रंगमञ्च कतातिर ?

रंगमञ्चलाई कसरी सांस्कृतिक उत्पादनको थलो बनाउने र यस मार्फत विश्वबजारमा कसरी हाम्रो मौलिक र राष्ट्रिय पहिचान प्रवद्र्धन गर्ने भन्ने सवाल अहिलेको मूल प्रश्न हो ।
फूलमान वल

काठमाडौँ — योसाता पोखरा नगरी नाटकमय बन्यो । गैर्‍हापाटनस्थित गन्धर्व नाटक घरमा झन्डै एक दर्जन नाटक प्रस्तुत भए । फिल्म र रंगमञ्च अनि यसले लिनुपर्ने आगामी दिशाजस्ता सन्दर्भमा गरमागरम बहस भए ।

रंगमञ्च कतातिर ?

रंगकर्मी, रंगमञ्चप्रेमीदेखि प्राज्ञ र साहित्यकारहरूको उपस्थितिले गन्धर्व नाटकघरलाई सात दिनसम्म उत्सवमय बनाइदियो । लाग्थ्यो— पोखरेली रंगमञ्चको बैंस फिर्दै छ ।

झन्डै तीन दशकअघि पोखरेली रंगमञ्च मध्यबैंसमा थियो । त्यो समय नाट्य समूह मात्रै ३६ वटा क्रियाशील रहेको बताउँदै गर्दा पोखरेली युवा रंगकर्मीहरू परिवर्तन कार्की र सौगात पोखरेलको अनुहारमा भिन्न चमक देखिन्थ्यो । यी रंगकर्मीहरू फेरि रंगमञ्चमा पोखराको पुरानो साख ब्युँझाउन प्रयासरत छन् । कार्कीले केही महिनाअघि मात्रै आफ्नो नाट्य संस्था पोखरा थिएटर मार्फत गन्धर्व थिएटर सञ्चालनमा ल्याइसकेका छन् भने पोखरेल पनि धमाधम आफ्नै नाटकघर निर्माण गरिरहेका छन् । यस पटक संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले पोखरामै ‘राष्ट्रिय नाट्य महोत्सव’ गरेपछि यी तन्नेरीहरू झनै रौसिए ।

विकेन्द्रीकरणको प्रयास
कुनै समय मोफसलको रंगकर्ममा धरान र पोखराको नाम अगाडि आउँथ्यो । पछि बिस्तारै यो सेलाउँदै गयो । ती सरकारी स्तरबाट योजनासहित भएका रंगमञ्चीय प्रयास थिएन, बरु फिल्मको व्यापकताले दर्शकलाई छोप्दै लगेको थियो । लोकतान्त्रिक आन्दोलनपछि मुलुकले फरक–फरक तीनवटा प्रज्ञा प्रतिष्ठान पायो । चित्तबुझ्दो नभए पनि यसपछि केही आशालाग्दा गतिविधि भने सुरुवात भयो । राजधानीमा मात्र हुँदै आएको नाट्य महोत्सवलाई संगीत–नाट्य प्रज्ञा प्रतिष्ठानले पछिल्ला वर्षहरूमा मोफसलमा लगेर रंगमञ्चीय गतिविधिको विकेन्द्रीकरणको प्रयास गर्‍यो । जनकपुर, विराटनगर, दोलखादेखि पोखरासम्मलाई उसले नाट्य महोत्सवको थलो बनायो ।

‘यही क्रममा यस पटक पोखरालाई छान्यौं’, सात दिनको महोत्सवमा दिनहुँ गन्धर्व थिएटर धाइरहेका प्रतिष्ठानका कुलपति सरुभक्त भन्दै थिए, ‘देशभर छरिएका रंगकर्मीका लागि यो एउटा उत्प्रेरणा त हो नै, पोखराका लागि पनि यो एउटा अवसर हो ।’ महोत्सव संयोजक पुष्कर गुरुङदेखि प्राज्ञ रमेशरञ्जन झासम्म एक साता पोखरामै स्टेसन जमाएर बसे । रोचक के भने सधैं बाहिरबाट नाटक लिएर काठमाडौं धाउनुपर्ने रंगकर्मीहरूको दृश्यमा बदलाव आएर यस पटक सहरका ‘चलेका’ नाट्य समूहहरू पोखरा झरे । पोखराकै भए पनि राजधानीमै केन्द्र बनाएर रंगकर्म गरिरहेका अनुप बरालको एक्टर्स स्टुडियोदेखि मण्डला र शिल्पी नाट्य समूहका कलाकारहरू पनि पोखरा पुगे । दिउँसो थिएटरभित्र देखिने कलाकारहरू साँझ लेकसाइडतिर टुरिस्टजस्तै घुमफिर गरिरहेका भेटिन्थे— मानौं, लकेसाइड आफैंमा खुला नाटकघर हो ।

