कहाँ होलिन् छापामार बुहारी ?

सम्झना
गंगा बीसी

काठमाडौँ — साउनको पहिलो साता थियो । समयमै वर्षा लागेकाले घर वरिपरि झ्यम्म रूख पलाइसकेका थिए । सिमसिम पानी परेको झमक्क साँझमा झ्याउँकिरीको चर्कौ आवाज आइरहेको थियो । सोलार बत्तीको एउटा सप्को कोठाबाट बाहिरसम्म पुगेको थियो । बाआमा साँझको खाना पकाउने तयारीमा थिए ।

कहाँ होलिन् छापामार बुहारी ?

घरबाहिर केही चलेको आवाज आयो । ‘घरमा को हुनुहुन्छ ?’ चर्को आवाज आयो । तत्काल केही भनिहाल्नु भएन । जो पनि घरमा आउन सक्थ्यो, माओवादी, सुरक्षाकर्मी वा अरू कोही । भित्रबाट बाले मधुरो स्वरमा भने, ‘हामी छौं ।’ बाहिरबाट आवाज आयो, ‘पाहुना आए, पाहुना ।’ अनि एक हूल मान्छे घरभित्र अनुमति नलिईकन छिरे । उनीहरू साउने झरीले अलिअलि भिजेका थिए ।

बाआमाको सानो भान्सा अपरिचित पाहुनाले भरियो । बाआमाले चिनिहाले, पाहुना माओवादी कमरेड हुन् । पाहुनालाई खाना पकाउन तयारी भयो । घरमा ६ जना पाहुना आएपछि सुनसान घरमा खल्याङबल्याङ सुरु भयो । खल्याङबल्याङले साउने रात चिरियो । पाहुनाको साथमा एक जना बच्चा बोकेकी महिला पनि थिइन् । उनी खासै बोलिरहेकी थिइनन् । खाना खाइसकेपछि पाँच पाहुना राति नै हिंडे, महिला भने त्यहीं बसिन् । बाआमालाई ती महिला पाहुनाबारे अड्कल भइसकेको थियो । माओवादी छापामार महिला बच्चा हुर्काउन सुरक्षित ठाउँ खोज्दै त्यहाँ आएकी रहिछन् । ‘ल, बाआमा उहाँलाई राम्ररी राख्नुहोला । हामी हिँड्यांै’ पाँच छापामार आफ्नो बाटो लागे ।


बाआमाले ती महिलाई के भनेर बोलाउने अन्योलमा परे । अलिअलि डर छँदै थियो, त्यसबेलाका माओवादी चर्कै थिए, घरमा आएकी महिलालाई राख्दैनौं भन्न पनि भएन । घरमा जे पाक्थ्यो, त्यही खाना ती पाहुनाले मीठो मानेर खान्थिन् । जाने बेलामा माओवादी कमरेडले भनेछन्, ‘कसैले सोध्यो भने बुहारी हुन् भन्नुहोला ।’ केही दिन बाआमा अलमल परे । बिस्तारै गाउँबाहिरको मान्छेले ती महिला को हुन् भनेर सोधेमा ‘कान्छी बुहारी हुन्’ भन्न थालेछन् । कान्छो छोराबारे जिज्ञासा राख्दा सहर पढ्दै छ भन्न थालेछन् । म कान्छो छोरा भने त्यसबेला दाङ बसेर पत्रकारिता गर्थें, पढाइ पनि जारी थियो ।


बाआमालाई एक प्रकारले काइदा भयो, घरमा आफैं अस्थायी बुहारी आइन् । घरमा बस्न सजिलो भो । बाआमालाई खाना पकाएर खुवाउन थालिन् उनले । कहिलकाहीं गाई–भैंसीलाई घाँस काटेर सघाउँथिन् । घर सफा सुग्घर राख्न थालिन्, आँगन बढार्न थालिन् । ती ‘अस्थायी बुहारी’ सज्जन देखिइन् । काम गरेर खाने बानी लागेको रहेछ उनलाई । बाआमा उनको बच्चा हेरिदिन्थे, उनी घरको काम सघाउँथिन् ।


कहिलेकाहीँ गाउँमा सुरक्षाकर्मी आउँथे । त्यसबेला उनी डोको बाकेर घाँस काट्न जंगलतिर जान्थिन् । बाआमाले उनको छोरी हेरिदिन्थे । एक प्रकारले उनी घरको परिवार भइसकेकी थिइन् । हाम्रो घरबारे उनलाई सबै थाहा भइसकेको थियो । बाआमाको कामको दु:ख देखेर होला, उनले पनि सके जति सहयोग गर्थिन् । त्यसबेला केही माओवादी धम्काएर खान्थे, डरले पनि खाना दिनुपथ्र्यो । तर ती बाआमाकी छापामार बुहारी काम गरेरै खान्थिन् । श्रम गरेर ज्यान पालेकी थिइन् । बाआमा पनि आफैं आएकी ‘बुहारी’ को कामले मक्ख परेका थिए ।


