कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भुइँखाट

कथा
महेशविक्रम शाह

काठमाडौँ — भुइँखाटमा लम्पसार परें !
म भुइँखाटमा सुत्न थालेको हप्तादिन हुन लागेको थियो । हुन त हाम्रो कोठामा बडेमाको गद्दादार सरया नभएको होइन । र, हामी लोग्नेस्वास्नीले यसै सरयामाथि गुटमुटिँदै जीवनका मधुर क्षणहरू नबिताएका पनि होइनौं । यो सरया हाम्रो विवाह भएदेखि नै जीवनको एक अभिन्न अङ्ग बनिसकेको हो ।

भुइँखाट

हाम्रो जीवनमा घटित सबैभन्दा स्मरणीय घटनाको स्थल पनि यही गद्दादर पलङ हो, जहाँ मधुरात बिताएका थियौं । यस सरयासँग जोडिएका कोमल भावना र आनन्ददायी पलहरू मनभित्रबाट निकाल्ने हिम्मत नभए पनि जीवनभर यही सरया अँगालेर बस्नुपर्छ भन्ने मान्यता हाम्रो थिएन ।


हामीले यसको सट्टा बजारमा आयातित विदेशी महँगा पलङहरूमाथि सुत्ने सपना पनि नदेखेका होइनौं । लम्बा, चौडा र स्प्रिङ जोडिएका मुलायम, लचकदार पलङमा सुतेर हरेक साँझ मधुरातको अनुभव गर्ने आकाङ्क्षा नभएको पनि होइन । तर हामीले हामीसँगै विवाहका हरेक वर्षगाँठ मनाइरहेको यस पलङलाई आफूबाट अलग गर्न सकेनौं । सधैं यही पलङमाथि सुतेर, कोल्टे फेरेर, अडेस लगाएर वैवाहिक जीवन जिउने कला निखार्दै अगि बढयौं । एकअर्काको अनुपस्थितिमा हामीलाई यो पलङ उराठ–उजाड मरुस्थल लाग्थ्यो । यो पलङमाथि बसेर मलाई लोग्नेको प्रतीक्षा गर्दा आनन्द आउँथ्यो । हामी दुवैका लागि यो सरया जीवनलाई ऊर्जाशील बनाउने माध्यम थियो । लाग्थ्यो, यो सरयाबिना हामी अधुरा छौं, रित्ता । तर, उदेकलाग्दो कुरा के थियो भने हामी लोग्नेस्वास्नीको समान हक लाग्ने उक्त सरयामाथि मेरो लोग्ने एक्लै उत्तानो परेर सुतिरहेको थियो अथवा सुत्ने नाटक गरिरहेको थियो ।

मलाई किनकिन भुइँखाटको आविष्कारकबारे जान्न मन लाग्यो— को होला त्यो सिर्जनशील व्यक्ति, जसले पहिलो पटक भुइँखाटको आवश्यकता महसुस ग‍र्‍यो । उसलाई किन आवश्यक प‍र्‍यो होला भुइँखाट ? लाग्छ, आफू सुत्ने सरयामा अटाउन नसकेर भुइँखाटको जोहो ग‍र्‍यो होला वा हामी लोग्नेस्वास्नीझैँ खटपट भएको बेला वैकल्पिक ओछयानको व्यवस्था ग‍र्‍यो होला । जे होस्, जसले यसको रचना गरे पनि ऊ भुक्तभोगी थियो । लोग्ने र स्वास्नीका मनोभावनाहरू केलाउन सक्ने मनोविश्लेषक थियो ऊ ।