सात दिन दस नाटक
यय पटक महोत्सवमा दस नाटक छानिएका थिए । नाम चलेका र आफ्नै नाटकघर भएका थिएटरहरूले महोत्सवकै लागि नयाँ नाटक भने बनाएनन् । आफ्नै नाटकघरमा चलाइसकेका, पुरानो र विदेशका थुप्रै स्टेजहरूमा मञ्चन भइसकेका नाटकलाई लिएर उनीहरू पोखरा पुगे । एक्टर्स स्टुडियो र मण्डला थिएटरले भारतको थिएटर ओलम्पिकमा केही दिनअघि मात्रै देखाएको नाटकलाई पोखरामा प्रस्तुत गर्‍यो । उनीहरू भारत हुँदै पोखरा आइपुगेका थिए । सरुभक्तकै लेखन र अनुप बरालको निर्देशन रहेको ‘थाङला’ अघिल्लो वर्ष शिल्पीको गोठाले नाटकघरमा एक महिना चलेको थियो । विषयवस्तुको हिसाबले यो नाटक हाम्रै हिमाली भेकको अग्र्यानिक स्वादको लाग्थ्यो । मुलुकको उच्च हिमाली भेकमा प्रचलित बहुपति प्रथामाथि बनेको यो नाटकले मूलत: व्यक्तिगत स्वतन्त्रता र सामाजिक–सांस्कृतिक मूल्यबीचको द्वन्द्वलाई प्रस्तुत गर्छ ।

सांस्कृतिक मूल्य मान्यताको बन्धनभन्दा पनि उन्मुक्तिको वकालत गर्ने यो नाटक सरुभक्तको पुरानै सिर्जना हो । यसमा प्रस्तुत सांस्कृतिक मूल्य र दायित्व, प्रकृतिसँगको सामीप्य, भूमि र पुरानो सांस्कृतिक–आर्थिक संरचनाबाट भाग्दै गरेको आजका मान्छेको मनोदशाले खास अर्थ राख्छ । यद्यपि यो आउटसाइडरको प्रस्तुति हो । बहुपतिप्रथामाथि सरुभक्त र अनुप बरालले बाहिरबाट हेर्दा देखिने दृष्टिकोणको पक्षपोषण यो नाटकले गर्छ । सर्वाल्टर्न अभियन्ता गायत्री चक्रवर्ती स्पिभाकले भनेजस्तै त्यही समुदायका ‘अग्र्यानिक इन्टेलेक्चुअल’ (जैविक बुद्धिजीवी) ले लेखेको भए सायद यो नाटक अर्कै दृष्टिकोणबाट प्रस्तुत हुन्थ्यो होला ।

राजन खतिवडाको निर्देशन रहेको मण्डलाको प्रस्तुति ‘एन्टिगोनी’ प्राचीन ग्रीसेली नाटककार सोफोक्लिजको सिर्जना हो । इसापूर्व ४४१ का लेखिएको यो नाटकले शक्ति, ईश्र्या, षड्यन्त्रजस्ता शासकीय मनोविज्ञानलाई प्रस्तुत गर्छ । इडिपसका दुई छोरा एटियाक्लिज र पोलिनिससबीचको द्वन्द्व आज कुनै न कुनै हिसाबले हाम्रो समाज, राजनीति र जीवनका अध्यायहरू भेट्टाउँछौं । यो नाटक पनि मण्डलाले केहीअघि राजधानीमा एक महिना मञ्चन गरेको थियो ।

