कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लीलाहरूमा इन्द्रबहादुर राई

सम्झना
इन्द्रबहादुर राईको जीवन नै एउटा प्रयोगशाला हो । सामाजिक यथार्थवाद, तेस्रो आयाम र लीला गरी तीन चरणमा बाँडिएको उनको लेखनयात्रा वास्तवमा जीवनको खोजी हो । 
डा. राजेन्द्र भण्डारी

काठमाडौँ — ६ मार्च २०१८ मा नेपालीभाषीहरूको पोथ्राबाट इबराको चिदात्मा–चरो फुर्र उडेर अनन्त आकाशमा बिलायो । ‘अर्को इन्द्रबहादुर राई कहिले पाइएला’ को आशामा हामी भविष्यतिर आँखा ओछयाइरहनेछौँ ।

लीलाहरूमा इन्द्रबहादुर राई

इन्द्रबहादुर राईको निधन भनेको गाउँबीच गजधम्म बसेको विशालकाय वटवृक्ष गडयाम्म ढल्नु हो । भारतका नेपालीभाषीहरूको बौद्धिक ओत, अडेसा, प्रेरणामूर्तिको सतत क्षय हो । एकाएक टुहुरो हुँदाको अनुभव हो । ६ मार्च २०१८ को साँझले यस्तै अवसाद बोकेर ल्यायो । नेपाली साहित्य नै हल्लियो । पराकम्पन अझै छ । ६ मार्चको ‘रातभरि हुरी चल्यो’ । ७ मार्चमा ब्युँझिँदा घरको गारो ढलेको पायौँ । छानु उडेको पायौँ । मनमा गह्रौँ लोला झुन्डेको अनुभव गर्‍यौँ ।

इन्द्रबहादुर राईको जीवन नै एउटा प्रयोगशाला हो । सामाजिक यथार्थवाद, तेस्रो आयाम र लीला गरी तीन चरणमा बाँडिएको उनको लेखनयात्रा वास्तवमा जीवनको खोजी हो । यथार्थकै पडताल हो । उनले जेजे छोए त्यो सुन भयो । आफैँले आफैँलाई सुधारिरहे उनले । सुधार्ने क्रममा उनले जन्माएका रचना नेपाली साहित्यकै सम्पत्ति भए ।

सन् १९५९ को सुरुतिरै लेखिसकिएको तर १९६४ मा छापिएको ‘आज रमिता छ’ उपन्यासको एउटा पात्र भूदेवलाई इन्द्रबहादुर राई भन्न लाउँछन्— ‘राम्ररी नहेर्नू । तैँले तेरै बाबुलाई पनि राम्ररी एकोहोरो लाएर हेरिरहिस् भने एक छिनमा अर्कै कोही मान्छे जस्तो लाग्छ, त्यति बेला बाबु छैन भन्नु ?’ तर आफैँले जन्माएको पात्र भूदेवको भनाइ के मान्थे इबरा १ उनले राम्ररी हेरे । अनि पाए— अगमसिंह गिरीहरूले लेख्दै ल्याएको साहित्य त चेप्टो पो रहेछ । सतही पो रहेछ । अनि आख्यानमा, कवितामा गहिराइको खोजी गर्दै उनी पुगे आयामिक लेखनमा । साथमा लिए ईश्वरवल्लभ र बैरागी काइँलालाई । यथार्थ अलग्गै हुन्छ, हामीले देखेअनुरूप हुँदैन । अनुभूतिको आफ्नै वस्तुता हुन्छ । वस्तुता चिन्दै, गहिराइ खोज्दै इबरा पुगे बाङदेल, पिकासो, मतिश, माने, सेजाँका अमूर्त र घनवादी चित्रसम्म । चुडलाई अचेतनबारे सोधे । अस्तित्ववादी हुसर्न, सात्र्रहरूलाई भविताबारे सोधे । अनि जन्मियो नेपाली साहित्यमा तेस्रो आयामिक लेखन । इबराको ‘कथास्था’, ईश्वरवल्लभका ‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’ र ‘एउटा सहरको किनारामा’ आदि अनि बैरागी काइँलाको ‘बैरागी काइँलाका कविताहरू’ आदि । नेपाली साहित्यमा यिनीहरू नौला परिकार भए । पाठकहरू कति अलमलिए । कति गम्भीर भए । साहित्य भनेको खेलाँची होइन रहेछ भन्ने ज्ञान पाए । सृजन, साहित्य र जीवनबारे बालकृष्ण समले खुब चिन्तन गरेथे । उनीपछि इबराले गरे । जाँ पल सात्र्रको ‘साहित्यलाई गम्भीरतापूर्वक लिऔँ’ भन्ने भनाइलाई उनले अक्षरश: पालन गरे ।

