कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दौडिरहेको रिस र दम्भ

सहर
जनकराज सापकोटा

काठमाडौँ — धूवाँको मन्द बास्ना । त्यसपछि आउने धूलोको लस्कर । त्यसको केही बेरमा देखापर्थे दसचक्के ट्रक । ती कहाँबाट छुट्थे र कहाँका लागि हिँडेका हुन्थे हामी केटाकेटीलाई थाहा हुने कुरै थिएन् । बीस वर्षअघि देखेका ती ट्रकबारे धेरै सम्झना छैनन् ।

दौडिरहेको रिस र दम्भ

तर ती ट्रकको पिठ्युँमा कोरिएका अनेकन तस्बिर र विविध प्रेमभावका सायरी पढ्दा खुबै रोमाञ्चित भइन्थ्यो । अक्सर ट्रकमा एउटा बडेमानको बटवृक्षमुनि सकुमार युवती घुँडोमा मुन्टो अड्याएर कतै पर हेरिरहेको देखिन्थ्यो । युवतीको पृष्ठभूमिमा भने लामो रेल कतै गइरहेको देख्न सकिन्थ्यो । त्यहाँ लेखिएको हुन्थ्यो ‘तुम कब आओगे’ ।


सडकमा गुड्ने लामो दूरीका बसमा भने त्यस्ता तस्बिर हुँदैनथे । बरु त्यसको पिठ्युँमा लेखिएको हुन्थ्यो, बुबाआमाको आशीर्वाद । कसैकसैले भने बुबाआमाको आशीर्वादसँगसँगै श्रीमतीको सम्झना पनि लेखेका हुन्थे । अनि धेरैले चाहिं फेरि भेटौंला लेखेकै हुन्थे ।


हिजोआज त गाडीमा बाआमाको सम्झना लेखिएको बिरलै देख्न पाइन्छ । समय फेरियो क्यारे सायद । बरु हिजोआज बिजुली गतिमा कुद्न खोज्ने तर हरेक जाममा छट्पटिएर बस्ने चालकहरूले हाँकेको गाडीमा अनौठा भाव र सन्देशसहितका शब्द लेखिएको पढ्न पाइन्छ । पछिल्लो एक महिना राजधानीका सडकमा गुड्ने सार्वजनिक सवारी नियालेर हेरपछि प्रेम, स्नेह र रोमाञ्चकताले भरिएका सायरीभन्दा आदेश, हैकम र पख्लास् भन्ने भावका शब्दहरू गाडीमा कोरिएको देख्न पुगें ।


एक बिहान कार्यालय जाँदै गर्दा थापाथली हुँदै पुल्चोकतिर हुइँकिरहेको बा१ज ५७१५ नम्बरको माइक्रोबस देखें । माइक्रोको तुफानी वेगले भन्दा त्यसको पिठ्युँमा लेखिएको शब्दले मलाई झस्काइदियो । हतारहतार मोटरसाइकल छेउ लगाएर फोटे खिचें । लेखिएको थियो, ‘काभ्रेली ठिटो, बोली वचन मीठो । निहुँ खोज्न आइस् भनी हुन्छस् धूलोपीठो ।’


अरे, यो त सोझै धम्की पो भयो । यो माइक्रो त आफूभित्र अनेकन गन्तव्यमा हिँडेको यात्रुसँगै धम्कीयुक्त सन्देश पनि बोकेर हिंड्दो रहेछ । बोलीवचन मीठो भएको मान्छेले निहुँ खोज्नेलाई धूलोपीठो पार्छु भन्नु त आफैंमा विरोधाभास पो भयो । फेरि कसैले निहुँ नै खोज्न आयो भने पनि त्यस्तालाई ठेगान लगाउन कानुन बनेको छ । विधि र व्यवस्था, पुलिस र प्रशासन त्यसैका निम्ति चलेका हुन् । तर निहँु खोज्नेलाई धूलोपीठो नै पारिदिन्छु भन्नु जति ठूलो धम्की के हुन सक्ला ? हरदम जाम र हरदम तनावमा कुँद्ने माइक्रोका चालकले यस्तो कुरा कसरी थाहा पाउन् । बाह्रैमास धूलोको साम्राज्यमा टिकिबसेका र गणतन्त्रका महाराजहरूको सवारी व्यवस्थापन गर्दा गर्दै हत्तु बनेका ट्राफिकले यस्तो सन्देश कति बेला पढुन्, कति बेला बुझुन् र गम खाउन् ।


एक मित्रले भाइबर ग्रुपका एउटा अनौठो सन्देशयुक्त ट्याक्सीको तस्बिर राखे र ‘ट्राफिक प्रमुखज्यूहरू हेर्नुस् त यस्तो रमिता’ भन्ने भावमा केही लेखे । उक्त तस्बिरमा देखिएको बा२ज ३६०२ नम्बरको ट्याक्सीमा लेखिएको थियो, ‘मन दिनेलाई ज्यान दिन्छु, सान दिनेलाई हान्दिन्छु ।’


अरे बाबा, मन दिंदैमा ज्यान नै दिने कस्तो तुफानी प्रेम होला । यो त प्रेमभन्दा पनि प्रेमान्ध अथवा आवेग पो होला । यहाँसम्म त ठीकै छ तर सान दिनेलाई हान्दिन्छु भन्न त पाइएन नि । सान दिने जतिलाई हान्दिने हो भने यतिका धेरै कानुन र प्रणाली किन चाहियो ?