शिल्पी र लोकसञ्चारको प्रस्तुति ‘सखी’ ले दर्शकलाई हाम्रै मुलुकले एक दशकसम्म खेप्नुपरेको युद्धको त्रासद क्षणको पीडादायी सम्झनाभित्र हुत्याइदिन्छ । त्यो भयप्रद क्षण, मान्छेहरू कसरी बाँचे ? आङ सिरिङ्ग हुनेगरी निकट विगतलाई कोट्याइदिएको ‘सखी’ पनि डेढ वर्षअघि निर्माण र मञ्चन भएको नाटक हो । वीरेन्द्र हमालको निर्देशन रहेको राष्ट्रिय नाचघरको प्रस्तुति ‘एक चिहान’ झन्डै ६ दशकअघि हृदयचन्द्रसिंह प्रधानको उपन्यासमा आधारित नाटक थियो ।

सामाजिक यथार्थवादी उपन्यासले त्यतिबेला खिचेको काठमाडौं उपत्यकाको अग्र्यानिक लोकेसन अब छैन । ज्यापु समुदायको उतिबेलाको आर्थिक चरित्र, पुरानो कृषिप्रणाली, मझौला बजार सबै–सबैमा ठूलो बदलाव आइसक्यो । सहरको ल्यान्डस्केप मात्रै हैन, चिन्तन प्रणाली र मनोविज्ञान पनि बदलिए । तर, यसले उठाएको सामाजिक सदभाव र एकताको सन्देश आजको समय पनि उत्तिकै महत्त्वपूर्ण छ ।

यसबाहेक केही नयाँ नाट्य समूहले आफूलाई महोत्सवमा उभ्याउने प्रयास गरे । सद्भाव थिएटर काठमाडौंले कर्णालीका कथा व्यथालाई नाटक ‘चाँदीको घेरा’ मार्फत प्रस्तुत गर्‍यो । टीकाभक्त जिरेलको निर्देशनको यो नाटक नरेश भण्डारीको कथामा आधारित थियो । कर्णाली र काठमाडौंमा बाँच्ने मान्छेबीचको सरदर आयुको ३६ वर्षे फरकलाई विम्बात्मक रूपमा प्रस्तुत गर्दै शासकहरूको कर्णालीप्रतिको सौतेलो हेराइमाथि नाटकले व्यंग्य गर्छ । तर, संघीयतामा मुलुक गइसकेको र ‘कर्णाली प्रदेश’ नै निर्माण भइसकेको अवस्थामा सिंहदरबारप्रतिको कटाक्षमा भने ताजापन महसुस हुँदैन ।

युथ क्रियसन पोखराको प्रस्तुति ‘भर्जिन कथा’ रामलाल जोशीको ‘ऐना’ कथासंग्रहबाट छानिएको कथामा आधारित थियो । बादी समुदायको स्थिति चित्रण गरिएको यो नाटकलाई सौगात पोखरेलले निर्देशन गरेका थिए । हिमाली सांस्कृतिक परिवारको ‘नारी शिक्षा’ लाई मेनकाजी गुरुङले निर्देशन गरेका थिए । नाटक लेखेका थिए वरिष्ठ फिल्मकर्मी चेतन कार्कीले । नेसनल आर्ट स्कुल पोखराले ममता मञ्जुलको निर्देशन र कृष्ण उदासीको लेखन रहेको ‘सान्नानीको सन्ते राजा’ प्रस्तुत गर्‍यो । मञ्जरी नाट्य समूह लमजुङले प्रस्तुत गरेको पुरु लम्सालको ‘पानीघट्ट’ मा पुरानो सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासँग जोड्ने प्रयास गरेको थियो । ओथेलो नाट्य समूह पोखराले आशिष अधिकारीको निर्देशन र कृष्ण उदासीकै लेखन रहेको ‘जयगान’ प्रस्तुत गर्‍यो, जसमा मानिसभित्र लुकिबस्ने पशुत्व समेटिएको थियो । धेरैजसो नाटक प्रस्तुतिका हिसाबले निकै कमजोर थिए । कतिपय नाटकमा निर्देशकको कामै देखिंदैन थियो ।

