३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

स्मृतिमा मेरा बुबा

भूगर्भविद् टोनी हागनले खिचेका र अहिलेसम्म बाहिर नआएका झन्डै १० हजार तस्बिरहरू मसँग सुरक्षित छन् । ती तस्बिरहरू नेपालमा प्रदर्शनी गर्ने योजना बनाएकी छु ।
केट्रिन हागन

काठमाडौँ — झन्डै ६६ वर्षअघि पहिलो पटक नेपाल आउँदा मेरो उमेर ५ वर्षको मात्रै थियो । बुबा टोनी हागनका अघिपछि गर्ने, उहाँले बोक्ने ठूलो क्यामरा छुने वा कहिलेकाहीं काँधमा बोकाइमाग्ने दिनचर्या मेरो रहन्थ्यो ।

स्मृतिमा मेरा बुबा

स्विट्जरल्यान्डबाट यति टाढा नेपालको काठमाडौं भन्ने ठाउँमा किन मलाई ल्याइएको होला भन्ने थाहै थिएन । म रमाइरहन्थें मात्रै । त्यसबेला हामी झन्डै २ वर्ष काठमाडौं र आसपासमा बसेका थियौं । खासमा त्यसबेला मेरो बुबाले खिचेका तस्बिरहरू (जहाँ म कताकति देखिन्छु) अहिले हेर्दा मात्रै ‘ओहो’ भन्ने हुन्छ, स्मृतिमा हराउने उपाय ।

झन्डै १७ वर्षअघि बुबाको निधन हुनुअघि लगातार १० वर्षसम्म बुबासँगै समय कटाउन पाएकी थिएँ । म पेसाले मेडिकल डक्टर भएका कारण नेपालका पश्चिमी पहाडी जिल्लाहरूमा हेल्थ क्याम्प गर्दै गाउँगाउँ पुगिरहेकी हुन्छु, यसमा नेपाल अर्थोपेडिक हस्पिटलसँगको समन्वय पनि रहेको छ । थोराङला नाका नै कम्तीमा ३ पटक पार गरेको र गणेश हिमाल, मकालु आधारशिविर, एभरेस्ट क्षेत्र, खुम्बु उपत्यका, रोल्वालिङ, कञ्चनजंगा, हुम्ला, जाजरकोट, मुगु, बाजुरा, बझाङको सेरोफरोमा धेरै पटक पुगेको नेपालको स्मृति मसँग छ ।

अहिले म वर्षको दुई पटक नेपाल आउँछु । त्यस्तो ‘काउन्टडाउन’ त छैन, तर अहिलेसम्म म ५० भन्दा बढी पटक नेपाल आएँ होला । मेरा बुबा टोनी हागन (सन् १९१७–२००३) सँग जोडिएको नेपालप्रेमको साइनोमा तानिएर पनि म यता आएँ, पछि बुबा बितेपछि पनि आफ्नै मेडिकल क्षेत्रको सेवा–सद्भावमा जोडिएर आइरहेकी छु । मेरो बुबाले नेपालको १४ हजार किलोमिटर भूगोल पदयात्रा गरेको विवरण मैले सुनेकी छु, पढेकी छु । अरूभन्दा पनि त्यो इतिहास पिक्चर वा भिज्युवलबाट संरक्षित र सुरक्षित रहेको क्षण सबैभन्दा उल्लेख्य छ । मेरो बुबाले त्यो युगमा बेहोरेको चुनौती र घरपरिवार छाडेर पनि नेपाल–नेपालीमाँझ बिताएको त्यो समय सम्झँदा यतिखेर म औधि खुसी हुन्छु । त्यसबेला जो विदेशी (खैरो रंग) को नेपालका गाउँघर पुगे पनि गाउँलेले ‘इङ्लिसमेन’ आयो भनेर भन्ने गरेका रहेछन्, बुबाले हामीलाई सुनाउनुहुन्थ्यो ।


आज पछि फर्केर हेर्दा मेरो बुबालाई नेपाल देशले र यहाँका जनताले गरेको माया, दिएको सम्मान निकै महत्त्वपूर्ण लाग्ने गरेको छ । राजा वीरेन्द्रको पालामा बुबाले वीरेन्द्र प्रज्ञा अलंकार र पछि सन् १९९५ मा उहाँले नेपालको मानार्थ नागरिकता पाउनुभएको थियो । यो आफैंमा निकै ठूलो इज्जत र सम्मान हो ।

