कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जिउँदो छँदै चिहान 

देश
रमेशचन्द्र अधिकारी

काठमाडौँ — आफू जिउँदो छँदै चिहान बनाउने चलन धनकुटाका ग्रामीण क्षेत्रमा तीव्र बनेको छ । कम्तीमा दुई लाखदेखि पाँच लाख रुपैयाँ खर्चिएर चिहान बनाउने गरिएको छ । धेरैले घरभन्दा ३०–४० मिटर दूरीमा बारीको डिलमा चिहान बनाएका छन् ।

जिउँदो छँदै चिहान 

घरनजिक बारीका पाटामा झट्ट नियाल्दा मन्दिरजस्तै झल्को दिने स–साना घर देखिन्छन् । सिमेन्ट ढुंगा मिसाएर कलात्मक रंगरोगन गरेर बनाइएका ती घर कुनै मन्दिर नभएर मृत्युपछि समाधिस्थ गरिने चिहान हुन् । त्यो पनि जिउँदो छँदै आफ्नै लागि तयार पारिएका ।


आफू जिउँदो छँदै चिहान बनाउने चलन धनकुटाका ग्रामीण क्षेत्रमा तीव्र बन्दै गएको छ । साँगुरिगढी–२ का ६५ वर्षीय नयनकुमार तुम्बाफोले घरनजिकै बारीको डिलमा चिटिक्क पारेर चिहान बनाएका छन् । मृत्युपछि आफन्तले उक्त स्थानमा समाधिस्थ गरिदिऊन् भन्ने उद्देश्यले उनले अहिल्यै चिहान बनाएका हुन् ।


तुम्बाफो मात्र होइन, जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा जिउ‘दै मानिसका दर्जनौं चिहान बनिसकेका छन् । सामान्य बोलीचालीमा कपुरथान भनिने चिहानलाई लिम्बु भाषामा इपुङ भनिने किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष शिव इङनाम बताउँछन् । साविकको बूढीमोरङ र हालको साँगुरिगढीस्थित माङदाङ्वा टोलमा मात्रै दर्जनभन्दा बढी चिहान बनाइसकिएको छ । अधिकांश वृद्ध दम्पतीले आफूहरूलाई मृत्युपछि सँगै राखियोस् भनेर जोडी चिहान बनाउने गरेका छन् । सामान्यत: ५ फिट अग्लो र ६, ७ फिट लम्बाइका चिहानघर बनाइन्छ । जहाँ पछि शवलाई बन्द गरेर राख्ने ठाउँ बनाइएको हुन्छ ।

झ्याल, ढोकाजस्तै देखिने कलात्मक शैलीबाट रंगरोगन गरिएका छन् चिहानहरू । केहीले आसपास तारघेरा र फूलबारीसमेत बनाएका छन् ।


सन्तान वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै मृत्युपछि चिहान बन्ला वा नबन्ला भन्ने दोधार छन् वृद्धवृद्धा । त्यसैले आफ्नो मृत्युपछि समाधिस्थ नै नगरिएला कि भन्ने चिन्ताले जीवितैमा चिहान बनाउने क्रम बढेको हो ।


घरैपिच्छे वैदेशिक रोजगारमा जाने युवाको लहरसँगै आफ्नै लागि चिहान बनाउने चलन अझ चुलिँदै गएको चुम्लुङका अध्यक्ष इङनामको भनाइ छ । स्थानीय बुद्धिमान इङनामले पनि

आफ्नो मृत्युपछि सन्तानलाई सजिलो होस् भनेर चिहान तयार पारेको बताए । ‘आफैंले बनाइदिएको चिहानमा मरेपछि त राखिदेलान् नि,’ उनले भने, ‘आजभोलि सबै व्यस्त हुन थालेकाले बरु आफैंले जीवितैमा तयार पारिदिएपछि ढुक्क भयो ।’


विशेषगरी लिम्बु समुदायमा यस्तो चलन बढ्दै गएको साँगुरिगढीस्थित रामनवमी माविका प्रधानाध्यापक रमेश इबाहाङ बताउँछन् । लिम्बु समुदायमा धेरैजसो चिहानमा समाधिस्थ गरिने चलन रहेको उनले जानकारी दिए । ‘पहिले त हामीलाई नि अनौठो लाग्थ्यो,’ उनले भने, ‘अब त जिउ‘दैमा चिहान बनाउने एक प्रकारको चलनै बनिसक्यो ।’


सुरुमा बूढीमोरङका जगत तुम्बाफो र खुवाफोकका दिलबहादुर याख्खा तथा उनका तीन दाजुभाइले जीवित छँदै चिहान बनाएको स्थानीयवासीको भनाइ छ । जगतबहादुर तुम्बाफोको डेढ दशकअघि मृत्यु भइसकेको छ । उनलाई जीवित छँदै निर्माण गरिएको कपुरथानमा समाधिस्थ गरिएको परिवारले बतायो । उनका ६४ वर्षीय छोरा नयनकुमारले पनि बाबुको जस्तै आफ्ना लागि चिहान निर्माण गरिसकेका छन् । यो क्रम नियाल्दा जिउ‘दै चिहान बनाउने चलन अब दोस्रो पुस्तामा पुगिसकेको छ । यसैलाई अन्य स्थानमा बसोबास गर्ने लिम्बु तथा याख्खा समुदायले पछयाइरहेका छन् ।


साँगुरीगढी २ कै बुद्धिमान इङनाम, मनमाया लिम्बु, मनबहादुर इङनाम, हस्तबहादुर लिम्बु तथा उनकी श्रीमतीको पनि जिउ‘दैमा चिहान बनाइसकेका छन् ।


बूढीमोरङ, खुवाफोक, हात्तीखर्क, परेवादिन, महाभारत तथा भेडेटार आसपासका क्षेत्रमा जीवित छँदै समाधिस्थल बनाउने चलन बढ्दै गएको चुम्लुङका अध्यक्ष इङनामको भनाइ छ । कम्तीमा दुई लाखदेखि पाँच लाख रुपैयॉ खर्चिएर चिहान बनाउने गरिएको छ । धेरैले घरभन्दा ३०–४० मिटर दूरीमा बारीको डिलमा चिहान बनाएका छन् । घर छेउछाउमै चिहान राखिने चलनले विशेषगरी बालबालिकामा मनोवैज्ञानिक असर पर्ने रामनवमी माविका छात्र सोनम लिम्बु बताउँछन् ।

प्रकाशित : फाल्गुन १९, २०७४ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?