कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विपनाको बोझमा ‘स्वप्निस्तान’

पुस्तक
राजकुमार बानियाँ

काठमाडौँ — चानचुन २ सय ५० शब्द–सीमाको रोमान्समै रमाएका छन्, सुमन सौरभ । साढे दुई दशकसम्म एकपाते साहित्यिक खजानामा तृप्त छ उनीभित्रको गम्भीर लेखक ।

विपनाको बोझमा ‘स्वप्निस्तान’

उनलाई साहित्यको एउटै विधा पर्याप्त रहयो, लघुकथा । उनको अथाह ज्ञानको साहित्यिक भरपाई यसमै भएको छ । तैपनि प्राध्यापक, समालोचक, उपन्यासकारहरू बेलाबखत झकझकाउन छाड्दैनन्— सानो मात्रै किन ?


ठूलो अर्थात् सीमाहीन शब्दबाजी । लामो कथा या उपन्यासको एक्रोब्याटिक खेल । परिपाक मिलेको कथा छोटो होस् वा लामो, त्यसको रसास्वादनमा खासै फरक पर्दैन । फरक यत्ति हो, लघुकथा सूत्रात्मक हुन्छ, लामो कथा विवरणात्मक । यस अर्थमा सुमन सौरभ लघुकथालाई ‘फ्ल्यास फिक्सन’ या ‘नानो फिक्सन’ को रूपमा सम्मान गर्छन् । स्मल इज ब्युटिफुल । सायद सुमनको सटीक सूत्र यही हो ।


छोटो हुनुमा त्यति खराबी छैन, जति लामो हुनुमा छ । यस्तो लाग्छ, सुमन सौरभ लामो कथासँग पौठेजोरी खोजिरहेका छन् लघुकथा मार्फत । कसैले मिस्सी फाल्यो भने उनले गुलाम हान्ने त चान्सै छैन । कि त वजिर हान्छन् कि सुरतको एक्का । क्षणभरमै भाव र विचारको विस्फोट गराइदिन्छन् ।


साँच्चै भन्ने हो भने सुमनले लघुकथालाई काम, जागिर मात्र होइन, ओभर टाइमसमेत दिएका छन् । उनका लागि लघुकथाको चुनौती लघुकथा मात्र होइन । स्थानीय र वैश्विक मानकलाई भत्काउने वा जित्ने कोसिस छ उनको । त्यसैले त उनको पाँचौं पुस्तक पनि लघुकथाकै आयो, ‘स्वप्निस्तान’ । यसका ४७ वटै लघुकथा स्वप्निल छन् । तर, स्वप्नलोक, स्वप्नयात्रा र स्वप्नविचारमा विपनाकै छाया छ । सत्यापन गरे पनि, नगरे पनि हरेक विपनामा सपनाकै प्रतिलिपि छ । ‘जिज्ञासा’ देखि ‘ठेगाना’ सम्म रंगीबिरंगी सपना छन् । प्रत्येक सपनाको आफ्नै अर्थ र अस्तित्व छ ।


लाग्छ, समालोचक दयाराम श्रेष्ठले सुमन सौरभकै उदाहरण राखेर लघुकथालाई परिभाषित गरेका हुन् । उनी के भन्छन् भने लघुकथाको नेपथ्यमा अलिखित शब्दहरू हुन्छन् । छोटो कथात्मक गद्य संकथन भए पनि त्यसको अन्त्यमा इको अर्थात् प्रतिध्वनित हुन्छ । अलिखित अवस्थामै सम्पूर्ण कथा बताउन सक्नु नै यसको असलियत हो । लामो कथामा जस्तै यसमा कथावस्तु, पात्र, दृष्टिविन्दु, रूप विन्यास आदि हुन्छन् तर ती सबै एकअर्कासँग विलयन भएका हुन्छन् ।


संग्रहको घटना, दुर्घटना, नियत, नियति, सन्दर्भ र पात्र सपना नै हो । हरेक लघुकथामा सपना सन्दर्भ छन् । तर, तिनमा ‘हाइपर रियालिटी’ छ । उनका लागि सपना विषय मात्र होइन, दृष्टिकोण पनि हो । दिमागले सपनालाई नियन्त्रण गर्छ या सपनालाई दिमागले नियन्त्रण गर्छ ।
विपनाको बोझमा परेका छन् कथाका पात्र । त्यसैले त सपनामा पनि विपनाकै प्रतिप्रभाव झल्किन्छन् । विपनाको नीलडाम सुमनका लघुकथामा ऐंठन बनेर आएका छन् । घरीघरी सपनाको सुरुङमा पस्छन् अनि सपना चोरिएकामा हैरान हुन्छन् । समाज, राजनीति, विज्ञान, दर्शन, धर्म, संस्कृति आदि मामिलाले घरीघरी चिमोटिरहन्छन् । समाजका सर्जनका रूपमा उनले सपनाको सफल शल्यक्रिया गरेका छन् । उनका लघुकथा कथाकै समकक्षी बनेर उभिन सक्षम छन् ।


‘तिम्रो सपना अधुरो रहेछ । त्यो पदक जसले लियो, उसले चोरेको होइन बरु जसले दियो, उसले चोरेको हो ।’ (चोर) ‘त्यो आकाशको आवाज कसको थियो ? भगवान्को कि नास्तिकको ? दुईमध्ये कुनचाहिँ सबभन्दा ठूलो भ्रम हो ?’ (आकाशवाणी) ‘यो निद्रा यतिबेला किन कराएको ? इन्सोम्निया भन्ने रोग मान्छेलाई भएको छ कि निद्रालाई हँे ?’ (अनिद्रा) सुमन सौरभका हरेक कथा ‘ओपन इन्डिङ’ हुन्छन् । कतै सपनालाई विपनामा घोलेर, कतै विपनालाई सपनामा घोलेर कथानक अघि बढेको छ । सपनाका विभिन्न सिद्धान्त छन् । तर्क र व्याख्या छन् । तर, सपनाको मनोवैज्ञानिक मीमांसा पंक्तिकारको ल्याकतमा छैन । मस्तिष्कका डेल्टा, थिटा, अल्फा र बिटाका तरंगको विश्लेषण पनि वशमा छैन ।


यति मात्र भन्न सकिएला— सपना जैविक प्रक्रिया हो । सपनाले मान्छेको सोच र भावनामा क्षणिक तर गहिरो प्रभाव पारिदिन्छ । सपनामा देखिने शब्द, दृश्य र घटनाको विभिन्न कोणबाट तर्कसंगत र विश्वासयोग्य व्याख्या हुन सक्छन् । सुमनले अभौतिक, अधिभौतिक तथा पराभौतिक प्रकृतिको नियन्त्रित वा अनियन्त्रित अनुभवलाई सपना मानेर लघु संकथन गरेका छन् । ‘स्वप्निस्तान’ का सबै कथाको त्यसरी नै चिरफार हुन सक्छ ।


सबै कथा सपनाकै पेगमा छन् तर कुनैमा पनि पुनरुक्ति दोष छैन । उनका लघुकथा पढ्नलाई पाँच मिनेट पनि लाग्दैन । तर, त्यसले पाँच घण्टा त अवश्य ‘झट्का’ दिन्छ । लघुकथाको शैली अपरम्परित छ । प्रयोग उनको प्रिय कथा उपकरण लाग्छ । संवादबाटै उनले कथालाई तार्किक र बोधगम्य बनाएका छन् ।


सुमनलाई पढ्दा यकिन हुन्छ, लघुकथा आयतन होइन, कथानक हो । कथानकबिना कथाको सम्भावना कमै हुन्छ । भ्रामक आत्मविश्वासका सिकार भएर कथाका नाममा घटना मुचुल्का, शब्दचित्र या विवरण दिने परिपाटी चलेका बेला उनले लघुकथालाई ‘आर्ट पिस’ का रूपमा उभ्याउने जबर्जस्त कोसिस गरेका छन् । न उखान वा सूक्ति लघुकथा हो, न त जति घण्टा बिताएको छ, त्यति घण्टाकै लम्बेतान विवरण नै लामो कथा ।

‘स्वप्निस्तान’ मा कसैले नसोचेका गहकिला लघुकथा छन् । कतिपय कथाले झस्याङ्ग पनि पारिदिन्छन् । अधिकांश कथा विम्बात्मक, प्रतीकात्मक र सूत्रात्मक छन् । यसो सोचिल्याउँदा उनमा उर्दू तथा फारसी साहित्यमा प्रख्यात खलिल जिब्रानका लघुकथाको रहस्यदर्शी झलक छ । र, अर्जेन्टिनी लघुकथाकार होर्खे लुइस बोर्खेसजस्तो नवीनता, तीव्रता र तीक्ष्णता छ । सुमनको कथाशिल्पलाई ‘अन्योक्ति शैली’ मान्छन् समालोचक दयाराम श्रेष्ठ । अन्योक्ति साहित्यको एक प्रख्यात अलंकार हो । उनी कुनै प्रतीकका माध्यमबाट व्यंग्यात्मक शैलीमा कथावाचन गर्छन् । सतही रूपमा जे देखिन्छ, त्यसको अर्थ त्यो होइन । नवौँ शताब्दीमा रुद्रटले यसलाई स्वतन्त्र अलंकारका रूपमा स्थापित गरिदिए । वेद, उपनिषद्, रामायण, महाभारत, पुराण आदिमा यसका उदाहरण पाइन्छन् ।


छुटाउनै नहुने कुरा के हो भने सुमनको लघुकथाकारिता चौथो पुस्तक ‘मृत्युसंग्रह’ (०७१) मै प्रकट भइसकेको हो । त्यसबेला उनले ४८ वटा मृत्यु प्रसंगको ‘डिकोड’ गरेका थिए । मृत्युलाई पात्र बनाएर उसका ‘फुटनोट्स’ दिए, मान्छेसँग संवाद गराए । मान्छेलाई मृत्युको प्रतीक्षालय मानेर नेपथ्यको यथार्थलाई विवस्त्र पारिदिए, ‘मृत्यु चेतना नहुँदा मान्छे पशु बन्छ, हुँदा मानव ।’


नेपाली साहित्य संग्रहालयमा डेढ सयभन्दा बढी पुस्तक आइसकेका छन् लघुकथाका । तर, अपवादबाहेक तिनले हस्यौली या गफगाफको भन्दा बढी हैसियत दिन सकेनन् । कतिपयले लघुकथालाई कथाको एउटा टुक्रा ठाने, कतिले आकारलाई मात्रै आख्यान माने । कतिले कथालाई गह्रुङ्गो बनाउने नाममा विचारको भारी नै बोकाइदिए । रबरको शरीरमा फलामको टाउको जोडिदिने दक्षप्रजापतीय ‘प्याराडक्स’ अद्यापि छ । यति हुँदाहुँदै पनि लघुकथामा ‘डार्क ह्युमर’ का निम्ति ‘स्वप्निस्तान’ स्मरणीय हुन सक्छ ।

प्रकाशित : चैत्र ३, २०७४ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?