गाजलजस्तै, दाग लागिहाल्ने

हामी तराईतिर ‘बोहनी नै खराब’ भन्छौँ नि । हो, त्यस्तै छ, किताबको पहिलो संस्मरण ‘औँला’ । लेखकले यो संस्मरण नलेख्दा पाठकलाई न्याय हुन्थ्यो कि !
सन्तोष आचार्य

काठमाडौँ — कतै यस्तो पढियो,
यारलाई यारको इसारा याद रहन्छ
हरेक यारलाई उसको यार याद रहन्छ
साँचो यारसँग बिताएका
ती पलहरू मुत्युसम्म याद रहन्छ ।

गाजलजस्तै, दाग लागिहाल्ने

अनुमान गर्छु, नयनराज पाण्डेलाई पनि कतै यस्तै भयो कि ! आफूसँग हित मिलेका, मिलिरहेका र मिलेर पनि पछि नमिलेका यस्तै यार (साथी) हरूसँग बिताएका पलहरूले पटक–सताइरहन्छ । यस्तो सबैलाई हुन्छ । उमेरले ‘हाफ सेन्चुरी’ नाघ्न थाल्दा यस्तो अझ बढी भइदिन्छ । अझ घरको बैठकमा कम, यारहरूको मेहफिलमा बढी बस्न रुचाउने नयन (५१) लाई उनीहरूसँग बिताएका पलले पटक–पटक ठुङ्नु आफैँमा अस्वाभाविक पनि भएन । यसलाई उनले अक्षरमा उने । बाल्यकालदेखि अहिलेसम्म भेटिएका केही यारहरूलाई संस्मरण गरे । त्यसलाई किताबको आकार दिए । र, शीर्षक पनि तिनै यारहरूमा समर्पित गरिदिए । र, लेखे, यार ।

भइदिन्छ कस्तो भने, यार भनेर स्विकारेपछि उसको गुण मात्र ग्रहण गर्छु भन्नै नमिल्ने । अवगुण मात्र अस्वीकार गर्छु भन्ने छुट पनि नहुने । तर, नयनले स्विकारेका छन्, अवगुण देखिएका साथीहरूप्रति उनी कहिल्यै सहज हुन सकेनन् । उनले आसक्ति राखेका छैनन् । कोही साथी बन्न नपाउँदै छुटेका छन्, कोही परेका बेला धोखा दिएका कारण छुटेका छन् । कोहीलाई नयन स्वयंका कारण दोस्तीबाट टाढा पुर्‍याएको छ । आफूले आसक्ति राखेका केही साथीहरूले उनलाई ठेङ्गा देखाइदिएका पनि छन् । कतिलाई उनले बाँकी राखेका छैनन् भने कतिले उनलाई पनि बाँकी राखेका छैनन् । किताबमा उनले आफ्ना कर्तुत लुकाएका छैनन् । अरूलाई खोल्स्याएर आफूले तौलिया बेरेका पनि छैनन् ।

किताबमा २५ वटा स्मरण छन् । साथीसँगको सम्बन्धमा आएका उतार–चढावमा केन्द्रित घटनाप्रधान अनुभूतिलाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन्, लेखकले । नेपालगन्ज र काठमाडौंको सेरोफेरोमा केन्द्रित अनुभूति केही बाल्यकालीन लाग्छन्, केही युवाकालीन त केही अधबैंसे बेलाका । जीवनका तीन खण्डमा संगत गरेका साथीहरूसँगको सम्बन्धमा देखिने विविधताले किताबलाई एक चरण पढ्नैपर्ने बनाएको छ । तर, कुनै संस्मरण बकवास छन्, धेरैजसो औसत छन् र केही निकै उम्दा पनि । जस्तो कि, हामी तराईतिर ‘बोहनी नै खराब’ भन्छौँ नि । हो, त्यस्तै छ, किताबको पहिलो संस्मरण ‘औँला’ । लेखकले यो संस्मरण नलेख्दा पाठकलाई न्याय हुन्थ्यो कि !

