१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ध्रुवचन्द्रको त्यो जमाना

काठमाडौँ — एउटा पात्र छ— चेतचन्द्र । साँच्चैको जस्तो, कहिले सपनामयी र कहिले कविभावको यो पात्रसँग जोडिएका कथा–किस्सा कति छन् कति । यो पात्रको आसपासमा गोविन्दचन्द्र, धनुषचन्द्र, गोपालचन्द्र, इश्वरचन्द्र र अरुहरू हुन्छन् ।

ध्रुवचन्द्रको त्यो जमाना

उसको वरपर त्रिजुद्ध स्कुल, ठाकुरराम क्याम्पस, लक्ष्मी हलवाइको मिठाई दोकान, कुमाल टोल, काशीनाथ वा बलराम बाजेहरू एक वा अर्को प्रकरणमा दोहोरिंदै आइरहेका हुन्छन् । प्रसंग वा सन्दर्भले अरू अर्थ नलागे यो चेतचन्द्र पक्कै ‘उही ध्रुवचन्द्र’ हुनुपर्छ भनेर जोकोहीले निक्र्योल निकाल्ने अवस्था छ, ‘एक आनाको जमाना’ लघु संस्मरण पढेपछि ।


लेखक ध्रुवचन्द्रको चौथो अनुभवन्यास कृति ‘एक आनाको जमाना’ अघि उनको बिगत र स्मृति सम्झाउने ‘बाढी’, ‘घुर्मी’ र ‘वञ्चक’ कृति आइसकेका छन् । उपलब्धि प्रकाशनबाट भर्खरै बजारमा आएको यो अनुभवन्यासको रचनागर्भ आफैंमा रमाइलो छ, हरेक पाठकको ‘एक आनाको जमाना’ सम्झाउने सामथ्र्य यसमा छ । लेखाइमा र प्रयोगशिल्पीमा ‘ब्ल्याक ह्युमर’ का प्रयोक्ता भनेर चिनिएका गौतमको लेखाइ शैलीमा निजीपना छ, उपन्यास भने पनि अथवा अनुभवन्यास सरसर्ती बहेको लेखन खुबीमा गौतम बाँधिएकै हुन्छन् । ध्रुवचन्द्र लेख्छन्—‘एक आनासँग धेरै कालसम्म सरोकार रह्यो । कप्तानसाहेबको जमानादेखि वीरगन्ज एसएलसी पास गरुन्जेलसम्म । २००६ सालमा तीन क्लासमा भर्ना भएपछि खाजा कसरी खान्थे, याद छैन । तर याद हुँदा एक आना दैनिक खाजाका लागि पाएको याद छ । चेतको दैनिक आशा थियो त्यो । खाजा खान भनेर दिए पनि एकन्नीबाट विविध कार्य गरिन्थ्यो । गोविन्दचन्द्र नै दिन्थे एकआना ।’


अनुभवन्यासको खास रचनागर्भ यही हो । तर, त्यो एक आनामा समय, परिस्थिति र साँचिएको सानोतिनो सपनाको अंश पनि जोडिएको थियो । हलहरूमा गएर फिल्म हेर्ने कि हलुवाई पसल जाने कि अथवा फिल्मी गीत सार्ने कपी किन्ने कि ? एक आना भएपनि खासमा त्यो निकै मूल्यको आना थियो— धेरै काम कुरा फत्ते गर्न सकिने आना । सिनेमा हेर्नु र लगातार सिनेमा हेरिरहनुको स्वाद अर्कै हुन्थ्यो । अझ चेतचन्द्र सिनेमा र यस्तै रसरंगी मनोविनोदमा रमाइरहन्थे । सिनेमाहलमा मर्दानी–जनानीको हर्कत देखिरहेका बेला चेतचन्द्र लेखिरहेका हुन्थे—
‘सिनेमाहलमा दुईचार आँखा
सिनेमाभन्दा मनोरञ्जक हुन्छन् ।’


‘एक आनाको जमाना’ मा ध्रुवचन्द्रको जीवन भोगाइ उत्रिएको छ, एक आनामा कतै आनन्द छ । कतै विस्वाद लाग्ने भोगाइको कथा छ । टिप्पणीकार रोशन थापा ‘नीरव’ का भनाइमा संस्मरणलाई आख्यानीकृत गरेर लेखन गर्ने ध्रुवचन्द्र गौतम नै प्रथम अनुभवन्यासकार हुन् । यो कृतिमा गौतमको जीवनको बाल्यकालको त्यस्ता स्मृतिहरू आख्यानीकृत छन् जुन यसभन्दा अघिका कृतिहरूमा केही मात्रामा छन् र, तीबाहेक बाँकी रहँदै गरेका स्मृतिहरूको दृश्यांकन यस कृतिमा भएको छ ।


एकैरसमा, एकै बसाइमा पढ्न सकिने १ सय २० पृष्ठको ‘एक आनाको जमाना’ पढिसकेपछि एउटै जिज्ञासा उब्जन्छ—किन ध्रुवचन्द्र गौतमजस्ता शिल्पी, सिद्धहस्त र चल्ने लेखकले पनि कुनै दुर्लभ र खोजेर मात्रै भेटिने प्रकाशक/वितरकबाट आफ्ना कृति छापिरहेका हुन् ? कि यस्ता ‘अलिखित’ लेखकहरूसँग प्रकाशन, वितरण र चर्चा–परिचर्चाको दुनियाँ भने अझै पनि ‘एक आनाको जमाना’ जस्तै मात्रै छ— दुर्लभ र अप्राप्य ?

प्रकाशित : चैत्र १०, २०७४ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?