१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

त्यो खुसी–खुसी गाउँ

समाज
सर्लाहीको शंकरपुर गाउँमा राजनीतिको त्यति अर्थ छैन । गाउँमा धेरैजसोको कठ्ठाका दरमा जमिन छ । भूमिहीन गाउँले पनि उत्तिकै छन् । जहाँ जमिनदार कोही छैनन् तर, सबै सुखी–खुसी छन् ।
सरला गौतम

काठमाडौँ — भदौको महिना छ । चुनावको रौनक छ । सर्लाहीको शंकरपुर गाउँमा छु म । झुलेका धानका बोटहरूभित्रै लुक्न आएको थियो घाम, रातै आभामा । त्यही प्रकाशले सुन्तले थियो उनको अनुहार । आँगनकै आँपको गाछीमा बसेर सुनाउँदै थिइन्— कहर जितेर बनाएको रहरको जिन्दगीको कथा ।

त्यो खुसी–खुसी गाउँ

बिन्दा लामा ४९ वर्षकी भइन् । जिन्दगीमा दु:खका आइटम सबै थिए टनाटन । रक्सी खाने श्रीमान्, झुपडी घर, गरिबी जीवन । सत्र वर्षमा बिहा गरेकी, बीस वर्षमा बच्चा । रक्सीको तान्डव सहँदै बच्चा हुर्काएको कथा । जमिन थियो, केही कठ्ठा । बाटो बनाउँदा उनको जमिन पर्‍यो । सडक विभागबाट आएको क्षतिपूर्तिको पैसाले घर बनाइन् । आफंै बोकिन् ढुंगामाटो । ऋण काढेर, मकै बेचेर जोडेको पैसाले उभियो घर ।

छहारीमुनि बसेर उनले जिन्दगीको सारभन्दा सामुन्नेको पक्की घर हेरिन्, आँगनमा खेलेको नाति हेरिन् । आडैको कुखुरा फार्म हेरिन् । एकतले घरमा अब तला थप्ने रहर थपिन् । साना किसान सहकारीको आडभरोस र सहयोगले उनको जीवन बद्लिएको थियो । बिन्दाको घरमा मलाई पुर्‍याउने स्थानीयवासीले मलाई जानकारी दिए । एक्लो महिला पूरै परिवारको ‘मिसाल’ बनेर उभिइन् । आफ्नो परिवारको गाँस, बास र कपासको जोहो गरेको उनको कर्मठ जीवन शान्त भएको छ यतिखेर । बिरामी बच्चा, रक्स्याहा श्रीमान् । कुनै दिन उनले आफ्नै ज्यान लिन पनि खोजिन् । सानो छोराको तोतेबोलीले उनको जीवन फर्कायो ।
***

भर्खरै प्रजातन्त्र आएपछि गाउँमा हुन्थ्यो– कि कांग्रेस कि कम्निस्ट । एकअर्कामा पाखुरा सुर्किनेहरू प्रशस्तै थिए । देशका अरू गाउँजस्तै चियापसलमा राजनीतिक गफ अनि झगडा । हात हालाहाल । पानी बाराबार । यो पार्टी खत्तम त्यो खत्तम, सरकार खत्तम देश खत्तम । अचानक एक दिनको बिहान ब्युँझियो— गाउँ अचानक एउटा दुस्वप्नबाट । पूर्वबाट लाग्यो घाम शुभसंकेतको । जम्मा भए मानिसहरू । सोचे यही झगडासगडाले कहाँ पुर्‍याउला त— यो गाउँलाई ? अब केही गर्न‘पर्छ । के गर्ने गाउँमा न बिजुली छ, न बाटो छ, न त छ नहर । उपाय नास्ति मात्रै छ । समस्याको त्यही पहाडभित्र लुकेका छन्— समाधानका साना धर्सा । धर्सा खोस्रेर बाटो बनाउन थालेमा कसो पारि नपुगिएला ? उनीहरूले खन्ती लिए र, खन्न सुरु गरे ।

