मेरो माइला राजा भो

कथा
यस्तोमा सकेसम्म धेरै प्रतिनिधि निर्देशक समेट्नु राम्रो मानिन्छ । त्यो बेलाका नीर शाह, तुलसी घिमिरे, शम्भु प्रधानहरूका फिल्म खोइ ? मातृभाषाको फिल्म पनि सूचीमा छैन ।
खगेन्द्र संग्रौला

काठमाडौँ — सिरानघरे माइला आउने रे, सुन्यौ नानी ?’ एक मन थोरै हाँस्दै र एक मन धेरै रुँदै नूरमाया घर्तीले भनी । थोरै हाँस्दै किनभने सिरानघरे माइला उसका छोराको कमान्डर थियो, उसका आँखाको नानीजस्तो ।

मेरो माइला राजा भो

र, धेरै रुँदै किनभने माइला बाँचेर अहिले ठूलो मान्छे भएको थियो, छोरो मारिएको यतिका वर्षपछि पनि आमाका हृदयको घाउ आलै थियो ।

‘अँ त नि दिदी,’ चिया पसल्नी सुन्तलीले सही थापी । ‘त्यो त उडेर पो आउने रे लौ । कत्ति न ठूलो राजाजस्तो !’

‘कोई ठूलो हुनलाई कोई मर्नुपर्ने रैछ, हकि नानी ?’ वेदनाले कण्ठ हिक्क भयो र नूरमायाका आँखामा आँसु भरिए ।

सुन्तली अबाक् र हतप्रभ भई ।

राजधानीदेखि धेरै टाढा एउटा पहाडी गाउँ छ— झिबाङ । गाउँलेहरूको कल्पनालाई कुतकुत्याउँदै माथिबाट खबर आयो— ल है, गाउँमा सवारी हुने भो ! देशमा राजै छैन त कसको सवारी ? अरू कसको हुनु ? हाम्रै सिरानघरे माइलाको क्या । पहिलेको विद्रोही कमान्डर, अहिलेको केजाती उपराष्ट्रपतिको सवारी । धूलामा हिँडेर होइन, भुइँमा गुडेर होइन, आकाशमा भटभटेमा गट्टटट उडेर ! गाउँलेहरूले चकित मुद्रामा कान थापेर सुने— गाउँमा सिरानघरे वीरमान बाठामगरको सवारी हुने भो !

पन्ध्र वर्षअघिको कुरा हो । झिबाङमा आकाशे भटभटेमा राजाको सवारी भएको थियो । अहिले न नारानहिटी दरबारमा सिंहासन छ, न मुकुट लगाएको राजा कतै देख्नु छ । विद्रोहको भयङ्कर प्रहारले सिंहासन ढल्यो र राजा मासियो । राजाको सट्टा अब गगनमार्गबाट बाठामगरको सवारी हुने भयो !

‘नरोऊ दिदी,’ सान्त्वनाको लयमा नूरमायाको हात मुसार्दै सुन्तलीले सम्झाई, ‘बरु माइला आउँदा यसो रोइकराइ गर दिदी । यसो बिन्तीभाउ गर । तिम्रो डल्ले मरेर न हो यल्ले यस्तो हुन पाएको । ल, मौकामा यसो केही माग । अण्ण्, नातिलाई गरिखाने राम्रो इलम.... । गुनको पैँचो तिर्न तै यसले केही गरि पो हाल्ला कि...’

‘अँ नानी, गर्छु त भन्थ्यो ।’ अतीततिर फर्केर नूरमायाले भनी, ‘यो पहिल्यैको कुरा हो, नानी । मेरो डल्ले मारिएपछि ऊ मेरोमा आयो । ऊसँग आउनेको हूलै थियो । आयो, मायाले मेरा खुट्टा छोयो र रुँलाझैँ गरी भन्यो— अब तिमी हामी सप्पैकी आमा । अब हामी सप्पै तिम्रा छोरा । भो नरोऊ, कमरेड बज्र मरे पनि हामी छौँ ।’

मारिँदा डल्ले उर्फ बज्र २५ वर्षको थियो । एक महिनाअघि मात्र ऊ बाबु भएको थियो । यता घरमा बाबुको छोरो भएको थियो, उता छोराको बाबु रणमा थियो । बाबुले छोराको मुख देख्न पाएन, छोराले बाबुको मुख चिन्न पाएन । नूरमायाका बेचैन आँखा तल खोल्सातिर झरे, र उता खोल्सापारिको खोचमा पुगेर टक्क अडिए । त्यो उही रगतपच्छे खोच हो, जसमा आँखा पर्नु के छ, नूरमायालाई त्यसैत्यसै औडाहा भएर आउँछ । त्यहीँ त हो उसको छोरो मारिएको ! त्यो उसको जीवनको एक मात्र आशा, त्यो उसको एक मात्र सहारा ! उसको खेत भने पनि, उसको बारी भने पनि, उसको बन्दबेपार भने पनि, जे भने पनि उसको त्यही छोरो थियो । हो, आखिर त्यही त थियो इहलोकमा उसको सर्वस्व !

