कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुँदै नभएको ‘साम्यवादी नजर’

टिप्पणी
यादव देवकोटा

काठमाडौँ — साम्यवादी नजरमा नेपालको इतिहास’ शीर्षकमा डा. महेशराज पन्तको १२ फागुन, २०७४ शनिबार ‘कोसेली’ मा प्रकाशित लेखले केही प्रश्नहरू उठाएका छन् । ‘साम्यवादी नजर’ भन्ने जुन पदावली प्रयोग भएको छ, त्यसका आधारहरू लेखमा कहीँ पनि खुलेको छैन ।

हुँदै नभएको ‘साम्यवादी नजर’

लोककृष्ण भट्टराईको ‘नेपाली सभ्यता : विगत र वर्तमान’, लक्ष्मण पन्तको ‘आधुनिक नेपालको इतिहास १७४३–१९५५’, वामदेव गौतमको ‘नेपाल नवनिर्माण महाअभियान’ र रामराज रेग्मीको ‘नेपालको इतिहास एक माक्र्सवादी दृष्टिकोण’ पुस्तक पन्तलाई के कति कारणले साम्यवादी लागेको हो भन्ने खुलेको छैन, पहिलो । उल्लिखित पुस्तक के कति साम्यवादी नजरले लेखिएका हुन्, खुलेको छैन, दोस्रो । साम्यवादी नजर भनेको के हो र किन पन्तले यो पदावली उल्लिखित पुस्तकका हकमा प्रयोग गरेका हुन् खुल्दैन, तेस्रो ।


***
भट्टराई, गौतम र पन्त (लक्ष्मण) ले आफ्नो पुस्तकलाई न त माक्र्सवादी दाबी गरेका छन् न त पन्त (महेशराज) ले उल्लेख गरेजस्तो साम्यवादी । लक्ष्मण पन्तले लेखनमा माक्र्सवादले इतिहासलाई हेर्ने दृष्टिकोण उल्लेख गरेका छन् र रेग्मीले चाहिँ पुस्तकको उपशीर्षक नै एक माक्र्सवादी दृष्टिकोण राखेर आफ्नो पुस्तक माक्र्सवादी दृष्टिकोणका आधारमा लेखिएको दाबी गरेका छन् । फेरि माक्र्सवादीको सट्टा प्रयोग गरिएको साम्यवादी पदावली नै भ्रमपूर्ण छ । माक्र्सवादी हुनु र साम्यवादी हुनुका आधारहरू र सीमाहरूबारे एक शब्द पनि उल्लेख नगरी महेशराज पन्तले साम्यवादी नजर भनेर लेखकहरूको राजनीतिक संलग्नताको आधारमा वर्गीकृत गरेका हुन् भने नेपालका हरेक लेखकका पुस्तकहरूलाई उसले सदस्यता लिएको तत्तत् पार्टीको आधारमा कित्ताकाट गर्नुपर्ने भयो । या उसले अँगालेको, विश्वास गरेको व्यवस्था, विचारका आधारमा उसको पुस्तकको नजर ठहराउनुपर्ने भयो ।


भट्टराई र गौतमको पुस्तक कुनै पनि कोणबाट माक्र्सवादी छैन, तिनले त्यसमा हकदाबी पनि गरेका छैनन् । भट्टराईको किताबभरि नेपाली सभ्यता, समाज, राज्य र संस्कृतिको सुरुवात र विकासक्रमका प्रमुख आधारहरू दैवी चमत्कार, धार्मिक कथा, दन्त्य कथाहरूको गाथालाई मानिएपछि, त्यस्ता दैवी पात्रहरूको महिमाले किताबका पाना भरेपछि त्यो कसरी माक्र्सवादी हुन्छ ? पन्तज्यूले त्यसलाई कसरी साम्यवादी नजर मानेका हुन् ? भट्टराई र गौतम एमाले तथा पन्त र रेग्मी माओवादी केन्द्रको नेता भएकै कारण ? त्यसो हो भने स्वयं महेशराज पन्तज्यूले लेखेका किताबहरूलाई पाठकले कुन नजरको पुस्तक मानेर पढ्ने ? आदर्शवादी नजरको, सरकारी नजरको या कुन नजरको भनेर प्रश्न उठ्ने मात्रै होइन, त्यसरी कित्ताकाट गर्नुपर्ने बाध्यात्मक तर अनिवार्य अवस्था पनि निम्त्याउँछ । यसर्थ, पन्तले विभिन्न ‘वाम’ भनिएका पार्टीका नेताहरूले लेखेको पुस्तकलाई नेपाली इतिहासमाथि साम्यवादी नजरको मिथ्या पदावली प्रयोग गरेका छन् ।


