२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

डरलाग्दो रंगशाला

खेल
काठमाडौं राजधानीको मुटुमा छ राष्ट्रिय खेलकुद रंगशाला । अढाई वर्षअघिको भूकम्पले क्षतविक्षत बनेको र रातो स्टिकर पाएको रंगशाला दिनहुँ डरलाग्दो देखिन थालेको छ तर यसको निर्माण र पुनर्निर्माण भने कछुवा गतिमा छ ।
राजु घिसिङ

काठमाडौँ — सहिद गेटबाट त्रिपुरेश्वरतर्फ हुइँकिँदै थिएँ, आर्मी मुख्यालयबाट अलि अगाडि बढेपछि पहेंलो ज्याकेट र हेल्मेट लगाएका एक व्यक्तिले खतराको सूचक पहेंलो झन्डा हल्लाएर सवारी साधन अर्कोतर्फ मोड्न संकेत दिइरहेका थिए ।

डरलाग्दो रंगशाला

यातायातको चाप अलि बाक्लै थियो । त्यसैले झन्डा हल्लाइरहेका व्यक्ति नजिकै पुगेर एक छिन रोकिए । के रहेछ भनेर आकाशतिर हेर्दा त म झस्किएँ नै सडकतिर पर्ने जहाँ दशरथ रंगशालाको संरचना भत्काइरहेको थियो । अनि तत्कालै स्कुटर आगडि बढाउने होडमा लागें । त्यस क्षेत्रमा अरू बेला दुर्लभ देखिने ट्राफिकले पनि त्यहाँ यातायातलाई सडकको एकातिरबाट सवारी साधनको आवतजावत गर्न सहयोग गरिरहेका थिए ।

राष्ट्रिय खेलकुद परिषद् प्रवेशद्वार अगाडिको खेलाडी चोक पुगेर रोकिएँ । र, सोचें दैनिक हजारौं सवारी साधन गुड्ने त्रिपुरेश्वर–सुन्धारा सडकमा कुनै दुर्घटना भएको छैन, भयो भने कति हंगामा हुन्छ होला ? पैदलयात्रीका लागि त रंगशालातिरको पेटी बन्द भइसकेको धेरै भइसक्यो । सवारी साधनमा यात्रा गर्नेलाई पनि माथि फुटाइरहेका संरचनाका टुक्राले लाग्दैन भन्ने अवस्था छैन । भत्काइएका संरचना सडकतिर नझरुन् भनी केही बार पनि लगाइएको छ तर त्यो पर्याप्त छैन । वास्तवमै दशरथ रंगशाला अगाडिको सडक पार गर्नु डरलाग्दो नै छ । यहाँ दुर्घटना जतिबेला पनि हुन सक्छ । भीआईपी प्यारापिटको सडकतर्फको माथिल्लो भाग भत्काउने कार्य भइरहेको दुई साता भइसक्यो तर अझै चाँडै सकिने संकेत देखिँदैन ।

आफैंले डरलाग्दो महसुस गरेपछि रंगशालाभित्र गएर एक कामदारलाई सोधें— भत्काउन अझै कति समय लाग्छ ? उनले सोझो जवाफ दिए, ‘अझै तीन महिनाजति ।’ ठेक्का पाएको गिरी कन्स्ट्रक्सनले दैनिक करिब तीस कामदार खटाइरहेको छ । उसले वैशाख, २०७२ को भूकम्पले जीर्ण बनाएको रंगशालाको संरचना भत्काउन १ करोड ७ लाख रुपैयाँमा टेन्डर पारेको थियो । ‘घाटामा जाने पक्का भइसक्यो,’ कम्पनी स्रोतले भन्यो, ‘भत्काउनलाई जस्तो सोचेको थियो त्यस्तो होइन रहेछ ।’ उनका अनुसार अघिल्लो दिन गाडिएको छिनो भोलिपल्ट सिमेन्टमा टाँसिएर निकाल्नै नसक्ने अवस्थामा हुन्छ ।


