बंगलादेश वैभव

यात्रा
बजारको शासनमा व्यापारिक वर्गले आफ्ना अनुकूल नीति निर्माण गरेर सर्वसाधारणको शोषण गर्न सक्छन् भने राज्यवादी शासनमा पनि राजनीतिक वृत्तको स्वार्थ सर्वोपरि हुने सम्भावना उत्तिकै हुन्छ ।
पर्वत पोर्तेल

काठमाडौँ — भौगोलिक रूपमा बंगलादेश नेपालभन्दा ३ हजार १ सय ८१ वर्गकिलोमिटर सानो छ । जनसंख्याचाहिँ नेपालभन्दा करिब पाँच गुणा बढी । सन् २०१६ को जनगणनालाई आधार मान्दा बंगलादेशको जनसंख्या करिब १७ करोडभन्दा माथि उक्लिने सुरसारमा छ ।

बंगलादेश वैभव

जबकि सन् २०११ मा १५ करोड हाराहारी थिएछ । प्रत्येक ५ वर्षमा २ करोडका दरले बंगलादेशी जनता बढिरहेका छन् । जनसंख्या धेरै भएका विश्वका मुलुकहरूको सूचीमा आठौं नम्बरमा उभिएको छ ।

भौगोलिक रूपले सानो । आवादीका हिसाबले ठूलो यो देशको यात्रा अवसर जुर्‍यो गत पुसमा । राजधानीमा प्रत्येक वर्ष आयोजना हुने ‘ढाका इन्टरनेसनल ट्रेड फेयर’ यस पटक पनि १ जनवरीदेखि महिना दिनसम्म चल्यो । करिब २२ देशका उद्यमी व्यवसायीहरू एकै थलोमा उभिएर अनि आ–आफ्ना उत्पादनको प्रवद्र्धन गरे । बंगलादेश यात्राको चाँजो मिलाएका थिए, झापाका पुराना उद्यमी पन्नालाल जैनले । नेपाल–बंगलादेश व्यापारका सेतु जैनले केही सञ्चारकर्मीसहित अलि बढी उद्यमी/व्यवसायीलाई सहभागी गराएका थिए ।

यही यात्राले बंगलादेशबारे बुझ्ने अवसर जुरायो । बंगलादेश त्यस्तो मुलुक हो, जसले छोटो समयमा विकासमा मारेको छलाङ अचम्मलाग्दो छ । बजारमुखी अर्थतन्त्रका हिसाबले विश्वकै ४४ आंै ठूलो देश हो बंगलादेश । चितागोङ अर्थात् चिटगाउँ बंगलादेशको उम्दा आर्थिक सहर हो । यात्रा क्रममा थाहा लाग्यो, बंगलादेशको विकासको मूल आधार ‘स्थिर सरकार’ रहेछ जुन अभ्यास हाम्रातिर भर्खरै सुरु भएको छ ।

करिब एक दशकदेखि एउटै पार्टी (अवामी लिग) ले सरकार चलाएको छ । जसको नेतृत्व शेख हसिनाले गरेकी छन् । हसिना बंगलादेश निर्माणका संस्थापक मुजिव–उर–रहमानकी छोरी हुन् । जब मुलुकमा सरकार स्थिर हुन्छ । तब विकासको गति एउटा निश्चित दिशामा लक्षित हुन्छ भन्ने कुरा बंगलादेशबाट सिक्न सकिन्छ ।

बंगलादेशको विगत पनि नेपालको जस्तै रहेछ । बन्द/हडताल नभएको कुनै दिनै नहुने । तर, रोचक कुरा के रहेछ भने व्यापार/व्यवसाय चली नै रहने । व्यापारलाई बन्द हडतालले कहिल्यै अप्ठ्यारो पारेन । आफैमा एउटा ठूलो बजारको नाम बंगलादेश हो । हरेक चीजको चरम सदुपयोग गरेको छ, यसले । तयारी पोसाक (गार्मेन्ट) मा विश्वकै दोस्रो ठूलो निर्यातकर्ता उसले गार्मेन्टबाट उभ्रिएको कपडा मिल्काउँदैन, बरु त्यो कपडाको टालोलाई अन्य सामान निर्माणमा प्रयोग गर्छ । खासगरी रेडिमेट गार्मेन्ट, रेमिट्यान्स र कृषि उत्पादन बंगलादेशी आर्थिक विकासको मुख्य आधार हो । त्यसका अलावा माछा, जुट, टेक्सटाइल, छालाका तयारी सामान र औषधिले पनि आर्थिक विकासमा मुख्य हिस्सा ओगट्छ । केही समय पहिला नेपालकै दाँजोमा रहेको बंगलादेशको प्रतिव्यक्ति आय, अहिले १ हजार ३ सय डलर नाघेको छ ।