इन्द्रबहादुर राईले आफैँलाई प्रश्न गरे । के वस्तुता भन्ने हुन्छ ? उत्तर पाए— हुँदैन । ‘किन हुँदैन ?’ को उत्तर उनले ज्याक डेरिडाको डिकन्स्ट्रक्सन, हाइजनबर्ग र बोहर आदिको क्वान्टम सिद्धान्त, पूर्वीय लीलावाद र मायावादमा पाए । पाएको ठाने । ‘कठपुतलीको मन’, ‘पहेँलो दिन’, ‘झ्याल’ आदि कृतिहरूमा लीलालेखन सिद्धान्तलाई समाविष्ट गरे । तेस्रो आयामको वस्तुतालाई खण्डन गर्न उनलाई डेरिडाको ‘भाषाखेल’ सिद्धान्त र आधुनिक भौतिकीको क्वान्टम सिद्धान्तले सर्वाधिक बल पुर्‍यायो । डेरिडाले पाठको अर्थ सतत अनन्तिम हुने र अर्थ–स्थगन भइरहने भन्नु र क्वान्टम सिद्धान्तले परमाणुको स्थिर रूप कहिल्यै हुँदैन भन्नु समकक्षी माने इबराले । अनि गोपिनीहरूले कृष्णका अनेक रूप एकैसाथ देख्नुको प्रसङ्ग पनि जोडेर हेर्दा समग्रमा जीवन–जगत्का यावत् घटनाचक्रलाई कुनै निर्दिष्ट दृष्टिकोणले हेर्न नमिल्ने पनि स्वत: तर्कसङ्गत बन्न पुग्यो । गुरुप्रसाद मैनालीकृत ‘परालको आगो’ कथालाई उनले यही दृष्टिबाहुल्यको कसीमा प्रस्तुत गरे । यसरी लीलालेखनको सिद्धान्त र व्यवहार तयार भयो । लीलालेखनले सामाजिक समस्याहरूलाई नजरअन्दाज गर्‍यो र यो लेखन दायित्वविहीन लेखन बन्यो भनेर वामपन्थी साहित्यकारहरू इबरासित रिसाउनसम्म रिसाए । उनलाई सैद्धान्तिक प्रतिवाद गर्न नचाहेर वा नसकेर हो, कतिले त उनको व्यक्तिगत जीवनको समेत धज्जी उडाए । उसो त आयामकालदेखि नै वाममार्गीहरू उनीप्रति रुष्ट थिए । स्थानीय समाचारपत्रतिर एकापट्टि इबरा, अर्कापट्टि वामधर्मी मोहन दुखुन र बद्रीनारायण प्रधानमाझ निकै लामै चर्काचर्की बहस चल्यो । पछि इबराले ‘साहित्यको अपहरण’ नामले पुस्तिकै पनि छापे । यो क्रम उनको अन्तिम कालसम्मै कायम रहयो । ‘पाण्डुलिपि’ पत्रिकामा पनि उनलाई वामधर्मीहरूले गरेको उछितो पढ्न पाइन्छ ।