भूकम्पमा रातो स्टिकर दिइएको यस संरचना १८ वर्षअघि चीनले बनाइदिएको थियो । केमिकल प्रयोग गरी बनाइएको संरचनालाई घनले फोडेर कहिले सकाउलान् ? कामको गति र सरकारी ढिलासुस्ती हेर्दा गयानजिक गाउँका दशरथ माझीको पहाड खनेर बाटो बनाउने कामलाई लिएर बनाइएको बायोपिक ‘माझी द माउन्टेन म्यान’ जस्तै फिल्म दशरथ रंगशालामा पनि नबन्ला भन्न सकिँदैन । राति सडकमा सवारी निषेध गरी मजदुर संख्या बढाएर काम गर्ने हो भने दुई साताभित्रै भत्काउने कार्य पूरा हुन सक्छ । तर यसप्रति ध्यान दिइएको छैन न त भत्काउनलाई आधुनिक प्रविधि नै उपयोग गरिएको छ । रंगशाला पुनर्निर्माण योजनामा अघिल्लो दुई पटक टेन्डर परेर पनि दुई ठेकेदारले कामै गरेनन् । अहिले तेस्रो ठेकेदारले ढिलाइ गर्दै भए पनि काम अघि बढाएको हो ।

१२ वैशाख, २०७२ को दिन सम्झँदा मन नै कुँढिने गर्छ । त्यो दिनको भूकम्पमा परी झन्डै नौ हजारले ज्यान गुमाए, २० हजारभन्दा बढी घाइते भए, तीन लाखभन्दा धेरै घर ढले । काठमाडौं उपत्यकाका थुप्रै सम्पदाहरू पनि ध्वस्त र जीर्ण भए । सामुदायिक प्रयासमा बौद्ध फेरि तयार भयो तर अरू सम्पदाको जीर्णोद्धार, पुनर्निर्माण भने निकै सुस्त गतिमा चलिरहेको छ । भूकम्पले जीर्ण बनाएपछि दशरथ रंगशालाको काम सुस्त, अझ अस्तव्यस्त रूपमा अघि बढिरहेको छ ।

दशरथ रंगशालानिरको सडक भएर हिँड्ने हामी यात्रुको अवस्थाभन्दा चर्को छ, खेलाडीको । भत्काइरहेको संरचनासँगै रहेको ट्रयाकमा एथलेटिक्स खेलाडीहरू दौडिरहेका हुन्छन् । उसु र आईटीएफ तेक्वान्दोका खेलाडी प्रशिक्षण गरिरहेका हुन्छन् । मर्निङ वाक गर्नेको जमात पनि ठूलै हुन्छ । बक्सिङका खेलाडी त भूकम्पले काम नलाग्ने बनाइदिएको पौडी पोखरीको खाल्डोमा प्रशिक्षण गरिरहेका छन् ।

वास्तवमा दशरथ रंगशाला भूकम्पअघि नै जीर्ण भइसकेको थियो । प्यारापिटका ९६ वटा पिलर २०६९ सालमा मजबुतीकरण नगरेको भए सामान्य प्यारापिट समथर जमिनमा बजारिन सक्थ्यो । सामान्य प्यारापिटमा १२ वटा प्लास्टिकका कुर्सी राखिएको थियो तर छाना लाउँदा त्यसलाई हटाइएको छ । अब फेरि कुर्सी राख्दा राज्यलाई थप आर्थिक भार पर्ने पक्का छ । भूकम्पको सामान्य प्यारापिटको तल्लो भाग जीर्ण काम नलाग्ने बनाइदिएपछि भत्काइएको छ र त्यसलाई तुरुन्तै बनाउने गरी करिब २२ करोडको ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको छ । बाहिर रातो र भित्र पहेंलो स्टिकर टाँसिएको कभर्डहलमा निरन्तर प्रतियोगिता सञ्चालन भइरहेको छ । रातो स्टिकरवाला सदस्यसचिवको कार्यालय र होस्टेल भने ढाल्ने काम पूरा भइसक्यो ।


त्रिपुरेश्वरको मैदानले २०२८ सालदेखि रंगशालाको रूप लिन थालेको थियो । २०३८ सालको पहिलो राष्ट्रिय खेलकुदलाई करिब २२ हजार दर्शक क्षमताको दर्शक रंगशाला तयार गरिएको थियो । २०४० सालमा दक्षिण एसियाली खेलकुदको पहिलो संस्करणको मुख्य आयोजनास्थल पनि यही रंगशाला हो । २०५६ सालको आठौं दक्षिण एसियाली खेलकुदको उद्घाटन र समापन पनि दशरथ रंगशालामै भएको थियो । र, अहिलेसम्म नेपालको एक मात्र रंगशाला पनि यही हो । यसैलाई चैत, २०७५ मा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुदको मुख्य आयोजनास्थल भनिएको छ । भत्काउने र बनाउने कामको गति हेर्दा भने यो रंगशाला अर्को वर्ष त के थप ५ वर्षभित्र पनि तयार हुने देखिँदैन ।

