स्मृतिमा मेरा बुबा

भूगर्भविद् टोनी हागनले खिचेका र अहिलेसम्म बाहिर नआएका झन्डै १० हजार तस्बिरहरू मसँग सुरक्षित छन् । ती तस्बिरहरू नेपालमा प्रदर्शनी गर्ने योजना बनाएकी छु ।
केट्रिन हागन

काठमाडौँ — झन्डै ६६ वर्षअघि पहिलो पटक नेपाल आउँदा मेरो उमेर ५ वर्षको मात्रै थियो । बुबा टोनी हागनका अघिपछि गर्ने, उहाँले बोक्ने ठूलो क्यामरा छुने वा कहिलेकाहीं काँधमा बोकाइमाग्ने दिनचर्या मेरो रहन्थ्यो ।

स्विट्जरल्यान्डबाट यति टाढा नेपालको काठमाडौं भन्ने ठाउँमा किन मलाई ल्याइएको होला भन्ने थाहै थिएन । म रमाइरहन्थें मात्रै । त्यसबेला हामी झन्डै २ वर्ष काठमाडौं र आसपासमा बसेका थियौं । खासमा त्यसबेला मेरो बुबाले खिचेका तस्बिरहरू (जहाँ म कताकति देखिन्छु) अहिले हेर्दा मात्रै ‘ओहो’ भन्ने हुन्छ, स्मृतिमा हराउने उपाय ।

झन्डै १७ वर्षअघि बुबाको निधन हुनुअघि लगातार १० वर्षसम्म बुबासँगै समय कटाउन पाएकी थिएँ । म पेसाले मेडिकल डक्टर भएका कारण नेपालका पश्चिमी पहाडी जिल्लाहरूमा हेल्थ क्याम्प गर्दै गाउँगाउँ पुगिरहेकी हुन्छु, यसमा नेपाल अर्थोपेडिक हस्पिटलसँगको समन्वय पनि रहेको छ । थोराङला नाका नै कम्तीमा ३ पटक पार गरेको र गणेश हिमाल, मकालु आधारशिविर, एभरेस्ट क्षेत्र, खुम्बु उपत्यका, रोल्वालिङ, कञ्चनजंगा, हुम्ला, जाजरकोट, मुगु, बाजुरा, बझाङको सेरोफरोमा धेरै पटक पुगेको नेपालको स्मृति मसँग छ ।

Yamaha

अहिले म वर्षको दुई पटक नेपाल आउँछु । त्यस्तो ‘काउन्टडाउन’ त छैन, तर अहिलेसम्म म ५० भन्दा बढी पटक नेपाल आएँ होला । मेरा बुबा टोनी हागन (सन् १९१७–२००३) सँग जोडिएको नेपालप्रेमको साइनोमा तानिएर पनि म यता आएँ, पछि बुबा बितेपछि पनि आफ्नै मेडिकल क्षेत्रको सेवा–सद्भावमा जोडिएर आइरहेकी छु । मेरो बुबाले नेपालको १४ हजार किलोमिटर भूगोल पदयात्रा गरेको विवरण मैले सुनेकी छु, पढेकी छु । अरूभन्दा पनि त्यो इतिहास पिक्चर वा भिज्युवलबाट संरक्षित र सुरक्षित रहेको क्षण सबैभन्दा उल्लेख्य छ । मेरो बुबाले त्यो युगमा बेहोरेको चुनौती र घरपरिवार छाडेर पनि नेपाल–नेपालीमाँझ बिताएको त्यो समय सम्झँदा यतिखेर म औधि खुसी हुन्छु । त्यसबेला जो विदेशी (खैरो रंग) को नेपालका गाउँघर पुगे पनि गाउँलेले ‘इङ्लिसमेन’ आयो भनेर भन्ने गरेका रहेछन्, बुबाले हामीलाई सुनाउनुहुन्थ्यो ।


आज पछि फर्केर हेर्दा मेरो बुबालाई नेपाल देशले र यहाँका जनताले गरेको माया, दिएको सम्मान निकै महत्त्वपूर्ण लाग्ने गरेको छ । राजा वीरेन्द्रको पालामा बुबाले वीरेन्द्र प्रज्ञा अलंकार र पछि सन् १९९५ मा उहाँले नेपालको मानार्थ नागरिकता पाउनुभएको थियो । यो आफैंमा निकै ठूलो इज्जत र सम्मान हो ।

