कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आँसुको मूल्य

एसिया कपमा छनोट भएपछि नेपालले भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग खेल्ने पाउने भएको थियो । प्रशिक्षक रोय डायसले त्यही हँसिलो मुद्रामा पेभिलियनमा आएर खेलाडीलाई सोधे, ‘अब हामी के खेल्ने रे ?’ खेलाडीको एकै स्वर आएको थियो, ‘एसिया कप ।’
विनोद पाण्डे

काठमाडौँ — युद्ध हारेर अझ त्यसमा आफ्नो पल्टनकै साथी गुमाई झोक्राएर बसेका सैनिकजस्ता थिए । प्राय: सबैको अनुहार ओभानो देखेको थिइन् । आँसुले आँखा राताराता थिए धेरैका । केहीको चेहरा भने हाँसोले खुलेको पनि देखिन्थ्यो ।

आँसुको मूल्य

सिंगापुरमा नेपालले मलेसियासँग खेलेको सेमिफाइनल खेलपछिको दृश्य थियो । प्रसङ्ग सन् २००२ एसीसी ट्रफीको, प्रतियोगिता एसीसी ट्रफी । नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा श्रीलंकाली रोय डायसको यो पहिलो प्रतियोगिता थियो । खेल चलिरहेको समयमा उनको हँसिलो अनुहार देख्न पाउनु एउटा सानोतिनो युद्ध जितेसरह हुन्थ्यो टिमका धेर खेलाडीलाई ।

यत्तिकैमा नेपालका प्रशिक्षक रोय डायस दुर्लभ हाँसो लिएर पेभिलियन आइपुगे । उनको त्यो चम्किलो अनुहार देखेरै नेपाली खेलाडीलाई युद्ध जितेजस्तो भइसकेको थियो । नदेखिओस् पनि कसरी ? मलेसियामाथि २५ रनको विजयसँगैं नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो । त्यसको अर्थ नेपाल एसिया कपमा छनोट भएको थियो । नेपालले भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग खेल्ने पाउने भएको थियो । यो त्यत्तिखेरको समय हो जतिखेर अफगानिस्तान अन्तर्राष्ट्रिय क्रिकेटमै आएको थिएन ।

डायसले त्यही हँसिलो मुद्रामा पेभिलियनमा आएर खेलाडीलाई सोधे, ‘अब हामी के खेल्ने रे ?’ खेलाडीको एकै स्वर आएको थियो, ‘एसिया कप ।’

खेलाडीको आँसुलाई बल्ल हाँसोले छोपेको थियो । नेपाली क्रिकेटको सबैभन्दा ठूलो सफलता थियो त्यो । नेपाल नयाँ एसोसिएट शक्तिको रूपमा उदाएको थियो— सिंगापुर प्रतियोगिताबाट ।

नेपालका कप्तान राजु खड्का र भारतका प्रतिद्वन्द्वी समकक्षी सौरभ गांगुली टस गर्न जाँदाको कल्पनाले घरेलु क्रिकेटमा एउटा तरङ्ग ल्याएको थियो । वासिम अक्रम र वकार युनिसजस्ता विश्वकै डरलाग्दा बलरका अगाडि नेपाली ब्याटिङ कस्तो होला ? सनथ जयसूर्या र रोमेश कालुविथार्ना ओपनिङ ब्याटिङमा आउँदा राजु, विनोद दास र महबुब आलमको बलिङले रोक्न सक्ला ? बंगलादेश त कमजोर छ, नेपालले एसिया कपमा एउटा म्याच भए पनि कसो नजित्ला ?
***

फेरि यस्तै कल्पनाले नेपाली क्रिकेट १६ वर्षपछि तरङ्गित भएको छ । पारस खड्का भारतका विराट कोहली वा अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथसँग टस गर्न जाँदाको क्षण कल्पना गर्न सुरु भएको छ । विश्वकप छनोटमा हालै पाएको सफलताले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने राष्ट्र बनाएको छ । यही मान्यताले नेपालले भारत, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिकासँग खेल्न पाउन सक्ने हैसियत बनाएको छ ।

जिम्बावेमा नेपाल विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न गएको थियो । यथार्थमा विश्वकपमा पुग्नु नेपालको धेरै टाढाको लक्ष्य थियो । अहिलेलाई भन्दा ‘कल्पना’ गर्न मात्रै मिल्ने । विश्वकप छनोटमा नेपालभन्दा जिम्बावे, स्कटल्यान्ड, अफगानिस्तान निकै माथिका प्रतिद्वन्द्वी साबित भए । त्यही हङकङ र पपुवा न्यु गिनीमाथि विजय हात पार्दै नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेको थियो । यही सफलताले नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज, जिम्बावेसँग खेल्न पाउने बनाउँदै विश्व क्रिकेटका शीर्षस्थ १६ राष्ट्रमा उभ्याएको थियो ।