‘म भुइँखाटमा सहज छु †’ म आफ्नो लोग्नेलाई त्यही भान पार्ने प्रयास गरिरहेकी थिएँ ।

हुन त असहज मान्नुपर्ने पनि कुनै कारण थिएन । कसैले जबरजस्ती मलाई भुइँखाटमा सुताएको होइन । म आफ्नो मनमर्जीले सुतेकी । भलै त्यो भुइँखाटको तीनफिटे चौडाइमा मेरो अधबैंसे मोटो जिउ सात नम्बरको जुत्तामा नौ नम्बरको खुट्टा जबरजस्ती घुसारेझैँ किन नहोस् । सिरानीमा टाउको जोतेर गम्भीर हुँदै मैले धेरै कुरा सोचें । दुर्भाग्यवश हामी लोग्नेस्वास्नी जीवनको त्यो मोडमा आइपुगेका थियौं, जहाँ हामीलाई आफ्नो बेड रुममा दुइटा सरया आवश्यक महसुस भएको थियो । हामी दुवै लम्पसार परेर सुतिरहेका थियौं, सुतेको असफल नाटक गरिरहेका थियौं † र, एकअर्कालाई देखाउने प्रयास गरिरहेका थियौं— तिम्रो शारीरिक स्पर्शले अब मेरो जीवनमा कुनै गम्भीर अर्थ राख्तैन । अर्थात् हामी एकअर्काको गन्धलाई पनि बिर्सन थालेका थियौं । ‘हामीमा उक्त गन्ध स्मरण गर्ने इच्छा र जाँगर थिएन’ भन्नु अझ इमानदारी होला । सधैं मासु काट्ने बगरेलाई मासुको गन्धसँग के सरोकार ! सायद हामी पनि बगरेको वर्गमित्र बन्ने होडमा थियौं ।


बिहान ऊ अफिस गएपछि मैले दिनभर पलङमाथि सुतेर रातभरको अनिँदो मेटें । मलाई यो कुरा सम्झेर हाँसो उठयो कि राति मेरो कित्तामा भुइँखाट परे पनि दिनभर गद्दादार सरया आफ्नै थियो । मैले राति लोग्नेले खजमज्याएको तन्ना र तकियाको खोल फेरें । बिछयौना यसरी सिनित्त पारें, मानौं मेरो मायाको भोको लोग्ने व्यग्र भएर हान्निदै साँझ घर फर्कनेछ । म समालिन नपाउँदै मलाई अँगालोमा बाँधेर ओछयानमाथि लडाउनेछ... । ती रमणीय दिनहरू पुराना थिए र क्षणहरू पनि अतीत बनिसकेका थिए तर तिनै क्षणहरूको स्मृति मेरो तीतो मन मिठयाउने सहारा बनिदिन्छन् ।


म पलङमाथि लम्पसार परें । एउटा तकिया टाउकोमुनि राखें, अर्को तकियालाई दुई हातले अँगालो हालेर छातीमा टाँसें र तेस्रो तकियालाई दुई खुट्टाका बीचमा च्यापेर आँखा बन्द गरी कल्पनामा रमाइरहें, मानौं त्यो तकिया नभएर मेरो लोग्नेको पोटिलो तिघ्रा हो । मैले तकियालाई छातीले थिचें । मलाई अनुभूति भयो, मानौं मेरो लोग्नेले मलाई आफ्नो छातीमा टाँसिरहेछ । मेरो सम्पूर्ण देहसँग एकाकार भइरहेछ मेरो लोग्ने । म पलङको पूर्ण लम्बाइ र चौडाइलाई शरीरका अङ्गप्रत्यङ्गले समेट्ने प्रयास गर्दै छरपस्ट भएँ ।