म अहिले पनि नेपालको भूगोल, इतिहासदेखिका तस्बिर र बदलिँदो समयका बारे जोडिएर पुस्तक परियोजनामा काम गरिरहेकी छु । मेरो बुझाइमा जस्तै कठिन अवस्थामा खुसी र सुखी रहने जाति नेपाली हुन् भन्ने लाग्छ । बितेको ६० वर्षमा नेपालमा निकै परिवर्तन भएको छ, परिवर्तन नेपालमा मात्रै होइन, सबैतिर हुन्छ नै । हामीले उहीले इतिहासमा जे थियो, त्यो कुरालाई सम्झिएर दु:ख मनाउनुभन्दा अब कसरी संरक्षण/संवद्र्धनका काम गर्न सकिन्छ भनेर सोच्नु जरुरी छ । म यतिखेर नेपाल भौगर्भिक समाजसँग मिलेर ‘जुओलोजी अफ नेपाल’ पुस्तक तयार गर्ने क्रममा छु, यो प्रकाशनमा आउन सायद अब एक वर्ष लाग्ला ।


अहिलेसम्म बाहिर नआएका झन्डै १० हजार तस्बिर र स्लाइडहरू मसँग सुरक्षित छन् जुन् अहिलेसम्म बाहिर आएका छैनन् । त्यो अर्काइभमा बुबा मनास्लु जाँदाका तस्बिरहरू भने ड्यामेज भएको मैले पाएकी छु । अरू तस्बिरमाथि मैले काम गर्न बाँकी छ— छान्ने र केही सम्पादन गर्ने अर्थमा । यी तस्बिरसमेत नेपाल ल्याएर प्रदर्शन गर्ने इच्छा राखेकी छु । एकैसाथ मपछि मेरो बुबाको इतिहास, सिर्जना, तस्बिर र अर्काइभमा काम गर्ने व्यक्ति/निकायको खोजीमा म छु । मेरा भाइ, बहिनी भए पनि बुबाको ‘नेपाल काम’ मा उनीहरूले इच्छा जनाएका छैनन् । अब सधैंको जस्तो सक्रियता राख्न नसक्ने उमेरमा म आइपुगेकाले मेरो बुबा टोनी हेगन, उहाँको काम र नेपाली भूगोल बुझ्न सक्ने सत्पात्रको म खोजी गरिरहेकी छु जसलाई अबको पुस्ता र समयका लागि टोनी हागनको योगदान/स्मृति जिम्मा दिन सकियोस् ।

(वरिष्ठ स्विस भूगर्भविद् एवं विकास योजनाकार डा. टोनी हागनले नेपालको भूगोल र भूगर्भ अन्वेषणमा आधारित रहेर पहिलो पटक नेपालको नक्सा तयार पारेका थिए । हागनले सन् १९६२ मा ‘नेपाल : अ किङडम इन द हिमालय’ नामक पुस्तक प्रकाशित गरेका थिए जसले नेपाललाई विश्वसामु चिनायो ।सन् १९५० को दशकमा नेपाल आएर काठमाडौं उपत्यकासहित बाहिरी भूभागको तस्बिर र श्रव्यदृश्य सामग्रीसमेत तयार पारेर विश्वसामु देखाउने हागनको यो वर्ष जन्म शताब्दी परेकाले उनको स्मृतिमा विभिन्न कार्यक्रमहरू आयोजित छन् । यो साता भक्तपुरको टोनी हागन हाउसमा टोनी हागनले खिचेका काठमाडौं उपत्यका र आसपासका ४० वटा महत्त्वपूर्ण तस्बिर प्रदर्शनीमा राखिएका छन् । आफ्नो बुबाको स्मृतिमा आयोजित समारोहमा आतिथ्य जनाउन स्विजरल्यान्डबाट आएकी हागनपुत्री डा. केट्रिनसँग लीला श्रेष्ठले गरेको कुराकानी आधारित ।)

प्रकाशित : चैत्र १७, २०७४ ०९:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

‘राजनीतिको पछिल्लो पुस्ता अध्ययनबाट टाढा छ’

