२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

‘चिंटी अगर हाथी होती?’

यात्रा
केशव दाहाल

काठमाडौँ — उसको पहिलो प्रश्न नै यही थियो । जाने हो सुन्दरवन ? कस्तो मधुर प्रश्न । उसले भन्यो, ‘मैले हिजो सपनामा तिमीसँग सुन्दरवन डुलेको देखें ।अद्भुत यात्रा । म विपनीमा तिमीसँग सुन्दरवन जान चाहन्छु केशव, समय मिल्छ भने हिँडजाऊँ ।’ ऊ मेरो साथी हो । सहृदयी छ ।

‘चिंटी अगर हाथी होती?’

सानो र शान्त परिवारमा बस्छ । पुतलीजस्ती पत्नी छन् । तर रमाइलो यो छ कि ऊ मसँग अलिक बढी नै नजिक हुन खोज्छ । बेलाकुबेला हात समाउँछ । सानोसानो कुरामा चित्त दु:खाउँछ । मेरो स्वर, आँखा र शैलीको प्रशंसा गर्छ । कहिलेकाहीं सपनामा पनि देख्छ । यस्तो लाग्छ, उसको जिनमा कतै केही अपुग, केही फरक र केही नयाँ कुरा छ । त्यसैको प्रभावले होला ऊ मसँग प्रेम गर्छ ।


ऊ बोल्दैगयो, तर तिमीले तीनवटा सर्त मान्नुपर्छ । कस्तो सर्त ? पहिलो, हाम्रो यात्राबारे कतै लेख्न पाउँदैनौं । दोस्रो, यात्रा बिन्दास हुनेछ, हतार गर्न पाउँदैनौं । तेस्रो, यात्रा अवधिमा जे खर्च लाग्छ हामीले गर्नेहो तिमीले ‘वालेट’ बोक्न पाउँदैनौं । ‘तर मेरा पनि दुईवटा सर्तहरू छन्,’ मैले भनें । पहिलो, मलाई तिमीसँग एक्लै हिँड्न डर लाग्छ । त्यसैले हाम्रो यात्रा समूहमा हुनेछ । दोस्रो, मैले जमेर लेख्न पाउनुपर्छ । ऊ एक छिन बोलेन । सायद केही सोच्यो होला, उसले आफ्ना सर्तमा थोरै संशोधन गर्‍यो । भन्यो, ‘जे मन लाग्छ मस्त लेख । तर हाम्रो नाम कतै आउन हुँदैन ।’ दुवैले दुवैका सर्तहरू मञ्जुर गर्‍यौं । अर्को शुक्रबार ‘वालेट’ थन्क्याए, सानो झोला गाडीमा हाले र लागे काकडभिट्टा । यो कात्तिक दोस्रो साताको कुरा हो ।