बाआमाकी खास कान्छी बुहारी भने बाहिर थिइन्, अर्थात् मसँग बस्थिन् । बाआमालाई घरमा भएकी कान्छी बुहारी द्वन्द्वले जुराइदिएको थियो । त्यसबेला शाही शासन थियो, माओवादी द्वन्द्व चर्केको थियो । हामी सहरबाट गाउँ जान सक्ने अवस्था थिएन । त्यसकारण हामी युद्धविरामको बेला मात्र गाउँ जान्थ्यौं । बाआमाले पनि गाउँ आऊ भन्दैनथे, किनकि गाउँ जाँदा जोखिम धेरै हुन्थ्यो ।


अन्नबाली उत्पादन राम्रै हुने भएकाले घरमा खाने कुराको समस्या थिएन । घरमा एक जना पाहुना थपिएकोमा खासै फरक परेन । बरु घरमा सहयोग नै बढी मिलेको थियो । छापामार बुहारीकी नानी पनि हुर्कंदै थिइन् । समय परिवर्तन हुँदै थियो ।


माओवादी युद्ध उत्कर्षमा पुग्दै थियो, हरेक दिन मान्छे मरिरहेका थिए । ती लाल बुहारी रेडियो ध्यान दिएर सुन्थिन् । माओवादी छापामार धेरै मरेको दिन उनी खिन्न हुन्थिन्, खाना खान मन गर्दैनथिन् । माओवादीले लडाइँ मोर्चा हारेपछि उनी सामान्य अवस्थामा आउन दुई तीन दिन लाग्थ्यो । बाआमाले त्यो कुरा बुझ्न थालिसकेका थिए । माओवादी मरेको दिन बाआमाले सम्झाउँथे, ‘युद्ध भएपछि मान्छे मर्छन् । पीर नगर नानी । तिमी सुरक्षित छौ, पछि पनि सुरक्षित रहनुपर्छ ।’ राजनीतिक रूपमा उनी बाआभन्दा बढी जान्ने थिइन् । कहिलकाहीँ उनी आक्रोशित हुन्थिन् । ‘जित हाम्रै हुन्छ बुवा,’ उनी भन्थिन् । हाम्रो घरमा भएको रेडियोबाट उनी नियमित माओवादी युद्धबारे जानकारी लिन्थिन् ।


घरमा आएको पाहुना जोसुकै होस्, सकेसम्म सत्कार गर्नु गामघरको पुरानै चलन हो । झन् नाबालक नानीसँग आएकी महिलालाई सकेसम्म स्याहार गरे बाआमाले । सहरमा बसेका छोरा बुहारीको झल्को मेटाउने गरी आएकी बुहारीजस्तै महिला र उनको शिशुलाई सकेसम्म स्याहार गर्नु ‘धर्म’ थियो बाआमाको । पहिले त्रास थियो, बिस्तारै ती नानीप्रति बाआमाको माया बढ्न थालेको थियो ।


माओवादी युद्धका छाप अझै छन् गाउँमा । युद्धमा मारिएका परिवार छन्, तिनका विधवा श्रीमती, टुहुरा छोराछोरी छन् । फेरिएका माओवादी कार्यकर्ता छन् । सम्झनामा भिडन्तका घटनाहरू छन् । मनमा त्यसबेलामा नमीठो सम्झना भए पनि त्रास अहिले छैन । युद्धको बेलाजस्तो शरणमा आउने बाआमाका छापामार बुहारी छैनन् । उनीहरू आआफ्नो घर लागिसकेका छन् । उतिबेला जंगल पसेकाहरू घर फर्किसकेका छन् । सबै आआफ्नो काममा फर्किसकेका छन् ।


युद्धका सम्झनाहरू अमिट भएर रहेका छन् । बाआमाले ती ‘बुहारी’ नानीलाई अहिले पनि सम्झिरहेका छन् ।


त्यतिबेला हाम्रो गाउँ साविक पूर्तिमकाँडा ५ रुकुममा तुलनात्मक रूपमा माओवादीका लागि सुरक्षित स्थान मानिन्थ्यो । त्यसकारण
पनि माओवादीहरूको सेल्टर बनिरहन्थ्यो । ती छापामार बुहारी पनि सेल्टर खोज्दै हाम्रो घरसम्म आइपुगेकी थिइन् । करिब सय वर्षअघि मेरा बाजेले बनाएको त्यो घर उनका लागि राम्रो सेल्टर बन्यो, जुन घरले हामीलाई पनि वर्षौं सुरक्षा दिएर हुर्काएको थियो ।