खासमा बंगलादेशको विकास रहर नभएर ‘बाध्यता’ हो । अब विकास गरिएन भने यत्रो जनसंख्यालाई कसरी बचाउने ? भन्ने चिन्ता नै उसको विकासको मूल आधार ठान्छन् ढाकास्थित नेपाली दूतावासका नियोग उपप्रमुख धनकुमार ओली । करिब दुई वर्षदेखि ढाकामा कार्यरत ओलीले यो अवधिमा बंगलादेशबारे धेरै कुरा थाहा पाए । उनले थाहा पाएका कुरा सुनाए, ‘कृषिमा आत्मनिर्भर छ । वर्षमा तीनचार बाली धान फलाइरहेको छ । औषधि ४० देश निर्यात गर्छ । गार्मेन्ट चीनपछिकै दोस्रो ठूलो निर्यातकर्ता हो । डेनिम प्रोडक्सनमा विश्वकै अब्बल हो ।’

केही कम्पनीले विदेशमा रहेका बंगलादेशीलाई लक्षित गरी सामान निर्यात गरिरहेका छन् । तरकारी, तथा अन्य खाद्यवस्तुसमेत । ‘एकत्रित रूपमा बलियो सरकार र निर्देशित दिशा तोकेर जाँदा प्रगति टाढा छैन भन्ने उदाहरण बंगलादेश हो,’ ओलीलाई लागेको छ ।

नेपाल–बंगलादेश ‘कम्प्लिमेन्ट’
भारत र चीनपछि सबभन्दा धेरै नजिकको छिमेकी हो बंगलादेश । नेपाल र बंगलादेश भौगोलिक रूपमा एकअर्कालाई ‘कम्प्लिमेन्ट’ गर्छन् । बंगलादेश समुद्र सतहमा छ । नेपाल हाइल्यान्डमा छ । हरेक बंगलादेशी नागरिक हिमालयको जीवन बाँच्छन् । हरेक नेपाली बंगालको खाडीको जीवन बाँच्छन् । कारण के भने बंगालको खाडीबाट जब मनसुन जान्छ, हिमालमा ठोक्किन्छ र पानी भएर आउँछ । बंगाल भएन भने पनि मनसुन हुँदैन, हिमाल भएन भने पनि पानी हुँदैन । सबै नदी हिमालबाटै आउँछन् । हामीबाट बगेका बालुवाले बंगलादेशको क्षेत्र बर्सेनि बढिरहेको छ । यसको अर्थ के भने नेपालको धेरै उत्पादन बंगलादेशी उपभोक्ताका लागि आवश्यक छ । जो उनीहरू उत्पादन गर्दैनन् । र उनीहरूको उत्पादन नेपाललाई चाहिएको छ । बंगलादेश नेपाली वस्तुका लागि आफैंमा ठूलो बजार हो ।

अहिलेसम्म एउटा मुलुकबाट मात्रै नेपाल समुद्रसम्म पुगेको छ । दक्षिणको नजिकको छिमेकी बंगलादेशबाट पनि समुद्री सम्पर्कको सम्भावना छ । सन् १९७६ देखि नै बंगलादेशबाट पारवहन सुविधा लिने समझदारी भएको थियो । सन् १९९६ देखि फूलबारी–बंगलाबन्ध हुँदै व्यापार जारी छ । फूलबारी–बंगलाबन्ध रुट, चिटगाउँ र मोंगला बन्दरगाहसम्म रेल लाइन जोडिन थोरै बाँकी छ । बंगलाबन्धबाट ५५ किलो मिटर दक्षिण आउँदा पञ्चगढमा ब्रोडगेज रेल्वे लाइन यो वर्ष जोडियो । कुनै पनि वस्तु नेपालबाट यहाँसम्म ल्याउन पाइयो । त्यसलाई तेस्रो देश पठाउन मोंगला पनि पठाउन सकियो, चिटगाउँ पनि पठाउन सकिन्छ ।

तेस्रो देशसँगको रि–एक्सपोर्टको व्यापारको सम्भावना पनि छ । बंगलादेशको विरल र भारतको राधिकापुरसम्मको ब्रोडगेज रेल्वे जोडियो यो वर्षदेखि । नेपालका प्रधानमन्त्री भारतको भ्रमणमा गएका बखत रोहनपुर–सिंहवाद रेल्वे सर्भिस बंगलादेश जान प्रयोग गर्ने भनेर भारतसँग नेपालको सहमति भयो । त्यो रेल्वे रोहनपुरबाट सिंघवाद केन्द्रित लाइन हुदै मोंगला र चिटगाउँमा जोडिन्छ ।

अहिले एयर सर्भिस ढाका–काठमाडौं मात्रै सीमित छ । साहिदपुरलाई निकट भविष्यमै क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्ने बंगलादेशी योजना छ । क्षेत्रीय हुनलाई प्रयोग गर्ने तीन मुलुक हुन्छन्— भारत, भुटान र नेपाल । साहिदपुरबाट विराटनगर, भद्रपुरसम्म हवाई सेवा जोडिन सक्दा १५ देखि २० मिनेटमा आउजाउ गर्न सकिन्छ । पाँच पोइन्टको कनेक्टिभिटी, बंगलादेशको १७ करोडको बजार । यो दोहोरो व्यापार र उपलब्धिको सम्भावित सेतुसमेत हो ।

प्रकाशित : चैत्र १७, २०७४ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?