साँझ ६ बज्यो । मैले आफ्नो पुन्टे गाडीलाई काँकडभिट्टा सशस्त्र बलको पार्किङमा विश्राम दिए । भन्सार गेटबाट अर्को एक जना साथी पनि थपियो, ड्राइभर । यसरी हाम्रो टोली आधा दर्जनको बन्यो । ड्राइभर पूर्ण शाकाहारी थियो । चर्को स्वरमा, शुद्ध नेपाली बोल्थ्यो । शिव भजन सुन्न मन पराउँथ्यो । सायद शिवभक्त हुनुपर्छ । कहिलेकाहीं तान्त्रिकको जस्तो घाट, शव र आत्माको कुरा गथ्र्यो । उसले गाडी ‘स्टार्ट’ गर्दै छोटो प्रार्थना गर्‍यो र भन्यो, ‘तपाईंहरूको यात्रा अविस्मरणीय हुनेछ ।’ मैले भनें, ‘यो त फाल्तु कुरा भयो । यो यात्रा कुनै हालतमा बिर्सिनयोग्य हुनुपर्छ गुरुदेव ।’ वास्तवमा हामी सबै कुरा बिर्सिन चाहन्थ्यौं । म चुनावको चटारो बिर्सिन चाहन्थें । सानातिना साहु–महाजन थिए, म उनीहरूलाई पनि बिर्सिन चाहन्थें । सायद मेरा सहयात्रीहरूसँग पनि बिर्सिनुपर्ने अनेकौं कुरा थिए । साथीले थप्यो, ‘झन्झट र झमेला साथैमा लिएर के डुल्नु यार । यात्रामा घर बिर्सिने । घर पुगेपछि यात्रा बिर्सिने ।’ निश्चय नै । यात्राबाट जीवनको त्यो तृप्ति मिलोस्, त्यसपछि सोच्न, सम्झिन र आसक्त हुन कुनै कुरा बाँकी नरहोस् । कस्तो भीषण अपेक्षा । हाम्रो मतो मिल्यो कि यात्रामा फोटो नलिने र डायरी नलेख्ने । यसरी एउटा रहस्यमय यात्राको प्रारम्भ भयो । धन्यवाद प्रिय सारथि जसले मलाई यो यात्रामा सहयात्री बनायौ । म मेरा सहयात्रीहरूतिर फर्किएर हाँसे । खासमा म उनीहरूलाई प्रेमको वर्षा गर्न चाहन्थें ।


बागडुगुराको कुनै शान्त होटलमा पुग्दा आठ बज्यो । चिया बगानको ‘सहर’ हो बागडुगुरा । यो दार्जिलिङ जिल्लामा पर्छ । यहाँ अधिकांश नेपालीभाषीहरू बस्छन् । यो सहर भारतका मुख्य सहरहरूसँग हवाईमार्गले जोडिन्छ । यसको नजिकै छ चर्चित नक्सलवाडी गाउँ । रोचक कुरा, यो महान् ‘नक्सलाइटहरू’ चारु मजुमदार र कानु सन्यालको कर्मक्षेत्र हो । कुनै बेला नक्सलवाडी गाउँमा मैले दुई दिन बिताएको थिएँ । सबैभन्दा उम्दा कुरा बागडुगुराको उत्तरतिर राति ढकमक्क बत्तीहरू देखिन्छन् । त्यहीं छ मनोरम कर्साङ र दार्जिलिङ सहर । मेरालागि बागडुगुरासँग केही भावनात्मक सम्बन्ध पनि छ । यहाँका होटलहरूमा मैले अनेकौं रात बिताएको छु । प्रेम र संघर्षका कविता लेखेको छु । पानीमा रुझेको छु । मन भरिने गरी गीत गाउँदै हाँसेको छु । यो सानो र अस्तव्यस्त सहरसँग मेरा विशेष अनुुभूतिहरू छन् ।


भोलिपल्ट साँझ मात्र कोलकाता जाने सल्लाह भयो । त्यसैले दोस्रो दिन डुल्नका लागि पूरा समय थियो । भनिहालौं कि हामीले गाडी भाडामा लिएका थियौं । यो हाम्रो महँगो रहर थियो । जसका लागि हामीले दार्जिलिङ एक्सप्रेसको न्यू जलपाइगुडी टु कोलकाता टिकेट क्यान्सिल गर्‍यौं । बिहानै कर्साङ जाने मतो मिल्यो । छुकछुके रेल । मनोरम पहाडी जीवन । मखमली मनका मान्छेहरू । कविताजस्तो शान्त र स्वच्छ हावा । नीलो आकारमा बादलको मेला र मनचिन्ते आकृतिहरू । कर्साङले कमाल गर्‍यो । मन नै प्रफुल्ल बनायो । यस्तो बेला मान्छेलाई लाग्छ जीवन साँच्चै सुन्दर छ ।