मध्य दिन । काँचो छाला सुकाउने भदौरे घाम चरक्क चर्केको बेला । त्यो एकलासे खोचमा बैरीका आँखा छलेर सत्ता पल्टाउने छापामार तालिम हुँदै थियो । बन्दुक पड्काउने, बैरीलाई ताक्ने, हानेर भाग्ने, घोप्टो परेर घस्रिने र अरू के के के के गर्ने तालिम । तालिम दिने माउ कमान्डर यही सिरानघरे माइला थियो, यही बाठामगर । कतै दूर आकाशबाट हेलिकप्टरको आवाज आयो । ऊबेला सिकार खोज्दै दाउ छोप्न हेलिकप्टरमा शाही सेना आउँथ्यो । ‘आतङ्ककारी’ को शंका लागे ऊ अन्धाधुन्ध बम खसाउँथ्यो, मिसिनगन चलाउँथ्यो । निसानामा कहिलेकाहीँ छापामार पर्थे, धेरैजसो निहत्था गाउँले अनाहकमा मर्थे ।

त्यस दिन छपामार फेला परे । एकबारको जुनी जोगाउन ती कोही कान्लामुनि लुके, कोही झाडीतिर कुदे । कसैले रूखको आड लिए, कोही भुइँमा घोप्टो परेर हल न चल भए । आ... व्याधाले त्यतिमाथिबाट के देख्ला र ? देखिहाले पनि त्यस नाथेले के नै पो नाप्ला र ? नूरमायाको डल्लेले मूर्ख तालले अटेर गर्‍यो । कहलिएको बहादुर थियो ऊ— कुनै बैरीलाई बाल नगन्ने, कोहीदेखि कत्ति नडराउने । के शत्रु, के मृत्यु— उसका लागि ती केही थिएनन् । त्यत्तिकैमा सेनाको गोली टाउकामा लाग्यो । ऊ कहिल्यै नउठ्ने गरी ढल्यो । र, त्यही खोचको धरतीले उसलाई सदाका लागि निल्यो ।

‘नरोऊ दिदी ।’
‘नानी, पापीका गोलीले मेरो डल्ले ढल्यो, र मेरो संसारै अँध्यारो भो ।’
‘दिदी....’
‘कठै ! आज ऊ बाँचिराख्या भए...’
‘ऊ नभए पनि माइला छ, दिदी ।’

‘खै नानी, छ भनूँ कि छैन भनूँ ? अचेल त्यो मान्छे अर्कै भा’छ भन्छन् । परचक्रीले कुरा काट्या हुन् कि साँच्चि हो म के जानूँ, नानी ?’

नूरमायाको भाँचिएको मन छोराबाट नातितिर मोडियो । नातिकी आमा ऊ जन्मेको दुई वर्षपछि अर्कैसँग गई । टुहुरो नाति बज्यैको शोकाकुल काखमा हुर्कियो । त्यो नाति अहिले अठाह्र वर्ष पुगेको थियो । पढ्दा–पढ्दै बीचैमा उसको पढाइ टुट्यो । के खानु, के लाउनु, कोसँग गुहार माग्नु, क्यै उपाय भएन । फिस भन्यो, किताब–कापी भन्यो, ड्रेस भन्यो, के भन्यो— केले पुर्‍याउनु ? अनि घाँस–दाउरा, खन–जोत, भारी ओसोर–पसार— नातिको पाठशाला त यो पो भयो !

‘कुरा सुन्दा त्यसैत्यसै डर लागेर आउँछ, नानी,’ नूरमायाले साउती गरी, ‘मेरो नाति बम पड्काउने पार्टीमा लाग्या छ भन्छन् । यसो सुन्दा ऊ कुरा पनि त्यस्तै गर्छ, नानी । मुठ्ठी कसेर ऊ भन्छ— म बम बनाउँछु र मेरो बाउलाई मार्नेलाई मार्छु ।’

सिरानघरे माइलाको सवारीको दिन नजिक आयो । गाउँमा फाटफुट पुलिस देखापरे । पुलिस देख्यो कि झबाङका गाउँलेहरूलाई पुरानो भूतको सम्झनाले तर्साउँथ्यो । द्वन्द्वकालमा गाउँमा जब पुलिस प्रकट हुन्थ्यो, उसले कि माथ्र्यो कि ऊ मारिन्थ्यो । पुलिस त्यही हो जो अहिले सवारीको सुरक्षा मिलाउन झबाङमा हाजिर भएको छ । पुलिसपछि गाउँलले शाही सेना भनेर चिनेका जवानहरू आए । गाउँलेलाई झन् डर लाग्यो । अब के हुने हो ? दुरुमदुरुम बुट बजार्दै सेनाले विद्यालय कब्जा गर्‍यो । सवारी टोलीको बास विद्यालयमा हुने भयो । विद्यालयको ग्राउन्डको बीचमा चुनाको रेखी हालेको हिलिप्याड बन्यो । र, वातावरण झन् डरमर्दो भयो । मानिसहरूलाई विद्यालयतिर हेर्न पनि कसोकसो डर लाग्यो । पुलिस उही हो, सेना उही हो— त्यसले के गर्छ, के गर्दैन कसरी जान्नु ? त्यसले ड्याङ्ग हान्यो भने !

बन्दुक बिसाएर भोटको राजनीति गर्न काठमान्डु जाँदा ऊ सादा सिरानघरे माइला थियो । अहिले उपराष्ट्रपति भएर भटभटेमा उसको सवारी हुँदैछ । उ: पर पूर्वी डाँडामाथि भटभटे देखियो । नूरमायाको मुटु काम्यो । उसका आँखा अनायासै तलको खोचतिर हुर्रिए । उसको डल्ले त्यही खोचमा कतै छ । उही शाही सेना हो, छोरालाई मारी पो हाल्ला कि ! नूरमायालाई भनन्न रिङ्गटा लाग्यो । पुतलीले उसलाई आड दिई । एकाएक नूरमायाको डाको छुट्यो । ‘मेरो डल्ले ! माइला त भटभटेमा उडेर आउँदैछ, माटामुिन तँ कहाँ बिलाइस् बाबु ? मेरो राजा !’

नूरमाया सोझो चित्तकी अकिञ्चन प्राणी थिई । उसको आशा थियो— सके सिरानघरे माइला उसलाई भेट्न मेरो छाप्रोमै आउला । ‘आमा’ भन्दै उसले सुखदु:ख सोध्ला । छाप्रामै नआए पनि उसले उसलाई भेट्न डाकिपठाउला । अनि पुराना वाचा सम्झेर मायाको भाकामा म आमालाई के गरूँ भनेर सोध्ला । तर दुर्भाग्यवश त्यस्तो केही भएन । उसलाई सिकारी कुकुर, पुलिस र सेनाले घेरेर विद्यालयमा लुकाए ।

सुरक्षा–सुरक्षा भन्दै तिनले ससाना भुइँमान्छेहरूलाई अलग्गै, परै लखेटे । अरू त अरू, नूरमायालाई धरी उसको छेउ पर्न दिएनन् । गाउँका पञ्च र मण्डले, कमरेड र काइते, टाठाबाठा र चोट्टाहरूले उसलाई नाकै पुरिने गरी माला लगाइदिए, खादा भिराइदिए र आकाशै चिरिने गरी उसको जयजयकार गराए ।

स्वागत–सत्कारको कर्मकाण्ड सकियो । र, अब सिरानघरे माइला उर्फ उपराष्ट्रपतिको फिर्ती सवारीको घडी आयो । बुङबुङती धूलो उडाउँदै भटभटे स्टार्ट भयो । सेनाका टुकडीको घेरामा लुकाएर सिरानघरे माइलालाई भटभटेमा हुले । नूरमायाको आशा खरानी भयो । उसले आहत सुस्केरा हाल्दै तर्क गरी— पहिले मेरो छोरालाई सेनाले मार्‍यो । अहिले मेरो माइलालाई उही सेनाले मदेखि खोसेर परपर लग्यो । धिक्कार छ !

भटभटे सोझै हुत्त माथि उड्यो । उन्मादी जयजयकारले गगन गुन्जायमान भयो । सिरानघरे माइलाको बूढो बाबुले हेलिकप्टर हेर्दै बडो घमण्डसाथ भन्यो, ‘हेर, मेरो माइला राजा भो !’ सँगसँगै नूरमायाको चीत्कार वायुमण्डलमा पोखियो, ‘हेर, अपराधी उड्यो !’ त्यो आक्रोशको तारो भटभटे थियो कि सेना थियो कि माइला थियो भन्न गाह्रो छ ।

हेलिकप्टर जति माथि उठ्दै गयो, त्यसको चापले नूरमाया त्यति नै तल दबिँदै गई ।

उसका आँखासामु घना अन्धकार व्याप्त भयो । ऊ त्यसैत्यसै लल्याकलुलुक भई । ऊ जमिनमा ढली र मूच्र्छा परी ।

प्रकाशित : चैत्र १७, २०७४ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?