‘चिंटी अगर हाथी होती?’

यात्रा
केशव दाहाल

काठमाडौँ — उसको पहिलो प्रश्न नै यही थियो । जाने हो सुन्दरवन ? कस्तो मधुर प्रश्न । उसले भन्यो, ‘मैले हिजो सपनामा तिमीसँग सुन्दरवन डुलेको देखें ।अद्भुत यात्रा । म विपनीमा तिमीसँग सुन्दरवन जान चाहन्छु केशव, समय मिल्छ भने हिँडजाऊँ ।’ ऊ मेरो साथी हो । सहृदयी छ ।

सानो र शान्त परिवारमा बस्छ । पुतलीजस्ती पत्नी छन् । तर रमाइलो यो छ कि ऊ मसँग अलिक बढी नै नजिक हुन खोज्छ । बेलाकुबेला हात समाउँछ । सानोसानो कुरामा चित्त दु:खाउँछ । मेरो स्वर, आँखा र शैलीको प्रशंसा गर्छ । कहिलेकाहीं सपनामा पनि देख्छ । यस्तो लाग्छ, उसको जिनमा कतै केही अपुग, केही फरक र केही नयाँ कुरा छ । त्यसैको प्रभावले होला ऊ मसँग प्रेम गर्छ ।


ऊ बोल्दैगयो, तर तिमीले तीनवटा सर्त मान्नुपर्छ । कस्तो सर्त ? पहिलो, हाम्रो यात्राबारे कतै लेख्न पाउँदैनौं । दोस्रो, यात्रा बिन्दास हुनेछ, हतार गर्न पाउँदैनौं । तेस्रो, यात्रा अवधिमा जे खर्च लाग्छ हामीले गर्नेहो तिमीले ‘वालेट’ बोक्न पाउँदैनौं । ‘तर मेरा पनि दुईवटा सर्तहरू छन्,’ मैले भनें । पहिलो, मलाई तिमीसँग एक्लै हिँड्न डर लाग्छ । त्यसैले हाम्रो यात्रा समूहमा हुनेछ । दोस्रो, मैले जमेर लेख्न पाउनुपर्छ । ऊ एक छिन बोलेन । सायद केही सोच्यो होला, उसले आफ्ना सर्तमा थोरै संशोधन गर्‍यो । भन्यो, ‘जे मन लाग्छ मस्त लेख । तर हाम्रो नाम कतै आउन हुँदैन ।’ दुवैले दुवैका सर्तहरू मञ्जुर गर्‍यौं । अर्को शुक्रबार ‘वालेट’ थन्क्याए, सानो झोला गाडीमा हाले र लागे काकडभिट्टा। यो कात्तिक दोस्रो साताको कुरा हो ।

Yamaha


साँझ ६ बज्यो । मैले आफ्नो पुन्टे गाडीलाई काँकडभिट्टा सशस्त्र बलको पार्किङमा विश्राम दिए । भन्सार गेटबाट अर्को एक जना साथी पनि थपियो, ड्राइभर । यसरी हाम्रो टोली आधा दर्जनको बन्यो । ड्राइभर पूर्ण शाकाहारी थियो । चर्को स्वरमा, शुद्ध नेपाली बोल्थ्यो । शिव भजन सुन्न मन पराउँथ्यो । सायद शिवभक्त हुनुपर्छ । कहिलेकाहीं तान्त्रिकको जस्तो घाट, शव र आत्माको कुरा गथ्र्यो । उसले गाडी ‘स्टार्ट’ गर्दै छोटो प्रार्थना गर्‍यो र भन्यो, ‘तपाईंहरूको यात्रा अविस्मरणीय हुनेछ ।’ मैले भनें, ‘यो त फाल्तु कुरा भयो । यो यात्रा कुनै हालतमा बिर्सिनयोग्य हुनुपर्छ गुरुदेव ।’ वास्तवमा हामी सबै कुरा बिर्सिन चाहन्थ्यौं । म चुनावको चटारो बिर्सिन चाहन्थें । सानातिना साहु–महाजन थिए, म उनीहरूलाई पनि बिर्सिन चाहन्थें । सायद मेरा सहयात्रीहरूसँग पनि बिर्सिनुपर्ने अनेकौं कुरा थिए । साथीले थप्यो, ‘झन्झट र झमेला साथैमा लिएर के डुल्नु यार । यात्रामा घर बिर्सिने । घर पुगेपछि यात्रा बिर्सिने ।’ निश्चय नै । यात्राबाट जीवनको त्यो तृप्ति मिलोस्, त्यसपछि सोच्न, सम्झिन र आसक्त हुन कुनै कुरा बाँकी नरहोस् । कस्तो भीषण अपेक्षा । हाम्रो मतो मिल्यो कि यात्रामा फोटो नलिने र डायरी नलेख्ने । यसरी एउटा रहस्यमय यात्राको प्रारम्भ भयो । धन्यवाद प्रिय सारथि जसले मलाई यो यात्रामा सहयात्री बनायौ । म मेरा सहयात्रीहरूतिर फर्किएर हाँसे । खासमा म उनीहरूलाई प्रेमको वर्षा गर्न चाहन्थें ।


बागडुगुराको कुनै शान्त होटलमा पुग्दा आठ बज्यो । चिया बगानको ‘सहर’ हो बागडुगुरा । यो दार्जिलिङ जिल्लामा पर्छ । यहाँ अधिकांश नेपालीभाषीहरू बस्छन् । यो सहर भारतका मुख्य सहरहरूसँग हवाईमार्गले जोडिन्छ । यसको नजिकै छ चर्चित नक्सलवाडी गाउँ। रोचक कुरा, यो महान् ‘नक्सलाइटहरू’ चारु मजुमदार र कानु सन्यालको कर्मक्षेत्र हो । कुनै बेला नक्सलवाडी गाउँमा मैले दुई दिन बिताएको थिएँ । सबैभन्दा उम्दा कुरा बागडुगुराको उत्तरतिर राति ढकमक्क बत्तीहरू देखिन्छन्। त्यहीं छ मनोरम कर्साङ र दार्जिलिङ सहर । मेरालागि बागडुगुरासँग केही भावनात्मक सम्बन्ध पनि छ । यहाँका होटलहरूमा मैले अनेकौं रात बिताएको छु । प्रेम र संघर्षका कविता लेखेको छु । पानीमा रुझेको छु । मन भरिने गरी गीत गाउँदै हाँसेको छु । यो सानो र अस्तव्यस्त सहरसँग मेरा विशेष अनुुभूतिहरू छन् ।