सुन्दर लाग्नु र सुन्दर हुनुमा के भेद छ ? म भन्न सक्दिनँ ।


साँझ जसै कोलकाताका लागि हिँडयौं, साथीहरू गाउन थाले । मान्छेको जीवनमा उमेर र मनको अन्तरद्वन्द्व चल्छ कहिलेकाहीं । साथीहरू बच्चाजस्तो भएका थिए । मेरो मनमा भने सुन्दरवनको ‘स्केच’ बन्न थाल्यो । सुन्दरवन । नामै गजब । के नामजस्तै होला सुन्दरवन ? अथवा यस्तो पनि होस् कि त्यहाँ सबै कुरा सोचेभन्दा खराब होस् । मानौं कि ‘मरन्च्याँसे लुते मान्छेको नाम बलबहादुर ।’ सुन्दरवनमा तीनवटा कुरा विशेष छन् । सुन्दरवनमा महको सिकार । सिकारीहरू सिकारमा जानुअगाडि मन्त्र साधना र वनदेवीको अर्चना गर्छन् । यो निकै कलात्मक हुन्छ । त्यसपछि सिकारीहरूमा अचम्मको साहस आउँछ । यस्तो दुर्लभ सिकारबारे विभिन्न डकुमेन्ट्रीहरू बनेका छन् । दोस्रो कुरा छ, रोयल बेङ्गोल टाइगर । संसारकै सुन्दर र सानदार बाघ । तीन वर्षअगाडि ढाकामा केही बंगाली साथीहरूले रोयल बेङ्गोल टाइगरको रहस्यमय किस्सा र मिथ सुनाएका थिए । तेस्रो र चर्चित कुरा छ सुन्दरवनमा जलविहार ।


बिहान १० बजेतिर कोलकाता प्रवेश गरियो । विशाल महानगर । मान्छेको भीड । गाडीको भीड । घरहरूको भीड । कहाँबाट यतिबिघ्न मान्छेहरू आउँछन् र कता जान्छन् ? सय वर्षअगाडि कोलकाता कस्तो थियो होला ? सय वर्षपछि यो कस्तो हुन्छ होला ? मैले नेपाली राजनीतिका दुई महानायकलाई सम्झिएँ । बीपी कोइराला र पुष्पलाल । ती उत्कृष्ट मान्छेहरूले सात दशक अगाडि कोलकाताबाटै आधुनिक नेपाली राजनीतिको उद्घोष गरे । के म थोरै बीपी र पुष्पलाललाई सम्झिन सक्छु । म चाहन्थें, साथीहरूलाई कोलकाता र नेपाली राजनीतिको सम्बन्ध बताऊँ । ‘नो पोलिटिक्स प्लिज’ एक जनाले चर्को स्वरमा मलाई रोक्यो । राजनीतिको कुरा गरेर बोर नगर न ‘ब्रो’ । कविताको कुरा गर । कथाको कुरागर । सिनेमाको कुरा गर । प्रेमको कुरा गर । गीत गाऊ । यस्ता थिए मेरा सहयात्रीहरू । सायद यो नेपाली राजनीतिको दुुर्भाग्य हो । जहाँ गैरराजनीतिक मान्छेहरूलाई सुनाउने राजनीतिको कुनै उत्प्रेरक ‘कथा’ छैन । मैले सम्झिएँ यही माटोमा दाह्रीवाल बूढा रवीन्द्रनाथ टैगोर थिए । सिनेमाशिल्पी सत्यजित रे थिए । के उनीहरूको कुरा गरौं ?