आफ्नो लेखनयात्रामा प्रयोगको कोसेढुङ्गा थप्दै जाने इबरा तर अतिप्रयोगमा विश्वास गर्दैनथे । बैरागी काइँलाको प्रयोगधर्मिता मध्यम आँचको तर ईश्वरवल्लभको भने पोल्ने खालको थियो । ईश्वरवल्लभको अतिवादलाई अप्रत्यक्ष इङ्गित गर्दै उनले लेखेका छन्— ‘एउटा खोला बग्दै छ भने खोला त बगेर जान्छ, त्यसको प्रधान धारा बगेर जान्छ, तर त्यसको छेउमै कहीँनेर पानी घुमेर बसिरहेको हुन्छ, छाडिएको पानी, ब्याकवाटर भन्छन् अङ्ग्रेजीमा, मूलधारा कहाँ पुगिसक्यो हामी पछाडिएको धारालाई लिएर बस्दछौँ । फेरि ब्याकवाटर नहुने बलमा जब हामी एकदम अघि बड््ने भएर जान्छौँ— आयामिक लेखन अघाडि बड्ने एउटा उद्यम थियो । एउटा अर्को हुन्छ, साह्रै अघाडि बड्न खोज्यो एक थोपा पानी भने त्यो मूलधारादेखि चुँडिन्छ, अनि मूलधारादेखि चुँडिएपछि त्यो बाँच्न सक्तैन । त्यसले एक थोपा पानी निस्केर सम्झौँ खोलालाई पनि जित्ने गरी, त्यो खोला ढिलो हिँडयो, म बसेको खोला ढिलो हिँडयो भनेर, एक थोपा पानी उफ्रेर अघाडि बढेछ भनेदेखिन् त्यो थोपा ढुङ्गामाथि गएर बस्ला, इन्द्रेणी देखाउला त्यहाँनेर त्यल्ले, इत्यादि, त्यल्ले मोती देखाउला त्यहाँनेर केही छिनको लागि तर त्यो बाँच्तैन । आयामिक साहित्य पनि यस्तै एउटा उछिट्टिएको पानी जस्तो साह्रै अघि बडेको थियो । अब समय आएको छ यसलाई फेरि त्यही प्रधान धारामा हाल्नको निम्ति, अब हामीलाई परेको उत्तरदायित्व त्यो छ ।’ (सन्दर्भमा ईश्वरवल्लभका कविता, १९७६, पृष्ठ ५३) ‘विपना कतिपय’, ‘कथास्था’, ‘कठपुतलीको मन’— सबैमा यथार्थको खोजी छ । निक्र्योल छ । सामाजिक दृश्यसत्ता, आन्तरिक भावसत्ता र दृष्टिबाहुल्यसत्ता— यी तीन यथार्थसत्ताको उत्खननमा इबराको आख्यान तन्किएको छ । उनी न सामाजिक व्यवहारले, न त साहित्यलेखनले, कहिल्यै जीवनदेखि भागेनन् । बिमार नचिनी ओखती गर्दा लाग्दैन ।


यसैले उनी बिमार चिन्नपट्टि लागे । चिन्दैचिन्दै उनी लीलासम्म पुगे । लीलालेखनमा भिन्न दृष्टि स्वागत्य मानिन्छ । उनले ठहर्‍याएको यथार्थ अरूको सँग नमिल्न पनि सक्छ । यही दृष्टिभिन्नता नै संसारको जालो हो । सङ्घर्षको कारण हो । सामाजिक विषमताको जड हो । हुनेखाने र हुँदा खानेको सङ्घर्षमा इतिहास बनिँदै आएको भन्छन् वामधर्मीहरू, तर इबरा भन्छन्— संसार दृष्टिकोणहरूको मेला हो । बुद्धले दु:खको मूल कारण अविद्या हो भने । इबराको रुझान समाजको सतही अध्ययनतिर थिएन । उनी चूडान्त सत्त्व चिन्न चाहन्थे । ढिलोछिटो सबैले नै चूडान्त सत्य जान्न चाहिरहेकै हुन्छन् । यसरी हेर्दा इबराको लेखनयात्रा दार्शनिक यात्रा पनि हो ।