आशा गरिरहेकी थिएँ— आज मेरो लोग्ने अफिसबाट घर फर्कंदा आँखाभरि घृणा र अनुहारमा सन्ताप बोकेर होइन, ओठमा मधुर मुस्कान खेलाउँदै ताजा भएर घर आउनेछ । रिसाएरै किन नहोस्, मसँग दुई शब्द भए पनि बोल्नेछ । म नबोलेरै उसलाई आमन्त्रण गर्नेछु । मेरो देहका छिद्रछिद्रबाट उसका लागि पुकार निस्कनेछ । धेरै दिनदेखि मबाट विकर्षित मेरो लोग्नेलाई म मायाले रङ्गाउनेछु । ऊ मेरो प्रेमको न्यानोले रापिनेछ, मायाको रसले छपक्कै भिज्नेछ ऊ । नि:शब्दता चिर्दै लजाईलजाई मधुर मुस्कानले घरभित्रको वातावरण चञ्चल बनाउनेछौं हामी । धेरै दिनपश्चात् घरमा उन्मुक्त हाँसो गुन्जिनेछ । हामी आमनेसामने बसेर एकअर्कासँग घुर्की लगाउँदै सँगै खाना खानेछौं । ऊ मैले पकाएका परिकारहरू स्वाद मानीमानी खानेछ ।


मैले उसलाई मन पर्ने परिकारहरू बनाएँ । आशा जागेको थियो— मलाई आज ऐनाअगाडि उभ्याएर ऊ मुक्तकण्ठले मेरो रुपको प्रशंसा गर्नेछ । यही आशाले मैले धेरै दिनपछि ड्रेसिङ टेबल अगाडि आफूले आफैलाई नियालेर हेरें । मैले दिनभर मेकअपले आफूलाई सिँगारेर सकभर राम्री बन्ने प्रयास गरें । हो, म साँच्चिकै सुन्दर देखिएकी थिएँ । आपैंmले आपंैmलाई हेरेर मक्ख परेकी थिएँ म । मेरो रूपबाट मोहित भएरै किन नहोस्, लोग्नेको मौन व्रत तोडिनेछ आज † यस अनुभूतिले कताकता रोमाञ्चित बनायो मलाई । आफूभित्र उर्लिएको रोमाञ्चको लहर फैलाउँदै म कल्पना गर्न थालें, ‘सायद आज हामी दुवै भोका गिद्धहरूझैँ एकअर्कामाथि झम्टिनेछौं । दुवैको काँचो मासु एकअर्काको तातोले फतफती गल्नेछ, पग्लिँदै तपतप चुहिनेछ । हामी एकअर्कामा घुलनशील हुँदै सम्पूर्ण ओछयान निथ्रुक्क भिजाउनेछौं ।’ कल्पनाले मात्र पनि मेरो सम्पूर्ण देह असिनपसिन भयो । मेरा ओठहरू काँपे । अनुहारको रङ परिवर्तन भएर म लालीगुराँस भएँ । म आश्चर्यचकित भएकी थिएँ— अधबैंसे उमेरमा पनि मेरो मन आफूलाई भर्खरकी तरुनी ठानिरहेको थियो, जसको हृयको अन्तरकुन्तरमा जीवनका मीठा सपनाका असङ्ख्य शृङ्खला हुने गर्छन् ।


साँझ प‍र्‍यो । रात ढल्यो । ऊ बल्लतल्ल घरको सँघारमा देखा प‍र्‍यो । म कोठाभित्रै बसेर उसको प्रतीक्षा गरिरहेकी थिएँ । सोचिरहेकी थिएँ— ऊ कछुवाको चालमा बिस्तारै मछेउ आउनेछ । मलाई पछाडिबाट गम्लङ्ग अँगालो हालेर ऊ लोग्ने र म स्वास्नी भएको अनुभूति दिनेछ । तर, मेरो अनुमान र आशाविपरीत ऊ बतासको झोकाझैँ हुर्रिंदै कोठाभित्र प्रवेश ग‍र्‍यो र मतिर हेर्दै नहेरी पलङमाथि काठको मुढोझैँ डङ्ग्रङ्ग पल्टियो ।


