सुरुआत अन्त्यको

फुटबल
हिमेश

काठमाडौँ — फेरि एकपल्ट जोसे मोउरिन्होकै प्रसङ्ग । विश्व फुटबलमा यिनको जत्तिको कुरा अरू बिरलैलाई काटिएला । मोउरिन्हो पात्र नै यस्तै खालका छन् । कारण अकारण चर्चामा आइरहने ।

सुरुआत अन्त्यको

युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने टिमको समीकरण तयार भइसकेको छ । यसमा मोउरिन्होको म्यानचेस्टर युनाइटेड भने छैन । तर पनि चर्चा उनकै बेसी छ । अरू किन च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगे भन्दा पनि म्यानचेस्टर किन त्यो चरणमा पुगेन, त्यसको विश्लेषण बढी भइरहेको छ ।


इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले अन्तिम १६ मा सामना गरेको थियो, स्पेनी ला लिगा प्रतिद्वन्द्वी सेभियाको । यो चरणको ‘ड्र’ निस्कँदा धेरैले भनेका थिए, अरू इंग्लिस क्लबको तुलनामा सजिलो विपक्षी पाएछ । तर सेभिया सजिलो सावित भएन । सेभियामा भएको लेगको खेल गोलरहित बराबरीमा टुंगियो । दोस्रो लेग भने म्यानचेस्टरले आफ्नै घरमा २–१ ले गुमायो । उसको घरेलु मैदान ‘ओल्ड ट्रायफोर्ड’ लाई ‘थिएटर अफ ड्रिम’ भनिन्छ ।


यही मैदानमा म्यानचेस्टरको अन्तिम आठ पुग्ने सपना तुहियो । म्यानचेस्टरले प्रिमियर लिगमा मात्र होइन, युरोपेली फुटबलमा केही नमीठा हारहरू बेहोरेको छ । तर अहिले जत्तिको खराब हार यसअघि सामना गरेको थिएन । त्यसैले अहिले मोउरिन्होको खास आलोचना भइरहेको छ, विशेषत: उनको खेल रणनीतिको । मोउरिन्हो सिद्धान्त नै हो, बढी रक्षात्मक भएर खेल्ने । उनले भनेकै छन्, ‘आक्रामक भएर खेल जितिन्छ, रक्षात्मक भएर उपाधि ।’


फयाट्ट एक गोल गर्ने, अनि सक्दो रक्षात्मक खेलेर विपक्षी टिमलाई अवसर नै नदिने, यो पनि फुटबलको एउटा प्यारो रणनीति हो । केही यसलाई मन पराउँछन्, केहीलाई यो फिटिक्कै रुच्दैन । यसलाई मन नपराउने किन पनि धेरै छन् भने रक्षात्मक पाराले खेल्ने फुटबललाई हेर्न भने मज्जा आउँदैन । कसैले यस्तो भन्छ भने मोउरिन्होसँग यसको उत्तर पनि छ । लिगमा लिभरपुललाई हराएयता मोउरिन्होले भनेका थिए, ‘हामीलाई कसैले बढी रक्षात्मक खेल्यौं, यो राम्रो फुटबल होइन भन्छ भने मलाई त्यसको मतलब पनि छैन ।’


यस्तो उखान टुक्काजस्तै सुनिने भनाइका लागि पनि मोउरिन्हो चर्चामा आइरहन्छन् । सेभियाविरुद्धको खेल गुमाएयता पनि मोउरिन्होले भनिहाले, ‘म्यानचेस्टर यसअघि नहारेको पनि होइन । यसपल्ट पनि हार्‍यो, अब के गर्ने ? फुटबलमा यस्तै हुन्छ । यो नतिजाले विश्वको अन्त्य त भएको छैन ।’ म्यानचेस्टरमा एलेक्स फर्गुसन छँदा नै क्लब अन्तिम पटक युरोपेली फुटबलमा हारेको थियो । अहिले यस्तै मोउरिन्होको पालामा भएको छ ।


उनले सेभियाविरुद्धको खेलको विश्लेषण गर्ने क्रममा आपैंmलाई उडाउन पनि बिर्सेनन् । आपैंmलाई उडाएको ? सायद । उनको भनाइमा पछिल्लोपल्ट म्यानचेस्टरका खासखास समर्थक पनि खुसी छैनन । मोउरिन्हो भन्थे, ‘म पोर्टोमा छँदा पनि म्यानचेस्टर हारेको थियो, म फेरि रियल म्याड्रिडमा छँदा म्यानचेस्टर हारेको छ ।’ त्यसैले उनले यो हारलाई लिएर धेरै नाटक नगर्न भनेका छन् । अझ उनको भनाइ थियो, ‘हामी हार्‍यौं भनेर दु:ख मनाउने २४ घण्टा समय पनि छैन ।’


मोउरिन्हो आएयता म्यानचेस्टरको खेलाडी संरचनामा धेरै परिवर्तन भइसकेको छ । म्यानचेस्टरले धेरै खर्च पनि गरेको छ, एकसेएक भन्न सकिने खेलाडी किनेको पनि छ । सेभियासँगको खेलपछि केहीले फेरि भनेका छन्, ‘सायद म्यानचेस्टरमा अझै विश्वस्तरीय खेलाडीको कमी छ कि ?’ यस्तो भन्नेमा म्यानचेस्टरको एक नम्बर विरोधी क्लब लिभरपुलका पूर्व कप्तान स्टेफेन जेरार्ड पनि हुन् । तर जेरार्डकै कुरा काटेर धेरैले भनेका छन्, खर्च मात्र गरेर के गर्ने र, यदि टिम नै राम्रा बनाउन सकिन्न भने ।


म्यानचेस्टरमा मोउरिन्हो आएको धेरै भएको छैन, सन् २०१६ यता त हो । उनले लामै समय पोर्टो, चेल्सी, रियल र इन्टर मिलानजस्ता क्लबमा बिताए । ती क्लबमा बस्दाका केही समयपछि नै उनी आफ्नै खेलाडीलाई गाली गर्न पनि चुक्दैनन् । एक प्रकारले यो मोउरिन्होले गरेको खेलाडीको आलोचना भने हुन्छ । तर यो स्थितिसम्म पुग्न केही समय भने लाग्छ, विशेषत: यस्तो स्थिति क्लबले केही ठूला उपाधि जितेपछि मात्र हो । तर अहिले म्यानचेस्टरले उनको नेतृत्वमा कुनै ठूलो उपाधि जितेको छैन ।


तर उनले म्यानचेस्टरका खेलाडीको भने आलोचना गर्न सुरु गरिसकेका छन् । मोउरिन्होको यो रोग नै हो र यो म्यानचेस्टरमा धेरै चाँडै देखा परेको छ । यसले टिममा कचिंगल पनि ल्याउने गर्छ । अहिले मोउरिन्होको पउल पोग्बा र एलेक्स सान्चेजसँगको सम्बन्ध निकै चिसो छ, मोउरिन्होकै कारण यी दुई खेलाडीले सक्दो खेल्न नसकेको आरोपा लाग्न पनि सुरु भइसकेको छ । धेरै भएको छैन, हिजोजस्तै मात्र हो, म्यानचेस्टरले विश्व कीर्तिमानमा पोग्बालाई किनेको, १२ करोड ४० लाख डलरमा ।


सेभियाविरुद्ध दोस्रो लेगमा मोउरिन्होले उनको स्थानमा पहिला मरोउने फेलानीलाई उतारे । पछि पोग्बाले खेल्ने अवसर त पाए, तर त्यो ढिला भइसककेको थियो । एक त पोग्बाले पाएको समयमा केही पनि गर्न सकेनन्, फेरि यो पर्याप्त समय पनि थिएन । मोउरिन्हो र पोग्बाबीच कुरा नमिलेको धेरै भइसकेको छ । आखिरमा कुनै पनि टिममा हाकिम त व्यवस्थापक नै हुने गर्छन् । त्यसैले मोउरिन्होले चाहँदैनन् भने पोग्बाले खेल्न पाउने भएनन् नै । आर्सनलबाट म्यानचेस्टरमा आएयता उनले प्रिमियर लिग इतिहासकै सबैभन्दा महँगो र दामी अनुबन्ध पाए तर यी खेलाडी पनि कता हो कता हराएकै स्थितिमा छन् । आर्सनल छँदा यी चिलीका खेलाडी अरुका लागि प्रेरणा हुने गर्थे, अहिले म्यानचेस्टरमा उनी अपरिचित खेलाडी भएका छन् । म्यानचेस्टरमा मोउरिन्हो आएयता के कस्ता समस्या आए, त्यसको सूची बनाउँदा लामै हुन्छ । उनलाई ल्याउँदा सुरुमा विरोधमा गरिएको तर्क पनि अहिले उत्तिकै जायज देखिन्छ ।


त्यति बेला भनिएको थियो, खासमा म्यानचेस्टरका लागि मोउरिन्हो ठीक प्रशिक्षक नै होइनन् । म्यानचेस्टरको खेल्न पारा एउटा, मोउरिन्होको खेलाउने पारा अर्कै । फर्गुसन छँदा म्यानचेस्टर राम्रो खेल्थ्यो, जित्थ्यो पनि । अनि सबैको प्रशंसा पनि बटुल्थ्यो । अहिले म्यानचेस्टरले न राम्रो खेलिरहेको छ, न जितिरहेको छ । प्रशंसा त परकै विषय भयो । मोउरिन्होले उल्टै आफ्नो आलोचकलाई मुखभरि उत्तर फर्काउँछन् र नमीठो स्थिति तयार हुन्छ ।


सीधासीधा भन्दा म्यानचेस्टरले यी पोर्चुगली मोउरिन्होलाई ल्याएको प्रिमियर लिग र च्याम्पियन्स लिग जित्नलाई हो । यसपल्ट क्लब च्याम्पियन्स लिगबाट त बाहिरिसकेको छ नै, प्रिमियर लिगमा पनि दोस्रोमा छ र शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा धेरै पछाडि छ, १६ अंकले । अझ दु:ख त केमा हुनेछ, भने सिटीले यसपल्ट लिग जित्ने निर्णय अरू कतै होइन, ओल्ड ट्रायफोर्डमा हुँदै छ । सबैलाई थाहा छ, म्यानचेस्टर र यसका समर्थकका लागि यो साह्रै नमज्जाको स्थिति हुनेछ ।


त्यसो त जस्तै खराब प्रदर्शन भइरहेको भए पनि क्लब व्यवस्थापनले मोउरिन्होलाई समर्थन गरिरहेको छ । अझ सके, मोउरिन्होलाई नयाँ खेलाडी किन्नमा खर्च दिन पनि तयार छ । त्यसैले त क्लबले उनीसँग सन् २०२० सम्मका लागि अनुबन्ध पनि बढाएको छ । तर यी सबै स्थितिमा पनि सायद सेभियाविरुद्धको खेल निर्णायक कारण बन्न सक्छ, परिवर्तनका लागि । सेभियाविरुद्ध म्यानचेस्टर जसरी हार्‍यो, त्यो हुन सक्छ, मोउरिन्होको ‘अन्त्यको सुरुआत’ हुने हो कि ?
twitter : @himeshratna

प्रकाशित : चैत्र ३, २०७४ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?