१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुपर सिक्स आशा

विश्वकप २०१९ छनोटमा नेपालले सुपर सिक्स पुग्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने लक्ष्य लिएको छ ।
राजु घिसिङ

काठमाडौँ — विश्वकप क्रिकेट २०१९ को छनोट खेल्न जिम्बाबेतर्फ प्रस्थान गर्नुअघि नेपाली टिमका कप्तान पारस खड्काले भनेका थिए, ‘हाम्रो लक्ष्य सुपर सिक्समा पुग्नु हो ।’ छनोटमा सहभागी सबै खेलाडी र उसका समर्थकको सपना भने विश्वकप पुग्ने नै हुन्छ । नेपालले यस अभियानको सुरुआत आइतबार घरेलु टिम जिम्बाबेविरुद्धको प्रतिस्पर्धाबाट गर्दै छ ।

सुपर सिक्स आशा

जिम्बाबे यस्तो टिम हो जसले पहिलोपल्ट सन् १९८३ मा विश्वकप खेलेको थियो र त्यसयता विश्वकपका कुनै पनि संस्करण बिराएको छैन । जिम्बाबे १९९९ र २००३ मा त विश्वकपको सुपर सिक्स चरणमै पुगेको थियो । त्यसयता भने आन्तरिक समस्याले उसको स्तर खस्किएको हो । त्यसको ठीकविपरीत नेपाली राष्ट्रिय टिमले रफ्तार लिएको छ । त्यसैले टेस्ट मान्यता प्राप्त टिमविरुद्ध ५० ओभरको क्रिकेटमा नेपालले पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेको हो । यसबीच टिमको प्रदर्शनमा भने उतारचढाव रहयो ।


हालै भएको वान डे सिरिजमा अफगानिस्तानले जिम्बाबेलाई ४–१ ले हराएको थियो । तर नेपालले बुलबायोमा जिम्बाबेलाई पराजित गर्छ नै भन्ने छैन । चाहना प्रतिस्पर्धात्मक खेलको हो । किनभने नेपालले इतिहासकै सबभन्दा माथिल्लो स्तरको प्रतियोगिता खेल्न लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) वरीयतामा एकदिवसीय अन्तर्राष्ट्रियमा सेप्टेम्बर २०१७ मा शीर्ष आठमा रहेको आधारमा भारत, दक्षिण अफ्रिका, इंग्ल्यान्ड (आयोजक), न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश र श्रीलंका विश्वकपमा छनोट भइसकेका छन् । सन् २०१९ मा इंग्ल्यान्डमा हुने विश्वकपमा कुल दस टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यसमा छनोटबाट दुई टिमले अवसर पाउनेछन् ।


एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष आठमा नरहेका वेस्ट इन्डिज, अफगानिस्तान, जिम्बाबे, आयरल्यान्ड, विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५–१७ का शीर्ष चार टिम नेदरल्यान्ड्स, स्कटल्यान्ड, हङकङ, पपुवा न्युगिनीसँगै विश्व क्रिकेट लिग डिभिजन २ का फाइनल खेलेका दुई टिमको रूपमा नेपाल र यूएईले विश्वकप छनोटमा मौका पाएका हुन् । आठ टिम सहभागी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौं भएपछि नेपालले विश्वकप छनोटमा पुग्न डिभिजन २ को बाटो समात्नुपरेको थियो ।


नामिबियामा भएको डिभिजन २ को फाइनलमा नेपाल ७ रनले यूएईसँग पराजित भएको थियो । त्यसको १७ औं दिनमै नेपालले विश्वकप २०१९ को छनोटमा जिम्बाबेको सामना गर्दै छ । त्यसैले विश्वकप छनोटको लागि राम्रो तयारी गर्ने अवसर पाइएन भन्न सकिन्छ तर छनोटको मिति पहिला नै तोकिएको तथ्यलाई भने भुल्नु हुँदैन । निलम्बित अवस्थामा रहेको नेपाल क्रिकेट संघ र विगतका व्यवस्थापकीय कमजोरीको कारण पनि हामी राम्रो तयारी गर्न सक्थ्यौं भन्ने दाबी गर्न सक्दैनौं । त्यसर्थ निकै संघर्ष गर्नुपरेको डिभिजन २ को प्रतिस्पर्धा नै नेपालका लागि विश्वकप छनोटको तयारी भएको मान्नुपर्छ ।


नेपालले विश्वकप २००३ को छनोटको रूपमा रहेको आईसीसी ट्रफी २००१ क्यानडामा खेलेको थियो तर नेपाल प्रारम्भिक चरणमै नामिबियासँग पराजित भयो । नामिबिया पहिलोपल्ट विश्वकपमा त्यसैबेला पुगेको थियो । विश्वकप छनोटकै नामले आयोजित प्रतियोगिता भने नेपालले पहिलोपल्ट सन् २०१४ मा खेलेको थियो । न्युजिल्यान्डमा जनवरी–फेब्रुअरीमा भएको छनोट पनि नेपालका लागि यादगार भएन, समूहका चारै खेल हार्‍यो । स्कटल्यान्ड, हङकङ, यूएई, क्यानडासँग हारेपछि नेपाल फेरि डिभिजन ३ मा झरेको थियो । त्यसबेला सुपर सिक्स खेल्दै यूएई र स्कटल्यान्ड विश्वकपमै पुगे भने हङकङ र पपुवा न्युगिनीले पनि एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएका थिए ।


फेरि नेपाल अक्टोरब २०१४ मा डिभिजन ३ को उपाधि जित्दै डिभिजन २ मा फर्कियो । अर्को वर्ष डिभिजन २ मै अड्कियो र यसपालि उक्लिँदै फेरि नेपालले विश्वकप छनोट खेल्न लागेको हो । चार वर्षअघिको छनोटमा नवौं स्थानको प्ले–अफमा युगान्डालाई पराजित गरेकाले नेपाल ५० ओभरको क्रिकेटमा विश्व वरीयताको २१ औं स्थानमा रहेको थियो । डिभिजन २ को उपविजेताको रूपमा यसपालिको छनोटमा प्रवेश गर्दा नेपालको वरीयता १८ औं स्थान हो । नेपाल सबभन्दा उच्च स्थानमा पुगेको यसैपालि हो ।


मार्च २५ सम्म चल्ने छनोटको समूह ‘ए’ मा आयरल्यान्ड, नेदरल्यान्ड्स, यूएई, पपुवा न्युगिनी र वेस्ट इन्डिज छन् भने समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, नेपाल, स्कटल्यान्ड र जिम्बाबे छन् । समूहका शीर्ष तीन क्लब सुपर सिक्स चरणमा पुग्नेछन् र विश्वकप खेल्ने दुई टिमको फैसला त्यसैबाट हुनेछ । समूहका अन्तिममा रहने दुई टिमले अर्को समूहका टिमसँग प्ले–अफ खेल्नेछन्, जसबाट दुई नवौं र दसौंमा रहने टिम डिभिजन २ मा झर्नेछन् । घटुवा हुनबाट जोगिनु पनि नेपालका लागि छनोटमा उपलब्धि नै हुनेछ ।


नेपालले डिभिजन २ मा हरेक खेलमा संघर्ष गर्नुपरेको थियो । त्यसभन्दा स्तरीय टिमको सामना विश्वकप छनोटमा गर्दै छ । त्यसैले जिम्बाबेमा नेपाललाई सजिलो हुने छैन । जिम्बाबेले नौपल्ट, स्कटल्यान्डले तीनपल्ट र अफगानिस्तानले एकपल्ट विश्वकप खेलिसकेका छन् । छनोटमा सहभागीमध्ये नेपाल, हङकङ र पपुवा न्युगिनीले मात्र विश्वकप खेलेका छैनन् । नेपाल र नेदरल्यान्ड्सबाहेक अन्य टिमका प्रतिस्पर्धाले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउनेछन् । नेपाल र डच टिमसँगको खेल भने ‘लिस्ट ए’ हुनेछन् । यसले पनि आफ्नो स्तरको संकेत गर्छ ।