ओह † मेरा सपनाहरू हिजोअस्तिझैँ आज पनि स्खलित भए । उसले मेरो अनुहारतिर पुलुक्क पनि हेरेन । मायालु आँखाले त परै जाओस्, दुस्मनको नजरले पनि हेरेन मलाई । उसको विमुखताले मलाई आफ्नो अनुहार कुरुप लाग्यो । मैले एकै झट्कामा हातका नङ्ग्राले आफ्नो अनुहार कोपरें । मेरो शृङ्गार लतपतियो । मेरो शरीरले थुनेर राखेको संवेगको बाँध पलभरमै भत्कियो । मलाई के गरूँ के नगरूँ भयो, डाँको छोडेर रुन मन लाग्यो । एक मनले ठान्यो, ‘ऐले नै यो घर छोडेर निस्कूँ † आफ्नै कोठाभित्र एउटी स्त्री लोग्नेबाट परित्यक्त बन्न थालेपछि उसको आफ्नो घर नै कहाँ बाँकी रहन्छ र †’ मलाई कोठाका भित्ताहरूले गिज्याउन थाले । मेरो निरीह अवस्थामाथि व्यङ्ग्य गर्दै बडेमानको गद्दादार सरया अट्टहास गर्न थाल्यो । यो त्यही सरया थियो, जहाँ मैले पहिलो पटक आफू पूर्ण स्त्री भएको अनुभव गरेकी थिएँ । मेरा लागि मेरो लोग्नेभन्दा दोस्रो प्रिय वस्तु रहेको थियो यो पलङ, जहाँ म आफ्नो जीवनको बढीभन्दा बढी समय व्यतीत गर्ने गर्थें । मेरा इच्छाहरू, आकाङ्क्षाहरू, सपनाहरू, मेरा खुसी र रहरहरू यही पलङको आयतनमा फैलिएका थिए । यो पलङ मेरा लागि प्राय: खुसी लिएर आउँथ्यो र मोहनी लगाएर जान्थ्यो । यो पलङ मेरा लागि ब्याट्री चार्ज गर्ने चार्जरझैँ थियो, जुन हामी जोईपोइलाई कहिल्यै डिस्चार्ज हुन दिँदैनथ्यो । हामी दुवै रिचार्ज हुन्थ्यौं । हाम्रो शरीरमा नयाँ तरङ्गहरू लहरिन्थे र हामी आनन्दको मादकताले आह्लादित हुन्थ्यौं । सात फिट लम्बाइ र पाँच फिट चौडाइको यो पलङले हामीलाई यति खुसी दिन्थ्यो कि पलङबाहिर पनि हाम्रो खुसी रित्तिँदैनथ्यो । पलङभित्रको आनन्द चारैतिर छताछुल्ल भएर पोखिन्थ्यो र हामी लोग्नेस्वास्नी आनन्दको सरोवरमा हेलिँदै जीवनका समग्र उमङ्ग र उल्लास भेट्टाउँथ्यौं ।


भुइँखाटमा सुतेको सुत्यै म कोल्टो फर्किएँ र अर्धमुदित आँखाले उदास भावमा पलङमा हेरें, जुन पलङ मेरा लागि हिजोआज बिरानो भएको थियो । मेरो सरया मेरो लोग्नेलाई अङ्कमाल गरेर मस्त निदाइरहेको थियो । मेरो लोग्ने हामी दुवैको सरोबरी हक लाग्ने पलङमाथि कब्जा जमाएर नागझैँ कुँडुली मारिरहेको थियो । लाख कोसिस गर्दा पनि म आफ्नै पलङमाथि उक्लिन सकिरहेकी थिइनँ । मलाई आपैंm अचम्म लागिरहेको थियो । जुन पलङमाथि एक छिन बस्न पनि म सदा लालायित रहन्थे, आज त्यसमाथि पस्रिरहेको लोग्नेको जिउँदोजाग्दो शरीर देखेर पनि म रोमाञ्चित हुन सकिरहेकी थिइनँ । लोग्नेको संवेदनाहीन मुढोजस्तो शरीरले मलाई विरक्त बनाइरहेको थियो । बितेका सात दिनमा मानौं हामीभित्रको चुम्बकीय शक्ति क्षीण भइरहेछ । दिनदिनै हामी एकअर्काबाट विकर्षित भइरहेछौं । यही विकर्षणले मलाई मेरो हक लाग्ने मुलायम सरयाबाट भुइँखाटमा हुर्‍याएको छ ।