***
नेपालीे इतिहास लेखनमा आदर्शवादी धाराको प्रभाव जबर्जस्त छ । जसले, समाज विकासको युक्तिसंगत आर्थिक, राजनीतिक परिघटनाहरूलाई दोयम मानेर देश, राष्ट्रको निर्माण, समाज र सभ्यताको विकास कुनै अमुक व्यक्ति, राजा, महाराजा, सामन्त, महासामन्तहरूले, तिनको बल, कृपा, तागतले भएको हो भनेर स्थापित गर्न आफ्ना ज्ञान र लेखनको तागतलाई अन्तिम हदसम्म लगानी गर्छ । यही आदर्शवादी धारासँगै जोडिएर या पूरक भएर र कतिपय अवस्थामा एउटै भएर पुरातनपन्थी, जडसूत्रवादी धाराको पक्षपोषणसहित इतिहासको व्याख्या गर्ने प्रयास पनि सँगसँगै जारी छ ।


यो धाराले राष्ट्र, राज्य निर्माणमा जनताको भूमिकाको अभिलेख राख्नुपर्छ भन्ने मान्दैन । समाज, सभ्यता निर्माण र विकास मानव सभ्यता विकासको वैज्ञानिक तथ्यहरूको क्रमबद्धतामा हैन कुनै दैवी चमत्कारबाट भएको मान्छ र त्यसलाई पुष्टि गर्न अरू केही भेट्टाएन भने दन्त्यकथालाई सिरानी हाल्छ । इतिहास भनेको राजा, महाराजाको, कुनै ऐतिहासिक पात्रको जन्म, विवाह, प्रेम, अतिरिक्त प्रेम–यौन, हुर्काइ, बढाइ र केही कामका तिथिमिति, (अप)व्याख्या हो भन्छ र त्यसैमा लुटपुटिन्छ । तथ्यहरूको भारीभर्कम चाङ लगाउँछ, यसर्थ कि त्यसले इतिहासको नायक फलानो राजा थियो भन्ने प्रमाणित गर्न सकियोस् । जस्तो कि रानीपोखरीको निर्माण प्रताप मल्लले गरेका थिए भनेर कमसेकम असी पेज तथ्य, व्याख्या, प्रमाण जोड्न कुनै मुस्किल मान्दैन यो धाराले, तर त्यो पोखरी निर्माणमा पसिना बगाएको एउटा मात्रै ज्यामीको पनि नाम खोज्न आवश्यकै मान्दैन । कुनै शासकका भित्रिनीबारे सिङ्गै पुस्तक बन्ने तथ्य, प्रमाणहरू लेख्न कुनै पट्यार नमान्ने उही लेखक इतिहासका निर्णायक मोडहरूमा चेतना, पसिना, जिन्दगी लगानी गरेका सीमान्त पात्रहरूको नामसमेत खोज्न रुचाउँदैन ।


सरकारी, आदर्शवादी धाराले इतिहासको धमनी खोतल्न सक्दैन या त्यसले मानव समाज विकासको धमनी जनतालाई मान्दैन भनेर जनता नै इतिहासका निर्माता हुन् भन्ने चेतनासहित इतिहासमा काम गर्नुपर्छ भन्ने मान्यता राख्ने अर्को धारा छ, जसलाई संसारभर माक्र्सवादी विचारधाराका रूपमा चिनिन्छ । माक्र्सवादको मुख्य तन्तुको रूपमा रहेको ऐतिहासिक भौतिकवादी दृष्टिकोणले मानव समाज या यसको विकासक्रमलाई भौतिकवादी कोणबाट विश्लेषण गर्छ र पिंधमा रहेका जनतालाई केन्द्रमा राखेर इतिहासको व्याख्या गर्छ ।


