कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

झापाली सान

खेल
झापा ११ फुटबल क्लब स्थापना भएको चार वर्षभित्रै नेपाली फुटबलमा बलियो शक्तिको रूपमा उभिएको छ ।
राजु घिसिङ

काठमाडौँ — पूर्वाञ्चल नेपाली फुटबलकै ‘पावरहाउस’ हो । विशेषगरी झापामा फुटबल क्रेज लोभलाग्दो छ । घण्टौं यात्रा गरेर, साइकल चढेर र बासकै व्यवस्था पनि गरेर झापामा फुटबलको प्रतिस्पर्धा हेर्न दर्शक ओइरिने गर्छन् ।

झापाली सान

तेस्रो झापा गोल्डकपको सोमबार बिर्तामोडस्थित डोमोलाल राजवंशी मैदानमा सम्पन्न भयो । फाइनलमा घरेलु टिम झापा ११ र त्रिभुवन आर्मी क्लब पुगेका थिए । फाइनल ३ बजे सुरु हुने तोकिएको थियो तर त्यसको दुई घण्टाअघि नै मैदानवरिपरि र बाँसका प्यारापिट दर्शकले भरिइसकेको थियो । ११ हजारभन्दा बढी दर्शकले फाइनल हेरेका थिए । गेट टिकट बिक्रीबाट मात्रै २३ लाख ७२ हजार ४ सय रुपैयाँ उठेको थियो । झापा गोल्डकप आयोजक समितिका २ सय ३० सदस्य र स्कुलमा बिक्री गरिएका टिकटको आम्दानी त यसमा समावेश नै गरिएको छैन ।


लगातार तेस्रोपल्ट झापा ११ झापा गोल्डकपको फाइनलमा हार्‍यो । उसलाई सडनडेथमा सिकार बनाएको आर्मीले २०७४ सालको सातौं उपाधि चुम्यो । झापा गोल्डकपलाई समग्रमा हेर्ने हो भने विभागीय टिमको सफलताको रूपमा मात्र प्रतियोगिता रहेन, समग्र फुटबलकै जित भयो । गेट टिकट बिक्रीबाट मात्रै ४८ लाख रुपैयाँ बढी कमायो र यो घरेलु प्रतियोगिताकै कीर्तिमान आम्दानी पनि हो । टिकटबाट पहिलो संस्करणमा २९ लाख र दोस्रोमा ३६ लाख आर्जन गरेको थियो । यसपालि गोल्डकपमा जोडिएका ३० कर्पोरेट हाउसबाट ६० लाख आर्जन गर्‍यो ।


आयोजक समितिका सदस्य जलकुमार गुरुङ भन्छन्, ‘हिसाब जति भए पनि त्यसले खासै अर्थ राख्दैन । खेललाई स्तरीय र आकर्षक बनाउन सबभन्दा पहिला त ठूलो संख्यामा दर्शकको उपस्थिति हुनुपर्छ । हाम्रो सम्पत्ति भनेकै दर्शक हो ।’ झापा ११ फुटबल क्लबका अध्यक्षसमेत रहेका गुरुङले भनेजस्तै भयो पनि झापा गोल्डकप । सबै दर्शक बाँसका प्यारापिटमा अट्ने अवस्था थिएन । उभिँदा पनि थोरैले मात्रै खेल हेर्न सक्ने स्थिति थियो । त्यसले दर्शक गोलपोस्टनजिकसम्म पलेंटी कसेर बसेका थिए । मैदान साह्रै लोभलाग्दो बनाइएको थियो । चर्चित खेलाडीहरूले अभद्र व्यवहार गर्दासमेत दर्शक आफ्नै स्थानमा बसेका थिए । व्यवस्थापनलाई लिएर आयोजकलाई गुनासो गर्ने भेट्न गाह्रै पर्छ । बिर्तामोडमा एउटै आवश्यकता भनेको पूर्ण संरचनाको रंगशालाको देखियो ।


