कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘को पढेको, को अपठित ?’

काठमाडौँ — ज्ञानमणि नेपाल (८५) पूर्वीय इतिहास, संस्कृति, राजनीति, धर्म र परम्पराका विशिष्ट ज्ञाता हुन् । औपचारिक प्रमाणपत्रको शिक्षाभन्दा स्वाध्ययनबाट माथिल्लो प्राज्ञिक छवि बनाएका नेपालका ‘नेपाल निरुक्त’ (२०४०), ‘नेपालको महाभारत’ (२०५०), ‘नेपाल निरुपण’ (२०५५) जस्ता कृति अहिले अप्राप्य छन् ।

‘को पढेको, को अपठित ?’

नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ रहिसकेका नेपालका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । कहिल्यै औपचारिक पढाइका निम्ति विद्यालय नगएका गुरुकुलीय पद्धतिका विद्वान् ज्ञानमणिले ‘के पढ्ने, कति पढ्ने र किन पढ्ने’ भन्नेबारे राखेको दृष्टिकोण :

भोजपुरको सिक्तेल गाउँमा जन्मे–हुर्केको मलाई ५ वर्षको उमेरमा घरमैं बुबा भानुभक्त उपाध्यायले अक्षर चिनाउनुभयो । ८ वर्षमा व्रतबन्ध गरियो, त्यसबेला गुरुजीले भन्नुभएको थियो— यो रीतपछि अब दिनैपिच्छे मन्त्र जप्ने र स्वाध्ययन गर्ने काम गर्नुपर्छ । ब्रतबन्धअघि नै चण्डी पढ्ने, हिन्दी किताबहरू पढ्न सक्ने भैसकेको थिएँ, कण्ठस्थै हुन्थ्यो । भारत, बनारसतिरबाट आउनेहरूले हिन्दीका पुस्तिका ल्याउने गर्थे । ‘उदासीन’ भन्ने एउटा पुस्तक थियो जहाँ २५ जना ब्रह्मचारीको कथा थियो ।

मेरो बुबा चारै वेदका एकएक मन्त्र पढ्नुहुन्थ्यो घरमा । पाणिनि व्याकरण, सूत्र, अंक (गणित) पनि सस्वर वाचन गरिरहनुहुन्थ्यो । घरमा कसैले रामायण गुटिका ल्याएका रहेछन्, त्यो भानुभक्त आचार्यको रहेछ । त्यो पनि कण्ठस्थै पढेर मैले छिचोलें । लगत्तै चाणक्य नीति, समयोचित्त पद्यमालिका, पञ्चतन्त्र पढ्न पाएँ । मैले दयानन्द सरस्वतीको ‘सत्यार्थ प्रकाश’ भन्ने किताब पनि पढें । त्यसमा अरू पुराणहरूको खण्डन गरिएको छ, वेदलाई मात्रै ‘सही’ भनिएको छ । यो पुस्तकले मलाई तर्क गर्ने शक्ति बढाइदियो, हरेक कुरामा प्रश्न गर्ने (शंका गर्ने) बानीसमेत बढायो । अहिलेको युगमा, अहिलेका केटाकेटी फेसबुक/ट्विटर पढ्छन् । त्यस्तै मेरा पालामा रामायण/महाभारतका कथाहरू स्वयम् फेसबुकजस्तै थिए । हरेक घरमा पढिने र पढ्नैपर्ने ।

१० महिनाजति मैंले भोजपुर टक्सार बजारको भाषा पाठशालामा पनि पढें, ध्रुवलाल खतिवडा गुरुसँग । त्योबेला राणाकाल भए पनि विद्याको कुरा निकै थियो, आजभन्दा निकै चर्को रूपमा विद्याको चर्चा चल्थ्यो । खासमा मलाई ‘महामहोपाध्याय’ बन्ने धोको थियो पढेरै । दरभंगा, लहरियासरायमा रहेका एक जना आफन्तले बुबालाई भनेका रहेछन्— छोरालाई यता पठाइदिनू, म एमए गराइदिन्छु । डाक्टर बनाइदिन्छु ।

बनारस बस्ने अर्का एक चिनारु जोगीले पनि ‘नानीलाई मेरोमा पठाइदिनुहोस्, म शास्त्र पढाएर महामहोपाध्याय बनाइदिन्छु’ भनेका रहेछन् । तर बुबाले ‘म जति सक्छु, आफैं पढाउँछु । अखडामा पढ्न पठाउँदिनँ’ भन्नुभएको रहेछ ।