‘औँला’ मात्र होइन लगत्तै आउने ‘इजार’ पनि बकवास बालकथाजस्तो लाग्छ । न कथामा दम छ, न त कथानक नै । ‘इजार’ मा अवधीभाषी आशाले बोलेका कुरालाई अवधी भाषामै राखेको भए केही दमदार हुन्थ्यो कि ? तर, यिनले किन यतातिर भने जाँगर चलाएनछन् । अनुवादले अर्थ त दिन्छ तर आत्मीयताको गन्ध दिँदैन । आफूले मन पराएकी केटीलाई प्रेम प्रस्ताव राख्न नपाउदै बिहे हुनुजस्ता बासी कथाहरू फिल्ममा देखियो । किताबमा धेरै पढियो । ‘अखाडा’ मा नयन हारेका छन् । फिल्मी मसाला हावी छ । लजालु स्वभावका एक सहपाठीलाई कुस्तीको अखडामा साँडतोड, गधालेटजस्ता परम्परागत र केही कठिन दाउ लगाइरहेको देखाइएको छ । यो दृश्य त्यति पाच्य लाग्दैन भने मनमा हल्का परकम्प पनि ल्याउँदैन । अखडा कुनै नौटंकीको स्टेजजस्तो लाग्छ ।

यदि मन हल्लाउँछ त ‘मौन’ ले । तराईमा मधेसी समुदायका व्यक्तिलाई कतिसम्म हेपिन्थ्यो भन्ने कुराको घटना निकै मार्मिक लाग्छ । सीमानाकामा भारतीय प्रहरीले मधेसी समुदायको गुब्बेलाई गरेको व्यवहार दैनिकी घटना हो । पहाडी मूलकालाई केही नगर्ने तर मधेसी देख्नासाथ भारतीय प्रहरीले उतिबेला गर्ने अभद्र व्यवहार यता पश्चिमको सुनौली नाकामा म आपैँmले पनि देखेकै हो । दरोगाले छालाको रङ र पहिरनका आधारमा गर्ने व्यवहारमा अहिले सुधार भयो कि भएन ? गब्बुजस्ता मेरा थुप्रै मधेसी साथीहरू पनि यो पीडाबाट गुज्रिएका छन् । के साँच्चै अहिले पनि उनीहरूको मन दुखिरहेकै छ ?

‘मजाक’ मा सलिमसँगको सम्बन्धमा लेखकले आँसु मात्र झार्न सकेका छैनन् । अतिशय भावुक सुनिन्छन् । खासमा पाठकसँग गरिएको मजाकस्तरकै लाग्छ यो, दम छैन । ‘एयरगन’, ‘सुखद’ मा पनि कुनै नयाँपन देखिँदैन । ‘वर्जित’ त कुनै बेला ‘मनोहर कहानिया’ तिर पढिएका कथाजस्ता लाग्छन् । बासी कथाका झून्ड हुन् यी । तर ‘यार’ बडो मार्मिक लाग्छ । नेपालजन्जदेखिको लंगौटिया साथीसँग आर्थिक लेनदेनका कारण बिग्रिएको सम्बन्ध निकै मार्मिक लाग्छ यसमा ।

‘फिक्सन बाबु’ नयनले काठमाडौँमा संघर्ष गरेका र गरिरहेका मजस्ता कलमजीवीलाई आफ्ना पुराना दिनहरू सम्झाइदिन्छन् । भोगाइ बेग्लाबेग्लै भए पनि संघर्षको अनुभूति उस्तै हो । जस्तो कि ‘टिकट’ मा एउटा साथीले दिएको धोकाले कसले कसलाई गुमायो ? भन्ने प्रश्न बडो दार्शनिक र सान्दर्भिक लाग्छ । साथीका लागि चिहान खन्नेहरूले बुझ्नुपर्ने कुरा के हो भने त्यस्तै चिहान उसका लागि अर्कोतिर कसैले खनिरहेकै हुन्छ, अहम्को कालो चस्माले तत्काल नदेखिएको मात्र हो । रतिरागात्मक सम्बन्धमा केन्द्रित ‘पेटीकोट’ धेरैको जीवनसँग मेल खान्छ । पात्र फरक हुन्, आमप्रवृत्ति त उही हो ।