‘तैपनि सबैको नाटक राम्रै भनिदिनुपर्छ,’ थिएटरको आँगनमा चिया पिउँदै एक जना प्राज्ञले साउती मारे, ‘नत्र, कुट्न आउन बेर छैन ।’

फिल्म कि नाटक ?
महोत्सवकै क्रममा फिल्मकर्मी नवीन सुब्बा, सुवर्ण थापा र रंगकर्मी अरुणा कार्की बहसमा उत्रे । ‘फिल्म र नाटक : एक संवाद’ माथिको बहस निकै अर्थपूर्ण थियो । नेपाली रंगमञ्च फिल्मका लागि कलाकार उत्पादन गर्ने थलोको रूपमा विकास भइरहेको बेला नवीन सुब्बाले अभिनयको शैलीमाथि नै प्रश्न उठाए । ‘फिल्म नाटकजस्तो र नाटक फिल्मजस्तो’ भइरहेको अहिले सन्दर्भमा अभिनयको मौलिकतामाथि प्रश्न उठ्नु स्वाभाविक नै हो । उनले अहिले नेपाली रंगमञ्च सुनील पोखरेलको ‘गुरुकुल’ र अनुप बरालको ‘एक्टर्स स्टुडियो’ बाट उत्पादित कलाकारहरू हावी भइरहेको बताउँदै दुवै अभिनय पद्धति मौलिक नभएको दाबी गरे ।

‘गुरुकुल आफैंमा गुरुकुलीय पद्धतिको निरन्तरता हो, यसमा मौलिकताभन्दा पनि गुरुले जे भन्यो चेलाले त्यही सिक्ने हो,’ उनले तर्क थियो, ‘एक्टर्स स्टुडियो स्तास्लाभ्स्कीको मेथड एक्टिङ पद्धति हो । मौलिकताका लागि हामीले अब हाम्रै अभिनय पद्धतिको खोजी र विकास गर्नुपर्छ ।’ उनका अनुसार नेपाली रंगमञ्च सिर्जनशील र अग्रगामी हुन सकेको छैन । यो यथास्थितिवादी ढंगले अघि बढिरहेको छ । थिएटरहरूमा हुने सांस्कृतिक गतिविधि पनि विविध र बहुलवादी हुन सकेको छैन । कोजाग्रत पूर्णिमाको दिन दसैंको टीका आयोजना गर्ने थिएटरहरूले माघी, ल्होछार र उधौली उभौली किन मनाउँदैन ? ‘किनभने हाम्रा रंगकर्मीहरू परम्परागत विश्वास पद्धतिका आधारमा चलिरहेका छन्’ उनको तर्क थियो, ‘अनि नयाँ र मौलिकपन कसरी आउन सक्छ ?’

अबको बाटो
महोत्सवको सातौं दिन ‘पोखरेली रंगमञ्च : अबको बाटो’ विषयमा बहस चल्यो । बहसमा राज्यको प्रतिनिधिको रूपमा थिइन्— सांसद पियारी थापा । उनले थिएटरकर्मीलाई भनिन्, ‘तपाईंहरूको भिजन के हो ? स्पष्ट हुनुस् । हामी सघाउँछौं ।’ खासमा सबैभन्दा पहिले त रंगमञ्चप्रति राज्यको भिजनचाहिँ स्पष्ट हुनुपर्ने थियो । हाम्रा राजनीतिकर्मीहरूमा कला, साहित्य र संस्कृतिप्रतिको गहिरो बुझाइ र भिजन छैन भन्ने नमुना उहाहरण बनिन् पियारी थापा । रंगमञ्चलाई कसरी सांस्कृतिक उत्पादनको थलो बनाउने र यस मार्फत विश्वबजारमा कसरी हाम्रो मौलिक र राष्ट्रिय पहिचान प्रवद्र्धन गर्ने भन्ने सवाल अहिलेको मूल प्रश्न हो । संगीत–नाट्य प्रज्ञा प्रतिष्ठानको दोस्रो कार्यकाल बित्नै लाग्दा पनि यो प्रश्नको जवाफ खोज्ने प्रयत्न हुन सकेको छैन ।

प्रकाशित : चैत्र १७, २०७४ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?