पुस्तक वार्ता
हाम्रा अहिलेका सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूसँग औपचारिक डिग्री खोज्यांै भने नभेटिन सक्छ । तर उहाँंको क्षमता, ज्ञानको दायरा औपचारिक डिग्री भएकाहरूको भन्दा कैयौं गुणा बढी छ । हरेक विषयवस्तुमा उत्तिकै दख्खल राख्नुहुन्छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — केपी ओली नेतृत्वको सरकारमा मन्त्रीका रूपमा नयाँ अनुहार हुन्­– शेरबहादुर तामाङ । सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद तामाङले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

राजनीतिक दलहरूभित्र लेखपढमा रुचि राख्ने नेताहरूको सूचीमा उनी अग्रपंक्तिमा पर्छन् । स्वअध्ययन त छँदैछ, राजनीतिक व्यस्तताका बीच पनि उनी औपचारिक पढाइलाई निरन्तरता दिइरहेका छन् । दुइटा विषयमा स्नातकोत्तर गरिसकेका मन्त्री तामाङ हाल विद्यावारिधि शोधार्थी हुन् । परम्परागत कृषि प्रणालीबाट नेपालको संस्कार/संस्कृतिमा के जडता छ भन्ने विषयमा त्रिभुवन विश्वविद्यालयबाट उनी शोध गर्दैछन् । ‘विद्यार्थी मन्त्री’ तामाङसँग राजनीति, अध्ययन, पठन शैली र शिक्षा प्रणालीबारे दुर्गा खनालले गरेको कुराकानी :

एराजनीति र औपचारिक अध्ययन कसरी एकैसाथ अघि बढिरहेको छ ?
अध्ययन मेरो धेरै रुचिको विषय हो । समय पाउनेबित्तिकै म अध्ययनमा बिताउँछु । सक्रिय राजनीतिमा संलग्न भएकाले अनेक जिम्मेवारीका कारण आफूले चाहेका पर्याप्त समय अध्ययनमा छुट्याउन भने मुस्किल पर्दोरहेछ । तैपनि राजनीति र अध्ययनको तालमेल सकेसम्म मिलाएरै अघि बढिरहेको छु ।

राजनीतिक क्षेत्रमा लाग्ने व्यक्ति/नेता कत्तिको अध्ययनशील र कुन विषयमा बढी जानकार हुन आवश्यक छ ?
अध्ययनशील नहुने हो भने धेरै कुरा आफूलाई थाहा हुँदैन । त्यस्तो अवस्थामा राम्रो काम गर्न सकिंदैन । त्यसैले अध्ययनशील हुनु जरुरी छ । राजनीतिक नेता वा यो क्षेत्रमा लाग्ने मान्छेले केही विषयहरूबारे अनिवार्य रूपमा जानकारी राख्नैपर्छ । इतिहास, कानुन, अर्थशास्त्र र विकास सम्बन्धी विषय अनिवार्य जान्नैपर्छ । यो नजान्ने हो भने राजनीतिज्ञले आफ्नो भिजन आफैं निर्माण गर्न सक्दैन । संयोग नै भन्नुपर्छ, मेरो पढाइचाहिं करिब ती क्षेत्रसँग मिल्दोजुल्दो छ । मैले स्नातकोत्तर इतिहास, समाजशास्त्र/मानवशास्त्रमा गरे । कानुनमा मैले एलएलबी गरेको छु । व्यावहारिक विषयवस्तु बुझ्नै पनि औपचारिक अध्ययनका क्रममा मैले सिकेका सैद्धान्तिक कुराले धेरै सहयोग भएको छ । पछिल्लो कालमा औपचारिक शिक्षासँग जोडेर नेताहरूलाई एक प्रकारको आलोचना गर्ने गरिएको मैले पाएको छु । तर राजनीतिमा औपचारिक डिग्री छ कि छैन भन्नेभन्दा बढी उसले औपचारिक अध्ययन नगरी पनि समाजलाई कति बुझेको छ, समाजसँगको घुलमिल कस्तो छ र कसरी नेतृत्व गर्न सकेको छ भन्ने कुराले धेरै अर्थ राख्छ । कतिपय नेताहरूमा औपचारिक डिग्री नभए पनि ठूलो ज्ञान छ । उहाँहरूले समाज बुझ्नुभएको छ र समाजलाई डोहोर्‍याउने ‘भिजन’ पनि राख्नुहुन्छ । औपचारिक डिग्री भैदिए अझ राम्रो हुन्छ।