‘हेलमेट’, ‘राम्री’ औसत लाग्छ । ‘कमिज’ मा उनले निधन भइसकेका लोकेन्द्र शाहको उछित्तो नकाटेकै भए उचित हुन्थ्यो । ‘धराप’ बडा गजब छ । साथीका लागि एउटी नगरवधू खोजिदिँदा लेखकले पाएको बयान हो ‘धराप’ । ग्राहक ल्याउन नसकेका लेखकले ‘म भोलि तिम्रो पैसा ल्याइदिन्छु’ भन्दा ‘भइहाल्यो पर्दैन, कामै नगरी पैसा लिन मेरो नैतिकताले मान्दैन’ भन्ने नगरवधूको उद्गार बडो मार्मिक लाग्छ । आखिर नगरवधू न हो, सोफियाजस्तो रोबोट त होइन ऊ । ‘अप्रिय’ प्रिय छैन । बरु ‘ताल्चा’ ले दिमाग खियाउन आकर्षित गर्छ । क्रोध विवेकको शत्रु हो भन्ने कथनलाई पुष्टि गर्छ यो घटना विवरणले । ‘माछा’ मा राजनीति घुसेको छ । सांस्कृतिक संघको निर्वाचनमा भएको राजनीतिका कारण लेखकले पाएको धोबी पछाडले थिलथिलो हुने गरी अहिलेसम्म थला परेका रहेछन् । गोविन्द वर्तमानसँग जोडिएको ‘अग्लो’ निकै मार्मिक छ । ‘प्लास्टिक’ मा लेखकले साहस गरेका छन् । हाम्रोजस्तो ‘कम्मल ओढेर घिउ खाने’ हरूको जनमत बढी भएको मुलुकमा पाखण्ड उतारेर आफ्नो अर्कै युवतीसँगको सम्बन्धलाई लिएर उनले आफैँलाई सर्वांग पारेका छन् । ‘संवेदना’ सामान्य छ, यसले पाठकलाई अड्याउन सक्दैन । ‘कृतघ्न’ मा त्यस्तो कुनै दम छैन । पुरुषोत्तम सुवेदीलाई केन्द्रमा राखेर लेखिएको ‘पण्डित’ मा पण्डित्याइँ छ, लेखकीय जौहर छैन ।

खासमा ‘यार’ गाजल हो, जसलाई लागेपछि कोही बेदाग रहन सक्दैन । किताब पढ्दा यस्तै लाग्छ । समग्रमा ‘फिक्सन बाबु’ ले आशंका गरेजस्तै छ यो पुस्तक । उनले भनेकै छन्, ‘मित्रताको आडमा आफूले गरेको निजी गन्थन मात्र हो ।’ यसमा यारहरूको कमी–कमजोरी फेला पार्न निकै जोडबल गरिएको छ ।

हो, यार पढ्दा पट्यार लाग्दैन । तर, किताब पट्याएर, सजाएर राख्नुपर्ने संग्रहणीय पनि होइन । फुटकर लेखनका लागि ठीकठीकै मान्न सकिए पनि प्याकेजिङ गरेर किताब भनी बिक्री गर्नैपर्ने स्तरको भने होइन यो । २० वर्षअघिे ‘उलार’ लेखेका नयनले पुस्तकको आकार दिएर यार किन लेखे ? एक पटक दिमाग घुमाउनैपर्छ ।

तराईमा साथीका लागि यारजस्तो आत्मीय शब्द अरू हुनै सक्दैन, शीर्षकचाहिँ यो मामलामा सलामयोग्य छ । तर, उनले कतै स्विकारेका पनि छन् ‘आफ्नो लेखन सिटामोल होइन, खायो कि असर गरिहाल्ने’ । यो ‘यार’ पनि यस्तै भयो ।

यसैले भन्नैपर्छ, “फिक्सन बाबु, फिस्स भइयो ‘यार’ पढेर ।”

प्रकाशित : चैत्र १७, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?