नजिकको खेततिरबाट आएको साँझको बतासले जिउभरि हान्यो । दिनको घामले पोलेको देह सुस्तायो । मधेसका बडेमानको गिलासमा पानी आयो । घटघट पार्‍यौं । बिन्दालाई ‘बाईबाई’ भन्यौं । भटभटे चल्यो ।

सुन्तले घाम पनि अब आकाशभित्र बिलाउँदै थियो । भटभटेले झ्याप्प ब्रेक लायो । हरिमाया परियार (५०) को घर आइपुग्यो । आँगन नपुग्दै ढोकैमा आयो उनको मुस्कान । गर्‍यो मीठो स्वागत । मुडाहरू तेर्सिए । उनको मान्छेका नजरहरू हामीतिर बर्सिए । हामी लाग्यौं बात मार्न । अक्सर मधेसको दलित परिवारको जमिन कति हुन्छ भन्नै परेन । पाँच कठ्ठा जमिनमा फलाएको धान र मकै सधैं राम्रो हुन्नथ्यो । नहर थिएन । पूरै बाली राम्रो भए पनि पूरै वर्ष खान पुग्दैनथ्यो । मुसिबत ज्यादा, मुनाफा कम थियो जिन्दगी । सहकारी आयो । दु:खमा हात फैलायो । नहर पनि आयो, वाग्मती सिँचाइ परियोजनाको ।

अब त्यही जमिनमा गरेको परिश्रमले मुनाफाको हिस्सा बढायो । यदाकदा समयमा ऋण तिर्न नसक्दा सहकारीले चर्को स्वर गरेन । हुनेबाट लिएर नहुनेको गर्जो टार्‍यो । हरिमायाले यति भनेर मलाई उनीकहाँ पुर्‍याउने स्थानीय साथीलाई हेरिन् । भनिन्, ‘उहाँहरूजस्तो मान्छे गाउँमा भएकाले छुवाछूतको धेरै अपहेलना हामीले सहेनौं । आडैको गाउँमा यस्ता धेरै कुरा सुनिन्छन् ।’ मलाई पुर्‍याउने साथी निहुरिए, विनयी भावमा ।

‘मान्छे विदेश जानुपरेको छ । दु:ख बिमारमा कठै भन्ने कोही छैन । यो गाउँमा आफ्ना सदस्य बिरामी पर्दा सहकारीले फलफूल खाने पैसा लिएर भेट्न आउँछ । मरण परेको बखत किरिया खर्च दिन्छ । छोरीको बिहा गर्न‘परेका बखत बिनासर्त ऋण दिन्छ । एउटा गाउँ एउटा घर भएको छ ।’ यही भरथेगले चल्यो जिन्दगी । छोरीहरूको बिहे पनि गरिन् । दु:खमा सँगै उभिने सुखमा मुस्कुराउने सँगै । उता आकाशमा घाम बिलायो । यता अनुहारमा सुखको जून उदायो ।

यो गाउँमा अरू पाँचवटा साना सहकारी सहकारी छन् । हरिमायाले आफ्ना छोरीहरूको बिहा गरेकी छन्, सहकारीकै सहयोगमा । थोरै जमिनमा फलाएको उब्जनी सहकारीले किन्छ । उचित भाउ दिन्छ । अब जिन्दगी ‘मुसिबत कम, मुनाफा ज्यादा’ हँ‘दै गएको छ । आँगनमा बसेर बात मार्दै गर्दा झमक्कै भयो । हामी हिंड्यौं ।

म आफ्नो एक दिनको गुँडमा आएँ ।
***

छाना नजिकै रहका झ्याम्म परेको आँपको गाछीमा चराहरू हल्ला गरे । आफ्नो काम । हिजो लुकेको घाम उदायो । चराहरू शान्त भए । मान्छेहरू हल्ला गर्न थाले । सहर पसेका छोराछोरी घर आएका छन् । घरघरै रमाइलो पूरै गाउँ रमाइलो । सर्पले काँचुली फेरेका बेलामा जस्ता छन् मान्छेहरू । रंगीचंगी लुगामा सुकिला मुकिला । लस्करलस्कर बाँधेर तिनिक्क तन्केर हिंडेका । अघिल्लो पटक मधेस आउँदा स्थानीय पत्रकार साथीले मलाई भनेका थिए, ‘तपाईंलाई एउटा गाउँ देखाउन लानैपर्नेछ । मान्छेहरू तनक्क तन्केर हिंड्छन्, हल्का मुस्कानमा । अनुहार हेर्दै खुसीखुसी । गाउँमा नहर पुगेर फेरिएको छ मानिसको जिन्दगी ।’ उनले लोभ्याएको ठीक सात महिनापछि म त्यही गाउँमा डुल्दै छु ।