***
आदर्शवादी, सरकारी, परम्परावादी दृष्टिकोणले नेतृत्वको क्रियाहरूको हिसाब, किताब र त्यसको तथ्यांकहरूको फेहरिस्त देखाउँछ भने माक्र्सवादी दृष्टिकोणले कुनै पनि समाजको विकास, निर्माण या युद्ध या उत्पादनमा सबैभन्दा महत्त्वपूर्ण श्रम निखारेका मानिसहरूको संघर्षको गाथालाई प्राथमिकतामा राख्छ । हामीकहाँ आजसम्म लेखिएको छ र पढाइएको छ— नेपाल पृथ्वीनारायण शाह र केही वीर योद्धाहरूले बनाए । तर, यही भाष्यभित्र हराएका छन्, पृथ्वीनारायणले आह्वान गरेको गोर्खा राज्य विस्तारको अभियानलाई सफल र तेज बनाउन जीवन, रगत, पसिना दिएका हजारौं मानिस । लेखिएको छ— धरहरा भीमसेन थापाले बनाए, रानीपोखरी प्रताप मल्लले बनाए, त्रिचन्द्र कलेज चन्द्रशमशेरले बनाए । तिनको समयमा बनेको कुरा त मानी नै हालिन्छ, के साँच्चै एउटा ढुङ्गा या इँटा उठाए चन्द्रशमशेर या भीमसेन थापाले त्रिचन्द्र कलेज या भीमसेनस्तम्भ बनाउँदा ? कसका थिए ती सम्पदा निर्माण गर्ने ठेला फुटेका हातहरू ? छ हामीसँग हिसाब, छ तथ्यांक ?


हामीसँग केवल शासकहरूको गाथा लेखिएका किताबहरूको लम्बाइ र मोटाइहरूको दुरुस्त हिसाब छ, आफ्नी श्रीमतीको रोग निको भएन भनेर उपचारमा संलग्न वैद्यकी पत्नीलाई बलात्कार गराएर निकालिएपछि तिनको जिन्दगीलाई कति लामो र मोटो अँध्यारो समयले छोपिदियो भन्ने सवालको बदलामा । हामीसँग कुन लडाइँमा बहादुरी देखाएबापत कुन कमान्डरले या कुन शासकको चाकरी बजाएबापत कुन चाकरीदारले बपौतीमा कति जमिन पाए भन्ने एकएक हिसाब छ, तर हामीसँग त्यसरी दिइएको जमिन कुन श्रमजीवी, भुइँ खोस्रने किसानको थियो भन्ने हिसाब छैन ।


धेरै पुराना कुरा किन गर्ने– हामीलाई राणा शासनविरुद्धको संघर्षमा मारिएका, राणाविरुद्धको सशस्त्र संघर्षमा भाग लिएका नौजवानहरूको, पञ्चायतविरुद्धको संघर्षमा काखको नानी आफन्तलाई जिम्मा लगाएर व्यवस्था बदल्न हिँडेका साहसी नारीहरूको, राजतन्त्र मिल्काउन जनयुद्धमा लागेर मरेका, सत्ता र विद्रोहीको दोहोरो चेप खेपेकाहरूको हामीसँग कुनै व्यवस्थित अभिलेख छैन । किनकि त्यो अभिलेख दुरुस्त तयार हुनासाथ सात सालको क्रान्तिको नायकत्व कोइरालाहरूमा सीमित रहन्न, पञ्चायतविरुद्धको संघर्ष केही पुरुषहरूको जेल बसाइको निचोडमा टुङ्गिन्न र दसवर्षे भीषण युद्धका नायकमा दिल्लीको नोयडामा ‘फ्ल्याट’ लिएर बसेका दाहालहरू दर्ता हुन सक्दैनन् । प्रचण्डका तस्बिरमा क्रान्ति नायक लेखेर सहरका भित्तामा बोर्ड झुन्ड्याउनेहरूलाई एक दशक नबित्दै प्रचण्डको नाममा फलाकिएको ‘क्रान्ति नायक’ शीर्षकको कोरस कोमामा पुगेको त्यसै होइन, त्यो इतिहास निर्माण गर्न जीवन, जोवन, रगत, पसिना, यातना लगाएका, भोगेका मानिसहरूको अवमूल्यनको परिणाम हो भन्ने बोध हुँदै जाला पनि । माक्र्सवादको फुर्को जोडेर लेखिएको भनिएका पुस्तकहरूमा यी विषय छन् कि भनेर हेर्‍यो भने पाठकलाई फेरि हात लाग्नेछ, निराशा ।