‘हामी शास्त्रसम्मत साहित्य लेखौँ’ (सन्दर्भमा ईश्वरवल्लभका कविता, १९७६, पृ. ५३) भन्ने बीजवाक्य नै लीलालेखनमा आइपुग्दा वृक्ष बनेको हो । इबरा भन्छन्— कृष्णले अर्जुनलाई भनेको ‘निमित्तमात्रं भव सत्यसाची’ वास्तवमा रचनाकारलाई समेत दिइएको परामर्श हो । वस्तुताबोधको पछिल्तिर यही निष्काम भाव अडेसो छ । योगी श्रीअरविन्दले ‘भविष्यको कविता’ नामक ग्रन्थमा चेतनाका विभिन्न स्तरअनुसार रचनाकार्य निस्पादित हुन्छन् भनेका छन् । जस्तो चेतना, उस्तै रचना । चेतनाविस्तारण र चेतनापरिष्करण योगद्वारा सम्भव छ । इबराले श्रीअरविन्दको काव्य ‘सावित्री’ लाई ‘यौगिक साधनासहितको उच्चमनस्ले देखाइ र लेखाइ’ (ऐ., पृष्ठ ५७) भनेका छन्, उदाहरण मानेका छन् । अबको कविता योगले लेखिनुपर्छ भनेर कहीँ कतै उनले भनेका छन् । ‘साहित्य अघिदेखि यौगिक र मोक्षदा मानिएकै हो’ (ऐ., पृष्ठ ५७) बाट उत्प्रेरित इबरा लीलामा मोक्षदा साहित्यका अभियन्ता बनेका हुन् ।

इन्द्रबहादुर राईको उपस्थिति जुनसुकै गोष्ठी, सभा र भेलाहरूमा आकर्षणविन्दु बन्थ्यो । सन् १९८८ मा ‘तेस्रो आयामको पच्चीसौँ वर्षगाँठ’ को आयोजना झापाको धुलाबारीमा गरिएको थियो । त्यहाँ उनले लीलालेखन सिद्धान्तको व्याख्या गर्न चार घण्टा लगाए । तेस्रो आयाम, वस्तुता, सामाजिक यथार्थ हुँदै आधुनिक भौतिक विज्ञानका नवआविष्कारलाई समेत गोड्न भ्याए । तर चाखलाग्दो कुरो के छ भने, लगभग चार घण्टासम्म श्रोताहरूले मन्त्रमुग्ध भएर सुनिरहे । इबराको बोली मह थियो । सन् ’७० को दशकभरि नै दार्जिलिङ–डुवर्समा नेपाली भाषा आन्दोलन चर्केको थियो । इबरा यसका स्टार आकर्षण थिए । मह वक्ता थिए । भारतका प्रधानमन्त्री मोरारजी देसाईले ‘नेपाली भाषा विदेशी हो, भारतको संविधानमा यसले कसरी स्थान पाउँछ ?’ भनेर भारतका नेपालीभाषीहरूलाई चिढयाएका थिए । सबै आन्दोलित थिए । पथसभा, धर्ना, जुलुस, सभा, सत्याग्रह दैनिकीजत्तिकै थिए । इबरा यस आन्दोलनमा पूरै होमिएका थिए । कतिसम्म भने, उनले सामाजिक, जातीय कार्य गर्नकै निम्ति सन्त जोसेफ कलेजबाट प्रोफेसरी छोडिदिए ।

इन्द्रबहादुर राई अङ्ग्रेजी विषयका प्रोफेसर (प्रवाचक) । तर नेपाली भाषामा भाषण दिँदा, वक्तव्य प्रस्तुत गर्दा अङ्ग्रेजी शब्द अति नै न्यून मात्रामा चलाउने । नेपाली शब्दले मात्रै काम चल्ने रहेछ — मलाई लाग्थ्यो । हाइजनबर्ग, नील–बोहर, बेल, कार्ल माक्र्स, डेरिडा, रोला बार्थ, बोद्रिला, म्याक्स प्लाङ्क, टेरी इगल्टन, जेमेसन जस्ता वैज्ञानिक–दार्शनिकहरूलाई उनी घरगाउँले जस्तै परिचित र सरल बनाएर बुझाउँथे ।

