिथलाई पुनव्र्याख्या र विनिर्माण गरेर कमजोरहरूलाई शक्तिशाली बनाउने समय सायद अब आउँदै छ ।


नाटकको मूल प्रश्नचाहिँ नैतिकता हो, जुन आज हामी खोजिरहेका छौं । हाम्रो समाज, राजनीति, जीवनशैली र चिन्तनहरू कसरी नैतिक स्खलनको बाटोबाट गुज्रिरहेको छ भन्ने सन्दर्भमा नाटकले ठूलो झड्का दिन्छ । ययाति आफंैमा नैतिक स्खलनको मूलपाठ भए पनि आफ्नो स्वार्थका लागि मानिसहरूले कसरी नैतिकताका सीमा गुमाउँछन् भन्ने अरू थुप्रै पाठ छन् नाटकमा । एउटा गतिलो चरित्र हुन् चित्रलेखा । सुसुरा ययातिको श्राप लिइदिएबापत आफ्नो पति शुक्रविहीन बनेको थाहा पाएपछि चित्रलेखाको यौनकुण्ठा यसरी

भड्किन्छ कि उनी सुसुरालाई नै पतिको रूपमा ग्रहण गर्ने मनोदशामा पुग्छिन् । यही मनोदशाले उनलाई सिध्याउँछ पनि । नाटकमा यो यस्तो अन्तिम घटना हो, जुन ययातिको मात्र हैन, उनको वंश पतनकै कारक बन्यो । यो समय समाज र राजनीतिमा पनि थुप्रै दृश्यहरू मञ्चन भइरहेका छन् । हामी अन्तिम परिणामको पर्खाइमा छौं ।

प्रकाशित : फाल्गुन १९, २०७४ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?