मध्यमा दिन सक्ने भएपछि काशी जाने कि काठमाडौं (?) भन्ने बहस चल्यो । एक जना पोखरेल चिनारुको छोरो पनि काठमाडौंमा नयराज (पन्त) गुरुको पाठशालामा भर्ना गरिएको रहेछ । मलाई पनि बुबाले तिनैका साथ लगाएर पठाउनुभयो । मलाई काठमाडौं आउँदा सुरुमा नर्कजस्तै लाग्यो, २००४ सालमा । ट्वाइलेट गर्न जाने ठाउँ पनि नपाइने, वल्लो कोठामा बस्नेले पल्लोमा बस्नेलाई पनि नचिन्ने ।

नयराज गुरुकहाँ ५ वटा किताब पढ्नुपर्ने रहेछ । अष्टाध्यायी (व्याकरण), कालीदास रघुवंश, भटीकाव्य (व्याकरण उदाहरण), हर्षचरित (हर्षबर्धन चरित्र, गद्य) । अरू २ सय किताब पढेर त्यसको सार बताउनुपर्ने । मैले नयराज गुरुलाई अष्टाध्यायी ४ हजार सूत्र कण्ठस्थ सुनाएँ । भट्टीकाव्य पनि कण्ठै सुनाइदिएँ ।

पछि २००६ सालमा मृगस्थलीमा ब्रह्मचारी आश्रम खुलेको रहेछ, योगी नरहरिनाथ महन्त भएर त्यहाँ बस्नुभएको रहेछ । नरहरिनाथ योगीले एउटा श्लोकको अर्थ लगाउन पाठ दिनुभयो, मैंले जवाफ दिएँ । संस्कृतमैं केही सवालजवाफ पनि भयो । मैले पढाउने काम तत्कालै पाइहालें । आश्रममा ऋषिराम पोखरेल, रमेश खकुरेलसहितका ४० जति विद्यार्थी थिए । त्यहाँ पढाएको तनाखा थिएन, खान–बस्न मात्रै पाइन्थ्यो । बिहान–बेलुका पढाउँथें । दिउँसो यता पाठशालामा पढ्न आउँथें, त्यो पाठशाला महाबौद्धभित्र (दिव्यबज्र बज्राचार्यको मतान घर) थियो ।

अहिले फर्केर हेर्दा र पढ्ने–नपढ्नेको बहस चलिरहँदामा मलाई डिग्री लिने औपचारिक कक्षामा जान नपाएकोमा कहिल्यै पछुतो रहेन । नयराज गुरु बारम्बार भन्नुहुन्थ्यो— तिमीले परीक्षा दिएनौ, मसँग पढ्यौ मात्रै । तिमी के खान्छौ अब ? मनैमनमा म भन्थें— म स्वाध्ययन गरेरै र आफ्नो विद्याको ओजले गरिखान्छु । नयराज गुरुले नै अंग्रेज शक्तिलृ आफ्ना लागि ‘क्लर्क’ तयार पार्न परीक्षा प्रणाली चल्ने पढाइ सुरु गराएको हो भनेपछि आश्वस्त भएर आफूले कहींकतै परीक्षा दिन नचाहेकै हो ।

हो, मेरा जिबा वैयाकरणले पनि परीक्षा दिनुभएन जो हाम्रो पूर्वी भेगकै चल्तीका विद्वान् पण्डित कहलिनुभयो । अघिअघिका विद्वान्हरूले पनि कुनै परीक्षा दिएनन् । काशी पुगेर विद्वतामा नाम चलाउनेहरू पनि कम्ती छैनन्, औपचारिक पढाइबिनै । अहिलेको हिसाबमा मैंले मध्यमा परीक्षा अथवा आजको एसएलसी मात्रै पास गरेको छु । त्यो पनि नयराज गुरुले लिएको मौखिक र व्यवहारिक परीक्षाका आधारमा मध्यमा उत्र्तिण हुँ । एउटै कुरा ख्याल गर्नुपर्छ— कसैले पढ्न नसकेको हो कि नचाहेको (?), यो यथार्थलाई मनन गर्न सक्नुपर्छ ।

पढाइकै कुरा गर्ने हो भने १२ वर्ष लाग्छ भनिएको छ, व्याकरण पढ्न । न्याय पनि १२ वर्ष लगाएर पढ्न सकिन्छ । वेद पनि १२ वर्ष लाग्छ । यसकारण जीवनभर पढ्दा पनि सकिन्न । पञ्चतन्त्रमै भनिएको छ, ‘सारम् तत्त्व ग्राह्य मपास्य फल्गु’ अर्थात् फाल्तु कुरा छाडेर सार–सार कुरा पढ्नुपर्छ । हाम्रो इतिहासका कतिपय प्रमाण र दस्तावेजहरू खोज्न केही विद्वान्हरू बेलायतको क्याम्ब्रिज जान्छन्, अक्सफोर्ड र लुभ्र पुग्छन् । म भन्छु— खोजी बस्ने हो भने इतिहास यहीं छ, प्रमाण यहीं छ । ज्ञान यहीं छ, सार यहीं छ ।

प्रकाशित : चैत्र १७, २०७४ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?