छापामार बुहारीकी छोरी हुर्कंदै गएकी थिइन् । बाआमाकी ती नातिनी भइसकेकी थिइन् । बाआमाका काखमा खेल्न थालिसकेकी थिइन् । रगतको नाता नभए पनि घरमा बस्दाबस्दै माया फैलिइसकेको थियो । त्यतिबेला माओवादीले भनेजस्तो ‘वर्गीय’ मायाभन्दा त्यो फरक थियो । मानवीय माया आदानप्रदानका कारण छापामार बुहारी घरमा प्रिय भइसकेकी थिइन् ।


बेलाबेला घरमा आउने माओवादीको तीतो बोली हुन्यो, ‘आखिर तपाईका छोरा बुहारी पढेर के हुन्छ ? भोलि हामीले काम लगाउनुपर्छ । त्यो शिक्षा काम लाग्दैन । जनवादी शिक्षा हामी बनाउँछौं ।’ बाआमालाई त्यसको भेउ पाउने कुरै थिएन । भन्थे, ‘ज्यान जोगियोस्, पछि छोरा बुहारीले जे पर्ला, त्यही काम गर्लान् ।’ रमाइलो के भयो भने शान्ति प्रक्रियामा आएपछि उमेर छिप्पिइसकेका माओवादी कार्यकर्ता पनि ‘बुर्जुवा’ शिक्षा पढ्न थाले । त्यही आधारमा केही लडाकुले नेपाली सेना र अन्यले सरकारी निकायमा जागिर खाए । माओवादी कमरेडहरूको स्वीकारोक्ति छ, ‘जे पढे पनि पढ्नु राम्रो हो । यही राजनीतिक प्रणालीमा डिग्री त चाहिन्छ ।’ राज्यसत्ता पूरै कब्जा गर्ने धुनमा हिंडेका माओवादी यो तहसम्म आइपुग्ने प्रचण्ड, बाबुराम भट्टराईबाहेक अरूलाई मेसो हुने कुरै थिएन ।


माओवादी युद्ध उत्कर्षमा पुग्दै थियो २०६० अन्त्यतिर । शान्ति प्रक्रियाको सुरुवातको संकेत देखापरिसकेको थियो । शाहीकाल शासन चर्को थियो, तर विसर्जन हुने पखेटा हालिसकेको जस्तो थियो । सहरमा शाही शासन थियो, गाउँमा माओवादी । हाम्रो घरमा माओवादी आएको दिन ती छापामार बुहारी खुबै खुसी हुन्थिन् ।


आफ्ना कमरेडबारे सोधखोज गर्थिन् । सायद युद्ध मैदानमा भएका श्रीमान्बारे जानकारी लिन्थिन् । करिब तीन महिना घरमा बस्दा उनका श्रीमान् हामो घरमा आए, आएनन् ? बाआमाले भेउ पाउन सकेनन् । माओवादी जति सबै कमरेड भइहाले । ती छापामार बुहारीका श्रीमान् कमरेड कुन युद्ध मैदानमा थिए ? उनले बाआमालाई कहिलै भनिनन् । सुरक्षाको कारणले होला उनले माओवादीसम्बन्धी गोप्यता कहिलै खोलिनन्, बाआले पनि सोधेनन् । खेतीकिसानी गर्ने बाआमालाई खासै रुचि थिएन ।


तीन साताअघि बा काठमाडौं आएका बेला ती छापामार बुहारीलाई सम्झिए । ‘घरमा परिवारजस्तै भएर बसेका थियौं । बुहारी जस्तै थिइन्, काममा सघाउँथिन् ।’ तीन महिना बसाइपछि उनी हाम्रो घरबाट बिदा लिएर हिँडिछन् । ‘उनी हिँड्ने बेलामा नरमाइलो लागेको थियो,’ बाले अस्ति भने ।


उनले आफू पार्टी काममा फर्कन लागेकाले हिँडेको बाआमालाई सुनाइछन् । ‘बुवाआमा, अब म पार्टीको काममा फर्कन्छु । राम्ररी बस्नुहोला । यहाँ बस्दासम्म राम्ररी खानबस्न दिनुभयो, माया गर्नुभयो,’ उनले जाने बेला भनेकी थिइन् । घरबाट हिंडेपछि उनी हाम्रो घरमा कहिलै आइनन् । त्यसबेला अहिलेजस्तो मोबाइल थिएन, अरू सञ्चार माध्यम पनि थिएन, सम्पर्क भएन । बाआमासँग उनको हालसम्म भेट भएको छैन । बाआमालाई उनलाई भेट्ने मन छ । अस्ति बाले भन्दै थिए, ‘आजभोलि ती छापामार बुहारी कहाँ होलिन् ? भेट्न पाए हुन्थ्यो ।’

प्रकाशित : चैत्र १०, २०७४ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?