आजको नेपाली राजनीतिमा अध्ययनशील नेताहरू कत्तिको छन् ?
समकालीन नेतृत्वको बहुसंख्यक हिस्सा अध्ययनशील नै छ । अलिक पुरानो पुस्ता साधन, स्रोत, अध्ययन सामग्रीको अभाव हुँदा पनि धेरै अध्ययन गर्‍यो । त्योसँग दाँज्ने हो भने अहिले राजनीतिमा आएको पछिल्लो पुस्ता अध्ययनको लगावबाट अलिक बढी टाढिएजस्तो देख्छु । युवाहरूप्रति मेरो आरोप त होइन, तर अहिले यति धेरै अध्ययनका लागि पहुँच रहन सक्ने अवस्थामा पनि साधन–स्रोत र यो सहजतालाई युवापंक्तिले राम्ररी प्रयोग गर्न सकेको छैन ।

तपाईंको विचारमा औपचारिक अध्ययन महत्वपूर्ण कि स्वअध्ययन ?
यो व्यक्तिमा भर पर्ने कुरा हो । व्यक्ति विशेषको गुणस्तरमा पनि निर्भर रहने कुरा हो । जस्तो हाम्रा अहिलेका सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूसँग औपचारिक डिग्री खोज्यांै भने नभेटिन सक्छ । तर उहाँंको क्षमता, ज्ञानको दायरा औपचारिक डिग्री भएकाहरूको भन्दा कैयौं गुणा बढी छ । हरेक विषयवस्तुमा उत्तिकै दख्खल राख्नुहुन्छ । कुनै पनि विषयमा सम्बन्धित विषयका विद्वान्हरूसँग उत्तिकै गहिराइमा पुगेर उहाँले आफ्नो कुरा राख्नुहुन्छ । ‘भिजन’ दिन सक्नुहुन्छ ।

कसैले औपचारिक र कसैले व्यावहारिक अध्ययन गरेर ज्ञान हासिल गर्न सक्छ । तर पनि अबको पुस्ता चाहिं औपचारिक डिग्री लिएरै अघि बढ्नेतर्फ लाग्नुपर्छ । किनभने हिजोका दिनमा पढ्न पाउने वातावरणै थिएन । पढ्ने उमेरमा १४/ १५ वर्षसम्म जेल बस्नुपर्ने अवस्था थियो । अहिले त्यस्तो अवस्था छैन ।

कम्युनिस्ट आन्दोलनका अधिकांश नेताहरूले सुरुमा नेपालको शिक्षा प्रणालीलाई ‘बुर्जुवा’ भने । पढाइ बहिष्कार गरे, पढ्न खोज्नेलाई पनि यस्तो शिक्षा काम छैन भनेर भड्काए । तपाईं पीएचडीको विद्यार्थी पनि हो, अहिलेको शिक्षा चाहिं कस्तो छ ?
हाम्रो शिक्षा प्रणालीलाई ‘बुर्जुवा’ नै त म भन्दिनँ, तर अव्यावहारिक भने पक्कै छ । अध्ययन गरेपछि कुनै सीप प्राप्त हुँदैन, प्रमाणपत्र मात्रै प्राप्त गर्छौं । यसले गर्दा राष्ट्र निर्माणमा कुनै योगदान भइरहेको छैन । त्यसैले डिप्लोमा पास गरेको व्यक्ति सर्टिफिकेट बोकेर अरबमा काम गर्न जानुपरेको स्थिति छ । डिप्लोमा पास गर्ने पनि अरबमा जान्छ, पढ्दै नपढ्ने पनि त्यहीं जान्छ । त्यसैले यो शिक्षा प्रणालीमा ‘पुनर्विचार’ गर्नु जरुरी छ ।

शिक्षा प्रणाली यस्तो हुनुमा राज्यको नीति बनाउने तपाईंजस्ता राजनीतिज्ञ नै दोषी होइनन् ?
हामीकहाँ प्राविधिक शिक्षाभन्दा अन्यत्र बढी लगानी भयो । त्यसैले यो पद्धति बेरोजगार उत्पादन गर्ने थलो भयो । कुनै व्यक्तिले सर्टिफिकेट पाए पनि काम नपाउने अवस्था छ । शिक्षा लिने केका लागि भन्ने पनि हामीले ज्ञान दिन सकेनौं । शिक्षा लिने भनेको जागिर खानका लागि मात्र हो भन्ने सधैं दिमागमा भरिदियौं । असफलताको कारण यही हो ।