पलङमाथि पल्टिएको जीवित मुढोमा केही हलचल भएको थियो । मेरो लोग्ने त्यो बडेमानको पलङमाथि एक्लै सुतेको कति पनि सुहाएको थिएन । ऊ कहिले दायाँ र कहिले बायाँ कोल्टो फेर्दै निदाउने असफल प्रयास गरिरहेको थियो । सायद ऊ सोचिरहेको थियो— म भुइँखाटमा मस्तसँग निदाइरहेकी छु, उसको कुनै पर्बाह नै नगरेर । यही सोचले सम्भवत: ऊ झन् तनावग्रस्त बनेको थियो । उसको यस अवस्थाको भेउ पाएर मलाई आफू उसप्रति बेपर्बाह भएको देखाउन मन लाग्यो । म उत्तानो पल्टिएँ । मैले आफ्ना खुट्टा फटयाएर दुई हातका पञ्जा पनि उत्तानो राखें । अहिले मेरो सासको गति बढेको थियो । र, सासको चालसँगै मेरा स्तनहरू पनि गतिमय भएका थिए । नाकबाट निस्किएको सासको न्यानो स्पर्शले अनायास मेरो शरीरको तापक्रम बढाइरहेको थियो ।


अचानक ऊ जुरुक्क उठयो र पलङमाथि टुक्रुक्क बस्यो । केही बेरको मौनतापछि उठेर ऊ बाथरुम छिर्‍यो र ढयाम्म ढोका लगायो । ऊ बाथरुम छिरेपछि मैले सन्तोषको लामो सास तानें । मानौं, अगि मेरो कोठाभित्र छिरेको बतासको झोंका बल्ल कोठाबाट बाहिरिएको छ । मेरो शरीरमा स्फूर्ति पलायो । मैले अरट्ठ परेका आफ्ना हातखुट्टाहरू खुम्च्याएँ, तन्काए र सजिलो गरी घोप्टो परेर सुतें । उसले बाथरुमभित्र के ग‍र्‍यो, मलाई थाहा भएन तर फ्लस गरेको र पानीले छयापछयाप गरेको आवाज भने मेरो कानमा

परिरहेको थियो ।


ऊ बाथरुमबाट बाहिर आयो । मैले महसुस गरें— उसले उभिएको उभियै पछाडिबाट भुइँखाटमाथि घोप्टिएको मेरो शरीर घुरेर हे‍र्‍यो । उसले एकटक लगाएर हेरिरहयो होला मेरा गोरा पिँडौला, मेरो फराकिलो नितम्ब, मेरो मांसल पिठयुँ, उसले चुम्ने गरेको दाहिने गालो र लुछ्ने गरेको कान । मेरो अर्धनग्न देहयष्टि देखेर उसमा के प्रतिक्रिया भयो, यसै सक्तिनँ । तर के अनुमान गर्न सक्छु भने म यसरी मनमोजी सुतेको देखेर उसलाई पक्कै पनि ईष्र्या लाग्यो होला । आफू यसरी किन सुत्न सकिनँ भन्ने सन्तापले ऊ पिरोलियो होला ।


ऊ फेरि पलङमाथि चढेर तनावग्रस्त हुँदै उत्तानो पस्रियो । म भुइँखाटमा मनोग्रस्त भएर घोप्टिरहें । हामी एउटै पलङमा भएको भए सायद म उत्तानो परेकी धरती हुन्थें र ऊ ममाथि घोप्टिएको आकाश हुन्थ्यो । उत्तानो पर्ने र घोप्टिने क्रियाहरू पनि सधैं एउटै अवस्थामा लागू हुँदा रहेनछन् ।