नजिकै स्कुल पुग्यौं । भोट हाल्नेको लाइन । वरिपरि ठेलामा, चाउमिन, पकौडा र आलुचप । वरिपरि लहलह धान । बीचमा बाटो । परसम्मै नीलै हाँसेको आकाश ।

‘यही हो इन्द्रादेवी महतोको घर ।’ आज मलाई गाउँ डुलाउन लागिपरेका अर्का स्थानीयवासीले भने । मेसिनको टुकटुकको आवाज आँगनमा ठोकिन आइपुग्यो । एक युवा दम्पती आफ्नो काममा मगनमस्त थिए । हामीले बिथोल्यौं । उही कथा, थोरै जमिन नगन्य आम्दानी, मुस्किल जिन्दगी । घुम्टोभित्र सारा रहर पोको पारेर बसेका मधेसी महिलाको मनको बात त्यही घुम्टोले नसुन्ने आवाजमा हराउँथ्यो । इन्द्रादेवीले कहानी सुरु गर्दा उनका श्रीमान् बिर्ज‘ महतो टाउको हल्लाउँथे । घरको महिलालाई साथ दिए सहयोग गरे कसरी कायापलट हुन्छ भन्ने एउटा घरको कथा । पैतालासम्म घुम्टो ओढेर हिंड्ने महिला सहकारीको सदस्य बनिन् । पहिलो दिनको मिटिङमा सासले बोलिन् । नमस्ते भनेर आफ्नो नाम भन्न पनि डराइन् । सिलाइकटाइमा सहयोग भयो । आफ्नो जीविका राम्रो चल्न थाल्यो । घरको सुखसुविधा बढ्न थाल्यो । बिस्तारै उम्रन थाल्यो ढुंगाको कापबाट पीपल । आफूजस्तै मधेसी समुदायका महिलालाई उत्साह दिन थालिन् । अहिले मिटिङमा चित्त नबुझ्ने कुरा भए भने उनीहरू टेबल ठटाउँछन् ।

‘मिल्काइदियौं घुम्टो सुम्टो’ इन्द्रादेवी खिलखिलाएर हाँसिन् । हामी हाँस्यौं । उनका श्रीमान् झन् हाँसे । हाँसोले ठोकियो घरको भित्ता । ‘पहिला यो शंकरपुर गाउँ कस्तो पिछडिएको थियो । अहिले वरिपरिको गाउँ योसँग जोडिन खोज्छन् । शंकरपुरसँग जोडिए हामी पनि त्यस्तै विकसित हुन्छौं भन्ने लोभ गर्छन् ।’ संघीयतामा नक्सा हेरफेर हुने कुरा चल्दै गर्दा वरिपरिका गाउँ लोभिएका थिए शंकरपुरसँग जोडिन । आफ्नो गाउँको तारिफमा अनुहारमा फूल फुलाउने मानिसहरू नहर र सहकारीको तारिफ गरेर थाक्दैनन् । कालो चिया आयो । उनकी देउरानी वडा सदस्यमा उठेकी छन् । भोट हाल्न जाने बेला भएको छ । चिया सिनित्त पारेर हामीले बिदा माग्यौं ।
***

गर्मिलो थियो दिन । भदौको महिना । निधारबाट बगिरहेका पसिनाका धारा पुछ्यौं । साना सहकारीका प्रबन्धक माधवकुमार काफ्लेको अनुहार शीतल थियो । बाटो बिजुली–पानीको समस्यामा हराइरहेको एउटा अन्धकार गाउँ कसरी भयो उज्यालो ? यही इतिहासको फेरो उनी समाउँदै थिए । एक दिन अँध्यारो दुस्वप्न चिर्दै पर क्षितिजबाट रवि उदाए । मानिसहरू जम्मा भए । सामुदायिक बहुमुुखी सहकारी संस्था खोले । एकआपसमा बिच्किएका स्थानीय राजनीतिक दलहरूलाई एकै ठाउँमा जम्मा पारे ।