यसपालि झापा गोल्डकपमा एक रोड ४७ लाख संकलन गर्ने लक्ष्य राखिएको थियो । ‘पूरा हिसाब गर्न बाँकी छ तर हामीले ५० लाख जोगाउने लक्ष्य बनाएका थियौं,’ गोल्डकपको आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले भने । होम पाण्डेको अध्यक्षतामा गोल्डकप सुरु भएको थियो । पहिलो संस्करण २०७१ बाट १५ लाख र २०७३ को आयोजनाबाट ५६ लाख बचत गरिएको थियो । उसले पुरस्कार पनि दिल खोलेरै दिएको छ । कुल २६ लाख २ हजार र एक मोटरसाइकल पुरस्कारको प्रतियोगितामा च्याम्पियन आर्मीले १२ लाख ५१ हजार पायो । उपविजेताको खातामा ६ लाख रहयो । दर्शकले पनि हरेक खेल चिट्ठाबाट ५ हजार र २४ देखि ४० इन्चसम्मको एलईडी टेलिभिजन प्राप्त गरे ।


आहा रारा गोल्डकपको आयोजक पोखराको सहारा क्लबबाहेक अरू गोल्डकपबाट यसरी ठूलो रकम बचत गरिएको खासै पाइँदैन । बचत रकम के गर्ने त ? गोल्डकप आयोजक अध्यक्ष गिरी भन्छन्, ‘बचेको रकम अक्षय कोषमा जम्मा गरी झापा ११ फुटबल क्लबको वृद्धि विकासमा लगानी गर्ने योजना छ । क्लबको कार्यालय स्थापना, खेलाडी अनुबन्ध, नियमित प्रशिक्ष्ँण गर्ने र वार्षिक कम्तीमा १० प्रतियोगिता खेल्ने योजना छ । यसका लागि वार्षिक करिब ७० लाख आवश्यक पर्छ ।’


झापा ११ को आम्दानी २०७१ सालमा सुरु गरिएको गोल्डकप मात्र होइन, यो त झापाली फुटबललाई ब्रान्डिङ गर्ने एउटा माध्यम मात्र हो । झापा ११ को आफ्नै प्रायोजक छ । उसलाई पछिल्लो वर्ष रमपम चाउचाउले १५ लाख दिएको थियो । नेपाली राजनीतिमा झापा कम्युनिस्टको गढ नै हो । तर फुटबलमा त्यस्तो कुनै राजनीतिक गन्ध खासै पाइँदैन । गोल्डकप आयोजना र झापा ११ क्लब सञ्चालनमा सबै पार्टीका नेता–कार्यकर्ता खटिएका पाइन्छन् ।


दुई सय ३० सदस्यमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीदेखि कांग्रेस नेता कृष्णप्रसाद सिटौलासम्म छन् । सदस्यता शुल्क २१ हजार तोकिएको छ र नवीकरणमा प्रत्येक वर्ष ५ हजार तिर्नुपर्छ । यो पनि क्लबको आम्दानीको ठूलै हिस्सा हो । सदस्यहरूका लागि पनि खेल हेर्ने बेग्लै प्यारापिटलगायत सुविधा दिइएको छ । गोल्डकपको आयोजना र क्लब सञ्चालनले झापाली समुदायलाई एकजुट बनाउने काम पनि गरेको छ ।


गोल्डकपको आयोजना र स्थानीय बासिन्दाको फुटबल क्रेजसँगै झापा ११ क्लब पनि अगाडि बढिरहेको छ । स्थापनाको पहिलो वर्ष २०७१ साल भदौमा दशरथ रंगशालामा एन्फा कपको उपाधि जितेर झापा ११ ले तहल्का मच्चाएको थियो । त्यस बेला उसले फाइनलमा संकटालाई ४–० ले हराएको थियो । त्यसै वर्ष झापा ११ ले विराट गोल्डकप पनि जित्यो । उसले २०७३ सालमा माई भ्याली गोल्डकप र काँकडभिट्टा गोल्डकपको उपाधि पनि कब्जा गरेको थियो । उसले यो साल भने ट्रफी चुम्न सकेको छैन ।


फुटबलमा प्रतिभाको हिसाबले झापा खेलाडीको उर्वरभूमि हो । नेपालका लागि सर्वाधिक गोलका कीर्तिमानी हरि खड्का झापाली नै हुन् । झापाकै नरेन्द्रमणि लिम्बु उमेर चार दशक छुन लाग्दा पनि मैदानमा छाइरहेका छन् । घरेलु फुटबलका सदावहार फरवार्ड कर्ण लिम्बु, विशाल राई, खमिर गिल्सन कन्दङ्वा, मिडफिल्डर योगेश गुरुङ, पुजन उपरकोटी, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्ताम, अहिले झापा ११ का मुख्य खेलाडी हुन् । प्रशिक्ष्ँकको भूमिकामा प्रवेश कटवाल छन् ।


‘झापा ११ राम्रो टिम हो । सबैले मिहिनेत गरिरहेका छन् । प्रदर्शन पनि राम्रै छ तर त्यसअनुसार उपाधि भने जित्न सकिएको छैन,’ प्रशिक्षक कटवालले भने, ‘अब यो टिमलाई नियमित गर्न सके सफलता पाइने आशा छ ।’ क्लबका अध्यक्ष जलकुमार गुरुङ पनि टिमलाई नियमित राख्दै प्रशिक्ष्ँण र प्रतियोगिता खेल्ने व्यवस्था गर्ने योजनामा छन् । ‘हामीले दुई खेलाडी अनुबन्ध गरिसकेका छौं । अब एक वा दुई वर्षका लागि १० खेलाडी अनुबन्धको घोषणा चाँडै गर्नेछौं । कर्पोरेट हाउस र स्थानीय तहको संलग्नतामा सिनियर–जुनियर गरी नियमित २० खेलाडी राख्नेछौं,’ उनले भने ।


गुरुङले झन्डै दुई दशकअघि बिर्तामोड युनाइटेड क्लब सञ्चालन गरेका थिए । त्यस बेला बिर्तामोड युनाइटेड खुकुरी कपको फाइनल चरण पुगेको थियो । त्यसैबाट चम्किएका थिए, प्रवेश कटवाल, युगकिशोर राईको झापाली पुस्ता । त्यसका टिमका खेलाडीले सहिद स्मारक लिगका क्लबमा राम्रै बजार पाएको थियो । गुरुङ व्यावसायिक क्लबको रूपमा झापा ११ लाई नेपालको लिगमा स्थापित गराउन चाहन्छन् । उनले क्लब स्थापना पनि राष्ट्रिय लिग २०७१–७२ खेल्नलाई गरेका थिए । त्यसमा ठूला टिमलाई कडा टक्कर दिंदै झापा चौथो भएको थियो । लिगमा एउटै खेलमा टिकटबाट ७–८ लाख कमाइ गरेपछि झापा ठूला प्रतियोगिताका लागि उत्साहित भएको थियो ।


झापामा फुटबल क्रेज थप सशक्त बनाउने, क्लबलाई लिगमा सफल बनाउने र झापा गोल्डकपको आयोजनालाई अझै उत्कृष्ट बनाउने झापा ११ को योजना छ । गोल्डकपलाई अर्को वर्षदेखि लिगकम नकआउटको आधारमा झापाका विभिन्न स्थानमा सञ्चालन गर्ने प्रारम्भिक अघि सारेको छ । ‘समयअनुसार नौलो प्रयोग गर्नुपर्छ,’ क्लबका अध्यक्ष गुरुङले भने, ‘झापा ११ लाई नेपाली फुटबलमा नमुना क्लबको रूपमा स्थापित गर्न चाहन्छौं । अनि झापा गोल्डकपलाई पुरस्कारको होडमा होइन, व्यवस्थित र उत्कृष्ट प्रतियोगिताको रूपमा अगाडि बढाउन चाहन्छौं ।’ फुटबलमा क्लबको सफलता र उसको इतिहासको मूल्यांकन लिगबाट हुन्छ । त्यसर्थ झापा ११ परिपक्व क्लब भने भइसकेको छैन ।

प्रकाशित : चैत्र ३, २०७४ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?