व्यावहारिक हिसाबमा नेपालले ठूला भनिएका भारत, पाकिस्तान, श्रीलंका, अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिकालगायतका राष्ट्रसँग तत्काल खेल्न पाइहाल्ने होइन । नेपालले पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता आगामी ४ वर्षलाई हो । सेप्टेम्बरमा नेपालले एसिया कप छनोट खेल्दै छ । यूएई, हङकङ, मलेसिया, ओमानलगायत टिमले यसमा प्रतिस्पर्धा गर्नेछ, जितेमा मात्र नेपालले भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग एसिया कपमा खेल्न पाउने हो । अन्यथा नेपालको आउदो ४ वर्ष ठूला टोलीसँग खेल्न पाउने कल्पनामै बित्नेछ ।

नेपालले आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको २२ वर्ष भयो । यो अवधिमा नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र एसियाली क्रिकेट परिषद् (एसीसी) का प्रतियोगितामै सीमित भयो ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता नभएकाले नेपाललाई तोकिएको ‘बाउन्ड्री’ भन्दा बाहिर गएर खेल्न गारो हुन्थ्यो । मान्यताप्राप्त राष्ट्र भएकाले अब नेपाल त्यो ‘बाउन्ड्री’ बाहिर गएर खेल्न त सक्छ । तैपनि जुन हिसाबमा नेपाली क्रिकेटको व्यवस्थापन चलिरहेको छ, त्यस हिसाबमा नेपालले ठूला टोली भनिएका देशमा गएर खेल्न वा उनीहरूलाई काठमाडौंमै बोलाएर खेल्नु निकै कठिन चुनौती हो ।

नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) लाई आईसीसीले निलम्बन गरेको अवस्थामा यो चुनौतीबाट निस्कन अझ कठिन हुन सक्छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता क्यान निलम्बनमा परेको २ वर्ष पुग्न लागेको पृष्ठभूमिमा आएको हो । निष्पक्ष चुनाव नभएको समयमा नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षेप बढ्दै गएपछि आईसीसीले क्यानलाई निलम्बन गर्ने बाध्यकारी कदम चालेको थियो । आफूलै दिंदै आएको अनुदानमा पनि पारदर्शिता नदेखिंदा सम्भवत: आईसीसीसामु निलम्बनबाहेक अर्को विकल्प थिएन ।

त्यसैले अहिलेको चुनौती यो परिवेशमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कसरी जोगाउने वा यसलाई टेकेर अझ कसरी अगाडि बढ्ने हो भन्ने हो । चार वर्षपछि नेपालले यही छनोटमा खेल्नुपर्छ र, त्यसअनुरूप तयारी नभएमा रेलिगेसनमा परी तल आएर खेल्नुपर्ने हुन सक्छ । ४ वर्षअगाडि विश्वकप छनोटबाटै हङकङ र पपुवा न्यु गिनीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएका थिए । नेपालले अहिले यी दुई राष्ट्रलाई उछिन्दै र पराजित गर्दै मान्यताप्राप्त राष्ट्र बनेको हो । हङकङ र पपुवा न्यु गिनी आफ्नै अगाडि रेलिगेसनमा परेका छन् । त्यही भएर उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन ।

‘चार वर्ष क्रिकेटलाई कसरी लिएर जान्छौं, त्यो महत्त्वपूर्ण छ । चार वर्षमा क्रिकेटको विकास गर्छौं भन्यौं भने निश्चय पनि हामी आगामी १० वर्षमा टेस्ट मान्यता राष्ट्र बन्न सक्छौं,’ प्रशिक्षक जगत् टमाटाको चिन्ता व्यवस्थापनमै छ । विश्वकप छनोटअघि नेपालले विश्व क्रिकेट लिग डिभिजन २ मा खेलेको थियो । त्यसको सफलताले नेपाललाई एक कदम अगाडि उभ्याएको थियो । यो सब एक महिनाको अन्तरमा भएको थियो । अवको पाइला भने अझ माथि हो । निचोडमा भन्ने हो भने नेपालले अब निकै माथिल्लो स्तरको क्रिकेट खेल्नेछ ।