म अहिले पनि नेपालको भूगोल, इतिहासदेखिका तस्बिर र बदलिँदो समयका बारे जोडिएर पुस्तक परियोजनामा काम गरिरहेकी छु । मेरो बुझाइमा जस्तै कठिन अवस्थामा खुसी र सुखी रहने जाति नेपाली हुन् भन्ने लाग्छ । बितेको ६० वर्षमा नेपालमा निकै परिवर्तन भएको छ, परिवर्तन नेपालमा मात्रै होइन, सबैतिर हुन्छ नै । हामीले उहीले इतिहासमा जे थियो, त्यो कुरालाई सम्झिएर दु:ख मनाउनुभन्दा अब कसरी संरक्षण/संवद्र्धनका काम गर्न सकिन्छ भनेर सोच्नु जरुरी छ । म यतिखेर नेपाल भौगर्भिक समाजसँग मिलेर ‘जुओलोजी अफ नेपाल’ पुस्तक तयार गर्ने क्रममा छु, यो प्रकाशनमा आउन सायद अब एक वर्ष लाग्ला ।


अहिलेसम्म बाहिर नआएका झन्डै १० हजार तस्बिर र स्लाइडहरू मसँग सुरक्षित छन् जुन् अहिलेसम्म बाहिर आएका छैनन् । त्यो अर्काइभमा बुबा मनास्लु जाँदाका तस्बिरहरू भने ड्यामेज भएको मैले पाएकी छु । अरू तस्बिरमाथि मैले काम गर्न बाँकी छ— छान्ने र केही सम्पादन गर्ने अर्थमा । यी तस्बिरसमेत नेपाल ल्याएर प्रदर्शन गर्ने इच्छा राखेकी छु । एकैसाथ मपछि मेरो बुबाको इतिहास, सिर्जना, तस्बिर र अर्काइभमा काम गर्ने व्यक्ति/निकायको खोजीमा म छु । मेरा भाइ, बहिनी भए पनि बुबाको ‘नेपाल काम’ मा उनीहरूले इच्छा जनाएका छैनन् । अब सधैंको जस्तो सक्रियता राख्न नसक्ने उमेरमा म आइपुगेकाले मेरो बुबा टोनी हेगन, उहाँको काम र नेपाली भूगोल बुझ्न सक्ने सत्पात्रको म खोजी गरिरहेकी छु जसलाई अबको पुस्ता र समयका लागि टोनी हागनको योगदान/स्मृति जिम्मा दिन सकियोस् ।

(वरिष्ठ स्विस भूगर्भविद् एवं विकास योजनाकार डा. टोनी हागनले नेपालको भूगोल र भूगर्भ अन्वेषणमा आधारित रहेर पहिलो पटक नेपालको नक्सा तयार पारेका थिए । हागनले सन् १९६२ मा ‘नेपाल : अ किङडम इन द हिमालय’ नामक पुस्तक प्रकाशित गरेका थिए जसले नेपाललाई विश्वसामु चिनायो ।सन् १९५० को दशकमा नेपाल आएर काठमाडौं उपत्यकासहित बाहिरी भूभागको तस्बिर र श्रव्यदृश्य सामग्रीसमेत तयार पारेर विश्वसामु देखाउने हागनको यो वर्ष जन्म शताब्दी परेकाले उनको स्मृतिमा विभिन्न कार्यक्रमहरू आयोजित छन् । यो साता भक्तपुरको टोनी हागन हाउसमा टोनी हागनले खिचेका काठमाडौं उपत्यका र आसपासका ४० वटा महत्त्वपूर्ण तस्बिर प्रदर्शनीमा राखिएका छन् । आफ्नो बुबाको स्मृतिमा आयोजित समारोहमा आतिथ्य जनाउन स्विजरल्यान्डबाट आएकी हागनपुत्री डा. केट्रिनसँग लीला श्रेष्ठले गरेको कुराकानी आधारित ।)

प्रकाशित : चैत्र १७, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?