इन्द्रबहादुर राई विनम्रताका प्रतिमूर्ति थिए, तर आफ्नो अवधारणाको अनुसरण गर्नेहरूसँग भने उनको थप निकटता रहन्थ्यो । लेखनमा उनी सम्झौता गर्दैनथे । उनको भाषणमा प्रयुक्त भाषा र साहित्यमा प्रयुक्त भाषामा ठूलो अन्तराल थियो । सिकारुहरूलाई उनको ‘वरद हस्त’ सधैँ उपस्थित हुन्थ्यो । उनी हदैका अध्येता । एकदुई दिन टाढा कतै जाँदा वा अलमलिँदा उनलाई छटपटी हुन्थ्यो । ‘यस समयमा केके पढिन्थ्यो, केके गरिन्थ्यो’ भनिरहन्थे । पछिल्ला केही वर्षहरूमा उनलाई सभा, सम्मेलन र गोष्ठीहरूतिर जान झर्को लाग्न थालेको थियो ।

सधैँ सफासुग्घर, चिरिच्याँट्ट भएर हिँड्ने इबराको पारिवारिक जीवन अति सुमधुर थियो । परिवारकै ऊर्जाबाट उनी ताजा भइरहन सक्थे । सक्रिय भइरहन सक्थे । जता गए पनि धर्मपत्नी मायालाई साथै लान्थे । ‘एउटा दिनको सामान्यता’ कथा झन्डै उनकै आत्मकथाको अंश हो । कथाकी मूल पात्राको नाम पनि ‘माया’ नै छ । कथामा इबराको पुरानो मूल घर तुङसुङको बारीको झल्को पाइन्छ । ‘मूलाको बीउ तिमीले पातलो छरेछौ, माया’— प्रथम पुरुष पात्र म भन्छ । यस कथामा पाइने सरस, सौहार्दपूर्ण दाम्पत्य उनकै दाम्पत्य हो भन्न मन लाग्छ । एकपल्ट एउटा समालोचना सङ्ग्रह ‘प्रतिमान’ का लागि रचना माग्न म उनको तुङसुङ घरमा पुगेको थिएँ । ‘पारिश्रमिक कति दिने ?’ सोधेका थिए फोनमा । हाम्रोतिर लेखका निम्ति पारिश्रमिक हुनै नसक्ने कुरा थियो । अझै छ । कुरो सन् ’८३–८४ तिरको हो । ‘हुन्छ, दिन्छु तीन सय,’ मैले भनेको थिएँ । घर पुग्दा बाहिर झलमल्ल घाम लागिरहेको । दार्जिलिङको मार्च–अप्रेल रमरम हुन्छ । घाम तापिरहूँ लाग्ने । बाहिर मुडामा इबरा नाङ्गैभुतुङ्गै थिए । गुरुआमा मायादेवीले उनलाई नुहाइदिँदै थिइन् । यो दृश्यले मेरा आँखा खुसीले रसाए । कस्तो मीठो दृश्य १ दाम्पत्य प्रेम, सुखी गृहस्थी, पुगीसरी परिवार । हुनुपर्ने त यस्तो पो १ ‘एउटा दिनको सामान्यता’ पढ्दा तुङसुङको इबराको मूल घर, बारी, अलिक मुनिको जङ्गलको दृश्य आँखामा नाच्न थाल्छ ।

इन्द्रबहादुर राईलाई टाई–सुटमा सजिएको मैले कहिल्यै देखिनँ । घरमा उनी काँसको बटुकामा वा पित्तलको ठाडे बटुकामा चिया पिउँथे । आँखा चिमचिम गरिरहने तर आफू नहाँसी अरूलाई हँसाउनमा खप्पिस । दार्जिलिङमा सन् १९८६ मा सुवास घिसिङको नेतृत्वमा आन्दोलन चर्किएको थियो । लक्खीदेवी सुन्दास, इन्द्रबहादुर राई, प्रेम आले, कुमार प्रधानहरू भाषाको नाम ‘नेपाली’ भन्न रुचाउने । भाषासङ्ग्रामीहरू सबै । सुवास घिसिङ ‘गोर्खा भाषा’ भन्नुपर्छ भन्ने ।