भुइँखाटमा घोप्टो परेको पर्‍यै मैले स्मरण गरें हाम्रो विवाहपछिका थुप्रै दिन र रातहरू † हामी दिउसै रात पाथ्र्यौं भने रातलाई झन् तन्काएर झिसमिसेको उत्कर्षसम्म पुर्‍याउँथ्यौं † मेरा आँखामा लोग्नेको मुहार नाच्यो । कति हिस्सी परेको छ ऊ । मलाई लाग्यो— उसको अनुहारलाई हत्केलाको बीचमा राखेर सधैं चुमिरहूँ । उसको मायालु अनुहार र अबोध आँखाहरू सम्झेर मेरो जिउमा एकाएक स्फूर्ति पलाएर आयो । मैले मीठो कल्पना गरें— म हरियो दुबोको चौर हुँ । ऊ मदमस्त साँढे हो, जो आफ्नो शरीर थर्काउँदै, जुरो हल्लाउँदै, पुच्छर डोलाउँदै र खुट्टा बजार्दै चौरको दुबो चरिरहेछ । हरियो दुबोका मुन्टा चपाएर ऊ तृप्त भइरहेछ ।


म आफू रित्तिएर पनि चरचर आवाजको आनन्दले नयाँ पालुवा बनेर टुसाइरहन्छु । मलाई तन्द्रामै आभास भयो— मेरो लोग्ने पनि त्यही सोचिरहेछ, जुन म सोचिरहेछु । मौन भाषामा ऊ मलाई आमन्त्रण गरिरहेछ । तर मेरो शरीरको स्वच्छन्द अवस्था र सुताइको चेष्टा देखेर उसले किन बुझ्न सकेन कि म पनि त उसलाई खुला हृदयले निमन्त्रणा गरिरहेछु । ऊ एक पटक मात्र आएर मलाई स्पर्श त गरोस्, त्यति बेला उसले थाहा पाउनेछ कि उसको स्पर्शका लागि म कति आकुलव्याकुल छु । म पलभरमै पानीमा चिनी घुलेझैँ ऊभित्र लुप्त हुनेछु !


उसभित्र लुप्त हुने लालसाले मात्र पनि मेरा अङ्गप्रत्यङ्ग आरनमा हालेको फलामझैँ रापिन थाले । मलाई महसुस भयो— मेरा रक्तनलीहरूमा तातो रगतको बाढी उर्लिएको छ । मेरो फोक्सो फुलिरहेछ र बढेको सास थाम्न मलाई मुस्किल परिरहेछ ।


अँध्यारोमै म भुइँखाटबाट जुरुक्क उठें । मेरा खुट्टाहरू स्वचालित रूपमा पलङतिर बढे । तर अचानक बीचैमा म जोडले कसैसँग ठोक्किएँ र हामी दुवै भुइँखाटमाथि डङ्ग्रङ्ङ पछारियौं । म आश्चर्यचकित भएँ— म ठोक्किएको वस्तु अरू केही नभएर मेरो आफ्नै लोग्ने थियो । सायद ऊ पनि अँध्योरामा छामछुम गर्दै भुइँखाटतिर बढिरहेको थियो । धेरै दिनपछि यति नजिकबाट उसको पुरुष गन्ध सुँघ्न पाएर म निसासिन थालें । म सुतेको भुइँखाट अब भुइँखाटमा सीमित रहेन । हामी लोग्नेस्वास्नीको सशरीर उपस्थितिमा तीन फिट चौडा भुइँखाट सातफिटे डबल बेडको पलङभन्दा पनि लामो, चौडा, मुलायम र आनन्ददायक बनेको थियो । एक सप्ताहपश्चात् त्यो सानो भुइँखाटमा हामी लोग्नेस्वास्नी यसरी मच्चियौं, मानौं भर्खर मात्र हामी विवाहको पहिलो रात मनाइरहेछौं ।

(आज विमोचन हुने कथासङ्ग्रह ‘भुइँखाट’ बाट)

प्रकाशित : फाल्गुन २६, २०७४ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?