हाम्रा विश्वविद्यालय, अध्ययन केन्द्रमा थिंक–ट्यांकहरू छैनन् । यसकारण पनि राम्रो नीति नबनेको होला हैन ?
अब यस्तो थिंक–ट्यांक राख्नुपर्छ । समाज केही न केही त अघि बढेकै छ तर, हाम्रा शैक्षिक केन्द्रहरूमा वैचारिक हिसाबले प्रस्ट वक्ता र भिजन भएका व्यक्तिहरू रहनुपर्छ । त्यस्ता व्यक्तिले बहस गर्छन्, निष्कर्ष निकाल्छन् । जसले गर्दा सरकारले बनाउने योजना निर्माणमा पनि सहयोग
हुन सक्छ ।

अंग्रेजी भाषा अन्तर्राष्ट्रिय सम्पर्क–भाषाको रूपमा विकसित भइरहेको छ । हाम्रोमा भने मातृभाषा शिक्षाको कुरा उठिरहेको छ । तपाईं जनजाति समुदायको पनि हुनुहुन्छ, कुन भाषाको पढाइ अहिले प्रभावकारी हुन्छ ?
मेरो स्पष्ट मान्यता छ । हाम्रो प्रोडक्टले ग्लोबल मार्केटमा प्रतिस्पर्धा गर्नैपर्ने हुन्छ । अब ग्लोबल मार्केटमा भिड्ने हो, त्यहाँ श्रेष्ठता हासिल गर्ने हो भने मात्रै हाम्रो उन्नति हुन सक्छ । तर हाम्रो प्रोडक्ट अझै पनि हाम्रै लोकल मार्केटमै नबिक्ने स्तरको जस्तो छ । यसले हामीलाई कहीं पनि पुर्‍याउँदैन । त्यसैले मातृभाषामा शिक्षा दिने कुरा संविधानत ठीक छ, तर यो व्यावहारिक हुँदैन । ऐच्छिक रूपमा मात्र मातृभाषाको शिक्षा दिन सकिन्छ । मातृभाषामै सबै शिक्षा दिन्छु भन्न थाल्यो भने त्यो गार्‍हो कुरा हो । त्यससम्बन्धी पुस्तक छैन, पाठ्यक्रम छैन । शिक्षा ग्लोबल मार्केटमा प्रतिस्पर्धा गर्ने खालकै दिनुपर्ने भएकोले नीति पनि त्यस्तै तय गर्नुपर्छ । नेपाली भाषा हाम्रो सरकारी कामकाजको भाषा हो । सकिन्छ भने सबै गाउँका विद्यालयमा अंग्रेजी अनिवार्य गरेर पढाउनुपर्छ । त्यसले प्रतिस्पर्धामा भिड्ने एउटा खुट्किलो पार गराउँछ ।

तपाईंको अध्यन रुचितर्फ जाऔं, कस्ता किताब पढ्न मन लाग्छ ?
मलाई संस्मरण र इतिहासका किताब बढी मन पर्छन् ।

तपाईंलाई मन परेका र प्रभावित गरेका किताबहरू कुनै छन् ?
मैले धेरै राजनीतिज्ञहरूका पुस्तक पढेको छु । पुष्पलाल, मदन भण्डारीसँग जोडिएका र लेखिएका किताबहरू धेरै पढेको छु । त्यस्तै बीपीको ‘जेलजर्नल’ लगायतका अन्य साहित्यिक कृति पढेको छु । पछिल्लो चरणमा आएका संस्मरणहरूमध्ये हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ पढें । त्यसले मान्छेलाई एउटा जीवन जिउन सिकाएको छ । त्यस्तै विजयकुमारको ‘खुसी’ पनि मलाई मन पर्‍यो । किनभने उनी आफैं पनि एउटा समस्यामा रहेछन् र पछि त्यसबाट बाहिर आएका रहेछन् ।

नेपालको जनजीवनसम्बन्धी एउटा उपन्यास छ— शरद पौडेलको ‘लिखे’ । त्यसले मलाई एकदमै प्रभावित परेको छ । नेपाली समाजबारे बुझ्ने अवसर त्यसले दिन्छ । ‘छापामारको छोरो’, ‘पल्पसा क्याफे’, ‘अविरल बग्दछ इन्द्रावती’, ‘गौरी’, मुनामदन’, ‘विचार विज्ञान’ जस्ता पुस्तकहरू पढेको छु । पारिजातको ‘शिरीषको फूल’ ले निकै प्रभाव पारेको थियो । मलाई रसियन कथाहरू उत्तिकै मन पर्छ ।