नेपाल र अफगानिस्तानको क्रिकेटमा केही वर्षअघिसम्म खासै भिन्नता थिएन । अहिले भने ठूलै खाडल बन्दै गएको छ । छनोटको समूह चरणमा यी दुईको भेट रोमाञ्चक हुन सक्छ । इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा हैदरावादले भारु.नौ करोड मूल्य लगाएका लेगस्पिनर रसिद खान, १ करोडका मोहमद नाबी, पन्जाबले चार करोड बोली लगाएका मुजिब जाद्रन र राजस्थानले ६० लाखमा लिएका जाहिर खान अफगान खेलाडी हुन् । नियमित कप्तान अश्गर स्टानिक्जाई बिरामी भएपछि अफगान टिमको नेतृत्व रसिदले गर्दैछन् ।


अघिल्लो वर्षको आईपीएलमा आफूलाई राम्रो खेलाडी भएको प्रमाणित गरिसकेका रसिद एकदिवसीय क्रिकेटको वरीयतामा नम्बर १ बन्ने विश्वकै सबभन्दा कान्छो बलर हुन् । उनी टी–२० को वरीयतामा पनि शीर्षस्थानमा छन् । उनको बलिङ नेपाली ब्याटसम्यानले कसरी खेल्छन् ? आईपीएलमा यसैपालि आबद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले नाबी र विश्व क्रिकेटमा अगाडि बढिरहेको अफगान ब्याटसम्यानहरूलाई कसरी रोक्लान् ? पारस, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामीले उत्कृष्ट खेल देखाउन सक्लान् ? नयाँ हिरोको रूपमा लिइएका रोहितकुमार पौडेल, आरिफ शेख, करण केसी जिम्बाबेमा पनि चम्किएलान् ?


डिभिजन २ पछि टिममा ललित राजवंशी थपिएका छन् । उनीसहित दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, दीलिप नाथ, अनिल शाह, आरिफ शेख पहिलोपल्ट विश्वकप छनोटमा सहभागी हुँदै छन् । कप्तान पारस, शक्ति गौचन, सोमपाल, ज्ञानेन्द्र, वसन्त, शरद भने चार वर्षअघिको छनोटमा पनि सहभागी थिए । डिभिजन २ मा नेपाली टिम सीमित खेलाडीमा निर्भर थिएन, हरेक खेलमा बेग्लाबेग्लै खेलाडीले राम्रो प्रदर्शन गरेका थिए । त्यसले पनि छनोटमा राम्रो गर्ने आशा बढेको छ । नेपालले समूह चरणमा ४ मार्चमा जिम्बाबे, ८ मा स्कटल्यान्ड, १० मा अफगानिस्तान र १२ मार्चमा हङकङविरुद्ध खेल्नेछ ।


बलिङ नेपाली टिमको परम्परागत हतियार हो । ब्याटिङमा सुधार गर्न सके विश्वकप छनोटमा सुपर सिक्स पुग्ने नेपालको लक्ष्य धेरै टाढा नहुन सक्छ । विश्व क्रिकेट लिग च्याम्पियनको रूपमा नेदरल्यान्ड्सले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पक्का गरिसकेको छ । त्यसैले छनोटमा डच टिमबाहेक एसोसिएट्सतर्फ शीर्ष तीनमा रहने टिमले पनि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनेछन् । छनोटमा नेपालको मुख्य लक्ष्य पनि यसैमा हो, जसले सन् २०२२ सम्मलाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर दिनेछ । त्यसले एकदिवसीयसँगै विश्व क्रिकेट लिग च्याम्पियनसिप र चार दिवसीय इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पनि मिल्नेछ ।

Twitter: @rghising

प्रकाशित : फाल्गुन १९, २०७४ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?