भूकम्प गएको दिन दक्षिण तथा मध्यएसियाली क्षेत्रको यू १४ गल्र्स फुटबल च्याम्पियनसिपको फाइनल दशरथ रंगशालामा हुन लागेको थियो । नेपाल र बंगलादेश फाइनलमा पुगेका थिए । तर तयारी हुँदै गर्दा भूकम्प आयो र सबै कार्यक्रम बिथोलियो । त्यसयता यहाँ ठूला प्रतियोगिता सम्भव भएन ।

यसअघि भने यहाँ फुटबलका ठूला प्रतियोगिताहरू एएफसी च्यालेन्ज कप, साफ च्याम्पियनसिप, एएफसी प्रसिडेन्ट्स कप, विश्वकप छनोटका खेलहरू भएका थिए । ट्रयाक काम नलाग्ने भइसके पनि यहाँ माल्दिभ्सका धावकहरू पनि नियमित प्रशिक्षण गरिरहेका छन् ।

२८ फागुन, २०४६ सलाको दुर्घटनालाई पनि सम्झिएँ । त्यो दिन हावाहुरी, असिना पानी भएपछि भागदौडमा गेटमा च्यापिएर ७३ जनाले ज्यान गुमाएका थिए । त्रिभुवन च्यालेन्ज सिल्डको फाइनलमा नेपालको जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्ति जोद्धाको खेल भइरहँदा त्यो दुर्घटना भएको थियो । दर्शकले पूरा प्यारापिट भरिएको थियो ।

‘खेल सुरु भएको १५–२० मिनेट जति भएको थियो । मुक्ति जोद्धाले एक गोलको अग्रता लिइसकेको थियो,’ त्यसबेला उत्तरतिरको प्यारापिटमा रहेका प्रकाश थापाले भने, ‘असिना पानी पर्‍यो । हुरी–बतास चल्यो । सबै जना ज्यान जोगाउन भाग्न थाले । हामी काँडेतार नाघेर भीआईपी प्यारापिटमुनि गएर बस्यौं । आधा घण्टापछि नै बाहिरिँदा त एम्बुलेन्सको चर्को आवाज आइरहेको रहेछ । लगत्तै घर (महाबौद्ध) पुगें, सकुशल फर्कें भनेर परिवार दंग परे ।’ वास्तवमा समयमै गेट नखोल्दा मानवीय दुर्घटना भएको थियो, जुन विश्वकै कहालीलाग्दा दस दुर्घटनाको सूचीमा सधैं आइरहन्छ ।

खेलाडी अभ्यासमा केन्द्रित हुन पाएको हुँदैन, त्रिपुरेश्वरको व्यस्त सडकमा चर्को हर्न बज्छ । केही वर्षअघिको एक सर्वेक्षणले त्रिपुरेश्वरदेखि कालिमाटीसम्मको क्षेत्रलाई नेपालको सर्वाधिक प्रदूषित क्षेत्र भएको देखाइएको थियो । प्रदूषित वातावरणले खेलाडीको स्वास्थ्यमा प्रतिकूल असर गर्छ । ‘वायुु, ध्वनि र पानी प्रदूषण अत्यधिक छ’, चार दशक बढी खेलकुदमा सक्रिय पार्थसारथि सेन गुप्त भन्छन्, ‘यस्तोमा खेलाडीलाई श्वास फेर्नै गाह्रो हुुन्छ । चाहिएको अक्सिजन पर्याप्त पाइँदैन र स्तरोन्नति सम्भव हुुन्न ।’

जनघनत्व तीव्र रूपमा बढ्दै गएकाले राजधानीको केन्द्रमै रंगशाला हुुनुु राम्रो होइन । भूकम्पले सहरमा खाली ठाउँको आवश्यकता पनि देखाएको थियो । बाक्लो बस्तीबाट टाढा स्वच्छ वातावरण रहेको स्थान रंगशालाका लागि सबैभन्दा उपयुक्त हुन्छ । त्यो विकल्पमा सरकारले ध्यान दिएको छैन । विकसित देशमा जस्तै रंगशालालाई आधुनिक बिजनेस कम्प्लेक्सको रूपमा सञ्चालन गर्ने विकल्प पनि छ । त्यसका लागि अहिलेको संरचना पूर्णता भत्काएर नयाँ रूप दिइनुपर्छ ।

Twitter: @rghising

प्रकाशित : चैत्र १७, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?