रवीन्द्रनाथ टैगोरलाई मैले कहिले सुनें थाहा छैन । सायद विद्यालयस्तरको हाजिरीजवाफमा हुनुपर्छ । प्रश्न थियो होला, दुईवटा देशको राष्ट्रिय गीत लेख्ने साहित्यकार को हुन् ? कस्तो अचम्मको प्रश्न । हिन्दी बुझ्ने भएपछि मैले मित्रराष्ट्र बंगलादेश र भारतका राष्ट्रिय गीतहरूको शक्ति अनुभव गरें । बंगलादेशको ‘अमार सोनार बंगला’ र भारतको ‘जनगनमन’ दुवै गीतहरू भाव, ओज र गौरवका उत्कष्ट प्रतीक हुन् । जब मैले यसका रचनाकार रवीन्द्रनाथ टैगोर भन्ने पत्तो पाएँ, मनै गद्गद् भयो । टैगोरको ‘गीताञ्जली’ पढ्दा लाग्छ शब्दको माधुर्य हुन्छ । शब्दहरू गाउँछन् र नाच्छन् । यही शब्दशक्तिका कारण सन् १९३१ माटैगोरलाई साहित्यतर्फको नोबेल पुरस्कार दिइयो ।


टैगोर साहित्य साधक मात्र थिएनन् । सशक्त अभियन्ता पनि थिए । उनले सन् १९१९ को ‘अम्रितसर म्यासेगरमा’ ब्रिटिसराजले गरेको ज्यादतीको विरुद्ध महारानीले दिएको महत्त्वपूर्ण सम्मान फिर्ता गरेका थिए । उनले एक पटक गान्धीको समेत भत्र्सना गरेका छन् । सन् १९३४ मा विहारमा भूकम्प गयो । गान्धीले सो विपत्तिलाई ईश्वरको पापीहरूमाथि सजाय भने । जसको टैगोरले खुला आलोचना गरे । यस्तो छ टैगोरको जीवन । टैगोरले शान्ति निकेतन आश्रमलाई सिंगारपटार गरे । त्यहीं बसेर सानदार कविता लेखे र अन्तत: लामो ‘कोमा’ पछि सन् १९४१ अगस्ट ७ मा
देहत्याग गरे ।


सत्यजित रेलाई नसम्झी कोलकाताको यात्रा पूरा हुँदैन । कम्तीमा मलाई यस्तै लाग्छ । रेको सम्झनाले मलाई धरानका पुराना दिनहरू याद आउँछन् । जतिबेला हामी नाटकहरू गथ्र्यौं । कविता लेख्थ्यौं । तोङ्बा खान्थ्यौं । सिनेमा हेथ्र्यौं । म आफैं पनि एक दिन महान् कलाकार हुने सपना देख्थें । ठीक त्यसैताका मैले सत्यजित रेबारेमा सुनेको हुँ । धरान सैनिक भवनको प्रांगणमा घाम तापी बस्दा नवीन सुब्बा र रमेश केसीले उनीबारे बताएको हुनुपर्छ । सन् १९२१ मा जन्मिएका रे अघिल्लो पुस्ताका सर्वाधिक प्रभावशाली सिनेकर्मी हुन् । रेले तीन दर्जन फिल्म बनाए । ‘पाथेर पञ्चाली’, ‘अपराजितो’, ‘अपुर संसार’ आदि उनका चर्चित फिल्म हुन् । मलाई लाग्छ, घटनाहरूलाई केलाउन र चलचित्रमा उतार्न उनीसँग बेजोड सामथ्र्य थियो । तिनै महान् कलाकार सत्यजित रेले सन् १९९२ मा ओस्कर पुरस्कार प्राप्तगरे । जतिखेर पुरस्कार घोषणाहँुदै थियो उनी कुनै अस्पतालमा मृत्यसँग लडिरहेका थिए ।


हामी कोलकाताको कुनै ट्राभल एजेन्सीको कार्यालयमा छिर्‍यौं । टेबलपछाडि ठूलो दारकी महिला थिइन् । उनको पछाडि भित्तामा टैगोर, रेलगायत बंगाली महान् नायकहरूका श्यामश्वेत तस्बिरहरू थए । मलाई लाग्यो साँच्चै म कोलकातामा छु । यतैकतै टैगोर कविता लेख्दै छन् । रे कुनै ग्रामीण बस्तीमा क्यामेरा घुमाउँदै छन् । उनीहरूले टेकेको माटोमा म उभिएको छु । कत्रो महान् अवसर ।


के ज्योति बसुका बारेमा बताऊँ ? मैले साथीहरूलाई प्रस्ताव गरें । साथीहरू चिच्याए, ‘भो पर्दैन । केशव प्लिज के हामी यो यात्रालाई पार्टी राजनीतिबाट मुक्त गर्न सक्दैनौं ।’ मैले भनें, ‘अच्छा, हुन्छ ।’ त्यति नै बेला हाम्रो ड्राइभरले मलाई सुटुक्क भन्यो— अब कोलकातामा भाजपाले राज गर्छ सर । कसरी ? उसले स्पष्टीकरण दियो, ‘ज्योति बसुको समय उहिल्यौ सकियो । तृणमूलकी दिदीले जनताको मन जित्न सकिनन्, त्यसैले ।’ यो समय फेरिएको संकेत हो । राम्रो, नराम्रो जे होस् । समय स्थिर रहँदैन । मैले मदन भण्डारीले कोलकातामा दिएको चर्चित भाषण सम्झिएँ ।
कोलकातामा बस्नका लागि होस्टलको प्रबन्ध भयो । ससाना घरहरू भाडामा लिएर कुनै मन्दिरा चटर्जी नामकी भद्र महिलाले होस्टल चलाएकी रहिछन् । अब सुन्दरवनको प्रबन्ध मिलाउनु थियो । कोलकाता प्रवेश गरेपछि हामीले कम्तीमा दर्जन मान्छेहरूसँग कुरा गर्‍यौं । कसैले पनि सुन्दरवन जाने सल्लाह दिएनन् । सबैको एउटै कुरा थियो । खर्चिलो छ । कुनै मजा छैन । दुईवटा ट्राभल एजेन्सीहरूले सुन्दरवन जान एक जनाको पन्ध्र हजार लाग्ने ‘स्टिमेट’ सुनाए । के गर्ने होला ? हामी दोधारमा पर्‍यौं । साथीहरू भन्थे, ‘हैट, अति भयो ।’ राति अनलाइनमा खोजी बस्दा सुन्दरवन घुमाउने एउटा एजेन्सी फेला पर्‍यो । उसले भन्यो— भोलि नै लैजान सक्छौं । एक जनाको एक रात र दुई दिनको चार हजार पर्छ । कुरा ठीकै आयो । हामीले प्रस्ताव सदर गर्‍यांै । ख्यालख्यालमा गइन्छ कि क्या हो ? नभन्दै भोलिपल्ट बिहानै गाडी आइपुग्यो । हामी लाग्यौं सुन्दरवन ।


कोलकाताबाट चार घण्टामा ‘हुग्ली’ पुगिन्छ । बंगालको खाडी यहींबाट सुरु हुन्छ । पन्ध्र मिनेटमा बोटले नदी तार्छ । पारि छ सुन्दरवन । सुन्दरवनमा तपाईं नरिवलपानी पिउन सक्नुहुन्छ । सानासाना रिसोर्टहरूमा आफ्ना लागि ‘रुम बुक’ गर्न सक्नुहुन्छ । आराम गर्न सक्नुहुन्छ । बोटमा एक्लै बरालिन सक्नुहुन्छ । बियर पिउन सक्नुहुन्छ । कविता लेख्न सक्नुहुन्छ । प्रेम गर्न सक्नुहुन्छ । बोटमै रवीन्द्र संगीत उत्सवको आयोजना हुन सक्छ । चोकहरूमा सानासाना पसलहरू छन्, मह किन्न सक्नुहुन्छ । तपाईंको गोजीमा पैसा छ भने भाले जुधाइ आयोजना गर्नुहोला । मलाई सुन्दरवनका हाम्रा दुई दिनहरूबारे सबै कुरा लेख्न साथीहरूको अनुमति छैन । त्यसैले यति भनौं कि रमाइलो भयो । पहिलो दिन नाचियो, गाइयो, चराहरू हेरियो, हाँसको छोइला आफंै बनाएर खाइयो । राति संगीतको मजा लिइयो । दोस्रो दिन रोयल बेङ्गोल टाइगर हेर्न बंगालको खाडी चक्कर मारियो । दिनभर । यति भए अरू के चाहियो ? मस्त माछा खाने । बोटमा पानीको विशाल फाँट चहार्ने । आफू पनि पानीपानी हुने । बोटमै चिया, कफी पिउने । आरामसँग गंगटा, माछा, झिंगेमाछाको भोज गर्ने । साँझ फर्किने । यस्तै हो सुन्दरवन ।


मेरालागि सुन्दरवनको अविस्मरणीय क्षण हो, ‘सांगीतिक कार्यक्रम ।’ रिसोर्टमै बंगाली गायकहरू आउँछन् र बेजोडको प्रस्तुति दिन्छन् । ग्रामीण शैलीमा । तपाईंको मनमा पत्थर जमेको छैन भने रवीन्द्र संगीतको स्वाद थाहा पाउनुहुन्छ । यस्तो लाग्छ कि पोखरीमा पानीका थोपाहरू खस्दै छन् र तपाईं त्यसले सिर्जना गर्ने तरंगहरूबाट भावविभोर हुनुहुन्छ । गीतको रचना, भाव र परिकल्पनै बेजोड । एउटा गीत थियो निकै रमाइलो । जस्तो कि गीतले भन्छ, ‘चिंटी अगर हाथी होती ? पत्ता अगर पैसा होता ? साली अगर घरवाली होती ?’ साँच्चै यस्तो भयो भने संसार कस्तो हुन्छ होला ? हामीले पनि नेपाली गीत गायौं । सबैभन्दा मुख्य कुरा हामीले सानसँग मदिरापान गर्‍यौं । कुनै चिन्ता छैन । कुनै रिसराग छैन । कुनै हतार छैन । बेफिक्रीमा पिउनुको मजै अलग ।


सुन्दरवनबाट फर्किंदै गर्दा लाग्यो मान्छे र प्रकृतिको सम्बन्ध अपरम्पार छ । कसले बनायो होला यति सुन्दर संसार ? कसले बनायो होला प्रकृति ? कसले बनायो होला मान्छे ? कसरी मान्छेले सुन्दरताको अनुभूति गर्ने गहिरो कला प्राप्त गर्‍यो ? मनको अस्तित्व कहाँ छ ? साँच्चै मन नहुँदो हो त मान्छे कस्तो हुन्थ्यो होला ? कति धेरै प्रश्नहरू । जीवनको महान् ‘अर्थबोध’ हो सुन्दरवन । यात्रा कस्तो भयो ? फर्किंदै गर्दा हामीले एकअर्कालाई प्रश्न गर्‍यौं । सबैको एउटै जवाफ थियो, ‘लाजवाव’ । त्यसो त सुरुमै हाम्रो घोषणा थियो कि हामी ती दिनहरूबारे कसैलाई बताउनेछैनौं । ती दिनहरूबारे कुरा गर्नेछैनौं । हामी त्यो यात्रालाई बिर्सिनेछौं । सपना बिर्सिएजस्तो । तर त्यो हाम्रो घमण्ड थियो । जीवनमाथिको घमण्ड । प्रिय बन्धु, सबै कुरा सजिलै बिर्सिन सकिँदैन ? बिर्सन खोज्नु र बिर्सनु अलग कुरा हुन् । म कामना गर्छु सुन्दरवनका सुन्दर अनुभूतिहरू हाम्रो जीवन रहेसम्म बाँचिरहुन् । अनि पो जिउनुको मजा आउँछ ।
Twetter: @dahalkeshab

प्रकाशित : चैत्र ३, २०७४ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?