किसानले उत्पादन गरेको बेसारले बजार पाइरहेको थिएन । सहकारीले किनेर उचित भाउमा बेचिदिन थाल्यो । प्रतिस्पर्धा चर्को भएकाले टिक्न मुुुस्किल पर्‍यो । बचत ऋणको भरमा संस्था टुकटुक चल्न थाल्यो । झट्ट केही बदलिएन । तर गाउँमा झगडा हुन छाड्यो । मानिसहरू धेरैजसो काममै जुटे । यसैगरी चल्दै गयो ।

यो अगि बढ्दै थियो, विद्युत् सहकारी खुल्यो । विद्युत् सहकारीका लागि एक कट्ठा जमिन भएको घरले ७५ रुपैयाँ दिए । जसको सम्पत्ति जति छ, त्यति दरमा गाउँलेले चन्दा उठाए । १३ लाख रुपैयाँ उठ्यो । बाँकी ८० प्रतिशत सरकारले दिने र २० प्रतिशत गाउँलेले जम्मा गर्ने नियमअनुसार ८४ लाख रुपैयाँ जम्मा भयो । सहकारीले बिजुली बेच्न थाल्यो । बिस्तारै ऋण सकिन लाग्यो । गाउँलेको चन्दा सेयरमा बदलियो । विद्युत् सामानको पसल खुल्यो सहकारीको । सामानमा ठगिने डर छैन । बिजुलीको बिलमा ठगिने डर छैन । न फाइल अड्कन्छ न कागज । आफ्नै पहलमा ल्याएको बिजुलीले गाउँलेले घर झलमल्ल पारे ।

यता साना किसान सहकारीले किसानको दूध किनेर डीडीसीलाई दिन्छ । सहकारीको आफ्नै चिस्यान केन्द्र छ । छ कठ्ठासहितको भवन छ । अब दूधको प्याकेजिङ आफैं नगरी भएको छैन । यसको तयारी चल्दै छ । ३५ वटा गाई पाल्ने, दुई बिघा जमिनमा तरकारी लाउने सहकारीको योजना अगि बढेको छ । अहिले कम्प्लेक्स सेन्टर बनिरहेको छ । आफ्ना सदस्यको मृत्यु भयो भने सहकारीले पाँच हजार भेटी लिएर भेट्न जान्छ । फर्काउनु पर्दैन । संस्थाको नियम ‘कानुन’ मात्र होइन, विवेकका भरमा चलेका छन् कतिपय नियमहरू । सहकारी प्रबन्धकले भने, ‘हामी सदस्यहरूको परिवार हुन चाहन्छौं । संस्था त जति पनि छन् ।’ बिरामी हुँदा पनि उपचार खर्च ५ हजार दिने गरिएको छ । सदस्यको मृत्यु हुँदा २५ हजार फिर्ता पाउँछन् परिवारले । संस्थाको ऋण उठाउन गाह्रो परेको घटना लगभग शून्य छ । कसैलाई अति गाह्रो परे सहकारी आफैं ‘मर्का’ बुझिदिन्छ ।

गाउँमा मदिरा नियन्त्रण गर्ने काम जारी छ । पूरै खोटरहित रामराज्य एक दिनमा हुँदैन । निरन्तरको प्रयासले आएको बदलावले बिस्तारै रंग फेरिने हो समाजको । अस्पताल बनाउने धोको अड्किएको छ । स्थानीय सरकारले आफ्नो नियत साफ राखेर अगि बढे मौरीजस्ता मान्छेले त काम गरेकै छन् । माधवले भने, ‘मेरा आँखा निदाए पनि दिमागमा गाउँकै तरक्कीको सपना नाचिरह्यो । मलामी जाँदासमेत सोचाइमै डुबिरहें । जे–जे राम्रा कुरा मनमा खेले टिप्न थालें । लागू गर्न थालें ।’ गाउँमा मुसलमान, हिन्दु, दलित जनजाति, मधेसी, पहाडी गोलबद्ध भइबस्छन् । सहकारीका लागि आवश्यक सल्लाह गर्छन् । टेबल ठोक्छन् । कैले रिसाउँछन् । फेरि मिल्छन् । सँगै हिंड्छन् । सिँचाइको कारण खेती खाली हुन्न । गाउँमा काम भइरहन्छ । भूमिहीन पनि ज्यालामा काम गर्छन्, परिवार पाल्छन् ।