दुई खेमामा कुरा मिलेको थिएन । इन्द्रबहादुर राई, लक्खीदेवी सुन्दासका घरहरू असामाजिक तत्त्वहरूले तोडफोड गरेका थिए । ढुङ्गा हानेका थिए । सीधासाधा जनता सुवास घिसिङको गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा सामेल थिए । त्रासको वातावरण थियो । इबराले एक दिन गफैगफमा भने, “हेर्नु न भाइ, हिन्दी फिल्ममा भिलेनले नानीको अपहरण गर्छ, ‘फिरौती दे, होइन भने नानी खलास’ भन्छ । एक हातमा बन्दुक, अर्को हातमा नानी । गुन्डालाई ताकेर हानूँ त नानीलाई लाग्ने डर । अब यहाँको जनता त त्यही नानी जस्तो पो भयो ।’ उपर्युक्त व्यङ्ग्यमा नहाँसी सकिँदैनथ्यो ।

सन् १८१६ मा सुगौली सन्धिले नेपालको ठूलै भूभाग ब्रिटिस भारतमा मिल्न आएको थियो । माटोसितै भारतमै थातथलो भएर बस्ने, गोर्खा पल्टनबाट सेवानिवृत्त भई भारतलाई नै घर रोज्ने, सन् १८४० को दशकदेखि चियाको बुट्टामा पैसा टिप्न आएका श्रमपरायण नेपालीभाषीहरूलाई भारतले, बङ्गालले र देशका सर्वसाधारणले सधैँ ‘पराई’ ठानेका, सधैँ ‘पाखा’ पारेको इन्द्रबहादुर राईलाई पाच्य भएन । कसैलाई पनि हुँदैन । यसैले वासभूमिको माग डढेलोझँै हुरहुर्ती बल्न थाल्यो, बलिरहेको छ । इन्द्रबहादुर राईहरू सन् ’८० को पूर्वाद्र्धमा ‘प्रान्त परिषद्’ भन्ने दलमा रही वासभूमिको युद्धमा होमिए । पश्चिम बङ्गाल र राष्ट्रिय सरकारहरूले अनेक कुचक्र रची यो आन्दोलनलाई दमन गर्न थाले, गरिरहेकै छन् । आफू सक्रिय राजनीतिमा नरहे पनि इबराले यस आन्दोलनलाई पथप्रदर्शन गरिरहे । आशीर्वाद दिइरहे । साहित्य र सामाजिक मुद्दालाई उनले मुछ्न चाहेनन् । साहित्य मोक्षदा हुनुपर्छ — उनी ठान्थे ।

३ फरवरी १९२७ मा बालासन नदीको बगरमा हस्तमाया देवान र रणवीर चामलिङका काखमा जन्मेका इन्द्रबहादुर राईको बाल्यकाल तुङसुङमा बित्यो । दार्जिलिङ सरकारी स्कुलका शिक्षक कमलकुमार शर्मासँग पढ्ने इबारा कहिले डबल प्रोमोसन, कहिले प्रथम तर प्रायश: डिस्टिंक्सनमा उत्तीर्ण हुँदै अघि बढेका थिए । दुई छोरी र एक छोराका पिता इबरा छ जना नाति–नातिनाका हजुरबा थिए । ‘मैले मायादेवीलाई बिहा गरेर सबैभन्दा बुद्धिमानी काम गरेछु’ भन्ने इबराको दाम्पत्य जीवन उदाहरणीय थियो ।


६ मार्च २०१८ मा नेपालीभाषीहरूको पोथ्राबाट इबराको चिदात्मा–चरो फुर्र उडेर अनन्त आकाशमा बिलायो । नेपालभाषी संसार, नेपाली साहित्य सधैँलाई एउटा ठूलो रिक्तताको सम्मुखीन बन्न पुग्यो । इबराको अनुपस्थिति सधैँ खट्किरहनेछ । ‘अर्को इन्द्रबहादुर राई कहिले पाइएला’ को आशामा हामी भविष्यतिर आँखा ओछयाइरहनेछौँ ।

(भण्डारी ३२ वर्षे प्राध्यापनपछि अहिले भारतको कालेबुङमा सेवानिवृत्त जीवन बिताइरहेका छन् । पाँच कवितासङ्ग्रहका यी स्रष्टाका कविता भारतका अन्य भाषासहित स्पेनिस, जर्मन, इटालियन भाषामा पनि अनूदित छन् ।)

प्रकाशित : फाल्गुन २६, २०७४ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?