भोलिपल्ट साँझ मात्र कोलकाता जाने सल्लाह भयो । त्यसैले दोस्रो दिन डुल्नका लागि पूरा समय थियो । भनिहालौं कि हामीले गाडी भाडामा लिएका थियौं । यो हाम्रो महँगो रहर थियो । जसका लागि हामीले दार्जिलिङ एक्सप्रेसको न्यू जलपाइगुडी टु कोलकाता टिकेट क्यान्सिल गर्‍यौं । बिहानै कर्साङ जाने मतो मिल्यो । छुकछुके रेल । मनोरम पहाडी जीवन । मखमली मनका मान्छेहरू । कविताजस्तो शान्त र स्वच्छ हावा । नीलो आकारमा बादलको मेला र मनचिन्ते आकृतिहरू । कर्साङले कमाल गर्‍यो । मन नै प्रफुल्ल बनायो । यस्तो बेला मान्छेलाई लाग्छ जीवन साँच्चै सुन्दर छ ।

सुन्दर लाग्नु र सुन्दर हुनुमा के भेद छ ? म भन्न सक्दिनँ ।


साँझ जसै कोलकाताका लागि हिँडयौं, साथीहरू गाउन थाले । मान्छेको जीवनमा उमेर र मनको अन्तरद्वन्द्व चल्छ कहिलेकाहीं । साथीहरू बच्चाजस्तो भएका थिए । मेरो मनमा भने सुन्दरवनको ‘स्केच’ बन्न थाल्यो । सुन्दरवन । नामै गजब । के नामजस्तै होला सुन्दरवन ? अथवा यस्तो पनि होस् कि त्यहाँ सबै कुरा सोचेभन्दा खराब होस् । मानौं कि ‘मरन्च्याँसे लुते मान्छेको नाम बलबहादुर ।’ सुन्दरवनमा तीनवटा कुरा विशेष छन् । सुन्दरवनमा महको सिकार । सिकारीहरू सिकारमा जानुअगाडि मन्त्र साधना र वनदेवीको अर्चना गर्छन् । यो निकै कलात्मक हुन्छ । त्यसपछि सिकारीहरूमा अचम्मको साहस आउँछ । यस्तो दुर्लभ सिकारबारे विभिन्न डकुमेन्ट्रीहरू बनेका छन् । दोस्रो कुरा छ, रोयल बेङ्गोल टाइगर । संसारकै सुन्दर र सानदार बाघ । तीन वर्षअगाडि ढाकामा केही बंगाली साथीहरूले रोयल बेङ्गोल टाइगरको रहस्यमय किस्सा र मिथ सुनाएका थिए । तेस्रो र चर्चित कुरा छ सुन्दरवनमा जलविहार ।


बिहान १० बजेतिर कोलकाता प्रवेश गरियो । विशाल महानगर । मान्छेको भीड । गाडीको भीड । घरहरूको भीड । कहाँबाट यतिबिघ्न मान्छेहरू आउँछन् र कता जान्छन् ? सय वर्षअगाडि कोलकाता कस्तो थियो होला ? सय वर्षपछि यो कस्तो हुन्छ होला ? मैले नेपाली राजनीतिका दुई महानायकलाई सम्झिएँ । बीपी कोइराला र पुष्पलाल । ती उत्कृष्ट मान्छेहरूले सात दशक अगाडि कोलकाताबाटै आधुनिक नेपाली राजनीतिको उद्घोष गरे । के म थोरै बीपी र पुष्पलाललाई सम्झिन सक्छु । म चाहन्थें, साथीहरूलाई कोलकाता र नेपाली राजनीतिको सम्बन्ध बताऊँ । ‘नो पोलिटिक्स प्लिज’ एक जनाले चर्को स्वरमा मलाई रोक्यो । राजनीतिको कुरा गरेर बोर नगर न ‘ब्रो’ । कविताको कुरा गर । कथाको कुरागर । सिनेमाको कुरा गर । प्रेमको कुरा गर । गीत गाऊ । यस्ता थिए मेरा सहयात्रीहरू । सायद यो नेपाली राजनीतिको दुुर्भाग्य हो । जहाँ गैरराजनीतिक मान्छेहरूलाई सुनाउने राजनीतिको कुनै उत्प्रेरक ‘कथा’ छैन । मैले सम्झिएँ यही माटोमा दाह्रीवाल बूढा रवीन्द्रनाथ टैगोर थिए । सिनेमाशिल्पी सत्यजित रे थिए । के उनीहरूको कुरा गरौं ?


रवीन्द्रनाथ टैगोरलाई मैले कहिले सुनें थाहा छैन । सायद विद्यालयस्तरको हाजिरीजवाफमा हुनुपर्छ । प्रश्न थियो होला, दुईवटा देशको राष्ट्रिय गीत लेख्ने साहित्यकार को हुन् ? कस्तो अचम्मको प्रश्न । हिन्दी बुझ्ने भएपछि मैले मित्रराष्ट्र बंगलादेश र भारतका राष्ट्रिय गीतहरूको शक्ति अनुभव गरें। बंगलादेशको ‘अमार सोनार बंगला’ र भारतको ‘जनगनमन’ दुवै गीतहरू भाव, ओज र गौरवका उत्कष्ट प्रतीक हुन् । जब मैले यसका रचनाकार रवीन्द्रनाथ टैगोर भन्ने पत्तो पाएँ, मनै गद्गद् भयो । टैगोरको ‘गीताञ्जली’ पढ्दा लाग्छ शब्दको माधुर्य हुन्छ । शब्दहरू गाउँछन् र नाच्छन् । यही शब्दशक्तिका कारण सन् १९३१ माटैगोरलाई साहित्यतर्फको नोबेल पुरस्कार दिइयो ।


टैगोर साहित्य साधक मात्र थिएनन् । सशक्त अभियन्ता पनि थिए । उनले सन् १९१९ को ‘अम्रितसर म्यासेगरमा’ ब्रिटिसराजले गरेको ज्यादतीको विरुद्ध महारानीले दिएको महत्त्वपूर्ण सम्मान फिर्ता गरेका थिए । उनले एक पटक गान्धीको समेत भत्र्सना गरेका छन् । सन् १९३४ मा विहारमा भूकम्प गयो । गान्धीले सो विपत्तिलाई ईश्वरको पापीहरूमाथि सजाय भने । जसको टैगोरले खुला आलोचना गरे । यस्तो छ टैगोरको जीवन । टैगोरले शान्ति निकेतन आश्रमलाई सिंगारपटार गरे । त्यहीं बसेर सानदार कविता लेखे र अन्तत: लामो ‘कोमा’ पछि सन् १९४१ अगस्ट ७ मा
देहत्याग गरे ।