डिभिजन २ मा नेपालले ४ मध्येको तीन खेल अन्तिम ओभरमा जितेको थियो, त्यसमा २ खेल अन्तिम बलमा । यो यथार्थसँग पारस खड्का र उनको नेपाली टोली परिचित छ । अब नेपालले जुन स्तरमा गएर खेल्न लागेको छ, त्यो अहिलको भन्दा निकै चुनौतीपूर्ण बाटो रहेको पारस खड्का बताउँछन् । ‘हामीले क्रिकेट इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हात पार्‍यौं । एकदिवसीय मान्यता भनेको फन्डिङदेखि लिएर, खेलाडीहरूको जीविकोपार्जन र क्रिकेट खेलको भविष्य सुनिश्चित पार्ने आधार पाएका छौं । एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने धेरै वर्षदेखिको हाम्रो एउटा सपना थियो,’ पारस यही मान्यतामा अझ अगाडि बढ्न खोज्छन्, ‘आउने चार वर्षमा हामीले राम्रो जग खडा गरेर नेपाली क्रिकेटलाई अझ माथि लग्न सक्छौं । यसले आगामी दिनमा विश्वकपमा खेल्ने सम्भावना बनाउँछ ।’ आफ्नो इतिहासको ठूलोमध्येको सफलता हात पारेर नेपाल टोली फर्किरहँदा स्वागत गर्न पुगेका प्रशंसकहरू ‘टुँडिखेलमा खेलेर विश्वकप खेल्न सकिन्न’ भन्दै व्यवस्थापनप्रति चिन्ता जनाउँदै नारा लगाइरहेका थिए ।

आयरल्यान्डका स्टार अलराउन्डर केभिन ओब्राइनले नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएकोमा बधाई दिंदै कीर्तिपुर मैदानमा नेपालले खेल्दाको भरिभराउ दर्शकको फोटो राखेर ट्विट गर्दै यस्तो माहोलको अनुभव बटुल्न ‘नेपालमा गएर खेल्न आतुर रहेको’ जनाएका छन् । पारस पनि आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड्स नेपालमा आएर खेल्न इच्छुक रहेको बताउँछन् । नेपाली क्रिकेटको समस्या यही छ । संघ अस्तित्वमा नरहेको अवस्थामा ती टिमहरू आएर खेल्न खोजेमा त्यसको व्यवस्थापन गर्ने कसले ? क्यानलाई निलम्बन गरेपछि आईसीसीले बनाएको सल्लाहकार समिति मार्फत बनाएको विधान कार्यान्वयन भएको छैन् । यसले नेपाली क्रिकेटलाई ‘बन्धक’ बनाइदिएको छ । घटनाक्रम यही रहेमा
नेपाल विश्व क्रिकेटमा अर्को अमेरिका हुन सक्छ । दुई भागमा विभाजित अमेरिकी क्रिकेटलाई आईसीसीले निलम्बन गरेको थियो । त्यो स्थितिमा कुनै सुधार नआउँदा आईसीसीले अमेरिकाको सदस्यता खारेज नै गरेको थियो ।

यस्तो स्थितिमा नेपालले पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको साख धरापमा पर्ने त होइन ? यस्तै प्रश्नले घेरिएको छ— नेपाली क्रिकेट । मान्यता पाए पनि व्यवस्थापन अभावमा नेपाल आईसीसी र एसीसीकै प्रतियोगिता खेलेर चार वर्ष बित्ने त होइन । विगतको यस्तो भोगाइले पनि चिन्ता स्वाभाविक रूपमै बढाएको छ । २०१३ को सेप्टेम्बरमा विश्व ट्वान्टी–२० छनोट खेलेको नेपाल तेस्रो भई ट्वान्टी–२० विश्वकपमा पुग्यो । सात महिनापछि विश्व ट्वान्टी–२० खेल्दै नेपालले अफगानिस्तानलाई पराजित मात्र गरेन एउटा शक्तिको रूपमा विश्व क्रिकेटमा आयो । यसैको प्रभावमा २०१५ को जुनमा नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता नै पायो । झन्डै १ वर्षलाई थियो त्यो मान्यता ।

संघ निलम्बन हुनुअगाडिको यो मान्यताले नेपाली क्रिकेटमा अहिलेजस्तै ठूलो सम्भावना देखाएको थियो । यही मान्यता आधारमा एसीसीले मिलाइदिएको आधारमा श्रीलंकामा गएर हङकङमा तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्ने मौका पायो । वर्षाले एउटा मात्र खेल सम्भव भयो । त्यही खेलले १० औं नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक स्कोर बनाएकोमा सोमपाल कामीलाई विश्व कीर्तिमानी खेलाडीमा उभ्यायो । नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता यतिमा समाप्तै हुने खतरा बढ्दो थियो । अर्को विश्व ट्वान्टी–२० छनोट खेल्नुअगाडि जसोतसो नेदरल्यान्ड्समा गएर नेपालले ४ वटा ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्ने भयो र, खेल्यो पनि । ८ खेल खेलिसकेकाले नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा आयो । क्षणिक समयलाई भए पनि केही नेपाली खेलाडी प्रदर्शन आधारमा ट्वान्टी–२० अन्तर्राष्ट्रियको ब्याटिङ र बलिङ वरीयताभित्र आए । तर ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता कसरी आयो कसरी गयो पत्तो नै नभएजस्तो भयो । अर्थात्, जसरी आयो त्यसरी नै गयो ।