पढेर खासै प्रभाव नपारेका पुस्तक पनि छन् कि ?
कतिपय पुस्तक जुन अपेक्षाका साथ पढिन्छ तर त्यसले धेरै प्रभाव नपार्दो रहेछ । जस्तो, मैले बीपीको ‘सुम्निमा’ पढें तर ठूलो प्रभाव पारेन । कविशिरोमणि लेखनाथ पौड्यालका कविताले पनि खासै प्रभाव पारेन, तर माधव घिमिरेका कविताले प्रभाव पारेको छ । विदेशी किताबहरूमा मेक्सिम गोर्कीको ‘आमा’ ले धेरै चर्चा पायो, मैले पनि यो किताब दुई पटक दोहार्‍याएर पढें । तर, किन हो मलाई भने त्यस्तो खासै प्रभाव पारेन । त्यस्तै लियो टल्सटायको ‘वार एन्ड पिस’ ले पनि ठूलो प्रभाव पारेन ।

तपाईंको अध्ययनको आधारमा अन्य व्यक्तिले पनि पढ्नैपर्ने किताबहरूको कस्ता र कुन हुन् ?
म वामपन्थी पृष्ठभूमि भएको भए पनि कार्ल माक्र्सको ‘पुँजी’ लाई सबैले पढ्न सक्दा राम्रो हुन्छ । अर्थशास्त्रको सबै कुराको यसले गाइड गर्दोरहेछ । कुनै मुलुक कसरी बनाउने भन्ने कुरा त्यसको अर्थव्यवस्थासँग जोडिन्छ । समाज परिवर्तनका हिसाबले कार्ल माक्र्स बुझ्नुपर्छ, पढ्नुपर्छ । त्यस्तै नेपालको सन्दर्भमा मदन भण्डारीको विचारले ठूलो राजनीतिक प्रभाव पार्‍यो । त्यसैले उहाँसँग सम्बन्धित कृतिहरू जुनुसकै पनि पढ्दा हुन्छ । गौरा प्रसाईंको ‘मेरा जीवनका पाना’ पढ्दापढ्दै रुन मन लाग्छ । डोरबहादुर विष्टको ‘सबै जातको फूलबारी’ सबैले पढ्नैपर्छ । नेपालको ंसस्कृति, परम्परा, इतिहास बुझ्न बाबुराम आचार्यका किताब पढ्नैपर्छ ।

प्राय: नेताहरू प्रतिस्पर्धी विचार राख्नेसँग सधैंजसो पूर्वाग्रही देखिन्छन् । कित्ता नछुट्ट्याई पुस्तक पढ्ने/ज्ञान लिने कुरामा तपार्इं कहाँनेर हुनुहुन्छ ?
म सबै पक्ष, कित्ता वा दर्शनका किताब पढ्छु । फरक राजनीतिक दर्शन भएको व्यक्ति भनेर पूर्वाग्रह राखेर त्यस्तो रचना पढ्दै–नपढ्ने गर्नु ठीक होइन । म वामपन्थी विचारधाराबाट प्रभावित भए पनि धर्मबारे र धार्मिक पुस्तकहरू पनि उत्तिकै पढ्छु । बुद्धको ‘अष्टमार्ग’ ले मलाई जीवनमा गाइड गरेको छ । महाभारतजस्ता धार्मिक पुस्तकहरूले ज्ञान र पथप्रदर्शन गरेको छ ।

तपाईं आफैंले कुनै पुस्तक लेख्नुभएको वा लेख्ने तयारीमा हुनहुन्छ ?
म आफैं सम्पादक भएर प्राजतन्त्रका सेनानी सर्वधन राईको जीवनीसम्बन्धी एउटा पुस्तक तयार पारेको छु । त्यसबाहेक अरू किताब लेखेको छैन । अहिले नेपालको विकाससम्बन्धी एउटा पुस्तक तयार गरिरहेको छु । यसबाहेक, संघीयता र त्यस आधारमा राज्य पुन:संरचनाको सन्दर्भमा सातवटा प्रदेशको खाका बनाएर छलफलमा लागेको थिएँ । खासै अघि बढ्न सकेको छैन ।

प्रकाशित : चैत्र १७, २०७४ ०९:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT