जनक भरोसा जनकपुर

फोटो
हेमन्त श्रेष्ठ

काठमाडौँ — धर्म, सभ्यता र संस्कृतिको मुकाम जनकपुरलाई अनेक उपमा दिएर चिनाइरहनै पर्दैन । जनकपुरमा ५२ कुट्टी (मन्दिर) र ७२ कुण्ड (तलाउ) छन् । धार्मिक परम्परा, धरोहर, मठ–मन्दिर, साधु सन्तको भीडभाड उत्तिकै छ जनकपुरमा ।

जनक भरोसा जनकपुर

विदेश जान हतारिने युवा कामदारहरूको पंक्तिमा पनि जनकपुर (धनुषा) अग्रपंक्तिमा छ, रेमिट्यान्स आउने सूचकांक पनि यहाँ उलेख्य छ । अझ पछिल्लो समयमा राजनीतिक रूपमा समेत प्रदेश–२ को राजधानी बनेर जनकपुर प्रशासनिक मुकाम पनि बनेको छ । जनकपुरमा अहिले थप आशाको केन्द्र जनकपुर जयनगर रेल्वे २९ किमि पनि बनेको छ जुन पुन: सञ्चालनको क्रममा छ ।


तर, यही जनकपुरमा थुप्रिएका चुनौती र कठिनाइहरूको सूची पनि कम्ती लामो छैन । धनुषाको भूमि उर्वर छ तर, बजार व्यवस्थित छैन । बाटाघाटा प्रशस्तै छन् तर सद्दे र सहज बाटो पाउन मुस्किल छ । कतिसम्म छ भने १ किलोमिटर बाटो विस्तार गर्नुपर्दा आसपासका २२ जना जग्गाधनी सबैले मुद्दा हालेको दृष्टान्त पनि यहीं छ । नगरका सरकारी विद्यालयमा विद्यार्थी कक्षाकोठा बाहिरै खेलिरहेका भेटिन्छन् । किन त ? कक्षा कोठामा भौतिक पूर्वाधारै छैन ।

योभन्दा विजोगको अवस्था जनकपुरमा थपिएको छ— फोहोरमैलाको । धार्मिक पर्यटनको यो मुकाममा फोहोरमैलाकै कारण आगन्तुकहरू रात बिताउनै चाहँदैनन्, रात बिताउनुपर्दा बर्दिबासतिरै बसिरहेका हुन्छन् । यहाँका तलाउ, सरोबर, सडक, मठमन्दिर, होटल, चौतारादेखि जानकी मन्दिर परिसरसम्मै फोहोरैफोहोर छ । पोखरीको पानी नीलो होइन, कालो देखिन्छ । फोहोरी यो जगत्मा केही सफा छ भने गंगासागर पोखरी र स्वर्गद्वार मात्रै छ, अझ गंगा आरती साँझ भने निकै रमणीय देखिन्छ ।

झण्डै २ लाख जनसंख्या रहेको नगरमा अहिलेसम्म ल्यान्डफिल्ड साइट बन्न सकेको छैन । तत्कालका लागि भने जनकपुर ‘जनक भरोसा’ मा उभिएको छ— भएको चिनारी पनि हराउला कि भन्ने अवस्थाको भरोसा ।

प्रकाशित : चैत्र १०, २०७४ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?