फोटोग्राफर मित्र प्रभात झाले एक दिन फेसबुकमा एउटा माइक्रोको तस्बिर राखे । सायद त्यसको पिठ्युँमा जे जस्तो लेखिएको थियो, त्यसले मित्रको मथिंगल घुमाइदिएको हुनुपर्छ । बा१ज ६१५१ नम्बरको माइक्रोको पिठ्यँुमा अनेकन शब्द लेखिएका थिए । सायद ती माइक्रोका धनी महादेवको भक्त हुँदा हुन्, त्यही भएर तिनले सबैभन्दा माथि लेखेका छन्— जय सैलुङ्गेश्वरी महादेव । त्यसको तल लेखेका छन्— खुकुरी प्रहार, सोल्टी फरार । महादेवको नाम पनि लिने अनि खुकुरी प्रहार गरेर भाग्नुपर्छ भन्ने सन्देश पनि दिने ? सायद महादेव आफैंले थाहा पाए भने माइक्रोका चालकलाई गाँजा सेवन गरेपछिको बेहोसमा पनि नफुर्ने यस्तो वाक्य कसरी फुर्‍यो भनेर सोध्ने थिए होलान् ।


भारतबाट भित्रिएको ठूलो परिमाणको लागूऔषध बरामद भएको खबर टिप्न म प्रहरी परिसर काठमाडौंको टेकुस्थित कार्यालय जाँदै थिएँ । त्यही बेला मेरो छेवैबाट बेतोडले हुइँकियो, बा१ज ९२८५ नम्बरको भ्यान । भ्यानको पछिल्लो भागमा लेखिएको थियो, धान फल्ने खेतमा कोदो फल्दैन ९२८५ को अगाडि कसैको केही चल्दैन ।


धम्कीयुक्त सन्देश बोकेर हिंड्ने सवारी जब साँच्चिकै दुर्घटनाको कारण बन्छन्, तब स्थिति असामान्य बन्छ । त्यस्तै भयो, रुपन्देहीमा । १९ माघमा भएको एउटा दुर्घटनाको घटना सञ्चारमाध्यम र सामाजिक सञ्जालमा डढेलोसरी फैलियो । तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ८९ वर्षीया विष्णुकुमारी भट्टराईको ट्रिपरको ठक्करबाट मृत्यु भयो । दुर्घटनाको दु:खलाग्दो खबरभन्दा लु१ख ९८३८ नम्बरको ट्रिपर सामाजिक सञ्जालभरि छायो । कारण थियो, ट्रिपरको अगाडिको भागमा लेखिएको वाक्य । लेखिएको थियो— मान दिनेलाई मान दिने हो, सान दिनेलाई हान्दिने हो ।


त्यसो त वृद्ध विष्णुकुमारीले कुनै सान दिएकी थिइनन् तर बाटो काटिरहेकी उनले ट्रिपरको ठक्करबाट ज्यान गुमाइन् । मृत्युको यो घटना जति दु:खलाग्दो थियो त्योभन्दा दिक्कलाग्दो कुरा थियो, ट्रिपरमा लेखिएको दम्भी भनाइ । घटनापछि आक्रोशयुक्त स्थानीयले ट्रिपरमा आगो लगाइदिए । सान दिंदै निर्बाध कुँदिरहेको ट्रिपरबारे सामाजिक सञ्जालमा अनेकन ट्रोल बने । उक्त घटनाबारे आक्रोशदेखि हँसीमजाक र खिसीट्युरी हप्तौंसम्म चलिरह्यो । यसरी एउटा दम्भी ट्रिपरबाट सिर्जित ज्यानै जाने घटना समयको गर्तमा बिलायो ।


आक्रोश र क्रोधपूर्ण शब्द बोकेर हिंड्ने बाहनहरूको बढ्दो संख्या देख्दा लाग्छ, के त्यो समाजमा देखिएको रिसको अभिव्यक्ति हो ? अघिल्लो वर्ष पोखरामा भएको नेपाल लिट्रेचर फेस्टिबलमा शिक्षाविद् केदारभक्त माथेमाले ‘रिस उठ्नु भनेको पश्चिमी सभ्यतामा सात पापमध्ये एक मानिने बताउँदै पूर्वीय संस्कृतिले पनि रिसलाई निको नमान्ने’ मन्तव्य राख्नुभएको थियो । उहाँले हितोपदेशको सन्दर्भ जोड्दै क्रोध, लोभबाट सृष्टि हुने बताउनुभएको थियो । माथेमाले एक जना जानेबुझेका मान्छेको भनाइ सापटी लिंदै भन्नुभएको थियो— दिक्क भएर बस्नुभन्दा त रिस उठेको नै ठीक । कमसेकम यसले आफूलाई जीवन्त छु भन्ने अनुभूति त दिन्छ ।


सहरमा तनावको बादल हरदम लागिरहेको छ । आम मान्छेसँग आक्रोश र बेचैनी दुवै छ । गाडीका पिठ्युँमा देखिने आक्रोशयुक्त शब्द, दम्भयुक्त वाक्य सायद सामाजिक आक्रोश र कानुनहीनताको प्रतिविम्ब होला कि थेत्तरो राजनीतिको संक्रमण होला । माथेमा सरले भनेजस्तै रिसको अभिव्यक्तिले समाजलाई जीवन्त त बनाउला तर दम्भी अभिव्यक्तिले भने रगत–पसिनाबाट आएको गणतन्त्र र विधिलाई कहिलेसम्म कुरीकुरी गरिरहला ?

प्रकाशित : चैत्र १०, २०७४ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?