‘म मरेपछि मेरा पुस्तकहरु’

पुस्तक
यो आन्दोलन नेपालभाषाका लागि मात्र होइन नेपाली इतिहास, संस्कृति र समग्र मुलुकको निम्ति हो। सायद हामीले भनेको पहिचान र आत्मसम्मानको रक्षा यस्तै कामबाट हुन सक्छ
दीपक अर्याल

काठमाडौँ — नेपालमा सबैभन्दा धेरै खोलिने तर दीर्घकालसम्म नटिक्ने संस्थाहरूमध्येको एउटा संस्था पुस्तकालय हो । खासखास राजनीतिक उथलपुथल वरिपरि पुस्तकालयहरू व्यापक मात्रामा खोलिएका छन् । तर यी जति धेरै खोलिए त्यति नै मात्रामा बन्द पनि भए ।

‘म मरेपछि मेरा पुस्तकहरु’

यसो हुनुका थुप्रै कारण होलान् तर एउटा मुख्य कारण भने पुस्तकालय खोलिनुपर्छ भन्ने हुटहुटी भएका युवा जमातले पुस्तकालय खोलेका केही वर्षमै उनीहरू विविध कारणले लाखापाखा लाग्नु हो । उनीहरूले सक्दासम्म त्यसको रेखदेख गर्छन् । पुस्तकहरू मागेर, किनेर संकलन गर्छन् र पुस्तकालय खडा गर्छन् तर रोजगारी, लेखाइपढाइ वा अन्य कारणले उक्त समूह त्यो स्थानबाट बाहिर निस्केपछि खोलिएको पुस्तकालय धान्ने अर्को समूह निस्कँदैन । त्यसपछि जम्मा भएका पुस्तकहरू त्यसै थन्किन्छन्, धमिरा लाग्छन्, मुसा लाग्छन् र सदाका निम्ति हराउँछन् । किताब, पत्रपत्रिका र कतिपय ठाउँमा पाण्डुलिपिहरू नासिन्छन् । सायद हामीमा संस्थालाई संस्थागत गर्ने धैर्य र अनुभवको अभाव छ ।

पढ्नेलेख्ने व्यक्तिहरूकै घरमा रहेका सामग्रीहरू पनि समयक्रममा नास हुन्छन् । एउटा पुस्ताले आफ्नो रुचिअनुसार पढ्नका लागि दु:खले जम्मा गरेका पुस्तक, पत्रपत्रिका, हस्तलिखित सामग्री दोस्रो पुस्ताका लागि उत्तिकै महत्त्वको लाग्दैन वा रुचिको विषय बन्दैन । त्यसैले ती सामग्री सुरक्षित रहनुपर्छ भन्ने वा कुनै सरकारी निकाय वा निजी पुस्तकालयहरूमा सुरक्षित राख्‍नुपर्छ भन्नेमा ध्यान जाँदैन । अझ, यस्ता व्यक्तिगत संकलनहरू कसले सुरक्षित राख्छन् ? किन सुरक्षित रहनुपर्छ भन्ने विषयमा चर्चा नै हुँदैन र समयक्रममा ती नासिँदै जान्छन् ।


मदन पुरस्कार पुस्तकालयले मूलत: नेपाली भाषाका पुस्तकपुस्तिका, पत्रपत्रिका, पर्चा–पम्पलेट र पाण्डुलिपिहरू सुरक्षित राख्न थालेको ६० वर्ष पुग्यो । हाल यसमा ३९ हजार पुस्तक, ५ हजार ७ सय ३० पत्रपत्रिका, १६ हजार पर्चा–पम्पलेट सुरक्षित छन् तर बजारमा उत्पादित तथा वितरित यत्ति नै सामग्रीहरू मदन पुरस्कार पुस्तकालयमा आइपुगेका छैनन् । पाण्डुलिपिका हकमा सरकारी स्तरमा राष्ट्रिय अभिलेखालयले सामग्रीहरूको संरक्षण गर्छ भने निजीस्तरबाट उत्पादन भएका सामग्रीहरूलाई केही हदसम्म मदन पुरस्कार पुस्तकालयले संकलन र संरक्षण गर्छ । त्यसो त राष्ट्रिय पुस्तकालय, केन्द्रीय पुस्तकालय, केशर पुस्तकालय लगायतका पुस्तकालयले पनि सामग्रीहरू राख्ने गर्छन् । तर यी पुस्तकालय वा संग्रहालयले जति सामग्रीहरू सुरक्षित गरेका छन् त्योभन्दा धेरै सामग्रीहरू निजी संकलनमा छरिएर रहेका हुन सक्छन्, जुन प्रत्येक दिन हराउँदै छ ।