***
पहिलो त, हामी कहाँ फरक साइनवोर्ड राखेका विभिन्न कम्युनिस्ट पार्टीहरू कति साँच्चैको माक्र्सवादी छन् कति नाम मात्रका ? या, त्यसमा संलग्न नेता कार्यकर्ता कति माक्र्सवादी चिन्तन, चरित्रका छन् ? कति माक्र्सवादी पार्टीको सदस्यता लिएर धर्मयज्ञमा चरु होमिरहेका छन् या बाइबल शिरमा राखेर क्राइस्टको शोक मनाइरहेका छन्, त्यसको अलग्गै विवेचना आवश्यक छ । त्यसैमा जोडिएर अर्को बहस पनि जरुरी छ, जसरी माक्र्सवादी भनिएका पार्टीहरू, नाममा सीमित छन्, उसैगरी माक्र्सवादी दृष्टिकोणको ‘टयाग’ भिरेर बजारमा आएका इतिहासका पुस्तक कति ‘टयाग’ मै सीमित छन् ? जस्तो कि रामराज रेग्मी लिखित पुस्तक ‘नेपालको इतिहास एक माक्र्सवादी दृष्टिकोण’ लाई नै लिउँm । गौतम र भट्टराईले आफ्नो पुस्तकलाई ‘माक्र्सवादी’ दाबी गरेर ‘बजार’ को ध्यान तान्ने पाखण्ड देखाएका छैनन् । पन्तको किताब खालि शाहकालीन शासक वृत्तान्त भएकाले त्यसमा धेरै टाउको दुखाउन जरुरी छैन । फेरि यसमा प्रकट अतथ्यहरूबारे महेशराज पन्तले आफ्नो लेखमा सामान्यत: उल्लेख गरिसकेकाले यसमा त्यसलाई दोहोर्‍याइरहन परेन । फेरि यो लेख, तथ्य, त्रुटिहरूमा भन्दा लेखनको भाष्यमा केन्द्रित हुन खोजिएकाले यसैमा सीमित रहन खोजिएको छ । त्यसैले सबैभन्दा पछिल्लो पटक प्रकाशित माक्सवादी दृष्टिकोणको दाबी छापेर आएको रामराज रेग्मीलिखित पुस्तक कति माक्र्सवादी छ र कति आदर्शवादी भनेर अलिकति टिप्पणी बढाउनु उचितै हुनेछ ।


रेग्मीले पुस्तकको लेखकीयमा लेखेका छन्, ‘इतिहास अन्य कुनै तत्त्वबाट भन्दा पनि भौतिकवादी अवस्थाबाट प्रभावित हुन्छ । इतिहास दुईचार नायकले मात्र निर्माण गर्ने विषय होइन ।’ तर उनले पुस्तकका पानाभित्र लेखेका हरफ ‘...नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह कुशल शासक भएकाले उनले शासन गरुन्जेल नेपालको शासन राम्रै ढंगले चले पनि उनका छोरानाति अकुशल भएकाले समग्र शाही शासनकालको अवधिमा नेपालको राजनीति अस्थिर र षडयन्त्रमूलक बन्न गएको कुरा इतिहासकारहरूले उल्लेख गरेका छन् । यस कुरालाई नकार्न सकिन्न (पृ २१५)’ ले त लेखकको माक्र्सवादी दृष्टिकोणमाथि नै सन्देह पैदा गर्छ । रेग्मीको माक्र्सवादी दृष्टिकोणले यहाँनेर एउटा शासकलाई राष्ट्रनिर्माता मान्ने कुरालाई सकारेको देखेर उदेक लाग्छ एकातिर भने अर्कोतिर नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण भन्ने लेखिसकेपछि त्यसअघि नेपाल थिएन र नेपाल पृथ्वीनारायणले निर्माण गरेको भन्ने स्वत: हुने नै भइहाल्यो । नेपाल राष्ट्र नै पृथ्वीनारायण (एक जना शासक) ले निर्माण गरेको कुरामा सहमति जनाइसकेपछि इतिहास दुई चार नायकले मात्र निर्माण गर्ने विषय होइन भन्ने लेखकीय पनि उसै गरी खण्डित भैजान्छ भने नेपाल उतिबेला यस्तो थियो भनेर पृथ्वीनारायणको समयकाल अघिको वर्णनको जरुरी, प्रयागप्रशस्ती, कौटलीय अर्थशास्त्र, अथर्ववेद परिशिष्ट आदिको भारी किन खोतल्नुपरेको हो ?