सत्यजित रेलाई नसम्झी कोलकाताको यात्रा पूरा हुँदैन । कम्तीमा मलाई यस्तै लाग्छ । रेको सम्झनाले मलाई धरानका पुराना दिनहरू याद आउँछन् । जतिबेला हामी नाटकहरू गथ्र्यौं । कविता लेख्थ्यौं । तोङ्बा खान्थ्यौं । सिनेमा हेथ्र्यौं । म आफैं पनि एक दिन महान् कलाकार हुने सपना देख्थें । ठीक त्यसैताका मैले सत्यजित रेबारेमा सुनेको हुँ। धरान सैनिक भवनको प्रांगणमा घाम तापी बस्दा नवीन सुब्बा र रमेश केसीले उनीबारे बताएको हुनुपर्छ । सन् १९२१ मा जन्मिएका रे अघिल्लो पुस्ताका सर्वाधिक प्रभावशाली सिनेकर्मी हुन् । रेले तीन दर्जन फिल्म बनाए । ‘पाथेर पञ्चाली’, ‘अपराजितो’, ‘अपुर संसार’ आदि उनका चर्चित फिल्म हुन् । मलाई लाग्छ, घटनाहरूलाई केलाउन र चलचित्रमा उतार्न उनीसँग बेजोड सामथ्र्य थियो । तिनै महान् कलाकार सत्यजित रेले सन् १९९२ मा ओस्कर पुरस्कार प्राप्तगरे । जतिखेर पुरस्कार घोषणाहँुदै थियो उनी कुनै अस्पतालमा मृत्यसँग लडिरहेका थिए ।


हामी कोलकाताको कुनै ट्राभल एजेन्सीको कार्यालयमा छिर्‍यौं । टेबलपछाडि ठूलो दारकी महिला थिइन् । उनको पछाडि भित्तामा टैगोर, रेलगायत बंगाली महान् नायकहरूका श्यामश्वेत तस्बिरहरू थए । मलाई लाग्यो साँच्चै म कोलकातामा छु । यतैकतै टैगोर कविता लेख्दै छन् । रे कुनै ग्रामीण बस्तीमा क्यामेरा घुमाउँदै छन् । उनीहरूले टेकेको माटोमा म उभिएको छु । कत्रो महान् अवसर ।


के ज्योति बसुका बारेमा बताऊँ? मैले साथीहरूलाई प्रस्ताव गरें । साथीहरू चिच्याए, ‘भो पर्दैन । केशव प्लिज के हामी यो यात्रालाई पार्टी राजनीतिबाट मुक्त गर्न सक्दैनौं ।’ मैले भनें, ‘अच्छा, हुन्छ ।’ त्यति नै बेला हाम्रो ड्राइभरले मलाई सुटुक्क भन्यो— अब कोलकातामा भाजपाले राज गर्छ सर । कसरी ? उसले स्पष्टीकरण दियो, ‘ज्योति बसुको समय उहिल्यौ सकियो । तृणमूलकी दिदीले जनताको मन जित्न सकिनन्, त्यसैले।’ यो समय फेरिएको संकेत हो । राम्रो, नराम्रो जे होस् । समय स्थिर रहँदैन । मैले मदन भण्डारीले कोलकातामा दिएको चर्चित भाषण सम्झिएँ ।
कोलकातामा बस्नका लागि होस्टलको प्रबन्ध भयो । ससाना घरहरू भाडामा लिएर कुनै मन्दिरा चटर्जी नामकी भद्र महिलाले होस्टल चलाएकी रहिछन् । अब सुन्दरवनको प्रबन्ध मिलाउनु थियो । कोलकाता प्रवेश गरेपछि हामीले कम्तीमा दर्जन मान्छेहरूसँग कुरा गर्‍यौं । कसैले पनि सुन्दरवन जाने सल्लाह दिएनन् । सबैको एउटै कुरा थियो । खर्चिलो छ । कुनै मजा छैन । दुईवटा ट्राभल एजेन्सीहरूले सुन्दरवन जान एक जनाको पन्ध्र हजार लाग्ने ‘स्टिमेट’ सुनाए । के गर्ने होला ? हामी दोधारमा पर्‍यौं । साथीहरू भन्थे, ‘हैट, अति भयो ।’ राति अनलाइनमा खोजी बस्दा सुन्दरवन घुमाउने एउटा एजेन्सी फेला पर्‍यो । उसले भन्यो— भोलि नै लैजान सक्छौं । एक जनाको एक रात र दुई दिनको चार हजार पर्छ । कुरा ठीकै आयो । हामीले प्रस्ताव सदर गर्‍यांै । ख्यालख्यालमा गइन्छ कि क्या हो ? नभन्दै भोलिपल्ट बिहानै गाडी आइपुग्यो । हामी लाग्यौं सुन्दरवन ।


कोलकाताबाट चार घण्टामा ‘हुग्ली’ पुगिन्छ । बंगालको खाडी यहींबाट सुरु हुन्छ । पन्ध्र मिनेटमा बोटले नदी तार्छ । पारि छ सुन्दरवन । सुन्दरवनमा तपाईं नरिवलपानी पिउन सक्नुहुन्छ । सानासाना रिसोर्टहरूमा आफ्ना लागि ‘रुम बुक’ गर्न सक्नुहुन्छ । आराम गर्न सक्नुहुन्छ । बोटमा एक्लै बरालिन सक्नुहुन्छ । बियर पिउन सक्नुहुन्छ । कविता लेख्न सक्नुहुन्छ । प्रेम गर्न सक्नुहुन्छ । बोटमै रवीन्द्र संगीत उत्सवको आयोजना हुन सक्छ । चोकहरूमा सानासाना पसलहरू छन्, मह किन्न सक्नुहुन्छ । तपाईंको गोजीमा पैसा छ भने भाले जुधाइ आयोजना गर्नुहोला । मलाई सुन्दरवनका हाम्रा दुई दिनहरूबारे सबै कुरा लेख्न साथीहरूको अनुमति छैन । त्यसैले यति भनौं कि रमाइलो भयो । पहिलो दिन नाचियो, गाइयो, चराहरू हेरियो, हाँसको छोइला आफंै बनाएर खाइयो । राति संगीतको मजा लिइयो । दोस्रो दिन रोयल बेङ्गोल टाइगर हेर्न बंगालको खाडी चक्कर मारियो । दिनभर । यति भए अरू के चाहियो ? मस्त माछा खाने । बोटमा पानीको विशाल फाँट चहार्ने । आफू पनि पानीपानी हुने । बोटमै चिया, कफी पिउने । आरामसँग गंगटा, माछा, झिंगेमाछाको भोज गर्ने । साँझ फर्किने । यस्तै हो सुन्दरवन ।


