१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नीलो रगत

कविता
अभय श्रेष्ठ

काठमाडौँ — कुनै दिन मैले पनि भनेकै थिएँ–
रगत त सबको रातै हुन्छ ।

संसारको जुनसुकै कुनाबाट हेरे पनि
उस्तै देखिन्छ आकाश
म ठान्थेँ–
त्यही आकाश हो मानिसहरूको प्रेम ।

कुनै दिन मैले पनि भनेकै थिएँ,
प्रेममा दिलको उच्छवास
सबको उस्तै हुन्छ ।

जब एक ब्राह्मण युवतीको हृदयमा
मखमलीझैं फुलिरहेको हुन्छ कामी युवक
जवाफमा त्यसरी नै रोपिन्छ
उसको हृदयमा खन्जर
जसरी शम्बुकको पिठ्युँमा
रोपिन्छ तरबार ।

हो, ओठले नबोले पनि
तिमीले नै मानेनौ,
रगत सबको रातै हुन्छ भनेर ।

त्यतिखेर कतै फरक भएन रगतको रङ
जब चोख्याएर सुनपानीले
एक ‘अछुत’ कन्याको वदनमा
तिम्रो नीलो रगतले गरिरहेको थियो
प्रेमको बाफिलो वार्तालाप ।

जब उठ्यो यहाँ तिनको पनि
समान हिस्सेदारीका कुरा
तिमीले नै मानेनौ,
रगत सबको रातै हुन्छ भनेर ।

कुनै दिन मैले पनि भनेकै थिएँ–
प्रेमको सुगन्धमा फुलेकी
वादी युवती त्यत्तिकै
महान् मुना हो
जति महान् मदन एक खस युवक हुन्छ
पोडे युवकको हृदयमा
फक्रिन्छ उत्तिकै प्रेमको इन्द्रकमल
जति ब्राह्मण युवतीको नसामा
बग्छ तृष्णाको महासागर ।

उत्तिकै गुन्जन्छ गन्धर्वहरूको
छातीमा यो देशको राष्ट्रगान
जति गुन्जन्छ राष्ट्रकविको छातीमा
पृथ्वीनारायणको वीरगाथा ।

हो, ओठले नबोले पनि
तिमीले नै मानेनौ,
ढुकढुकी सबको उस्तै हुन्छ भनेर ।

मैले त भनेकै थिएँ,
रंगभूमि र मत्स्यवेदमा
‘सूतपुत्र’ लाई रोक्नु, थियो जाली कुरा
पुराणमा एकलव्यको औंला काटिँदा
ताली दिने त तिमी नै थियौ !

बादल फाटेर आकाश खुलेझैं
जब एउटा मोडमा
इतिहासले गर्‍यो स्वीकार–
कि रगत सबैको रातो हुँदैन
सत्ताको सर्बत पिएर
कसैको रगत नीलो हुन्छ
अभावले पिल्सिएर
कसैको रगत कालो हुन्छ
त्यहाँ पनि वर्ण र वर्गकै भेद हुन्छ
जब रूकुन पासवान र हीरा बादीले
पनि आँखा उठाउने दिन आयो
जब सेते सार्की, मीना मुसहर
र, सारा अभागी निधारले
अपमान र दलनको मूल्य असुल्ने
क्षण आयो
अनि तिमीले नै भन्यौ–
‘रगत त सबको रातै हुन्छ,
यो तमासा परदेशी प्रभुको खेल हो ।’

बेसुरा रागजस्तो यो दुनियाँ जब
पुग्नेछ सुरमा,
म भन्छु–
त्यस बेला रगत सबको रातै हुनेछ ।

कुनै दिन मैले पनि भनेकै थिएँ–
रगत त सबको रातै हुन्छ ।

प्रकाशित : चैत्र १७, २०७४ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?