निश्चय नै, पृथ्वीनारायण नेतृत्वको गोर्खा राज्य विस्तार अभियान तत्कालीन कविलायी समयमा एउटा जरुरी र अत्यावश्यक प्रगतिशील कदम थियो । दक्षिणतिरबाट संसार निल्दै अघि बढेको सामाज्यवादी ब्रिटिस फौजलाई गौंडागौंडामा दपेटेर भर्खरै आकार लिँदै गरेको गोर्खा राज्यले प्रतिरोध गर्नसक्नु आफैंमा एउटा अद्वितीय साम्राज्यवादविरोधी कदम थियो, एकातिर भने त्यसैको बलमा गोर्खा राज्य आन्तरिक विस्तारवादको चरित्रसहित अघि बढेको थियो । तर, त्यही गोर्खा राज्य विस्तारको परिणाममा, निष्कर्षमा आजको नेपालको स्वरूप हामीसामु भएकाले पृथ्वीनारायणको गोर्खा राज्य विस्तार अभियान एकातिर ऐतिहासिक त हुँदै हो अर्कातिर प्रगतिशील पनि । तर, एउटा अमूक शासक एक्लै कसरी कुनै देशको निर्माता मानिनसक्छ त्यो पनि माक्र्सवादी दृष्टिकोणमा ? गोर्खा राज्य विस्तार अभियानको नेतृत्व नि:सन्देह पृथ्वीनारायणले गरेका थिए, तर त्यसमा हजारौं नागरिकहरूले गोर्खाको सीमा बढाउन र जोगाउन आफ्नो शरीरको छपनी लगाएका थिए, रगत बगाएका थिए । इतिहासमा केही थान पाँडे, पन्त, खनाल, अर्याल, बस्न्यातहरूको बहादुरीको पढिनभ्याइने गाथाहरू त छ, तर द्रव्य शाहको पालादेखि नै सबैभन्दा ठूलो संख्यामा फौजमा सामेल मगरहरू, समयक्रममा उत्तिकै संख्यामा थपिएका गुरुङहरू र विविध प्रयोजनसहित सामेल दलित, मुसलमानहरूको विवरण त परै जावोस् गोर्खा राज्य विस्तार अभियानको अन्तसम्म ती समुदायबाट जम्मा कति मानिसले आफ्नो ज्यान गोर्खाका नाममा निखारे भन्ने हिसाबसमेत छैन । यसमा रेग्मीको माक्र्सवादी दृष्टिकोणवाला पुस्तक समेत पूरै मौन छ र बदलामा शाह वंशावली सरहकै सूचना छन् । के यही हो नेपालको इतिहासमा माक्र्सवादी दृष्टिकोण ?


***
‘वंशावली र कथा पुराणका काल्पनिक प्रसंगलाई आधार मानेर विदेशीहरूले लेखेका विषयवस्तुका वरिपरि अधिकांश स्वदेशी लेखकहरू पनि परिक्रमा गरिहेछन् (लेखकीय) ।’ फेरि उनै रेग्मी पृष्ठ ४८ मा लेख्छन्, ‘पौराणिक कथा र वंशावलीअनुसार नेपाल गणराज्यमा सबैभन्दा पहिलो शासक गोपाल वंशको थियो । ने मुनिले गाईगोठ राख्ने गोपाल वंशको एक जना व्यक्तिलाई सबैको स्वीकृतिबट पहिलो राजा बनाए भन्ने छ ।’ रेग्मीले यसको खण्डन नगरेबाट र विकल्पमा नेपालमा सत्तारम्भको वैकल्पिक भाष्य प्रस्तुत नगरेबाट ऊनी आफैं कथा पुराणका काल्पनिक आधारमा, त्यो पनि लेभीले लेखेको पुस्तक अर्थात् द्वितीय स्रोतमा परिक्रमा गरेको देखिन्छ । जस्तो कि पृष्ठ ३५ मा ऊनी लेख्छन्, ‘...गोपाल राजवंशावली’ मा उपत्यकामा सवैभन्दा पहिले गोपाल वंशले शासन गरेका थिए भनी जुन बताइएको छ, त्यसको संकेत यही पशुपालक जातितर्फ हुनुपर्छ । सिल्भा लेभीले गोपालहरूलाई असभ्य, अज्ञानी र गैरहिन्दु जातिका रूपमा प्रस्तुत गरेको कुराबाट यस तथ्यको पुष्टि हुन्छ ।’ एक त लेखकीयमा आलोचना गरेविपरीत यसमा वंशावलीलाई नै आधार बनाइएको छ भने अर्कोतिर लेभीले लेखिदिएकै कारण पुष्टि हुने कस्तो माक्र्सवादी दृष्टिकोण दिन खोजेका हुन् रेग्मीले ? रेग्मीको लेखाइले लाग्छ, काठमाडौंमा सभ्यता विकास र सत्ता सुरुवातको सवालमा माक्र्सवादी दृष्टिकोण तय गर्न अन्तिम फैसलाकर्ता हुन् लेभी !


‘....महिला फौजले जालन्धर गण (किरातहरू) लाई पराजित गरेका प्रसंगहरू पौराणिक कथाहरूमा भेटिन्छन् । त्यस गण प्रमुखमा शैलेश्वरी थिइन् र महिला लडाकुहरूमा महाकाली, दुर्गा, चण्डी, ब्रह्मचारिणी, चन्द्रघण्टा आदि वीरङ्गाना थिए (पृ ३९) ।’ यहाँ रेग्मीको माक्र्सवादी दृष्टिकोणसँग पूरै हायलकायल हुनुको विकल्प छैन ।


‘मञ्जुश्रीले चोभारको गल्छी काटेर तालको पानी सुकाएपछि यो बस्ती बस्नयोग्य भयो । ‘ने मुनि’ ले भेडाबाख्रा चराउने गोठालाको एउटा सरदारलाई राजा बनाए र ‘नेपाल’ भन्ने नाम तिनै मुनिको नामबाट चल्यो... यस्तै यस्तै उडन्ते काल्पनिक कहावतको सहारामा इतिहास लेखिएको छ’ भनेर रेग्मीले लेभीलाई उद्धृत गरेर किंवन्दन्तीमाथि प्रश्न उठाए पनि काठमाडौं उपत्यकामा सभ्यताको विकास कसरी सुरुवात भयो भन्ने कुनै दृष्टिकोण दिन सकेका छैनन् पुस्तकमा । माक्र्सवादी दृष्टिकोण त दोस्रो कुरा । उडन्ते कथाहरू भनेर लेखिनु नै माक्र्सवादी दृष्टिकोण हो कि उठेका सवालहरूको तथ्यका आधारमा विज्ञानसम्मत दृष्टिकोण पेस गर्नु हो ?


***
यसको आशय रेग्मीको पुस्तक पूरै बेकामे छ भनियो भने त्यो अर्को अति हुनेछ । इतिहासको पहिलो पाठकहरूका लागि या पहिल्यै इतिहासको पठनमा नलागेकाहरूका निम्ति यसले आवश्यक प्राथमिक सूचनाहरू दिन्छ नै, अनेकन तथ्यहरूको तोडमोड र गल्तीका बाबजुद । यहाँ केवल पुस्तक शीर्षकमा दाबी गरिएजस्तो कति माक्र्सवादी छ भन्ने कोणको बहसमा केन्द्रित रहिएको हो । यसमा रहेका अतथ्यहरूका बारेमा महेशराज पन्तले आवश्यक टिप्पणी गरिसकेकाले थप लेख्न आवश्यक रहेन । तर जसरी भट्टराई, गौतम, पन्त र रेग्मीको पुस्तकलाई महेशराज पन्तले साम्यवादी नजर लेखिदिएको पाइयो, यसले कुनै कम्युनिस्ट पार्टीको सदस्यता लिएपछि उसले स्वत: आफूलाई कम्युनिस्ट भएको मानेजस्तै कुनै कम्युनिस्ट पार्टीमा रहेको व्यक्तिले कुनै पुस्तक लेख्नासाथ त्यो साम्यवादी नजर हुने कुरा विद्वज्जनग्राहय कसरी होला ?
Twitter : @gaunkomanchhey

प्रकाशित : चैत्र ३, २०७४ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?