नेपालले पाएको ताजै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कतै ट्वान्टी–२० अन्तर्राष्ट्रियजस्तै त हुने होइन् ? क्यानलाई निलम्बन गरे यता आईसीसीले नै नेपाल क्रिकेट नियन्त्रणमा राखेको छ । नेपाली क्रिकेट व्यवस्थापन निलम्बन र विवाद यथावत् रहेमा आईसीसीले नै काँध थापेर अर्को ४ वर्ष पनि यसरी नै हेर्ला ? सम्भावनाहरू धेरै छन् । यही मान्यताले नेपाललाई तटस्थ भूमि बनाउन सक्छ । यो सबै फेरि व्यवस्थापनमै आएर अड्किन्छ ।
***

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता नै नभए पनि नेपालले यो स्तरको खेल खेल्न पाउने अवसर २००२ को एसीसी ट्रफीले नै जुराएको थियो । ठीक त्यही समयमा भारतले पाकिस्तानसँग खेल्न अस्वीकार गरिदियो । लगतै छिमेकी यी दुई राष्ट्रबीच कारगिल युद्ध नै भयो । एसिया कप हुने वा नहुने अन्योल भयो । भारत–पाकिस्तानले चिसो सम्बन्ध सुधार्न हात त मिलाए, एसिया कप हुने निश्चित हुन सकेको थिएन ।

एसिया कपको निर्णय एसीसीको बैठकले गर्ने भयो । २ वर्ष एसिया कप हुन नसकेकाले एसीसीले नेपाल फाइनल पुगेको एसीसी ट्रफीलाई हटाई २००४ को संस्करणको फाइनल पुग्ने टोलीलाई अगामी एसिया कपमा खेलाउने निर्णय २००५ मा भयो । एसीसी बैठकमा नेपालको प्रतिनिधित्व पनि थियो । तर नेपाली आवाज उठेन । एसीसीको निर्णय सजिलै पारित भयो । सिंगापुरको प्रचण्ड गर्मीमा नेपाली खेलाडीले गरेको त्यो मिहिनेत क्षणभरमै माटोमा बिलाएजस्तै भयो । उनीहरूले बगाएका आँसु बालुवामा झरेको पानीजस्तै भए ।

गत महिना नामिबियामा डिभिजन २ को पहिलो खेल नेपालको आयोजकसँगै थियो । ब्याटिङमा वसन्त रेग्मी असुहाउँदा हिरो भएर आएपछि नेपालले अन्तिम ओभरमा नामिबियामाथि १ विकेटको विजय हात पारेको थियो । यो विजय नेपाललाई विश्वकप छनोटसम्म पुर्‍याउने आधार थियो । त्यो विजयसँगै पारस र अन्य खेलाडी मैदानभित्र दौडिँदै अन्तिम जोडी वसन्त र सन्दीप लामिछानेलाई अंकमाल गर्न लागेको भिडियो र फोटोहरू सोसल मिडियामा भाइरलजस्तै भएको थियो । सिंगापुर यात्राको क्षण सम्भँmदै त्यति खेरको पेभिलियनभित्रको माहोल कल्पना गरिरहेको थिए ।

जिम्बावेमा नेपालले पपुवा न्यु गिनी र हङकङका खेल जित्न त्यस्तो चर्कै प्रतिस्पर्धा गर्न परेन । दुवै खेलमा नेपालको आरामदायी विजयी भयो । त्यो नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतासम्म पुर्‍याउन पर्याप्त थिएन । नेपालले त्यही दिन एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन नेदरल्यान्ड्सले हङकङमाथिको विजय कुर्नुपर्ने थियो । नेपालले चाहे अनुरूपको नतिजा नेदरल्यान्ड्सले निकालिदियो । यो त्यस्तो खुसी हो, जसको नेपाली क्रिकेटले धेरै अगाडिदेखि सपना देखेको थियो ।

नेदरल्यान्ड्सले हङकङमाथि विजय पाएको केही समयपछि जिम्बावेमा नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीलाई फोन गरेर खेलाडी के गर्दै छन् भनेर सोधेको थिए, उनको जवाफ थियो, ‘खेलाडीहरू जितको खुसीमा रोइरहेका छन् ।’
twitter: @dearbinod

प्रकाशित : चैत्र १०, २०७४ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?