यो गाउँमा पाँच बिघा जमिन भएका मान्छे दस जनाभन्दा कम छन् । दुई बिघा भएका पन्ध्र–बीस होलान् । त्यसपछि धेरै मान्छे कट्ठावाल छन्, बाँकी भूमिहीन । यस्तो गाउँमा एउटा सहकारीको सेयर दुई करोड चालीस लाख छ । गाउँभरिको सहकारीको डिपोजिट पन्ध्र करोड । ऋण असुली ९५ प्रतिशत छ । उनले भने, ‘जमिनदार कोही छैन । तर, सुखी सप्पै छन् ।’ यो गाउँ न माओवादी द्वन्द्वको पालामा, न त कुनै मधेस आन्दोलनमा बन्द भयो । सबै पार्टीका मान्छे एक छन् । यो सधैं खुला हुन्छ । शंकरपुर चोक, सोल्टीबजारमा हरदम मोटरको हर्न बजिरहन्छ । यसलाई मानिसहरू मिनी–कलंकी पनि भन्छन् ।

यो कुरा लेख्दै गर्दा साना सहकारीको प्रबन्धकलाई फोन गरें, चैतको १२ गते । चुनावपछि पनि गाउँका सहकारी आफ्ना काममा तल्लीन छन् । त्यस्तै मानिस पनि । सुरुवातका दुई सहकारी मर्ज भएर नयाँ जोसमा काम गरिरहेको प्रबन्धकले टेलिफोनमा बताए । फोन राखेर म फेरि सम्झनामा फुत्त छिरें । शंकरपुर गाउँको उही आँगन ।
***

आँगनमा साइकलको घन्टी बज्यो टिङटिङ । आइपुगे मौरी बाजे । साइकलको स्ट्यान्ड लगाए । मौरीको निख्खर एक किलो मह मगाएकी थिएँ । हातमा समातेर ल्याए र खाटमा राखे । २८ ओटा मौरीका घार छन्— यमबहादुर कार्कीका । ५५ वर्षे यौवनमा छन् उनी । कैले जंगलछेउ कैले नहरछेउ मौरी चराउन जान्छन् । महिनाको पाँच केजी मह निकाल्छन् ।

उनको मौरीसँग गढेको पिरती गजबकै छ । तर यो माया पहिलो होइन । बीचमा उनको ब्रेकअप भएको थियो । उनले ५१ सालबाटै मौरी पालेका थिए । बाढीले सबै बगाइदियो— मौरीको घार । उनी बिरक्तिए, मौरी पाल्न छोडे । तर, मौरीसँग मायाको ह्याङओभर जाँदै गएन । उनले आफ्नो कानमा मौरीको भुनभुन मिस गरे । जीवन नै कस्तो रित्तो–रित्तो । फेरि मौरीसँग पिरतीमा बाँधिने सुर कसे । दस घारबाट सुरु गरे । अप्ठेरो पर्दा उभिने सहकारी छँदै थियो ।

अनि, कानमा मौरीको भुनभुन फर्कियो । जीवनमा रौनक फर्कियो । भन्छन्, ‘अब मौरीबिना बाँच्न सक्दिनँ । मह काडेर व्यापार गर्न सकिनँ भने २ घार भए पनि चाहिन्छ ।’ उनको जीवन मौरीबिना अपुरो छ ।

गाउँको हाल डायरीमा पोको पारेर फर्किएँ । मौरीजस्तै मिहिनेती मानिसहरूको भुनभुन मलाई ‘मिस’ भइरह्यो ।

[email protected]

प्रकाशित : चैत्र १७, २०७४ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?