मेरालागि सुन्दरवनको अविस्मरणीय क्षण हो, ‘सांगीतिक कार्यक्रम ।’ रिसोर्टमै बंगाली गायकहरू आउँछन् र बेजोडको प्रस्तुति दिन्छन् । ग्रामीण शैलीमा । तपाईंको मनमा पत्थर जमेको छैन भने रवीन्द्र संगीतको स्वाद थाहा पाउनुहुन्छ । यस्तो लाग्छ कि पोखरीमा पानीका थोपाहरू खस्दै छन् र तपाईं त्यसले सिर्जना गर्ने तरंगहरूबाट भावविभोर हुनुहुन्छ । गीतको रचना, भाव र परिकल्पनै बेजोड । एउटा गीत थियो निकै रमाइलो । जस्तो कि गीतले भन्छ, ‘चिंटी अगर हाथी होती ? पत्ता अगर पैसा होता ? साली अगर घरवाली होती ?’ साँच्चै यस्तो भयो भने संसार कस्तो हुन्छ होला ? हामीले पनि नेपाली गीत गायौं । सबैभन्दा मुख्य कुरा हामीले सानसँग मदिरापान गर्‍यौं । कुनै चिन्ता छैन । कुनै रिसराग छैन । कुनै हतार छैन । बेफिक्रीमा पिउनुको मजै अलग ।


सुन्दरवनबाट फर्किंदै गर्दा लाग्यो मान्छे र प्रकृतिको सम्बन्ध अपरम्पार छ । कसले बनायो होला यति सुन्दर संसार ? कसले बनायो होला प्रकृति ? कसले बनायो होला मान्छे? कसरी मान्छेले सुन्दरताको अनुभूति गर्ने गहिरो कला प्राप्त गर्‍यो ? मनको अस्तित्व कहाँ छ ? साँच्चै मन नहुँदो हो त मान्छे कस्तो हुन्थ्यो होला ? कति धेरै प्रश्नहरू । जीवनको महान् ‘अर्थबोध’ हो सुन्दरवन । यात्रा कस्तो भयो ? फर्किंदै गर्दा हामीले एकअर्कालाई प्रश्न गर्‍यौं । सबैको एउटै जवाफ थियो, ‘लाजवाव’ । त्यसो त सुरुमै हाम्रो घोषणा थियो कि हामी ती दिनहरूबारे कसैलाई बताउनेछैनौं । ती दिनहरूबारे कुरा गर्नेछैनौं । हामी त्यो यात्रालाई बिर्सिनेछौं । सपना बिर्सिएजस्तो । तर त्यो हाम्रो घमण्ड थियो । जीवनमाथिको घमण्ड । प्रिय बन्धु, सबै कुरा सजिलै बिर्सिन सकिँदैन ? बिर्सन खोज्नु र बिर्सनु अलग कुरा हुन् । म कामना गर्छु सुन्दरवनका सुन्दर अनुभूतिहरू हाम्रो जीवन रहेसम्म बाँचिरहुन् । अनि पो जिउनुको मजा आउँछ ।
Twetter: @dahalkeshab

Esewa Pasal

प्रकाशित : चैत्र ३, २०७४ १०:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वाम विचारको लय

यस्ता अनेकौं विषय छन्, जसले एमाले र माओवादी केन्द्रलाई एकअर्कोबाट अलग बनाउँछन् । यिनीहरूलाई जोड्ने वैचारिक, राजनीतिक र व्यावहारिक उपायहरू के हुन्, कतै दृष्टिगोचर हुँदैनन् ।
केशव दाहाल

काठमाडौँ — सुरुमै कामना गर्छु, एमाले र माओवादी केन्द्र मिलुन् । नयाँ सुन्दर पार्टी बनोस् । उन्नत र सिर्जनशील विचारको रचना होस् । कसैले पनि एकतामा भाँजो हाल्नु आवश्यक छैन । तर प्रस्तावित एकताको गुह्य स्वार्थमा भने आशंका गर्नु अन्यथा हुँदैन । त्यही आशंकाको जगमा प्रश्न गरौं कि यो एकता केका लागि ?

नेपालका कम्युनिष्टहरू क्रान्ति चाहन्छन् कि सत्ता ? खासगरी एमाले र माओवादी केन्द्रको गन्तव्य के हो ? समाजवाद कि भोगवाद ? यो आशंकाप्रति म सोह्रैआना विश्वस्त छु । किनभने एकताको पछिल्लो बहसमा कहीं कतै ‘जबज’ छैन । ‘एक्काइसौ शताब्दीको जनवाद’ छैन । नयाँ वैचारिक गन्तव्यको विमर्श छैन । छ त केवल सत्ता र शक्तिको जोड–घटाउ । यस्तो लाग्छ, यो कुनै कम्युनिष्ट पार्टीको एकता नभई कम्पनी ‘मर्जरको’ प्रयत्न हो । जसको केन्द्रीय स्वार्थ छ, ‘अझ धेरै नाफा’ । घनश्याम भुसाल, प्रदिप ज्ञवाली, नारायणकाजीहरू भएको पार्टीमा सैद्धान्तिक बहसलाई छोपछाप गर्नु अनौठो दुर्भाग्य हो । सुनिन्छ कि एकताको हलो ‘सत्ता र शक्तिको’ भागबन्डामा अड्किएको छ । हिजो कम्युनिष्टहरू भन्थे, ‘विचार प्रधान र पद गौण’ हो । आज ‘पद प्रधान र विचार गौण’ कसरी भयो ?

लेनिनवाद कि माओवाद ?
लेनिनवाद र माओवादको भेद के हो ? यो विषयमा कम्युनिष्टहरू बढी नै जानकार छन् । यिनीहरू बीच समयको भेद छ । लक्ष्यको भेद छ । शैली र संस्कृतिको भेद छ । यो यस्तो भेद हो, जसले धेरै कुरा अलग बनाउँछ । एमाले आफूलाई लेनिनवादी पार्टी बताउँछ । माओवादी केन्द्र माओवादी पार्टी हो । लेनिनवादी हुनु र माओवादी हुनुमा तिलको हैन, पहाडको फरक छ । मूलत: लेनिनवाद सर्वहारा क्रान्ति र समाजवाद निर्माणको विचार हो । माओवाद जनवादी क्रान्ति र पुँजीवाद निर्माणको विचार हो । लेनिनवादले क्रान्तिको मुख्य शक्ति मजदुर वर्गलाई ठान्छ । लेनिन भन्छन्, ‘कम्युनिष्ट पार्टीले मजदुर विद्रोहको नेतृत्व गर्नुपर्छ’ । लेनिनवाद ‘जनवादी केन्द्रीयता’मा विश्वास गर्छ । साम्राज्यवादी युगमा सर्वहारा क्रान्तिको वैचारिक संरचना नै लेनिनवाद हो । यता माओवादीहरू किसानलाई क्रान्तिको मुख्य शक्ति मान्छन् । माओले गुरिल्ला युद्धका नियमहरूको विकास गरे । गाउँले सहर घेर्ने रणनीति बनाए । लेनिनको संघर्षको केन्द्र थियो– सहर । माओले चिनमा राष्ट्रिय मुक्ति आन्दोलन चलाए । लेनिनले बोल्सेभिक क्रान्तिका सहयात्री देशहरूलाई सोभियत संघमा मिलाए । उनले राष्ट्रिय मुक्तिलाई आत्मनिर्णयको ‘थेसिस’भित्र राखे । भनिन्छ, लेनिनका उत्तराधिकारीहरूले सोभियत संघमा रूसी सभ्यताको प्रबद्र्धन गरे । कालान्तरमा सोभियत संघ सर्वहारा अन्तर्राष्ट्रियवादबाट च्युत भयो । यो सामाजिक साम्राज्यवादमा फेरियो । माओले निरन्तर सर्वहाराकरणको नाममा ‘महान सर्वहारा सांस्कृतिक क्रान्ति’ सञ्चालन गरे । सर्वहारा सांस्कृतिक क्रान्तिलाई लेनिनवादीहरू ‘चरम उग्रवाद’ ठान्छन् ।
माओवादीहरू मूलत: ‘एन्टागोनिष्टिक कन्ट्राडिक्सनमा’ विश्वास गर्छन् । यसको अर्थ हो, समाजमा वर्गहरू हुन्छन् र यिनीहरू कहिल्यै मिल्दैनन् । यसैले वर्ग सम्मिलन होइन, वर्ग संघर्षबाट मात्र न्याय स्थापित हुन्छ । यो संघर्ष सशस्त्र हुन्छ । सशस्त्र पार्टीले मात्र यस्तो संघर्षको नेतृत्व गर्न सक्छ । त्यसो त माओवादीहरू ठान्छन् कि माओवाद विश्व क्रान्तिको सबैभन्दा ‘उच्च वैचारिक संश्लेषण’ हो । यो माक्र्सवादको लेनिनवादभन्दा विकसित प्रयोग हो । यसलाई विश्यब्यापीकरण गर्नुपर्छ । तर लेनिनवादीहरू ठान्छन्् कि ‘माओवाद’ भन्नु दर्शनको सार्वभौमिकता नबुझ्नु हो । विचारको सान्दर्भिकता नबुझ्नु हो । उनीहरूको अर्थमा माओवाद हैन, विचारधारा भन्नुपर्छ । किनभने माओवादले विश्वब्यापी सान्दर्भिकता पुष्टि गर्दैन । यो क्रान्तिको चिनियाँ प्रयोगमात्र हो । नेपालमै पनि एमालेहरू भन्थे कि माओवाद उग्रवामपन्थी विचार हो । यसलाई नेपालमा लागू गर्न सकिंँदैन ।
सन् १९८४ मा रिम स्थापना भयो । यो माओवाद मान्नेहरूको विश्व संगठन हो । रिममा अमेरिकन माओवादीहरूको नेतृत्व छ । रिभोल्युसनरी कम्युनिष्ट पार्टी अफ युएसए, कम्युनिष्ट पार्टी अफ पेरु लगायत नेपाली माओवादी पनि यसका सदस्य छन् (?) । रिमले ‘ब वर्ड टु विन्ड’ पत्रिका निकाल्छ । यसको अनलाइन संस्करण पनि छ । जो माओवाद र सर्वहारा सत्ताको पैरवी गर्छ । नेपालका सम्बन्धमा पनि यसले अनेकौं विश्लेषण प्रकाशित गरेको छ । यता एमाले समाजवादी आन्दोलनमा छ । यो समाजवादी विश्व मञ्चहरूमा संलग्न हुन्छ । यी दुई पार्टी विगत ४० वर्षदेखि फरक ‘स्कुलिङमा’ छन् । अब प्रश्न गरौं, के एमालेहरू जबज, लेनिनवाद र संसदीय राजनीति छोड्न तयार छन् ? के माओवादीहरू माओवाद, एक्काइसांै शताब्दीको जनवाद र सर्वहारा सत्ता छोड्न तयार छन् ? अन्यथा यी दुई विचार एउटै पार्टीमा कसरी अटाउँछन् ?

एमाले कस्तो पार्टी ?
नेपाल कम्युनिस्ट पार्टीको झापा जिल्ला कमिटी २०१७ सालमै गठन भएको हो । २०२२ र २०२५ सालमा यसको दुईपटक पुनर्गठन भयो । तर भनेजस्तो काम भएन । झापामा क्रियाशील जिल्ला नेताहरू पार्टी केन्द्रको गतिहीन र भुत्ते शैलीप्रति असन्तुष्ट थिए । परिणाम, २०२७ सालमा झापा जिल्ला कमिटीले आफ्नै पार्टीको केन्द्रसंँग बगावत गर्‍यो । उसले किसान आन्दोलन उठाउने र राज्यसँग सशस्त्र प्रतिकार गर्ने निर्णय गर्‍यो । यो निर्णयसँगै उसको पार्टी केन्द्रसँग सम्बन्ध तोडियो । झापाली युवाहरूमा नक्सलवादी आन्दोलन र चारू मजुमदारको प्रभाव थियो । झापाली कम्युनिस्टहरू चीनमा माओको नेतृत्वमा भएको दीर्घकालीन जनयुद्धलाई नेपालमा लागू गर्न चाहन्थे । रमाइलो त के भने ‘चिनियाँ क्रान्तिको बाटो हाम्रो पनि बाटो, चीनका अध्यक्ष हाम्रा पनि अध्यक्ष’ भन्ने उनीहरूको नारा थियो । चारुको चर्चित ‘वान एरिया, वान युनिट, वान एक्सन’लाई झापालीहरूले अवलम्बन गर्न खोजे । ज्यामिरगढी, धुलाबारी, गरामनी, धाइजन, दुवागढी, शनिश्चरे लगायतमा एक्सनहरू भए । राज्य आतङ्क तीव्र बन्यो । चर्को दमनकै बीच २०३५ सालमा नेकपा (माले) को गठन भयो । यही नै एमालेको मुख्य धार हो ।
माले पार्टीमा निकै चाँडो–चाँडो वैचारिक पुनर्गठन चल्दै गयो । २०३७ असोजमा भएको पार्टीको सातांै बैठकले ‘देशमा जबर्जस्त क्रान्तिकारी परिस्थिति विद्यमान छ’ भन्ने आफ्नो विश्लेषणमाथि पुनर्विचार गर्‍यो । तत्काल सशस्त्र सङ्घर्षको कार्यनीति बदल्यो । जनआन्दोलन र जनसङ्गठन निर्माणका काम अगाडि बढायो । २०४६ सम्म आइपुग्दा नेकपा (माले) को प्रभाव देशव्यापी बन्यो । २०४७ पुसमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भयो । एमाले बन्यो । एकतापछि २०४९ माघमा एमालेको पाँचौं महाधिवेशन सम्पन्न भयो । पार्टीका महासचिव मदन भण्डारीले प्रस्ताव गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) राजनीतिक कार्यक्रमको रूपमा पारित भयो । एमाले २०३५ सालको माले रहेन ।
मदन भण्डारीले जबज निर्माणका लागि खास आधारहरूमाथि ध्यान दिएको देखिन्छ । मूलत: सोभियत सङ्घ, पूर्वी युरोप, फिलिपिन्स, इन्डोनेसिया, श्रीलङ्का, कम्बोडिया र पेरुका अनुभवहरूबाट भण्डारीले अनेकौं शिक्षा लिए । सबैलाई थाहा छ कि १९९० पछिको उदार लोकतन्त्रको आँधीले बडेबडे समाजवादी देशहरू ढले । उता सन् १९३० मा स्थापित कम्युनिस्ट पार्टी अफ फिलिपिन्स आफ्नो उग्र हठका कारण विघटनमा गयो । इन्डोनेसियाको कम्युनिस्ट आन्दोलन आफ्नै उग्र कार्यदिशामा सकियो । इन्डोनेसियामा सुरुका दिनतिर त्यहाँको कम्युनिस्ट पार्टीले राष्ट्रपति सुकार्नोसँग मिलेर सुधारोन्मुख कामहरू गर्‍यो । तर शक्तिको तीव्र लालसाबाट उनीहरूले केही जर्नेलहरूसँगको मिलेमतोमा सत्ता विप्लवको प्रयत्न गरे । त्यसले कत्लेआम सिर्जना गर्‍यो । १० लाखभन्दा धेरै मारिए । १९६६ मा पार्टी महासचिव लगायत ७ जनालाई फाँसी दिइयो । त्यसैगरी श्रीलङ्काको जनता विमुक्ति पेरामुना छिन्नभिन्न बन्यो । कम्बोडियामा खमेरुजहरू सकिए । पेरुको साइनिङ पाथ कमजोर भयो । निश्चय नै ‘जबज’ प्रस्ताव गरिरहँदा भण्डारीले यावत घटनाबाट शिक्षा लिए । त्यसैले पाँचौं महाधिवेशनमा एमालेले नारा बनायो, ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं, माक्र्सवादको सिर्जनात्मक प्रयोग गरौं ।’ कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण एमालेको पछिल्लो विशेषता हो ।
मदन भण्डारीमा कार्ल काउत्स्कीको जबर्जस्त प्रभाव देख्न सकिन्छ । कार्ल काउत्स्की दोस्रो अन्तर्राष्ट्रियका नेता थिए । उनले सन् १८८३ बाट पहिलो माक्र्सवादी पत्रिका ‘नयाँ युग’को सम्पादन थाले । ‘नवयुग’ नामबाट एमालेको पनि मुखपत्र निस्कन्छ । सुुरुका दिनमा लेनिन काउत्स्कीलाई माक्र्सवादका सर्वश्रेष्ठ व्याख्याता मान्थे । तर अक्टोबर क्रान्ति, संविधानसभाको विघटन, संसदीय सङ्घर्ष र निरन्तरको क्रान्ति आदि विषयमा लेनिन र काउत्स्कीबीच कुरा मिलेन । त्यसपछि उनीहरू एकअर्काका विरुद्ध खुलेर लागे । काउत्स्की शान्तिपूर्ण सङ्घर्षलाई जायज मान्थे, लेनिन त्यस्तो कुरामा संशोधनवाद देख्थे । लेनिनले ‘राज्यसत्ता र क्रान्ति’ लेखे । यो कृति मूलत: काउत्स्कीका मतहरूको खण्डन थियो । लेनिनको विचारमा संसदीय व्यवस्था पुँजीवादको देन हो । यसर्थ संसदीय प्रजातन्त्र सर्वोच्च व्यवस्था होइन, वर्ग राज्यको अभिव्यक्ति मात्र हो । यसर्थ संसदीय प्रजातन्त्रले सर्वहारा वर्गको हित गर्दैन । सर्वहारा वर्गका लागि सर्वहारा अधिनायकत्व सहितको समाजवाद आवश्यक हुन्छ । त्यसैले पुँजीवादी प्रजातन्त्र र संसद्वादको विघटन आवश्यक छ । काउत्स्कीले ‘सर्वहारा वर्गको तानाशाही’ शीर्षक पुस्तकबाट लेनिनलाई जवाफ दिए । उनले भने, ‘राजनीतिक सङ्घर्षको लक्ष्य संसद्मा बहुमत प्राप्त गर्नु हो । त्यसैले कम्युनिस्टहरू संसद्मा पुग्नुपर्छ र संसद्लाई यथार्थमै जनताको मालिक बनाउनुपर्छ ।’ लेनिन ‘पुँजीवादी राज्य ध्वस्त गर्न चाहन्थे’, तर काउत्स्की ‘पुँजीवादी राज्यलाई प्रयोग गर्दै समाजवाद सम्भव छ’ भन्ने मान्थे । लेनिन शान्तिपूर्ण सङ्घर्षलाई अस्वीकार गर्थे । तर काउत्स्की सम्भव भएसम्भ शान्तिको बाटोमा हिँड्नुपर्ने ठान्थे । यस्तै बहस र वादविवादमा काउत्स्कीसँग आगो भएका लेनिनले पुस्तकै लेखे, ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ । मदन भण्डारीले भने एमालेमा लेनिन र काउत्स्कीलाई सँगै उभ्याउने कोसिस गरे । उनले एमालेलाई लेनिनवादीभन्दा काउत्स्कीवादी पार्टी बनाए ।
त्यसो भए के काउत्स्की र माओ एउटै पार्टीमा अटाउँछन् ? यो निकै तितो प्रश्न हो । कम्तीमा ती मान्छेहरूलाई यो प्रश्न रुचिकर नहोला, जसले हिजो जबजलाई नेपाली क्रान्तिको मौलिक सिद्धान्त भने । उनीहरू मान्छन् कि जबज नेपाली क्रान्तिको प्रस्थानबिन्दु मात्र होइन, पूर्णता हो । यस्ता मान्छेहरूका लागि जबज वेद, कुरान, बाइबल सबै थोक हो । यसको ‘कमा’ र ‘फुलस्टप’सम्म पनि फेर्नु हुँदैन । यसो गर्दा मदनको आत्माले सराप्छ । यस्तो विचार राख्ने एमालेहरू मूलत: के.पी. कमरेडको गुटमा छन् । त्यसो भए के जबजलाई नेपाली क्रान्तिको सिद्धान्त मानेर माओवादीहरू एमालेमा विलय होलान् ?