यस्ता सामग्रीहरूको स्थिति बुझ्ने प्रयासस्वरूप मदन पुरस्कार मार्फत धरान, धनकुटा, विराटनगर, इलाम र गुल्मीजस्ता केही स्थानहरूका पुस्तकालय र निजी संकलकहरूसँग भेटघाट र चिनजान गर्ने प्रयास गर्‍यौं । यसरी भेट्ने क्रममा धेरैको प्रश्न मदन पुरस्कार पुस्तकालयका संस्थापक कमल दीक्षितको निधनपछि पुस्तकालय के हुन्छ ? भन्ने रह्यो । धेरैले उहाँ हुँदासम्म जिल्लाका सामग्रीहरू पुस्तकालयलाई संकलनका लागि पठाएको तर निधनपछि अलमलमा परेको बताउनुभयो । अर्थात् एउटा संस्था र व्यक्तिलाई हामीले कसरी जोडेर हेर्‍छौं वा खास व्यक्तिको अभावले संस्थालाई कतिसम्म असर पर्दोरहेछ भन्ने कुराको ज्वलन्त उदाहरण थियो । अर्थात् व्यक्ति नहुनासाथ संस्था नरहन सक्छ वा संस्थाले सोही काम उत्तिकै दृढताका साथ नगर्न सक्छ भन्ने शंका धेरैका मनमा हुनेरहेछ । हाम्रो काम संस्थाले जे काम गरिरहेको थियो त्यो गर्नेछ नै बरु त्यसको दायरलाई कसरी अझै फराकिलो पार्न सकिन्छ भनेर यहाँहरूको सुझाव र सल्लाह लिन आएका हौं भनेर आश्वस्त पार्नुपर्ने थियो ।


भेटघाटको एउटै जोड थियो, स्थानीय स्तरमा उत्पादित सबै सामग्रीहरूको सुरक्षा हुनुपर्छ । त्यो स्थानीय स्तरमै भए राम्रो, एक ठाउँमा मात्रभन्दा धेरै ठाउँमा भए राम्रो र यदि त्यसका लागि कुनै प्राविधिक सहयोग चाहिएमा मदन पुरस्कार पुस्तकालय तयार छ । हामीले जुनसुकै क्षेत्रमा उत्पादित जुनसुकै भाषाका सामग्रीहरू पनि उत्तिकै महत्त्वका हुन्छन् र ती सुरक्षित हुनुपर्छ भन्ने मान्यता राख्छौं । त्यति मात्र होइन हामीले धरानका कृष्णप्रसाद श्रेष्ठको व्यक्तिगत संकलनमा रहेको केही सामग्रीलाई मदन पुरस्कार पुस्तकालयमा उहाँकै नाममा संकलव गर्ने निधो गर्‍यौं । यसो गर्दा मदन पुरस्कारमा पहिले नै रहेका कैयौं पुस्तकहरू दोहोरिन्थे । स्थान अभावले सकेसम्म एउटा मात्र पुस्तक वा पत्रपत्रिका राख्ने हाम्रो नीतिलाई यो उपयुक्त थिएन । तर, नेपालमा ‘कम्युनिस्ट आन्दोलन, शिक्षा वा स्कुल’ का लागि अतुलनीय योगदान दिएका श्री श्रेष्ठले पढेका पुस्तकहरू र ती पुस्तकमा उहाँले लगाएका चिन्ह, लेखेका नोटहरू ‘कम्युनिस्ट आन्दोलन वा स्कुल परम्परा’ को अध्ययन गर्नेहरूका लागि महत्त्वपूर्ण स्रोत हुन सक्छ भन्ने ठान्यौं । त्यसैले ती प्रत्येक पुस्तकको महत्त्व अब पहिले नै मपुपुमा रहेका सोही पुस्तकभन्दा भिन्नै हुनेछन् । यस अर्थमा व्यक्तिका व्यक्तिगत संकलनहरू पनि हाम्रा साझा सम्पत्ति हुन् ।


विविध भाषा सामग्री
विभिन्न समयमा भएका पहिचान आन्दोलनसँग सम्बन्धित सामग्री, मातृभाषाहरूमा लिखित तथा प्रकाशित सामग्री संकलन र संरक्षण स्थानीय स्तरमा कसरी सम्भव छ ? त्यसका लागि स्थानीय, प्रादेशिक वा केन्द्रीय सरकारको नीति कस्तो हुनुपर्ने भन्ने विषयमा गफ भए । केही सल्लाह सुझावहरू प्राप्त भए । मदन पुरस्कारमा संकलन र संरक्षणका लागि सामग्रीहरू संकलित भए तर ती पर्याप्त छैनन् । यस्ता सामग्रीहरूको संकलन र संरक्षण कसले गर्ने, कसरी गर्ने ? सबैतिर अन्योल छ । व्यक्तिगत संकलनमा यस्ता सामग्रीहरू सुरक्षित छन् तर त्यसको सीमा हुने कुरा विराटनगर क्षेत्रमा व्यक्तिगत पुस्तकालय राख्नेहरूलाई धमिराले दिएको दु:खले पुष्टि गर्छ । तथापि इलाम सेरोफेरोमा भेटिने विभिन्न भाषाका पाण्डुलिपि र अन्य सामग्रीहरू युद्धप्रसाद वैद्यले कसरी संरक्षण र प्रयोग गरिरहनुभएको छ भन्ने कुरा धेरै क्षेत्रका लागि एउटा राम्रो उदाहरण हुन सक्छ । धरानकै विमल स्मृति पुस्तकालय र सार्वजनिक विद्या भवन, धनकुटाको गर्गाचार्य पुस्तकालयका सामग्रीहरू आफैंमा महत्त्वका छन् र यी र यस्तै पुस्तकालयले स्थानीय स्तरमा उत्पादित सामग्रीहरू स्थानीय स्तरमै सुरक्षित र संरक्षित राख्न सक्छन् ।

धेरैजसो पुस्तकालयमा ठाउँको अभाव, फर्निचर, मानवीय स्रोत, आर्थिक स्रोतका अतिरिक्त कीरा, मुसाहरूले यस्ता सामग्रीहरूलाई सुरक्षित राख्न दिएको छैन । यस अर्थमा मदन पुरस्कार पुस्तकालय केही हदसम्म भाग्यमानी छ । यसले पुराना सामग्रीहरू माइक्रोफिल्म वा डिजिटल प्रविधि मार्फत सुरक्षित राखिरहेको छ । नयाँ संकलनमा आएका सामग्रीहरूलाई पनि तुरुन्तै संरक्षण गर्ने नीति बनाएको छ । त्यसैले नै नेपालीभाषी, नेपाली भाषाका सामग्रीहरूको वर्चस्व हुँदाहुँदै पनि मपुपुमा संकलित सामग्रीहरूका आधारमा केही फरक कथाहरू भन्न सकिन्छ, लेख्न सकिन्छ ।


सामग्रीहरू कुनै न कुनै रूपमा सुरक्षित हुँदा नै सार्वजनिक संकथनको निर्माण हुन सक्छ । हाम्रा बहसहरू फराकिलो हुन सक्छ । आलोचना र समालोचनाका आधारहरू फराकिलो हुन सक्छ । २०३९ सालमा चन्द्रबहादुर लामाले ‘तामाङ भाषा श्लोक रामायण सुन्दरकाण्ड’ किन अनुवाद गरे र मुलुकसिं लामाले किन प्रकाशन गरे भन्ने कुरामा बहस हुन सक्ला तर बहसको आधार भने सोही पुस्तक हो र उक्त पुस्तक सुरक्षित रहे मात्र बहस गर्न सहज हुन्छ, सान्दर्भिक हुन्छ । यस्ता पुस्तकहरू कसरी जोगाउने, कसले जोगाउने, किन जोगाउने भन्ने कुरामा प्रशस्त बहस गर्नुपर्ने बेला भएको छ । नेपालभाषा एकेदमिको विधान (२०४९, नेसं १११२) भलै नेपालभाषामा नभएर नेपाली तथा अंग्रेजी भाषामा छ तर यो नेपालभाषाको संरक्षणका निम्ति भएको एउटा पहलको दस्तावेज हो ।


किरात व्याकरण (लिम्बु) इमानसिंह चेम्जोङ ग्रन्थावलीअन्तर्गत इमानसिंह चेम्जोङले २०२७ सालमा प्रकाशित गरेपछि दोस्रो संस्करण २०६० मा किरात याक्थुङ चुम्लुङबाट प्रकाशित भयो । के किरात आन्दोलन वा किरात भाषाको चर्चा गर्दै गर्दा २०२७ सालमा पुस्तक छाप्न सहयोग गर्ने सज्जनहरू सुब्बा नन्दप्रसाद, हर्कप्रसाद, गुञ्जमान, खगेन्द्रसिंह, लप्टन राजबल, ज जसहाङ, स्व रनध्वज आदिका विषयमा थप कुरा खोज्न सकिन्छ ? उहाँहरूको योगदानको चर्चा गर्ने आधार पक्कै पनि यो पुस्तक हो जसको प्रकाशनलाई उहाँहरूले सहयोग गर्नुभएको छ र उहाँहरूको नाम पुस्तकमा समावेश छ ।


एसएमपीपी गुप्ताले प्रकाशन गरेको मगर कुरा शिक्षा (विसं १९९६), अयोध्याप्रसाद प्रधानको मगर–शब्द–संग्रह (१९९६), नेपाल तामाङ समितिको घोषणापत्र तथा मसौदा संविधान (२०१३), किरात मुन्थुम लुङको विधान (२०१४), किरात साहित्यको इतिहास (२०१४), तमु क्यूई चेके देदैं रोमे (२०१५), जितया पावनी (२०१६), किराती खेदा (दोस्रो संस्करण २०१८), तामाङ गीद (सन् १९६३), मगर भाषाका शुरूवौ किताप भगदा प्राइमरी थाकसे (२०२२), मगराँती भाषाङ ल्हिङ द टुक्कावौ किताब (२०२५) आदि पुस्तकहरू अन्य उदाहरण हुन् जसका आधारमा थप काम गर्न सकिन्छ, थप बहस र छलफल गर्न सकिन्छ ।


२०३३ सालमा थारू कल्याणकारिणी सभाद्वारा प्रकाशित ‘थारू संस्कृति’ ले थारू कल्लायणकारिणी सभाको स्थापनाको कथा भन्न सक्छ । रमानन्दप्रसाद सिंह, डा. बृजनारायण चौधरी, त्रिभुवन चौधरी, प्रभु नारायण चौधरी, अमृत खाँको योगदान आदिका विषयमा खोज्न सकिन्छ । पुस्तकभित्र रहेका लेख र गीतहरूले तत्कालीन समयका केही सामाजिक, सांस्कृतिक, ऐतिहासक कुरा बोल्न सक्छ, जुन अध्येताका लागि सन्दर्भ सामग्री हुन सक्छ ।


२०१२ सालमा प्रकाशित सुब्बा खड्गबहादुर नेम्बाङको ‘किरात मिक्हन् साम्लो’ (किरात जागरण गीत), २०३८ सालमा प्रकाशित किरात मिक्हन् साम्लो (दोस्रो संस्करण), अमृत ह्योन्जनको तामाङ संख्या प्रणाली (सन् १९९१), याक्थुङ पानसुम (लिम्बु शब्दावली) २०४९, बैरागी काइँलाको महागुरु फाल्गुनन्दका उपदेशहरू तथा सत्यहाङमा पन्थका भजनमाला (२०४७) त्यस्तै महत्त्वपूर्ण सामग्रीहरू हुन् जसले विविध नेपाली भाषा, संस्कृतिको कुरा भन्न सक्छ । यस अर्थमा आशा सफु कुथीले गरिरहेको काम पनि ‘आन्दोलन’ नै हो । यो आन्दोलन ‘नेपाल भाषा’ का लागि मात्र होइन नेपाली इतिहास, संस्कृति र समग्र मुलुकको निम्ति हो । सायद हामीले भनेको पहिचान र आत्मसम्मानको रक्षा यस्तै कामबाट हुन सक्छ ।


मदन पुरस्कारमै रहेका अन्य पुस्तकहरू जस्तै : टासी फिन्जो लामा ‘टुल्कु’ र इमानसिंह लामाद्वारा सम्पादित संकलित एवं प्रकाशित ‘थ्वीनडेल’ (२०३३), करुणासिंह तुलाचनले २०४३ सालमा प्रकाशित ‘थकाली जातिको भाषा र संस्कृति’, नेवा भां प्रचारिणी समितिबाट प्रकाशित नेवा भांया शिक्षा (सन् १९४७) हाम्रा साझा दस्तावेज हुन् । यी कसरी सुरक्षित छन्, कहाँ सुरक्षित छन् वा कसले सुरक्षित राख्ने भन्ने विषयमा स्थानीय, प्रादेशिक वा केन्द्रीय सरकारले नयाँ नीति निर्माण गर्न सक्छ । व्यक्तिगत संकलनहरू कसरी जोगाउने, कसरी सुरक्षित राख्‍ने त्यो विषयमा पनि चिन्ता गर्नुपर्ने बेला भएको छ । व्यक्तिलाई सामान्यभन्दा सामान्य लाग्ने दैनिक काम कारबाहीका कागजातले व्यक्ति, समुदाय, क्षेत्र, जात वा खास ठाउँको इतिहास बोकिरहेको हुन्छ र ती कुनै न कुनै समय कसै न कसैले अध्ययन गर्नेछन् भन्ने मान्ने हो भने हामीले गर्न सक्ने काम ‘सुरक्षा’ गर्नु मात्र हो । हामी सामग्रीहरू सुरक्षित राख्ने कामका निमित्त मात्र हौं, यसमा बहस गर्ने, छलफल गर्ने, वादविवाद वा झगडा नै गर्ने काम विद्वत्जनको हो ।

प्रकाशित : चैत्र १०, २०७४ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?