माओवादी केन्द्र कस्तो पार्टी ?
२०१९ वैशाखमा नेकपाको तेस्रो सम्मेलन आयोजना गरियो । सम्मेलनमा मोहनविक्रम सिंहले संविधानसभा निर्वाचन र गणतन्त्रको प्रस्ताव गरे । उनी चिनियाँ शैलीको क्रान्तिका समर्थक थिए । सम्मेलनले उनको विचार पारित गरेन । त्यसपछि उनले अलग्गै केन्द्रीय न्युक्लियस निर्माण गरी पार्टीलाई नयाँ शिराबाट सङ्गठित गरे । उनकै अगुवाइमा २०३१ सालमा नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशन भारतमा आयोजना गरियो । नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) बन्यो । नेकपाको त्यही धार नै वर्तमान (माओवादी केन्द्र) को प्रारम्भिक रूप हो ।
माओवादी केन्द्रको पछिल्लो वैचारिक ‘पोजिसन’ के हो ? थाहा छैन । उसलाई बुझ्न या त पुराना थेसिसहरू पल्टाउनुपर्छ या नेताका भाषणहरू सुन्नुपर्छ । जसमा कुनै संगति भेटिँदैन । यस्तो लाग्छ, विचार निर्माण, संश्लेषण र विकासमा यो पार्टी निकै भुत्ते छ । पछिल्ला दस्तावेजहरूमा यो पार्टीले माओवादको वैचारिक आलोकमा एक्काइसौं शताब्दीको जनवाद स्थापना गर्ने प्रस्ताव गर्छ । नेताहरू पार्टीका आन्तरिक प्रशिक्षणहरूमा माओवादी हुनुको महत्त्वलाई पटक–पटक अभिव्यक्त गर्छन् । तत्कालीन नेकपा (माओवादी) को सैद्धान्तिक प्रस्तावनाले भन्छ, ‘सशस्त्र सङ्घर्षप्रतिको आलटाल, उपेक्षा र घृणा सारत: जनताप्रतिको गद्दारी हो ।’ त्यसैले ‘सर्वहारा वर्गले कानुनी सङ्घर्ष होइन, दीर्घकालीन सशस्त्र जनयुद्ध सञ्चालन गर्नुपर्छ । गाउँले सहर घेर्नुपर्छ । संसदीय निर्वाचनमा सहभागी भएर वा बुर्जुवा प्रजातन्त्रको रक्षा र विकास गरेर क्रान्ति सम्पन्न हुँदैन ।’ यिनै सैद्धान्तिक मान्यतामा उभिएर माओवादीहरूले राजतन्त्र, संसदीय निर्वाचन र बुर्जुवा प्रजातन्त्र विरुद्ध जनयुद्ध सुरु गरे । यो युद्धलाई एमालेले कहिल्यै जनयुद्ध भनेन । बदलामा माओवादीले एमालेलाई भन्यो, ‘यो संशोधनवादी पार्टी हो । जबज सुधारवादी विचार हो ।’
माओवादीहरू मान्छन् कि ‘सशस्त्र बलद्वारा सत्ताकब्जा गर्नु क्रान्तिको केन्द्रीय कार्यभार हो ।’ यसमा अझै नेपाली माओवादीहरूले पुनरावलोकन गरेका छैनन् । त्यसो त संगठनको सन्दर्भमा पनि माओवादीहरू उग्र छन् । माओका चर्चित दुई उक्ति ‘राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ र ‘जनसेना नभएको कम्युनिस्ट पार्टीसँग आफ्नो भन्नु केही हुँदैन’बाट हिजो माओवादीहरू प्रभावित थिए । यसैका आधारमा हिजो उनीहरूले जनसेना निर्माण गरे । जनयुद्ध गरे र ‘जनवादी गणतन्त्र नेपाल’को स्थापनाका लागि लडे । यस्तो विचार एमालेले २०३७/३८ सालतिरै परित्याग गरेको हो । तर अझै माओवादी स्कुलमा यही विचारलाई पढाइन्छ र नेताहरू आफू नै सक्कली माओवादी भएकोमा गर्व गर्छन् । त्यसो भए के नेपालमा अझै ‘जनगणतन्त्र’ नेपाल स्थापना गर्ने ‘स्कोप’ बाँकी छ ? माओवादीहरूले माओवादको स्थगनमात्र गरेका हुन् कि यसप्रति उनीहरूको मोह छ ? यस्ता प्रश्नको जवाफ माओवादी केन्द्रका पछिल्ला दस्तावेजहरूमा भेटिँदैन ।
एमाले संसदीय संघर्षलाई संघर्षको मुख्य मोर्चा मान्छ । तर माओवादीहरू ठान्छन्, क्रान्तिकारीहरूका लागि संसद्मा भाग लिने काम दक्षिणपन्थतिरको पतन हो । त्यसैले सच्चा क्रान्तिकारीहरू संसदीय व्यवस्थाको प्रयोग नभई यसको भण्डाफोर गर्नुपर्छ । माओवादीका विचारमा ‘पहिलो विश्वयुद्ध अघिको संसदीय प्रणाली धेरथोर जनताको पक्षमा थियो । तर विश्वयुद्धले साम्राज्यवादको विकास गर्‍यो, त्यसपछिको संसदीय व्यवस्था सम्पूर्ण रूपले साम्राज्यवादको सेवामा समर्पित छ । त्यसैले यस विरुद्ध सशस्त्र युद्ध नै सच्चा क्रान्तिकारी पहिचान हो ।’ माओवादी मान्छन्, ‘संसदीय व्यवस्था प्रगतिशील हुने जमाना महान अक्टोबर समाजवादी क्रान्तिपछि समाप्त भएको छ ।’ यही विचारको प्रभावमा माओवादीहरूले २०४६ सालमा स्थापित संसदीय प्रजातन्त्रको विपक्षमा आफूलाई उभ्याए । आज पनि उनीहरूको ‘थेसिसमा’ यावत विश्लेषण पढ्न पाइन्छ । जनयुद्धकालमा माओवादीले नेपाली कम्युनिस्ट आन्दोलनको मूल समस्या नै ‘संसदीय पुच्छरवाद’ ठानेको देखिन्छ । उनीहरूको ठहर छ, ‘चुनाव उपयोग नीति पनि अन्तत: समर्पण नै हो ।’ माओवादीहरू वर्ग सङ्घर्षलाई दीर्घकालीन जनयुद्धको पथबाट विचलित गर्ने संसदीय भ्रमबाट नेपालको कम्युनिस्ट आन्दोलन जोगाउनुपर्ने ठान्थे ।
माओवादीहरू मान्छन् कि नेपालमा माओवादी हुन नसक्नेहरू माक्र्सवादी र लेनिनवादी दुबै हुँदैनन् । के त्यस्तै हो त ? यसमा माओवादी केन्द्रका नेताहरू आज के भन्छन् ? माओवादीहरू कुनै बेला ‘प्रचण्डपथ’को कुरा गर्थे । उनीहरूको निष्कर्ष थियो, ‘प्रचण्डपथ नेपालमा जनयुद्धको थालनी, विकास र विस्तार सम्बन्धी सम्पूर्ण मान्यताहरूको संश्लेषण हो’ । यस्ता विषयहरूमाथि एमालेको स्वीकार र अस्वीकार के छ ? हिजो एकअर्कोलाई लगाएका आरोपहरूको स्वीकारोक्ति, पुनर्पुष्टि, आलोचना वा खण्डन के हो ? पछिल्ला विचारहरूको संगतिपूर्ण विवेचना र नयाँ प्रस्तावहरूमाथि बहसविना कसरी नयाँ विचारको जन्म हुन्छ ?
एमाले र माओवादी केन्द्रबीच केही सांगठनिक भिन्नता पनि छन् । एमाले सांगठनिक रूपमा सबैभन्दा व्यवस्थित र चलायमान पार्टी हो । यसले आंशिक रूपमै सही अन्तरपार्टी लोकतन्त्रको अभ्यास गर्छ । यसका कार्यकर्ताहरू चलायमान छन् । तर माओवादी पार्टी सबैभन्दा अव्यवस्थित र भद्रगोल छ । अन्तरपार्टी लोकतन्त्रबारे यो पार्टीका नेता/कार्यकर्ताहरू सांस्कृतिक रूपमै उदासीन छन् । यो वेमेलको व्यवस्थापन गर्ने संगठनात्मक सिद्धान्त र सूत्र के हो ? के यी पार्टीहरूले केन्द्रीयता निर्देशित जनवादलाई विस्थापित गर्दैछन् ? के अब अन्तरपार्टी लोकतन्त्र प्रभावशाली हुन्छ ? कि गुटहरूको सन्तुलन र व्यवस्थापन नै अब बन्ने पार्टीको संगठनात्मक सिद्धान्त हो ?
कतिपय व्यावहारिक सन्दर्भहरू छन् । जस्तो– एमालेमा माओवादीहरूले उठाएका जातीय पहिचान र प्रगतिशील राष्ट्रवादमाथि भिन्न दृष्टिकोणहरू छन् । एमाले जनजाति र मधेसका पछिल्ला मुद्दाहरूमा माओवादीभन्दा संकीर्ण छ । माओवादीहरू मूलत: हरेक क्षेत्रमा क्रमभङ्ग गर्न चाहन्छन् । माओवादीहरू उपयोगितावादी छन् । नयाँ प्रगतिशील संस्कृतिको पक्षमा वकालत गर्ने माओवादीहरू धर्म, संस्कार, संस्कृति र सामाजिक मान्यतालाई उदार ढङ्गले बुझ्ने र व्याख्या गर्ने सामथ्र्य राख्दैनन् । चिनियाँ सांस्कृतिक क्रान्तिलाई आदर्श ठान्ने उनीहरूले सांस्कृतिक अराजकताबाट समाजलाई झन्डै छिन्नभिन्न बनाए । आर्थिक अराजकता माओवादीहरूको अर्को नकारात्मक पक्ष हो । यस्तो अराजकताले राज्यसत्तालाई नै भ्रष्ट बनाउने खतरा हुन्छ । सामुदायिक उत्पादनका नाममा पार्टी कार्यकर्ताहरूलाई पथभ्रष्ट बनाउने खतरा रहन्छ । यसमा कसरी नियन्त्रण हुन्छ ? त्यसो त भूमिसुधार र सामाजिक उत्पादन पद्धतिमा पनि यी पार्टीका भिन्न विचार छन् । यस्ता अनेकौं विषय छन्, जसले एमाले र माओवादी केन्द्रलाई एकअर्कोबाट अलग बनाउँछन् । यिनीहरूलाई जोड्ने वैचारिक, राजनीतिक र व्यावहारिक उपायहरू के हुन्, कतै दृष्टिगोचर हुँदैनन् ।
ट्विटर : @dahalkeshab

प्रकाशित : फाल्गुन ४, २०७४ ०७:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT